Photos: Galeshwor Mahadev, Myagdi गलेश्वर महादेव म्याग्दी

म्याग्दी जिल्लाको धनान गाउँमा प्रसिद्ध गलेश्वर महादेवको मन्दिर छ । कालीगण्डकी र रहुगंगा खोलाको संगमनजिकै पर्ने यस तीर्थको नाम जडेश्वर र जडभरेश्वर पनि हो । स्वस्थानीमा वर्णित कथा प्रसंग अनुसार, यसै स्थानमा सती देवीको गलो पतन भएको थियो । यहाँ परापूर्वकालमा जडभरतले तपस्या गरेको मानिन्छ । तसर्थ जडभरतेश्वर र जडेश्वर नाम पर्न गएको जनविश्वास छ । यो महादेव मन्दिर शालिग्राम नदी कालीगण्डकीको किनारमा स्थापना भएको हुनाले धार्मिक रूपमा यसको महत्व ज्यादा रहेको हो । यस स्थानमा जड भरतले राजा रहुगणलाई ज्ञानोपदेश दिएको पनि जनविश्वास छ ।
गलेश्वर महादेवको स्थापना कहिले भयो भन्ने कुरा स्पष्ट छैन । तर पनि यहाँ वाणलिंग स्वयम् उत्पत्ति भएको को पूजा हुने गर्दछ । यसको पूजाआजाको व्यवस्थाका लागि वि.सं. १९५९ सालमा पृथ्वीवीरविक्रम शाहले गुठी राखिदिएको देखिन्छ । हालको मन्दिर वि.सं. २०२० सालमा बनेको हो । यो मन्दिर तले शैलीमा निर्मित छ । दुइटा छानाहरू छन् । मन्दिरभित्र गलेश्वर महादेवको प्राकृतिक शिवलिंगका साथै शालिग्रामहरू पनि राखिएका छन् । त्रिशूल, घण्ट र नन्दीका मूर्तिहरूले पनि मन्दिरको शोभा बढाइरहेका छन् ।
बालाचतुर्दशी, शिवरात्रि र साउन महिनामा गलेश्वर महादेवस्थानमा ठूलो मेला लाग्दछ । गलेश्वर महादेवका दर्शन गरेर मात्र मुक्तिनाथको दर्शन गर्नुपर्छ भन्ने मान्यता पनि रहेको पाइन्छ ।

The famous temple of Galeshwor in Dhanan Village of Myagdi District is believed to have been founded at the place where the throat of Sati Devi fell.

The temple is also known as Jadeshwor and Jadabhareshwor and is considered to be an important religious site due to its location on the banks of the Kaligandaki River. The date of establishment of the original temple is unknown. The present structure, however, was built in 1963 AD. The object of worship is a rock, alongside which lie pieces of shaligrams, tridents, an idol of Nandi, and bells. The chief occasions for festivities here are the festivals of Shivaratri, Balachaturdashi, and also the entire month of Shrawan.