गोकर्णेश्वर महादेव मन्दिर काठमाडौंको उत्तरपूर्वी भागमा पर्दछ । यस ठाउँमा चन्द्रभागा नाम गरेको सानो खोला वाग्मती नदीमा मिल्दछ । यसलाई पितृतर्पणका लागि उपयुक्त स्थान मानिन्छ । गोकर्णेश्वर मन्दिरको स्थापनाका बारेमा हिमवत्खण्ड र नेपाल माहात्म्य पुराणमा ठूलो महिमा दिइएको छ । गोकर्णेश्वर मन्दिर क्षेत्रलाई उत्तरगयाका रूपमा लिइने हुनाले यहाँ पितृतर्पण गर्न उपयुक्त मानिएको हो । स्थानीय तहमा पनि अनेक किंवदन्ती र जनश्रुति पाइन्छन् । एउटा लोकोक्ति अनुसार, रावणले यिनै गोकर्णेश्वर महादेवलाई तपस्याको बलमा खुसी तुल्याएर बलियो र विजेता हुने वरदान पाएका थिए । अर्को किंवदन्ती अनुसार, परापूर्वकालमा शिवजी यस क्षेत्रमा मृगको रूप धारण गरी बसेका रहेछन् । तिनलाई चिनेकाले ब्रह्मा, विष्णु र इन्द्रले मृगरूपी शिवजीको सिङ समातेछन् । सिङ तीन टुक्रामा भाँचिएछ । तीनै देवताका हातमा एउटाएउटा टुक्रा आएछ । आआफ्नो भागको सिङलाई इन्द्रले अमरावतीमा, विष्णुले वैकुण्ठमा र ब्रह्माले यस ठाउँमा गाडेछन् । कालान्तरमा त्यसैलाई गोकर्णेश्वरका नामले पूजाआजा गर्न लागिएछ । अझ अर्को जनश्रुति अनुसार, कुनै एक वैश्यपुत्रले आफ्ना बाबु को हुन् भन्ने टुङ्गो पाएनछन् । बाबु पत्ता लगाउन उनी विश्रवा ऋषिको सल्लाह अनुसार गोकर्णमा पुगेछन् । त्यहाँ उनले बालुवाको चौका बनाई पिण्ड दिन लाग्दा हजारौं पितृहरू उपस्थित भएछन् । उक्त वैश्यकी आमालाई हजारौं मानिसले बलात्कार गरेकाले ती पितृमध्ये उनका बाबु को हुन् भन्ने दोधार भएछ । त्यसपछि ब्रह्माले उनलाई वैश्यपुत्र भएकाले त्यहाँ उपस्थित पितृहरूमध्ये एक जना वैश्यलाई पिण्डदान गर्न लगाएछन् । यसबाट पितृ प्रसन्न भई उनलाई आशीर्वाद दिएछन् । अनि उनले धेरै वर्ष सुखभोग गरी गोकर्णमै प्राणत्याग गरेछन् । गोकर्णलाई पितामह तीर्थ र भुजवत तीर्थ पनि भनिन्छ । नेपालका ६४ शिवलिंगमध्ये एक मानिने गोकर्णेश्वर महादेवको ख्याति धेरै अगाडिदेखि बढेको पाइन्छ । गोकर्णेश्वरको मन्दिरको स्थापनाको तिथि स्पष्ट नभए पनि मध्यकालतिर जयस्थिति मल्लले बनाएको चर्चा पाइन्छ । गोकर्णेश्वर मन्दिर कलाकृतिका दृष्टिले पनि निकै कलात्मक र भव्य छ । भदौ कृष्ण औंसी र पुसे औंसीका अवसरमा यहाँ तीर्थश्राद्ध गर्नेहरूको घुइँचो लाग्ने गर्दछ ।
Lying at Gokarna Tirtha, the confluence of the Chandrabhaga rivulet and the Bagmati river, the temple of Gokarneshwor Mahadev is mentioned in the Himvatkhanda Purana and the Nepal Mahatmya. It is believed that Ravan of Srilanka became brave after meditating to this deity. Gokarneshwor is also known as Uttar Gaya and is famous as a place for Pitri Tarpana. According to legend, Lord Shiva was once sheltering in Gokarneshwor in the form of a deer when some gods saw him and caught his horns, which subsequently broke into three parts. It is believed that Indra and Vishnu took some of the parts to Amaravati and Baikuntha respectively, while Brahma kept the rest at Gokarneshwor itself. This part of the horn later turned into the Shivalinga which is worshipped here to this day.
Gokarna is also known as the Pitamaha Tirtha and Bhujawata Tirtha and the Shivalinga here is one of the famous sixty-four famous Shivalingas of Nepal. The exact date of establishment of the temple is unknown, although historical records show that Jayasthiti Malla had renovated it in the medieval era. The chief festivals celebrated at the temple are Bhadra Krishna Aunsi and Puse Aunsi.