Photos: Tudal Devi, Baluwatar टुँडालदेवी वालुवाटार

टुँडाल देवीको प्रसिद्ध मन्दिर काठमाडौंको हाँडीगाउँनजिकै बालुवाटारमा छ । यी देवीलाई वैष्णवी देवी पनि भनिन्छ । यिनलाई किन टुँडाल देवी भनियो भन्ने कुरा स्पष्ट छैन । सम्भवतः प्रारम्भमा यस मन्दिरमा पूजाआजाका लागि देवीको मूर्ति टुँडालमा राखिएको थियो । त्यही भएर देवीको नाम टुँडाल देवी पर्न गएको हुन सक्तछ । उक्त मन्दिर लिच्छविकालतिरै स्थापना भएको मानिन्छ । टुँडाल देवीको मन्दिर विभिन्न प्रकारका कलाकौशलले भव्य र कलात्मक छ । चैत शुक्ल पूर्णिमाका दिन यिनको जात्रा पनि हुने गर्दछ । जात्राका अवसरमा टुँडाल देवीको मूर्ति खटमा राखेर हाँडीगाउँ क्षेत्रमा घुमाइन्छ । उक्त जात्रालाई गहना खोज्ने जात्रा पनि भनिन्छ । किंवदन्ती अनुसार, टुँडाल देवी, नक्साल भगवती र भाटभटेनी नातेदार थिए । एक दिन यी तीनै जना घुम्नलाई बाहिर निस्कँदा टुँडाल देवीका गरगहना एउटा पोखरीमा खसेर हराएछन् । पछि चैत शुक्ल पूर्णिमाका दिन उनका गहना एउटा पोखरीमा भेटिए । त्यही खुसीयालीमा उनको रथयात्रा गर्न लागिएको हो । रथयात्राका अवसरमा गहनापोखरीमा पुगेर त्यही पोखरीमा गहना खोज्ने चलन आजसम्म पनि छ । उक्त पोखरीमा गहना खोज्ने उत्सव गरिने हुँदा उक्त पोखरीलाई नै गहनापोखरी भन्ने गरिएको हो । वि.सं. १८३० सालमा पृथ्वीनारायण शाहले १२९ रोपनी जग्गा यसका लागि गुठी राखिदिएको लिखत पाइन्छ । त्यसपछि मात्र यिनको प्रचार–प्रसार ज्यादा मात्रामा भएको हो ।

 

The temple of Tudal Devi is located in Baluwatar, Kathmandu. The goddess is more commonly known as Vaisnavi Devi, the consort of Vishnu, and the origin of the name Tudal Devi is unknown. The temple was established during the Lichchhavi era, but the present construction is from the medieval period and is adorned richly with fine examples of Nepalese art and craft.

A Jatra for this deity, known as the Ornament-finding Jatra, is organized during the Chaitra Sukla Purnima. The idol is placed on a chariot and is taken around each corner of the Handi Gaun area, while devotees, true to tradition, search again for the ornaments that the Goddess once lost and later found in a pond.