श्रीमद्भगबद्गीताः
अध्याय एक
कुरुक्षेत्रका युद्धभूमिमा सैनिकहरुको निरिक्षण
धृतराष्ट्रले भनेः
हे सञ्जय, युद्ध गर्ने इच्छाले कुरुक्षेत्रको धार्मिक स्थलमा जम्मा भएका मेरा र पाण्डुका छोराले के गरे ?
सञ्जयले भनेः
हे राजन् । पाण्डुका छोराहरुले गरेको सैनिक सैन्य मोर्चा देखेर राजा दुर्योधन आफ्ना गुरुका नजिक गएर यसरी भने । हे गुरु, हे आचार्य, हजुरको बुद्धिमान शिष्य द्रुपदको छोराले व्यवस्थित गरेको पाण्डवहरुको विशाल सैन्यशक्तिलाई एक पटक हेर्नुहोस् । यहाँ यो पाण्डव सेनामा भीम र अर्जुन समानका लडाइँ गर्ने महारथी युयुधान, विराट तथा द्रुपद जस्ता अनेक वीर धनुर्धारी हरु छन् । महान् वीरहरु तथा धृष्टकेतु, चेकितान, काशिराज, पुरुजित, कुन्तिभोज र शैव्य जस्ता शक्तिशाली योद्धाहरु पनि त्यहाँ छन् ।
त्यहाँ पराक्रमी युयुमन्यु, अत्यन्त शक्तिशाली उत्तमौजा, सुभद्राको छोरा र द्रौपदीका छोराहरु छन् । यी सबै योद्धाहरु महारथी हुन् । हे ब्राम्हण श्रेष्ठ, तपाइँको जानकारीका लागि म सैनिकहरुको सञ्चालनमा बिशेष दक्ष मेरा सेनापतिका बारेमा पनि केही भन्छु । मेरा सैनिकहरुमा सदा सर्वदा विजयी हुने, हजुर स्वयं, भीष्म, कर्ण, कृपाचार्य, अश्वस्थामा, विकर्ण र सोमदत्तका छोरा भूरिश्रवा आदि हुनुहुन्छ । मेरा लागि आफ्नो ज्यानसम्म पनि दिन तयार हुने त्यस्ता अरु वीरहरु पनि छन् । ती सबै अनेक प्रकारका हतियारहरुद्वारा सुसज्जित छन् र युद्ध विद्यामा पारंगत पनि छन् । हाम्रो शक्ति नाप्न नसकिने छ र हामी पूर्णरुपमा भीष्म पितामहद्वारा संरक्षित छौं भने भीमद्वारा संरक्षित पाण्डवहरुको शक्ति सीमित छ । तपाईंहरु सबैले यो सैन्यव्यूहमा आफ्नो ठाउँमा मोर्चामा रहेर सबैतिरबाट पितामह भीष्मलाई सहायता पुर्याउनुपर्दछ । कुरुवंशका अत्यन्त प्रतापी बयोवृद्ध तथा योद्धाहरुका पितामह भीष्मले दुर्योधनलाई आनन्द दिने आफ्नो शंख सिंह गर्जे जस्तै गरी अत्यन्त उच्च स्वरले बजाउनुभयो । त्यसपछि शंखहरु, ढोलहरु, सींगहरु, नगराहरु, तुरहीहरु सबै अचानक बज्न थाले र त्यो सबैको संयुक्त स्वर अत्यन्त भयंकर सुनियो । त्यसपछि सेता घोडाहरु नारिएको विशाल रथमा विराजमान भएर कृष्ण र अर्जुनले आफ्ना दिव्य शंखहरु बजाए । भगवान् कृष्णले आफ्नो पाञ्चजन्य शंख बजाउनुभयो, अर्जुनले देवदत्त नामको शंख बजाए र असाधारण कार्य गर्ने ठूलो आहारा भएको भीमले पनि पौण्ड्र् नामक डरलाग्दो शंख बजाए । हे राजन् । कुन्तीका छोरा युधिष्ठिरले अनन्तविजय नामको शंख बजाए अनि नकुल र सहदेवले सुघोष र मणिपुष्पक नामका शंख बजाए । महान् धनुर्धारी काशीराज, महान योद्धा शिखण्डी, धृष्टद्युम्न, विराट, अजेय, सात्यकि, द्रुपद, द्रौपदीका छोराहरु र सुभद्राका बलवान छोराहरु यी सबैले अलग–अलग आफ्ना शंख बजाए । विभिन्न किसिमका शंखहरु बज्दा भएको त्यो कोलाहलपूर्ण आवाजले आकाश र पृथ्वीलाई गुञ्जायमान तुल्याउँदै धृतराष्ट्र्का छोराहरुको ह्दय चिर्न थाल्यो । त्यसपछि हे राजन् । हनुमानको चित्र अंकित झण्डा भएको रथमा बसेर पाण्डुपुत्र अर्जुनले आफ्नो धनु उठाएर वाण वर्षाउनै लागेका समयमा धृतराष्ट्र्का छोराहरुलाई सैनिक व्यूहमा उभिएको देखेर भगवान् कृष्णलाई यी कुराहरु भने ।
अर्जुनले भनेः
हे अच्युत । कृपा गरेर यो रथ दुवै सेनाहरुका वीचमा लगेर अड्याउनुहोस् । त्यहाँ यो संघर्षको मैदानमा युद्ध गर्ने इच्छा लिएर जम्मा भएका को को सँग मैले शस्त्रास्त्रको परिक्षामा प्रतिष्पद्र्धा गर्नुपर्दछ, हेर्नसँकु । धृतराष्ट्र्को खराब बुद्धि भएको छोरो दुर्योधनलाई प्रसन्न पार्नका लागि जो यिनीहरु यहाँ लडाईं गर्न आएका छन्, तिनलाई म हेर्न चाहान्छु ।
सञ्जयले भनेः
हे भरतवंशी राजन् । अर्जुनद्वारा सम्बोधन गरिएका भगवान् कृष्णले अर्जुन चढेको त्यो उत्तम रथ दुवै पक्षका सैनिकहरुका बीचमा लगेर अड्याउनुभयो । भीष्म, द्रोण र सारा संसारभरिका राजाहरुका अगाडि भगवान् कृष्णले भन्नुभयो, हे पार्थ । यसरी यहाँ जम्मा भएका सम्पुर्ण कुरुहरुलाई हेर ।
दुवै पक्षका सैनिकहरुका बीचमा उभिएर हेर्दा अर्जुनले त्यहाँ आफ्ना बाबुहरु, हजुरबुबाहरु, गुरुहरु, मामाहरु, दाइभाइहरु, छोराहरु, नातिहरु, मित्रहरु, ससुराहरु र शुभचिन्तकहरुलाई देखे । विभिन्न वर्गका यी साथी सम्बन्धीहरुलाई युद्धभूमीमा देखेपछि कुन्तीपुत्र अर्जुन करुणाले अभिभूत भएर यसरी भन्नथाले ।
अर्जुनले भनेः
हे कृष्ण, लडाइँ गर्नका लागि मेरा अगाडि उपस्थित भएका यी आफ्नै साथी सम्बन्धीहरुलाई देखेर मेरो शरीर कामिरहेको छ र मेरो मुख पनि सुकिरहेको छ । मेरो सम्पुर्ण शरीरमा कम्पन भइरहेको छ, शरीरमा रोमाञ्च भइरहेको छ, रौंहरु ठडिइरहेका छन्, मेरो गाण्डिव धनु हातबाट चिप्लिंदै छ र मेरो छाला पोलिरहेछ । हे केशव, हे कृष्ण, अब यहाँ धेरै समय उभिने सामथ्र्य पनि ममा छैन । मैले आफैंलाई बिर्सदैछु, मेरो मन घुमिरहेको छ, म त केवल अशुभ मात्रै देखिरहेको छु । हे कृष्ण, युद्धमा आफ्ना नाता सम्बन्धीहरुलाई मारेर न म आफ्नो कुनै कल्याण देख्दछु न त जितेपछि पाइने राज्य र राज्यसुखको इच्छा नै ममा छ । हे गोविन्द । जसका लागि हामीलाई राज्य, भोग र सुख चाहिएको हो तिनीहरु नै आफ्नो प्राण र धनको आशा मारेर लडाइँ गर्न युद्धभूमिमा उभिएका छन् भने त्यो राज्य, त्यो भोग र त्यो जीवन समेतले हामीलाई के लाभ भयो ? त्यसैले हे मधुसूदन, मलाई विजय पनि चाहिएन, राज्य र सुख पनि चहिएन । गुरुहरु, हजुरबाहरु, बुबाहरु, छोराहरु, नातिहरु, मामाहरु, साला – जेठानहरु, ससुराहरु र अन्य सम्बन्धीजनहरु साराका सारा युद्ध गर्न मेरा अगाडि उभिएका छन् । पृथ्वीको राज्यको के कुरा स्वर्ग, मत्र्य र पाताल यी तीनै लोकको राज्य पाए पनि म यिनीहरुलाई मार्न चाहान्न । यिनीहरुले नै मलाई मार्दछन् भने मारुन् । यी धृतराष्ट्र्का छोराहरुलाई मारेर हामीलाई के आनन्द होला र ?
यस्ता आततायीहरुलाई मार्यौं भने हामीलाई पाप लाग्नेछ, त्यसैले धृतराष्ट्र्का छोराहरु र अरु हाम्रा मित्रहरुलाई मार्नु हाम्रा लागि उचित छैन । हे लक्ष्मीपति कृष्ण, यी आफन्तहरुलाई मारेर हामीलाई के लाभ होला र, के सुख होला र ? हे जनार्दन, यी मानिसहरुको बुुद्धि लोभले गर्दा भ्रष्ट भएको छ । यिनीहरु आफ्ना परिवारलाई मार्ने र मित्रहरुसँग झगडा गर्ने कुरामा पनि कुनै दोष देख्दैनन् । तर कुलको विनाशमा ठूलो अपराध देख्ने हामीहरु किन यी पापपूर्ण कार्यमा संलग्न भइरहने ? वंशको विनाशसँगै शाश्वत कुलपरम्परा पनि नाश हुन जान्छ र यसरी बाँकी रहेको परिवार पनि अधर्ममा संलग्न हुनपुग्दछ । हे कृष्ण, कुलमा अधर्म बढ्न सुरुभए पछि कुलका स्त्रीहरु दूषित हुन पुग्दछन् र यसरी स्त्रीहरु आफ्नो सतीत्वबाट पतित भएपछि हे वृष्णिवंशी कृष्ण, नचाहिएका सन्तानहरु उत्पन्न हुन्छन् । वर्णसंकर सन्तानहरुको बृद्धिबाट परिवारलाई र पारिवारिक परम्परा दुवैलाई नाश गर्ने दुवै प्रकारका कुलघातीहरुका पितृहरु पनि श्राद्ध तर्पण जस्ता पितृकार्यको लोप हुनाले नरकमा खस्दछन् । आफ्ना कुलपरम्परालाई नाश गर्ने व्यक्तिहरुको कुकृत्यबाट वर्णसंकर सन्ततिहरु उत्पन्न हुन्छन् र तिनका दुष्कृत्यहरुवाट सबै प्रकारका सामुदायिक योजनाहरु तथा पारिवारिक कल्याणका कार्यहरु समेत नष्ट हुन पुग्दछन् । हे प्रजापालक कृष्ण, कुलधर्मलाई विनाश गर्नेहरु सधैंभरी नरकमै बास गर्दछन् भन्ने कुरा मैले गुरुपरम्पराबाट सुनेको छु । ओहो, कति आश्चर्यको कुरा हो हामी राज्यको सुख भोग्ने लोभमा परेर आफ्नै आफन्तहरुलाई मार्न तयार भएर ठूलो पापकर्म गर्न खोजिरहेका छौं । हातमा शस्त्र लिएका धृतराष्ट्र्का छोराहरुले हतियार पनि नलिएको र युद्ध मैदानमा कुनै प्रतिरोध पनि नगर्ने मलाई मार्छन भने मारुन् । मेरा लागि त्यो श्रेयसकर हुनेछ ।
सञ्जयले भनेः
युद्धभूमिमा अर्जुनले यिनै कुरा भनेर आफ्नो वाण सहितको धनु एकातिर पन्छाएर मनमा अनेक शोक सन्तप्त हुँदै फेरि रथमा गएर बसे ।
यस प्रकार श्रीमद्भगवद्गीता अन्तर्गत कुरुक्षेत्रका युद्धभूमिमा सैनिकहरुको निरिक्षण शिर्षक पहिलो अध्याय समाप्त भयो ।
सञ्जयले भनेः
करुणाले भरिएका, शोकले व्याकुल भएका र आँखाभरि आँसु लिएका अर्जुनलाई देखेर मधुसूदन कृष्णले निम्नलिखित शब्दहरु भन्नुभयो ।
श्री भगवानले भन्नुभयोः
प्रिय अर्जुन, तिमीमा यी खिन्नताहरु कसरी आए । जीवनको मूल्य बुझ्ने मानिसका लागि यी कुराहरु सुहाउँदैनन् यसबाट न स्वर्गीय लोकहरुको प्राप्ती हुन्छ न राम्रो कीर्ति नै रहन्छ । हे पृथापुत्र अर्जुन । नामर्द नबन, तिमी जस्तो वीरलाई यो शोभा दिंदैन । हे शत्रु दमनकर्ता । ह्दयको क्षुद्र दुर्बलतालाई त्यागेर युद्ध गर्न उठ ।
अर्जुनले भनेः
हे शत्रुहन्ता, हे मधुसूदन । मैले कसरी युद्धभूमीमा भीष्म र द्रोण जस्ता पूजनीय व्यक्तिहरुमाथि वाणले प्रतिप्रहार गरुँ । ठूला महानुभाव गुरुजनहरुलाई मार्नुभन्दा बरु यो संसारमा भीख मागेर बाँच्नु राम्रो हो । सांसारिक लाभका इच्छुक भए पनि उनीहरु मेरा गुरुहरु हुन् । यदि उनीहरु मारिन्छन् भने हामीले भोग गर्ने हरेक वस्तु रगतले मुछिएको रक्तरञ्जित हुनेछ । हामीले उनीहरुलाई जिते राम्रो हुने हो कि उनीहरुले हामीलाई जिते राम्रो हुने हो त्यो पनि हामीलाई थाहा छैन । हामी जुन धृतराष्ट्र्का छोराहरुलाई मार्न चाहाँदैनौँ तिनीहरुनै अहिले हाम्रा अगाडि युद्धभूमीमा उभिइरहेका छन् । अहिले विवेकको दुर्बलताले गर्दा मैले मेरो कर्तव्य के हो निश्चित गर्न सकिरहेको छैन र म आफ्नो सम्पूर्ण धैर्य पनि गुमाउँदैछु । यस्तो अवस्थामा मैले हजुरसँग सोधिरहेको छु मेरा लागि सबैभन्दा राम्रो के हुन्छ, त्यही भन्नुहोस् । म हजुरकै शिष्य हुँ र हजुरकै शरणमा आएको छु, अतः कृपा गरेर मलाई समुचित उपदेश दिनुहोस् । मेरा इन्द्रियहरुलाई सुकाउने यो शोक हटाउने कुनै उपाय म देख्दिन । स्वर्गमा देवताहरु जस्तै यो पृथ्वीमा संसारभरीको निष्कण्टक र धन धान्यपूर्ण राज्य पाए पनि म यो शोकलाई हटाउन सक्दिन ।
सञ्जयले भनेः
यति भनेपछि शत्रुहरुलाई दमन गर्ने अर्जुनले कृष्णसँग गोबिन्द, म लडाइँ गर्दिन भने र चुप लागेर बसे । हे भरतवंशी, त्यस समय दुवैतर्फका सैनिकहरुका बीचमा शोकमग्न भएका अर्जुनलाई कृष्णले हाँस्दै यी शब्दहरु भन्नुभयो ।
भगवान्ले भन्नुभयोः
तिमी कुरा विद्धानका जस्ता गर्छौ तर जसका लागि शोक गर्नु आवश्यक छैन त्यसैका लागि शोक गरिरहेका छौ । पण्डितजनहरु न जिउँदाका लागि शोक गर्दछन् न मरेकाका लागि शोक गर्दछन् । यो भन्दा अघि पनि म नभएको, तिमी नभएको र यी राजाहरु नभएको कुनै समय थिएन र पछि भविष्यमा पनि हामी सबैको अस्तित्व नभएको कुनै समय हुने छैन । जसरी यो शरीरधारी आत्मा निरन्तर बाल्यावस्थाबाट युवावस्थामा र युवावस्थाबाट बृद्धावस्थातिर परिवर्तन भइरहन्छ, त्यसैगरी यो आत्मा एउटा शरीरको मृत्युपछि अर्को शरीरमा स्थानान्तरित हुने गर्दछ । यस किसिमको परिवर्तनलाई देखेर धीर पुरुषहरु मोहित हुँदैनन् । हे कुन्तीपुत्र, दुःख र सुख भन्ने कुरा कालक्रममा आउने र जाने जाडो र गर्मी ऋतु जस्ता अस्थायी विषय हुन् र यी इन्द्रियबोधबाट उत्पन्न हुन्छन्, अतः हे भरतवंशी अर्जुन, यस्ता कुरालाई मानिसले विचलित नभईकन सहन गर्न सिक्नुपर्दछ । हे पुरुष श्रेष्ठ अर्जुन, जुन व्यक्ति सुख र दुःखबाट बिचलित हुँदैन र दुवै अवस्थामा समान रहन्छ त्यो व्यक्ति निश्चय नै मुक्ति पाउनयोग्य हुन्छ । असत् वस्तु (भौतिक शरीर) को कुनै चिरस्थायित्व छैन र सत् वस्तुको –आत्माको) कुनै परिवर्तन नै हुँदैन । आत्मा र शरीर यी दुवैका प्रकृतिको अध्ययन गरेर तत्वदर्शीहरुले यस्तो निष्कर्ष निकाले । जो सम्पूर्ण शरीरहरुमा व्याप्त छ त्यसैलाई तिमीले अविनाशी सम्झनु पर्दछ । यो अव्वय आत्मालाई कसैले पनि नष्ट गर्न सक्दैन । अविनाशी, अपरिमेय र शाश्वत जीवात्माको भौतिक शरीर नाशवान् छ, त्यसैले हे भरतवंशी अर्जुन तिमी युद्ध गर । जसले यो जीवात्मालाई मार्ने ठान्दछ र जस्ले यसलाई मार्नेवाला ठान्दछ ती दुवै अज्ञानी हुन् । यो आत्मा न मर्दछ न मारिन्छ । आत्माका लागि न कहिल्यै जन्म छ न मृत्यु । आत्मा कहिल्यै जन्मिएन, जन्मिदैन र जन्मिनेछैन । ऊ अजन्मा छ, नित्य छ, शाश्वत छ र पुरातन छ । शरीर मर्दा पनि ऊ मर्दैन ।हे पार्थ, जसले यो आत्मा अविनाशी छ, नित्य छ, अजन्मा छ र अव्यय छ भन्ने जान्दछ त्यसले कसरी कसैलाई मार्ला वा मार्न लगाउन सक्ला ? जसरी मानिसले पुराना वश्त्रहरु त्यागेर नयाँ वश्त्र धारण गर्दछ त्यसै गरी आत्माले पनि पुराना र काम नलाग्ने शरीरलाई त्यागेर नयाँ भौतिक शरीर धारण गर्दछ । यो आत्मालाई न कहिल्यै कुनै हतियारले टुक्राउन सकिन्छ न आगोले डढाउन सकिन्छ, न पानीले भिजाउन सकिन्छ न हावाद्धारा नै सुकाउन सकिन्छ । यो व्यष्टि आत्मा कहिल्यै नफुट्ने, नडढ्ने, नभिज्ने र नसुक्ने खालको हुन्छ । यो आत्मा सधैं रहिरहन्छ, सर्वव्यापक छ, अपरिवर्तनशील छ, अचल छ र सर्वदा एकैनासको छ । यो आत्मालाई अव्यक्त, अचिन्त्य र अपरिवर्तनीय भनिन्छ । यो कुरा बुझेर पनि तिमीले शरीरका लागि शोक गर्नु हुँदैन । यदि तिमीले आत्मालाई सधैं जन्मिरहने र सधैं मरिरहने ठान्छौ भने पनि हे महाबाहु, तिमीले यसका लागि शोक गर्नु पर्ने कुनै कारण छैन । जो जन्मिएको छ, त्यो अवश्यै मर्छ र मरेपछि फेरि अवश्य जन्मिन्छ, अतः आफ्नो नगरिनहुने कर्तव्यको पालन तिमीले गर्नैपर्दछ र यसमा शोक गर्नुहुँदैन ।जन्मिनुभन्दा अगाडि सबै जीवहरु अव्यक्त अवस्थामा हुन्छन्, जन्मेर नमरुन्जेल मध्य अवस्थामा तिनीहरु व्यक्त हुन्छन् र मरेपछि फेरि अव्यक्त नै हुन्छन् अतः यसमा शोक गर्नुपर्ने के आवश्यकता छ ? यो आत्मालाई कसैले आश्चर्यका रुपमा हेर्दछन्, कसैले आश्चर्यका रुपमा व्याख्या गर्दछन्, कसैले आश्चर्यकै रुपमा यसका बारेमा सुन्दछन् तर कोही यसका बारेमा सुनेर पनि केहि बुझ्न सक्दैनन् । हे भरतवंशी अर्जुन, शरीरमा रहने शरीरका स्वामीलाई कहिल्यै मार्न सकिंदैन त्यसैले कुनै पनि जीवात्माका लागि तिमीले शोक गर्नु पर्दैन । एउटा क्षत्रियले गर्नुपर्ने विशिष्ट कर्तव्यलाई विचार गरेर, धर्मका लागि युद्ध गर्नुभन्दा राम्रो अरु कुनै कार्य छैन भन्ने कुरा तिमीले बुझ्नुपर्दछ र यस्तो कार्य गर्न तिमीले कुनै संकोच मान्नुहुँदैन । हे पार्थ, स्वतः प्राप्त हुन आएको, स्वर्गको खुलेको ढोका जस्तो यस्तो युद्धको अवसर अत्यन्त सुखी वा भाग्यशाली क्षत्रियहरुले मात्र प्राप्त गर्दछन् । यदि केहि गरेर तिमीले यो युद्धरुपी धार्मिक कर्तव्य पुरा गरेनौ भने, तिमीलाई आफ्नो कर्तव्य पालन नगरेको पाप लाग्नेछ र तिमीले योद्धाका रुपमा पाएको यश पनि गुमाउनेछौ । मानिसहरुले सधैं तिम्रो अपयशको वर्णन गर्नेछन् । एउटा सम्मानित व्यक्तिका लागि अपयश भन्ने कुरा मृत्युभन्दा पनि बढ्ता कष्टकर हुन्छ । जुन जुन महारथीहरुले तिम्रो नाम र इज्जतलाई अत्यन्त आदर गरेका छन्, तिनैले तिमीलाई युद्धबाट डराएर भागेको ठानेर तिमीलाई तुच्छ मान्नेछन् । तिम्रा शत्रुहरु तिम्रो पुरुषार्थको उपहास गर्दै अनेकौं दुर्वचनहरु भनेर तिम्रो निन्दा गर्नेछन्, त्यो भन्दा कष्टदायी कुरा तिम्रा लागि अरु के होला ? हे कुन्तीपुत्र, यदि युद्धमा मारियौ भने तिमीले स्वर्गलोक पाउने छौ र यदि युद्ध नै तिमीले जित्यौ भने पृथ्वीको राज्य भोग्न पाउने छौ त्यसैले दृढ संकल्पका साथ उठ र युद्ध गर । सुख–दुःख, लाभ–हानी, विजय–पराजयसम्बन्धी विचारै नगरी तिमी युद्धका लागि युद्ध गर, यसो गर्यौ भने तिमीलाई कुनै पाप लाग्ने छैन । यसरी विष्लेषणात्मक अध्ययनद्धारा मैले तिमीलाई यो ज्ञानको वर्णन गरें । अब म निष्काम कर्मको व्याख्या गर्छु, सुन । हे पार्थ, यदि तिमीले यहि ज्ञानमा रहेर कर्म गर्यौ भने तिमीले आफुलाई कर्मबन्धनबाट मुक्त गर्न सक्छौ । यस प्रयासमा न कुनै हानि छ न बिध्न नै । यो मार्गमा गरिएको सानो प्रगतिले पनि व्यक्तिलाई अत्यन्त भयानक किसिमको भयबाट मुक्त गराइदिन्छ । जो व्यक्ति यो मार्गमा लागेका छन्, जो आफ्नो लक्षमा दृढ छन् तिनको उद्धेश्य एउटै हुन्छ । हे कुरुनन्दन्, तर जो दृढप्रतिज्ञ छैनन् तिनीहरुको बुद्धि भने अनेक शाखाहरुमा विभाजित हुन्छ । अल्पज्ञानी व्यक्तिहरु वेदका आलंकारिक वचनहरुप्रति अति आसक्त हुन्छन् । त्यहाँ स्वर्ग प्राप्ती गराउने र राम्रो जन्म, शक्ति र यस्तै अन्य कुराहरु प्राप्त गराउने धेरै किसिमका सकाम कर्महरु बताइएका छन् । इन्द्रियभोग र सम्पन्न जीवनको चाहना राख्ने व्यक्तिहरु यो भन्दा ठूलो कुरा केही छैन भन्ने गर्दछन् । जसको मन इन्द्रियभोग र सांसारिक वैभवप्रति अत्यधिक आशक्त छ र जसलाई यस्ता वस्तुहरुले मोहित गर्छन त्यस्ता व्यक्तिहरु भगवानको अटल भक्तिमा दृढ हुन सक्दैनन् । वेदमा मुख्य गरी प्रकृतिका तीन गुणहरुका सम्बन्धमा उल्लेख छ, त्यसैले हे अर्जुन, तिमी यी तीन गुण भन्दा पर जाऊ । सम्पुर्ण द्वैतभावबाट मुक्त होऊ, समस्त लाभ र सुरक्षाका चिन्ताबाट पनि मुक्त होऊ र आत्मामा स्थित होऊ । जसरी एउटा सानो कुवाको काम विशाल जलाशयबाट तुरुन्त पुरा हुन्छ त्यसै गरी वेदका पछाडि रहेको प्रयोजन परब्रम्हलाई जानेपछि स्वतः पूर्ण हुन्छ । तिमीलाई आफ्नो निर्धारित कर्म गर्ने मात्र अधिकार छ, तर कर्मको फल पाउने नपाउने कुरा तिम्रो अधिनमा छैन । तिमीले आफुलाई कर्मफलको कारण पनि कहिल्यै नसोछ र कर्तव्य गर्नबाट विमुख पनि कहिल्यै नहोऊ ।हे अर्जुन, सफलता वा असफलताका सम्पूर्ण आसक्तिलाई त्याग गरेर समभावमा रहेर आफ्नो कर्तव्य गर । यही समभावलाई योग भनिन्छ । हे धनन्जय, भक्तिमय सेवाद्वारा सम्पूर्ण निन्दित कर्मबाट टाढा बस र त्यही सेवाभावमा रहेर भगवान्को शरणमा पर । आफ्ना सकाम कर्महरुको फल भोग्न चाहनेहरु कृपण हुन्, तुच्छ विचारका हुन् । भगवद्भक्तिमा लागेको मानिसले यही जीवनमा नै आफुलाई राम्रा र नराम्रा दुवै कर्मबाट मुक्त गराउँदछ, त्यसैले तिमी भक्तियोग प्राप्त गर्ने प्रयत्न गर, किनभने सम्पूर्ण कर्ममा कुशलता नै योग हो ।यसरी भगवान्को भक्तिमा तल्लीन रहेर महर्षिहरु वा भक्तहरुले आफुलाई सांसारिक कर्मका प्रतिफलबाट मुक्त गर्दछन् र यसरी नै जन्म र मृत्युका चक्रबाट मुक्त भएर तिनीहरुले सम्पूर्ण दुःखभन्दा परको अवस्था प्राप्त गर्दछन् । जब तिम्रो बुद्धिले मोहरुपी घना जंगललाई पार गर्नेछ, त्यस समय तिमी पहिल्यै सुनिसकिएका र सुन्नैपर्ने सबै कुराप्रति विरक्त हुनेछौ । जब तिम्रो मन वेदको आलंकारिक भाषाबाट विचलित हुनेछैन र आत्माको अनुभूतिमा एकाग्र भएर स्थिर रहने छ तब मात्र दिव्य चेतना प्राप्त गर्नेछौ ।
अर्जुनले सोधेः
हे कृष्ण, अध्यात्ममा लीन भएका व्यक्तिको पहिचान के हो ? ती कसरी बोल्दछन् ? तिनको भाषा कस्तो हुन्छ ? ती कसरी बस्दछन्, अनि कसरी हिंड्दछन् ।
भगवान्ले भन्नुभयोः
हे पार्थ, जब मानिसले मानसिक चिन्तनबाट इन्द्रियतृप्तिका लागि उठ्ने सबै किसिमका इच्छाहरुलाई त्यागिदिन्छ र त्यसरी पवित्र हुन पुगेको उसको मनले आफ्नै आत्मामा परम् सन्तुष्टि प्राप्त गर्नथाल्दछ अनि मात्र त्यस्तो व्यक्तिलाई पावन तथा दिव्य चेतनामा अवस्थित (स्थितप्रज्ञ) भनिन्छ । तीन तापहरुका बीचमा रहँदा पनि जसको मन विचलित हुँदैन, वा सुखमा हुँदा जसको मन प्रफुल्लित हुँदैन र जो डर क्रोध र आसक्तिबाट मुक्त छ त्यसैलाई स्थितप्रज्ञ भनिन्छ । यस भौतिक संसारमा जसले असल कुरा प्राप्त हुँदा हर्षित हुने र अशुभ कुरा आइपर्दा घृणा गर्दैन, त्यही नै पूर्ण ज्ञान अवस्थित भएको व्यक्ति हो । जसरी कछुवाले आफ्ना अंगहरुलाई खुम्च्याएर खोलभित्र समेट्छ, त्यसै गरी जसले आफ्ना इन्द्रियहरुलाई तिनका बिषयबाट खिच्दछ त्यही व्यक्ति नै दृढतापूर्बक चेतनामा स्थिर रहन्छ । कुनै देहधारी जीव इन्द्रियभोगबाट मुक्त भएर पनि उसमा त्यसको वासना भने रहिरहन्छ तर यदि त्यो भन्दा उत्कृष्ट रसको स्वाद उसले पायो भने विषयभोगको अभिरुचि समाप्त हुन्छ र ऊ कृष्णचेतनामा स्थिर हुन्छ । हे अर्जुन, इन्द्रियहरु कति बलवान् र वेगवान् छन् भने तिनीहरुलाई नियन्त्रण गर्ने प्रयत्नशील विवेकी मानिसको मनलाई पनि तिनले बलपूर्वक हरण गरिदिन्छन् । जुन व्यक्तिले आफ्ना इन्द्रियहरुलाई पूर्णतया नियन्त्रणमा राखेर निग्रह गरेको छ र आफ्नो चेतनालाई ममा स्थिर गरेको छ, त्यही व्यक्ति स्थितप्रज्ञ भनिन्छ । इन्द्रियका विषयहरुको चिन्तन गर्दागर्दै मानिस तिनै विषयमा आसक्त हुन्छ, त्यस्तो आसक्तिबाट काम उत्पन्न हुन्छ र कामबाट क्रोध उत्पन्न हुन्छ । क्रोधबाट पूर्ण मोह उत्पन्न हुन्छ, मोहबाट स्मरणशक्ति भ्रमित हुन्छ, स्मरणशक्ति भ्रमित भएपछि बुद्धि नाश हुन्छ, जब बुद्धि हराउँछ, मानिस यो संसाररुपी कुवामा फेरि खस्दछ । ।तर सम्पूर्ण राग र द्वेषबाट मुक्त भएको र स्वतन्त्र नीति–नियमहरुद्वारा आफ्ना इन्द्रियहरुलाई नियन्त्रण गर्न सक्ने व्यक्तिले भगवान्को पूर्ण कृपा प्राप्त गर्न सक्दछ । यसरी कृष्णभावनामा सन्तुष्ट रहने व्यक्तिका लागि संसारका तीनै किसिमका भौतिक कष्टहरु धेरै टिक्दैनन् । यस किसिमको तृप्त चेतनामा रहने व्यक्तिको बुद्धि चाँडै नै स्थिर हुन्छ ।जो व्यक्ति कृष्णभावनामा रहेर भगवान्सँग जोडिएको छैन त्यो व्यक्तिको न बुद्धि नै दिव्य हुनसक्दछ न मन नै स्थिर हुनसक्दछ । अस्थिर मन भएका व्यक्तिले शान्ति प्राप्त गर्नु सम्भव छैन र शान्तिबिना सुख कसरी पाउन सकिन्छ र ? जसरी पानीमाथिको डुंगालाई शक्तिशाली हावाले हुत्याएर एकातिर पुर्याइदिन्छ त्यसै गरी विचरणशील इन्द्रियहरुमध्धे कुनै एकमा एकाग्र भएको मनले मानिसको बुद्धिलाई नै हरण गरिदिन्छ । त्यसैले हे महाबाहु, जसका इन्द्रियहरु आफ्ना विषयबाट पूर्णतः हटेर नियन्त्रणमा आएका छन् त्यसैको बुद्धिलाई निसन्देह स्थिर बुद्धि मान्नुपर्दछ । जुन समय सबै जीवहरुका लागि रात्री हुन्छ, त्यसमा आत्मसंयमी पुरुष जागृत रहन्छन् र सबै जीवहरु जाग्ने समय आत्मदर्शी मुनिका लागि रात्री हुन्छ । जसरी सर्धै परिपूर्ण र अचल रुपमा प्रतिष्ठित समुन्द्रमा नदीहरु प्रवेश गर्दछन् त्यसै गरी स्थिर चित्त भएका व्यक्तिका ह्दयमा अनेक इच्छाहरु नित्य प्रवेश गर्दछन् र बिलाउँदछन् । त्यस्तै स्थिर व्यक्तिले मात्र शान्ति प्राप्त गर्दछन् तर विषयको इच्छा भएका व्यक्तिले त्यो शान्ति पाउँदैनन् । जसले इन्द्रियतृप्तिका सबै चाहनाहरुलाई त्यागिदिएको छ, जो इच्छाहरुबाट मुक्त छ, जसले सम्पूर्ण ममतालाई पनि त्यागिदिएको छ र अहंकारशून्य बनेको छ त्यही व्यक्तिले मात्र वास्तविक शान्ति प्राप्त गर्न सक्दछ । यो अध्यात्मिक तथा ईश्वरीय जीवनको मार्ग हो जसलाई प्राप्त गरेपछि मानिस मोहित हुँदैन । हे पृथापुत्र अर्जुन, जीवनको अन्तिम अवस्थामा पनि यस्तो स्थितिमा पुग्ने मानिस भगवान्को धाममा प्रवेश गर्नसक्दछ ।