श्रीमद्भगबद्गीताः अध्याय एकः कुरुक्षेत्रका युद्धभूमिमा सैनिकहरुको निरिक्षण
धृतराष्ट्रले भनेः
हे सञ्जय, युद्ध गर्ने इच्छाले कुरुक्षेत्रको धार्मिक स्थलमा जम्मा भएका मेरा र पाण्डुका छोराले के गरे ? ।।१।१।।
सञ्जयले भनेः
हे राजन् । पाण्डुका छोराहरुले गरेको सैनिक सैन्य मोर्चा देखेर राजा दुर्योधन आफ्ना गुरुका नजिक गएर यसरी भने । ।। १।२ ।।
हे गुरु, हे आचार्य, हजुरको बुद्धिमान शिष्य द्रुपदको छोराले व्यवस्थित गरेको पाण्डवहरुको विशाल सैन्यशक्तिलाई एक पटक हेर्नुहोस् । ।। १।३ ।।
यहाँ यो पाण्डव सेनामा भीम र अर्जुन समानका लडाइँ गर्ने महा।थी युयुधान, विराट तथा द्रुपद जस्ता अनेक वीर धनुर्धारी हरु छन् । ।। १।४ ।।
महान् वीरहरु तथा धृष्टकेतु, चेकितान, काशिराज, पुरुजित, कुन्तिभोज र शैव्य जस्ता शक्तिशाली योद्धाहरु पनि त्यहाँ छन् । ।। १।५ ।।
त्यहाँ पराक्रमी युयुमन्यु, अत्यन्त शक्तिशाली उत्तमौजा, सुभद्राको छोरा र द्रौपदीका छोराहरु छन् । यी सबै योद्धाहरु महारथी हुन् । ।। १।६ ।।
हे ब्राम्हण श्रेष्ठ, तपाइँको जानकारीका लागि म सैनिकहरुको सञ्चालनमा बिशेष दक्ष मेरा सेनापतिका बारेमा पनि केही भन्छु । ।। १।७ ।।
मेरा सैनिकहरुमा सदा सर्वदा विजयी हुने, हजुर स्वयं, भीष्म, कर्ण, कृपाचार्य, अश्वस्थामा, विकर्ण र सोमदत्तका छोरा भूरिश्रवा आदि हुनुहुन्छ । ।। १।८ ।।
मेरा लागि आफ्नो ज्यानसम्म पनि दिन तयार हुने त्यस्ता अरु वीरहरु पनि छन् । ती सबै अनेक प्रकारका हतियारहरुद्वारा सुसज्जित छन् र युद्ध विद्यामा पारंगत पनि छन् । ।। १।९ ।।
हाम्रो शक्ति नाप्न नसकिने छ र हामी पूर्णरुपमा भीष्म पितामहद्वारा संरक्षित छौं भने भीमद्वारा संरक्षित पाण्डवहरुको शक्ति सीमित छ । ।। १।१० ।।
तपाईंहरु सबैले यो सैन्यव्यूहमा आफ्नो ठाउँमा मोर्चामा रहेर सबैतिरबाट पितामह भीष्मलाई सहायता पुर्याउनुपर्दछ । ।। १।११ ।।
कुरुवंशका अत्यन्त प्रतापी बयोवृद्ध तथा योद्धाहरुका पितामह भीष्मले दुर्योधनलाई आनन्द दिने आफ्नो शंख सिंह गर्जे जस्तै गरी अत्यन्त उच्च स्वरले बजाउनुभयो । ।। १।१२ ।।
त्यसपछि शंखहरु, ढोलहरु, सींगहरु, नगराहरु, तुरहीहरु सबै अचानक बज्न थाले र त्यो सबैको संयुक्त स्वर अत्यन्त भयंकर सुनियो । ।। १।१३ ।।
त्यसपछि सेता घोडाहरु नारिएको विशाल रथमा विराजमान भएर कृष्ण र अर्जुनले आफ्ना दिव्य शंखहरु बजाए । ।। १।१४ ।।
भगवान् कृष्णले आफ्नो पाञ्चजन्य शंख बजाउनुभयो, अर्जुनले देवदत्त नामको शंख बजाए र असाधारण कार्य गर्ने ठूलो आहारा भएको भीमले पनि पौण्ड्र् नामक डरलाग्दो शंख बजाए । ।। १।१५ ।।
हे राजन् । कुन्तीका छोरा युधिष्ठिरले अनन्तविजय नामको शंख बजाए अनि नकुल र सहदेवले सुघोष र मणिपुष्पक नामका शंख बजाए । महान् धनुर्धारी काशीराज, महान योद्धा शिखण्डी, धृष्टद्युम्न, विराट, अजेय, सात्यकि, द्रुपद, द्रौपदीका छोराहरु र सुभद्राका बलवान छोराहरु यी सबैले अलग–अलग आफ्ना शंख बजाए । ।। १।१६।१७।१८ ।।
विभिन्न किसिमका शंखहरु बज्दा भएको त्यो कोलाहलपूर्ण आवाजले आकाश र पृथ्वीलाई गुञ्जायमान तुल्याउँदै धृतराष्ट्र्का छोराहरुको ह्दय चिर्न थाल्यो । ।। १।१९ ।।
त्यसपछि हे राजन् । हनुमानको चित्र अंकित झण्डा भएको रथमा बसेर पाण्डुपुत्र अर्जुनले आफ्नो धनु उठाएर वाण वर्षाउनै लागेका समयमा धृतराष्ट्र्का छोराहरुलाई सैनिक व्यूहमा उभिएको देखेर भगवान् कृष्णलाई यी कुराहरु भने । ।। १।२० ।।
र्जुनले भने, हे अच्युत । कृपा गरेर यो रथ दुवै सेनाहरुका वीचमा लगेर अड्याउनुहोस् । त्यहाँ यो संघर्षको मैदानमा युद्ध गर्ने इच्छा लिएर जम्मा भएका को को सँग मैले शस्त्रास्त्रको परिक्षामा प्रतिष्पद्र्धा गर्नुपर्दछ, हेर्नसँकु । ।। १।२१।२२ ।।
धृतराष्ट्र्को खराब बुद्धि भएको छोरो दुर्योधनलाई प्रसन्न पार्नका लागि जो यिनीहरु यहाँ लडाईं गर्न आएका छन्, तिनलाई म हेर्न चाहान्छु । ।। १।२३ ।।
सञ्जयले भनेः
हे भरतवंशी राजन् । अर्जुनद्वारा सम्बोधन गरिएका भगवान् कृष्णले अर्जुन चढेको त्यो उत्तम रथ दुवै पक्षका सैनिकहरुका बीचमा लगेर अड्याउनुभयो । ।। १।२४ ।।
भीष्म, द्रोण र सारा संसारभरिका राजाहरुका अगाडि भगवान् कृष्णले भन्नुभयो, हे पार्थ । यसरी यहाँ जम्मा भएका सम्पुर्ण कुरुहरुलाई हेर । ।। १।२५ ।।
दुवै पक्षका सैनिकहरुका बीचमा उभिएर हेर्दा अर्जुनले त्यहाँ आफ्ना बाबुहरु, हजुरबुबाहरु, गुरुहरु, मामाहरु, दाइभाइहरु, छोराहरु, नातिहरु, मित्रहरु, ससुराहरु र शुभचिन्तकहरुलाई देखे । ।। १।२६ ।।
विभिन्न वर्गका यी साथी सम्बन्धीहरुलाई युद्धभूमीमा देखेपछि कुन्तीपुत्र अर्जुन करुणाले अभिभूत भएर यसरी भन्नथाले । ।। १।२७ ।।
अर्जुनले भनेः
हे कृष्ण, लडाइँ गर्नका लागि मेरा अगाडि उपस्थित भएका यी आफ्नै साथी सम्बन्धीहरुलाई देखेर मेरो शरीर कामिरहेको छ र मेरो मुख पनि सुकिरहेको छ । ।। १।२८ ।।
मेरो सम्पुर्ण शरीरमा कम्पन भइरहेको छ, शरीरमा रोमाञ्च भइरहेको छ, रौंहरु ठडिइरहेका छन्, मेरो गाण्डिव धनु हातबाट चिप्लिंदै छ र मेरो छाला पोलिरहेछ । ।। १।२९ ।।
हे केशव, हे कृष्ण, अब यहाँ धेरै समय उभिने सामथ्र्य पनि ममा छैन । मैले आफैंलाई बिर्सदैछु, मेरो मन घुमिरहेको छ, म त केवल अशुभ मात्रै देखिरहेको छु । ।। १।३० ।।
हे कृष्ण, युद्धमा आफ्ना नाता सम्बन्धीहरुलाई मारेर न म आफ्नो कुनै कल्याण देख्दछु न त जितेपछि पाइने राज्य र राज्यसुखको इच्छा नै ममा छ । ।। १।३१ ।।
हे गोविन्द । जसका लागि हामीलाई राज्य, भोग र सुख चाहिएको हो तिनीहरु नै आफ्नो प्राण र धनको आशा मारेर लडाइँ गर्न युद्धभूमिमा उभिएका छन् भने त्यो राज्य, त्यो भोग र त्यो जीवन समेतले हामीलाई के लाभ भयो ? त्यसैले हे मधुसूदन, मलाई विजय पनि चाहिएन, राज्य र सुख पनि चहिएन । गुरुहरु, हजुरबाहरु, बुबाहरु, छोराहरु, नातिहरु, मामाहरु, साला – जेठानहरु, ससुराहरु र अन्य सम्बन्धीजनहरु साराका सारा युद्ध गर्न मेरा अगाडि उभिएका छन् । पृथ्वीको राज्यको के कुरा स्वर्ग, मत्र्य र पाताल यी तीनै लोकको राज्य पाए पनि म यिनीहरुलाई मार्न चाहान्न । यिनीहरुले नै मलाई मार्दछन् भने मारुन् । यी धृतराष्ट्र्का छोराहरुलाई मारेर हामीलाई के आनन्द होला र ? । १।३२।३३।३४।३५ ।।
यस्ता आततायीहरुलाई मार्यौं भने हामीलाई पाप लाग्नेछ, त्यसैले धृतराष्ट्र्का छोराहरु र अरु हाम्रा मित्रहरुलाई मार्नु हाम्रा लागि उचित छैन । हे लक्ष्मीपति कृष्ण, यी आफन्तहरुलाई मारेर हामीलाई के लाभ होला र, के सुख होला र ? ।। १।३६ ।।
हे जनार्दन, यी मानिसहरुको बुुद्धि लोभले गर्दा भ्रष्ट भएको छ । यिनीहरु आफ्ना परिवारलाई मार्ने र मित्रहरुसँग झगडा गर्ने कुरामा पनि कुनै दोष देख्दैनन् । तर कुलको विनाशमा ठूलो अपराध देख्ने हामीहरु किन यी पापपूर्ण कार्यमा संलग्न भइरहने ? ।। १।३७।३८ ।।
वंशको विनाशसँगै शाश्वत कुलपरम्परा पनि नाश हुन जान्छ र यसरी बाँकी रहेको परिवार पनि अधर्ममा संलग्न हुनपुग्दछ । ।। १।३९ ।।
हे कृष्ण, कुलमा अधर्म बढ्न सुरुभए पछि कुलका स्त्रीहरु दूषित हुन पुग्दछन् र यसरी स्त्रीहरु आफ्नो सतीत्वबाट पतित भएपछि हे वृष्णिवंशी कृष्ण, नचाहिएका सन्तानहरु उत्पन्न हुन्छन् । ।। १।४० ।।
वर्णसंकर सन्तानहरुको बृद्धिबाट परिवारलाई र पारिवारिक परम्परा दुवैलाई नाश गर्ने दुवै प्रकारका कुलघातीहरुका पितृहरु पनि श्राद्ध तर्पण जस्ता पितृकार्यको लोप हुनाले नरकमा खस्दछन् । ।। १।४१ ।।
आफ्ना कुलपरम्परालाई नाश गर्ने व्यक्तिहरुको कुकृत्यबाट वर्णसंकर सन्ततिहरु उत्पन्न हुन्छन् र तिनका दुष्कृत्यहरुवाट सबै प्रकारका सामुदायिक योजनाहरु तथा पारिवारिक कल्याणका कार्यहरु समेत नष्ट हुन पुग्दछन् । ।। १।४२ ।।
हे प्रजापालक कृष्ण, कुलधर्मलाई विनाश गर्नेहरु सधैंभरी नरकमै बास गर्दछन् भन्ने कुरा मैले गुरुपरम्पराबाट सुनेको छु । ।। १।४३ ।।
ओहो, कति आश्चर्यको कुरा हो हामी राज्यको सुख भोग्ने लोभमा परेर आफ्नै आफन्तहरुलाई मार्न तयार भएर ठूलो पापकर्म गर्न खोजिरहेका छौं । ।। १।४४ ।।
हातमा शस्त्र लिएका धृतराष्ट्र्का छोराहरुले हतियार पनि नलिएको र युद्ध मैदानमा कुनै प्रतिरोध पनि नगर्ने मलाई मार्छन भने मारुन् । मेरा लागि त्यो श्रेयसकर हुनेछ । ।। १।४५ ।।
सञ्जयले भनेः
युद्धभूमिमा अर्जुनले यिनै कुरा भनेर आफ्नो वाण सहितको धनु एकातिर पन्छाएर मनमा अनेक शोक सन्तप्त हुँदै फेरि रथमा गएर बसे । ।। १।४६ ।।
यस प्रकार श्रीमद्भगवद्गीता अन्तर्गत "कुरुक्षेत्रका युद्धभूमिमा सैनिकहरुको निरिक्षण" शिर्षक पहिलो अध्याय समाप्त भयो ।