Recent Update

आत्माको बारेमाः

आत्माको बारेमाः

जब कोहि आफन्त वा चिनेका मानिस को निधन हुन्छ, हामी समाजिक सन्जालमा लेख्छौं वा पत्र पत्रिकामा समवेदना छपाउँछौ,

"मृतक आत्माको चीर शान्ति" 

मेरो बिचारमा त्यो वाक्य सर्बथा गलत छ किनकी आत्मा मरेको हैन, मरेको त शरिर हो । आत्मा त कहिल्यै मर्दैन । आत्माको सम्बन्धमा भगवान श्रीकृष्णले गीतामा भन्नुभएको छ, 

जो सम्पूर्ण शरीरहरुमा व्याप्त छ त्यसैलाई तिमीले अविनाशी सम्झनु पर्दछ । यो अव्वय आत्मालाई कसैले पनि नष्ट गर्न सक्दैन । ।। २।१७ ।।

अविनाशी, अपरिमेय र शाश्वत जीवात्माको भौतिक शरीर नाशवान् छ, ।। २।१८ ।। 

जसले यो जीवात्मालाई मार्ने ठान्दछ र जस्ले यसलाई मार्नेवाला ठान्दछ ती दुवै अज्ञानी हुन् । यो आत्मा न मर्दछ न मारिन्छ । ।। २।१९ ।। 

आत्माका लागि न कहिल्यै जन्म छ न मृत्यु । आत्मा कहिल्यै जन्मिएन, जन्मिदैन र जन्मिनेछैन । ऊ अजन्मा छ, नित्य छ, शाश्वत छ र पुरातन छ । शरीर मर्दा पनि ऊ मर्दैन । ।। २।२० ।। 

हे पार्थ, जसले यो आत्मा अविनाशी छ, नित्य छ, अजन्मा छ र अव्यय छ भन्ने जान्दछ त्यसले कसरी कसैलाई मार्ला वा मार्न लगाउन सक्ला ? ।। २।२१ ।। 

जसरी मानिसले पुराना वश्त्रहरु त्यागेर नयाँ वश्त्र धारण गर्दछ त्यसै गरी आत्माले पनि पुराना र काम नलाग्ने शरीरलाई त्यागेर नयाँ भौतिक शरीर धारण गर्दछ । ।। २।२२ ।। 

यो आत्मालाई न कहिल्यै कुनै हतियारले टुक्राउन सकिन्छ न आगोले डढाउन सकिन्छ, न पानीले भिजाउन सकिन्छ न हावाद्धारा नै सुकाउन सकिन्छ । ।। २।२३ ।। 

यो व्यष्टि आत्मा कहिल्यै नफुट्ने, नडढ्ने, नभिज्ने र नसुक्ने खालको हुन्छ । यो आत्मा सधैं रहिरहन्छ, सर्वव्यापक छ, अपरिवर्तनशील छ, अचल छ र सर्वदा एकैनासको छ । ।। २।२४ ।। 

मेरो बिचारमा समवेदनाका वाक्यहरुमा मृतक आत्मा भन्नु भन्दा, 

"असामयिक निधनमा हार्दिक समबेदना प्रकट गर्दछु "

वा यस्तै अरुकुनै वाक्य राख्दा त्यो शुद्ध हुन्छ ।