शास्त्र र समाजको विकास
राजनीति समाज विकासको अपरिहार्य माध्यम हो। यो पेशा हैन र बनाउनु पनि हुन्न। समाजलाई एकतामा बाँध्न र आर्थिक सामाजिक सबै प्रकारका विकासको फल सबै जनतासम्म पुर्याउन राजनीतिक पक्षले नेतृत्व लिनुपर्छ। राजनीति संविधान, कानुन, समाजको संरचना र विभिन्न नीतिअन्तर्गत चल्छ। हरेक देशैपिच्छे संविधान र कानुन तथा त्यसको पालना गर्दा र नगर्दा पाइने पुरस्कार र दण्ड फरक फरक हुन्छन्। यसको मुख्य कारण समय सँगसँगै आएको परिवर्तनलाई त्यो राष्ट्रले कति अंगीकार गरेको छ भन्ने नै हो। विकसित र समृद्ध मुलुकले परिवर्तनलाई अंगीकार गर्दा आफ्नो शास्त्रले बताएका मूलभूत कुरा कहिल्यै त्यागेको पाइन्न तर अल्पविकसित र द्वन्द्वले ग्रस्त मुलुकको समस्या भनेको सनातनदेखि चल्दै आएको शास्त्र पछ्याउने कि फाल्ने भन्ने प्रमुख हुन पुगको छ। शास्त्र नबुझेर वा शास्त्रमा भएका कतिपय कुरा समयसापेक्ष नलागेर मानिस त्यो भ्रममा पर्छन्। यथार्थमा शास्त्र समयसापेक्ष नहुने हैन, मानिस यसको व्याख्या गलत गर्छन् र भ्रम सिर्जना गर्न प्रयत्न गर्छन्।
आजको विश्वमा लोक कल्याण र समाजको चौतर्फी विकास सबै शासकको प्रमुख दायित्व हो। सनातन शास्त्रले पनि लोक कल्याणकै कुरा गर्छ। शास्त्रले लोक कल्याणको कुरा गर्दा चारवटा तत्व अन्तिम र अत्यावश्यक मानेको छ। ती हुन्– धर्म, अर्थ, काम र मोक्ष। के हुन् त तिनका अर्थ र आधुनिक समाजसँगको सम्बन्ध?
धर्म– शास्त्रले धर्म शब्दलाई मानव कल्याणको पर्यायवाचीका रूपमा चित्रण गरेको छ। परोपकार धर्म हो र अरुलाई दुःख दिनु पाप हो भन्ने सबै शास्त्रको निचोड पनि यहीँबाट आएको हो। यहाँ धर्म भनेको बिहानदेखि बेलुकीसम्म भगवानको पूजा गर्नु, रुढीवादी परम्परामा विश्वास गर्नु र समाजको विकासमा बाधक बन्नु भनेर कुनै पनि शास्त्रले भनेको छैन। तर आधुनिक समाजमा ठेकेदारहरुले धर्मलाई भगवानसँग जोडेर त्यसलाई विज्ञानबाट अलग बनाउन खोजे। यही हो अन्धकारको सुरुवातको कारण। यही नै हो धर्मका नाममा हुने विकृतिको कारण।
यदि हामी सबैले धर्मको कुरा गर्दा सबै प्रकारका आधुनिक समाजले भन्ने गरेका विभिन्न जातका भगवानलाई अलग राखेर गर्न सक्यौं भने त्योभन्दा ठूलो धर्म केही हुन्न। समाजको बृहत्तर विकासका लागि भगवानलाई अलग राखेर गर्ने धर्म के हुन सक्छ त? जवाफ एउटै छ– मानव कल्याण। भगवान भनेको त मानिसको दुःख वा सुख पोख्ने माध्यममात्रै हो। हरेक मानिस दुःखमा कसैसँग केही माग्न चाहन्छ अनि आफ्नो इच्छा पूरा नहुँदा कसैलाई दोष दिन चाहन्छ। साथै सफलतामा कसैलाई धन्यवाद दिन चाहन्छ। हो त्यो सुख र दुःखमा साथ दिने मनभित्रको एउटा साथी मात्रै भगवान हुन्। जसलाई हामी आस्थाको नामले चिन्छौं। हामीले साकाररूपमा देखिने राम, कृष्ण, शिव वा शक्तिहरु त मानिसले मनभित्रको साथी चिन्न बनाएको आकारमात्रै हो। तसर्थ जब मानव कल्याणको कुरा आउँछ तब अरु कसैको मनभित्रको आस्थालाई दोष थोपरेर यसको धर्म यस्तो र उस्तो भन्नु नै पाप हो। र, अझ धर्मको नाममा हुने गरेका भेदभाव त अक्षम्य अपराध हो।
माथिको भनाइको तात्पर्य धर्म सबैको एउटै हुन्छ र हुनुपर्छ, र त्यो हो– लोक कल्याण। अहिले समाजले नाम लिने हिन्दु, बौद्ध, सिख, इसाई, इस्लाम वा अरु कुनै धर्म हैनन्। यी सबै मानिसका मनभित्रका आस्थाका अलग अलग नाममात्रै हुन्। जुन दिन मानिस आफ्नो आस्था अरुमा देखेर खुसी वा दुःखी हुन्छ त्यो दिन लोक कल्याणको ढोका बन्द हुन्छ। अझ राजनीति गर्नेले त्यसरी धर्मलाई अलग देखेको दिनमा त झगडाका बाहेक अरु सबै ढोका एकैपटक बन्द हुन पुग्छन् र उसको पतन सुरु हुन्छ।
अर्थ स् शास्त्रले लोक कल्याणका लागि आवश्यक मानेको दोस्रो तत्व अर्थ हो। अर्थले आफूलाई कुनै पनि काममा लगाउँदा त्यसबाट आफूलाई बाँच्न आवश्यक पर्ने वस्तु उत्पादन हुनुपर्छ भन्ने हो। यदि वस्तु उत्पादन नहुने हो भने आफूलाई चाहिने बस्तु खरिद गर्न चाहिने पैसा कमाउनुपर्छ भन्ने हो। लोक कल्याणकारी समाजको परिकल्पना गर्दै शास्त्रले सम्पत्तिबारे धेरै कुरा गरेको छ जुन आधुनिक समाजका लागि ऐना हो।
पहिलो, सम्पत्ति आफूलाई चाहिनेभन्दा बढी हुनुहुन्न। दोस्रो सम्पत्ति कमाउँदा अनैतिक बाटो प्रयोग गर्नुहुन्न। तेस्रो सम्पत्तिका प्रयोग अत्यावश्यक उपभोग, दान र अरु सम्पत्ति कमाउन भन्दा अरु कार्यमा बाहेक अरु कार्यमा लगाउनु हुन्न आदि। अझ नीतिशास्त्रले त केसम्म भन्छ भने सम्पत्ति कि उपभोग गर्नुपर्छ कि त दान गर्नुपर्छ अन्यथा त्यो नष्ट भएर जान्छ। यसको मत्लव सम्पत्ति साँचेर राख्नुहुन्न भन्ने हो। एउटा पुस्ताले कमाएको सम्पत्ति सामान्यतया दोस्रो पुस्ताभन्दा तल नजाने मान्यता पनि नीति शिक्षामा पाइन्छ र व्यवहारमा पनि त्यही नै देखिन्छ। दानका पनि विभिन्न नियम शास्त्रले बताउँछ जसमध्येको प्रमुख भनेको दान दिएको प्रचार नगर्नु नै हो। अब राजनीति गर्ने वा लोक कल्याणको बाटोमा प्रत्यक्ष लाग्नेकोे त आफ्नो सम्पत्ति नै हुनुहुन्न। समाजको कल्याण नै उसको सम्पत्ति हो। तर आधुनिक समाजमा धेरै राजनीतिकर्मी व्यापारी हुँदै पैसा जस्मा गर्न थाल्नाले पनि लोक कल्याण ओझेलमा परेको हो। धन थुपार्ने प्रवृत्ति लोक कल्याणको विरोधी हो। पैसाको उपभोगका सम्बन्धमा नीति भन्छ– एक चौथाइ उपभोग, एक चौथाइ लगानी, एक चौथाइ दान र एक चौथाइ परिवारलाई। तर आधुनिक समाजले यो तथ्य नबुझ्दा समाज आर्थिकरूपमा कमजोर हुँदै गइरहेको छ।
काम स् कामको अर्थ कर्म हो। सनातन शास्त्रले सबैभन्दा बढी चर्चा गरेको विषय पनि यही नै हो। लोक कल्याण कामबाट सम्पन्न हुन्छ। काम गर्न धर्म र अर्थ आवश्यक हुन्छ। कर्मको परिभाषा र प्रकार धेरै छन् तर सामान्य अर्थमा आफूलाई तोकिएको काम नै कर्म हो। तोक्ने काम देशको संविधान, नियम, कानुनले गरेको हुन्छ। सामाजिकरूपमा कतिपय कर्म समाजले पनि तोकेको हुन्छ जसलाई पालना गर्नु सबैको कर्तव्य हुन जान्छ। यदि कतै समाजले तोकेको कर्म भन्दा कानुनले तोकेको कर्म फरक पर्न गएमा भने कानुन पालना गर्नुपर्ने हुन्छ।
शास्त्रले आफ्नो कर्मको सम्पादन नै धर्म हो भनेकाले पनि कर्म जहिले पनि अरुभन्दा प्रधान हुन्छ। जब समाजका हरेक व्यक्तिबाट तोकिएको कर्मको सम्पादन हुन्छ तब समाज लोक कल्याणतर्फ उन्मुख हुन्छ। आफ्नो धर्ममा मर्नु बेस हुन्छ र अरुको धर्म भयाबह हुन्छ भनिनुको पछाडि पनि आफूलाई तोकिएको कर्म गर भन्नु हो। यसका आधारमा कर्म परिवर्तन नै धर्म परिवर्तन हो भन्न सकिन्छ।
मोक्ष स् शब्दकोशमा मोक्षकोे अर्थ जन्म मृत्युको बन्धनबाट मुक्त हुने भनिएको पाइन्छ तर शास्त्रले मोक्षको अर्थलाई त्यहीरूपमा मात्रै बुझ्दैन। मोक्षको खास अर्थ अनाशक्ति हो। अर्थात् जे आफ्नो छैन वा जुन वस्तुको आफूमा अधिकार छैन त्यसको लोभ नगर्नु नै मोक्षको रूप हो। आफूलाई तोकिएको कर्म गर्नु र आफ्नो कर्मको फलमा सन्तुष्ट हुनु नै मोक्ष हो। मृत्युको मोक्ष भनेको विभिन्न प्रकारका रोगबाट मुक्तिमात्रै हो। समाजमा धेरै बिरामी भएर थलिएपछि मृत्यु भएको मानिसलाई मोक्ष प्राप्ति भो भन्ने चलनले मोक्षलाई मृत्युसँग जोडिएको हो जुन यथार्थमा गलत परिभाषा हो।
शास्त्रले लोक कल्याणका लागि अत्यावश्यक मानेको चार तत्वमध्येको एक मोक्ष कुनै हालतमा मृत्यु त हुनै सक्दैन। यो त शास्त्रको मर्म नबुझ्ने आधुनिक मुर्खहरुले लगाएको गलत अर्थमात्रै हो। काम, क्रोध, लोभ, मोह जस्ता शास्त्रले बताएका आठ दुर्गुणबाट आफूलाई टाढा राख्नु नै मोक्ष हो। मोक्षको लोभ देखाएर मानिसलाई मृत्युको बाटोमा धकेल्नुभन्दा समाजलाई लोक कल्याणकारी बनाएर मोक्षको बाटोमा लैजानु नै विकास हो।
अब शास्त्रले लोक कल्याण वा विकासका लागि मानव जीवनको सुरुवातसँगै प्राप्त गरेका यस्ता सनातन उपाय हुँदाहुँदै कहिले धर्मको नाममा त कहिले नीतिको नाममा झगडा गर्नेहरु विकास र लोक कल्याणका बाधक हुन्। धर्मलाई आफ्नो कर्म मानाँै, तोकिएको कर्म गरौं र त्यसबाट आएको प्रतिफलबाट सन्तुष्ट भई मोक्षको बाटोमा अग्रसर हुने प्रयत्न गरौं। यही नै लोक कल्याण हो। तसर्थ संसारको सबैभन्दा प्राचीन र उत्कृष्ट दर्शन श्रीमद्भगनद्गीताको पहिलो श्लोकको पहिलो वाक्य ’धर्म’ बाट सुरु हुन्छ र सात सयौं वा अन्तिम श्लोकको अन्तिम वाक्य ’मम’ मा गएर अन्त्य हुन्छ। ’ममधर्म’ अर्थात् आफनो धर्मको पालना गर्नु नै संसारको सबैभन्दा ठूलो कर्म हो। यहाँ धर्म भनेको हिन्दु, इशाई, इश्लाम आदि नभई आफूलाई तोकिएको कर्ममात्रै हो भन्नेचाहिँ कहिल्यै बिर्सनुहुन्न।
यति भनिसकेपछि आजको लोक कल्याणको बाटोमा लागेका राजनीतिकर्मी, कर्मचारी र समाजका विभिन्न पक्षका मानिसले सोच्ने बेला भएको छ– के हामीले शास्त्रले बताएको धर्म, अर्थ, काम र मोक्ष आत्मसात गरेका छौं? छैनौँ भने सुरु गर्न ढिला भइसकेको छ।