Photos: Krishna Mandir, Patan कृष्ण मन्दिर पाटन

पाटनको मंगलबजारमा पाटन दरबार प्रांगणमै रहेको कृष्ण मन्दिर पाटनका राजा सिद्धिनरसिंह मल्लले वि.सं. १६९३ सालतिर बनाउन लगाएका हुन् । धार्मिक स्वभावका सिद्धिनरसिंह मल्लले अन्यत्र कतै नभएको भव्य र आकर्षक मन्दिर बनाउन लगाएको भनिन्छ । तले र शिखर मिश्रित शैलीमा निर्मित कृष्ण मन्दिरमा प्रस्तरैप्रस्तर छ । यसका तीन तलामध्ये बीचको तलामा श्रीकृष्णको मूर्ति छ । श्रीकृष्णको मूर्तिको चारैतिर विष्णुका दश अवतारका मूर्ति पनि छन् । यो क्षेत्र विश्व सम्पदामा सूचीकृत छ ।
कृष्ण मन्दिरलाई नेपाली प्रस्तर कलाको अनुपम नमुनाका रूपमा लिइन्छ । यसका बिमहरूमा महाभारतका कथामा आधारित चित्रहरू कुँदिएका छन् । जम्मा २१ वटा गजुर भएको यो मन्दिर निकै दुर्लभ प्रकारको मानिन्छ । कृष्ण मन्दिरका निर्माता सिद्धिनरसिंह मल्लमा अचम्मको आध्यात्मिक स्वभाव थियो । उनी जाडोको समयमा नांगै र लुगा पनि नओछ्याई प्रस्तरको खाटमा सुत्दथे, अनि गर्मीको समयमा पञ्चाग्नि तापेर बस्दथे । उनी कहिले निराहार बस्ने र कहिले एक मुठीदेखि एक पाथीसम्म पनि आहार लिन्थे भन्ने किंवदन्ती पनि पाइन्छ । पाटन दरबारको सुनधारामा सिद्धिनरसिंह मल्लले निर्माण गराएका कलाका विशिष्ट नमुनाहरू पाइएका छन् ।
पाटन दरबार प्रांगणमै कृष्ण मन्दिरछेउ च्यासिङदेग नामको त्यस्तै स्वरूपको मन्दिर पनि छ, जसको स्थापना सिद्धिनरसिंह मल्लकी नातिनी योगमतीले गराएकी हुन् । पर्यटकहरूद्वारा सधैं खचाखच हुने पाटर दरबार क्षेत्रमा कृष्णाष्टमीका दिन ठूलो मेला लाग्दछ ।

Built by King Siddhinarasimha Malla in 1636 AD, the Krishna Mandir of Patan is constructed using a hybrid of Shikhara and tiered-roof styles and is one of the finest examples of medieval Nepalese architecture. The twenty-one pinnacled structure is built entirely out of stone, with all the beams and pillars carved with images from the Mahabharata. The chief idol is housed in the second storey and is surrounded by many fine idols of Dashvatara.

Close to the Krishna Mandir, in the courtyard of the Patan Royal Palace lies another stone temple. This is the Chyasing Dega Temple. It was built by Yogamati, the sister of Yoganarendra Malla, and is another fine example of Nepalese architecture.