Photos: Shikha Narayan, Pharping शिखानारायण फर्पिङ

फर्पिङको शिखा नारायणको मन्दिर हरिदत्त वर्माले स्थापना गराएको मानिन्छ । उपत्यकाका चार नारायण स्थापना गराउने श्रेय यिनै हरिदत्त वर्मालाई दिने गरिन्छ । उनले स्थापना गराएका चार नारायणमध्ये शिखा नारायण पनि एक हुन् । शिखा नारायण मन्दिरछेउ धारा, पोखरी र ठूलो पार्क पनि छन् । यो मन्दिर नेपाली तले शैलीमा निर्मित छ । मन्दिर त्यति ठूलो भने छैन । मन्दिरभित्र नारायणका साथै अन्य देवीदेवताका ससाना मूर्तिहरू पनि छन् । फर्पिङलाई प्राचीन कालमा शिखरपुर पनि भनिन्थ्यो । तसर्थ यहाँका नारायणलाई शिखर नारायण, शिखा नारायण र शेष नारायण पनि भनेको पाइन्छ । फर्पिङमा यिनको नाममा हरिशंकर जात्रा गर्ने पनि चलन छ ।
पहाडको फेदीमा तथा पहराको चेपमा साँगुरो ठाउँमा शिखा नारायणको मन्दिर छ, जसको केही तल एउटा तलाउ पनि छ । यसलाई वासुकी दह भनिन्छ । यही दहको पानी शिखा नारायणलाई चढाउने चलन छ । शिखा नारायणको उत्पत्तिका सम्बन्धमा हिमवत्खण्ड पुराणमा एउटा कथा पाइन्छ । त्यस अनुसार, भगवान् विष्णु एक पटक तीर्थ गर्दै हिंडेका रहेछन् । उनले फर्पिङ क्षेत्रमा आइपुगेपछि स्वर्गतिर जाँदै गरेकी कामधेनुले मर्कटायल पर्वतमा दूध चुहाउँदै गरेको देखेछन् । उनले कामधेनुलाई त्यसको कारण सोधेछन् । कामधेुनले त्यहाँ शिवलिंग भएको बताइछन् । उनले विष्णुलाई त्यस शिवलिंगलाई खनेर निकाल्न अनुरोध पनि गरिछन् । विष्णुले शिवलिंग बाहिर निकालेछन् । तत्पश्चात् शिवजी खुशी भएर विष्णुलाई त्यसको पश्चिमतिरको पर्वतमा बस्न आदेश दिएछन् । यसै अनुसार, त्यसदेखि पश्चिमतिरको पहाडको फेदमा विष्णु बसेछन् । त्यसै स्थानमा शिखा नारायणको स्थापना भएको मानिन्छ । यता विष्णुले शिवलिंग खनेर निकालेको स्थानमा भने शिव र विष्णुको संयुक्त रूप गोपालेश्वर स्थापना भएको छ ।

The Shikha Narayan Temple is situated at the bottom of a small gorge in Pharping, South of Kathmandu. It is one of the four Narayanas established by Haridutta Varma. The temple is small but is richly ornamented with artistic objects. It is surrounded by a park, a pond named Bashuki, and some fountains. The temple is also sometimes known by the names Shikhar Narayan and Shesha Narayan.

According to the Himavatkhanda Purana, the temple was founded after Lord Vishnu witnessed the holy cow, Kamadhenu, passing milk over a small mound. Digging up the mound he found a Shivalinga and established a temple at the spot, thus making Lord Shiva extremely happy. In his joy he requested Lord Vishnu to stay in the vicinity as well, and thus Vishnu made his abode at the bottom of the gorge.