Recent Update

द्याैसी र भैलाे 23rd October 2014

यम पन्चकको तेश्रो अर्थात लक्ष्मीपूजाको दिन । घरघरमा झिलिमिलि बत्ति बालेर धनकी देबी लक्ष्मीको पुजा आराधना गर्ने दिन ।

साथै आज र भोलि भैलि र द्यौसी खेल्न घरघरमा टोली आएर गित गाउँदै सेलरोटी, अन्न तथा पैसा माग्ने चलन छ । आज साँझ देखि यो क्रम सुरु हुन्छ । 

खासगरी आज लक्ष्मी पुजाको दिन लक्ष्मीरुपी कन्याहरुले  भैलिनी आइन आँगन, गुन्यु चोलो मागन भनेर समुहमा गाउने र भोलि केटाहरुले ए मेरा भाई हो , द्यौसिरे भनेर एकले भट्याउने अनि अरुले सहि थाप्ने पुरानो चलन भएपनि आजकल दुबैदिन दुबैथरि आउँछन र गाउँछन् । 

द्यौसी खेल्ने परम्परा कहिले देखि सुरु भएको भन्ने यकिन नभएपनि, त्यसमा बोलिने एउटा भाका, 

हामी त्यसै आएनौ, बलि राजाले पठाका ..... 

भन्ने वाक्यले यो भगवान बिष्णुका पाँचौ बामन अबतारले बलि राजासँग तीन पाउ राख्ने जमिन मागेको बेलाबाट सुरु भएको भन्न सकिन्छ । 

साथै द्यो सिरे भन्ने शब्द, देउ शिर भन्ने शब्दको अपभ्रँश भएको र राजा बलिसँग भगवानले तीन पाउ जमिन माग्दा तेश्रो पाउ राख्न देउ शिर भनेर मागेको अनि राजा बलीले पनि आफ्नो शिर नै दिएकोले यो परम्परा राजा बलिसँग सँबन्धित भएको बुझ्न सकिन्छ । 

आज र भोलि यसरी आउने भैली र द्यौसीलाई सेलरोटी,अन्न तथा पैसा दिंदा आफ्नो सम्पत्ति र यश अझ बढ्ने बिस्वास गरिन्छ ।