लघु कथा
आज उनीहररुको बिहे गरेको पन्ध्रबर्ष पुरा भएछ । घरपरिबार राम्रो चलिरहेको छ, बच्चाहरु हुर्कने क्रममा छन् । दुबैको अब्बल जागिर छ । उनीहरुको दुनियाँ सुखी छ अनि खुशी छ । बिगत पन्ध्र बर्षमा सामान्य परालको आगो बाहेक उनीहरुबीच कहिल्यै मनमुटाव भएन ।
केहि दिन देखि उस्को मनमा एउटा प्रश्नले डेरा जमाएको छ, सोधौं कि नसोधौं ? उस्ले आँट गरेर सोध्यो ।
"बिगत पन्ध्रबर्ष देखिको हाम्रो बैबाहिक जीवनमा मलाई तिमीसँग कुनै गुनासो छैन । तर कहिलेकाहिं लाग्छ, हामी किन धेरै झगडा गर्दैनौ ? हामी किन धेरै कुरा गर्दैनौ र हरेक क्षणको चर्चा गर्दैनौ एक अर्कासँग ?"
उन्ले दिएको जबाफ पछि उ अबाक बन्यो, उनी भन्दैथिइन,
"तराईमा छँदा बुवा नोकरीको सिलसिलामा कहिले कता कहिले कता हुने, हामी पाँच दिदी बहिनी आमाको संरक्षण र नियन्त्रणमा थियौं । दिदी बहिनी बीचको उमेरमा खासै धेरै अन्तर नभएकोले हामी सँगै स्कूल जान्थ्यौं, सँगै फर्कन्थ्यौं । गट्टा र डोरी हाम्रा खेल थिए । हामी पाँच दिदीबहिनी बाहेक हाम्रा अरु साथी पनि थिएनन् ।
उच्च शिक्षाको लागि काठमाण्डौं आएपछि पद्यकन्या कलेजमा पढ्दा केहि केटीसाथी बनेपनि केटासाथि कोहि बनेनन् । पढाईकै क्रममा हजुरसँग बिहे भयो ।
मलाई केटा मानिससँग कसरी बोल्नुपर्छ, कसरी झगडा गर्नुपर्छ र कसरी मायाँ गर्नुपर्छ केहि आउँदैन । म सायद केयर गर्नपनि जान्दिन होला । मलाई लाग्छ, मेरा दिदीबहिनी हरुको पनि त्यहि हाल होला ।"
"मबाट कुनै गल्ती भएको भए माफ गर्दिनु होला ।"
उस्ले आँखा रसायाे, उन्लाई गम्लङ्ग अंगालोमा हाल्यो र भन्यो,
"आइ लभ यु । बि लाइक ह्वाट यु आर, डन्ट चेन्ज योरसेल्फ ।"