Recent Update

लघुकथाः समाजकाे तमासा र मायाकाे परीक्षा

चिनामा जे भए पनि बाबुआमाले उसको नाम राखिदिए उषा । हुन पनि उ किरण छर्ने उषा थिइ, घरका लागि । अरु केटाकेटी भन्दा फरक स्वभावकी उषा हठी र जिद्धी त छँदैथिइ, त्यो भन्दा संसारलाई हेर्ने उस्कौ दृष्टिकोण अलग थियो । अत्यधिक मायाले उसलाई हठी बनायो भन्थे चिन्नेहरु । 

उसका बाबुआमाले चलन पछ्याए,कलिलै उमेरमा उस्को बिहेगरिदिए । तर बैवाहिक जीवनमा उ निरन्तर रमाउन सकिन । कारण, उसले जानेको माया र विवाहपछिको जिन्दगीको तालमेल भएन । उ भनिरहन्थी, माया स्वतन्त्रता हो विवाह बन्धन रहेछ । तरपनि समाजमा कानूनी र ब्यबहारिक रुपमा ऊ सधैं कसैकी श्रीमती र आफ्ना श्रीमान्का बच्चाका आमा भने बनिरही । 

एकदिन उसले यस्तो साथी पाई जो उसका लागि मायाको आधार हुनसक्थ्यो, नभए पनि खुसीको स्रोत त पक्का । जीवनमा साथीको आगमनपछि उषाका दैनिकी फेरिन थाल्यो, उसँग सकेसम्म बढी समय बिताउन थाली । उस्को मोटरसाइकलको पछाडीको सिटलाई उषाले खुसीको पखेटा ठान्थी र आफूलाई स्वतन्त्र चरी । शहरका मन्दिर हुन् वा गाउँका नहरका डिल, ती दुईको गन्तब्य खुल्ला आकाश झैं थियो । 

तर समाज  क्रुर छ । इज्जत र मुल्यमान्यताका नाममा उसको परिभाषाको खुसि छिनियो । उनीहरु दुईलाई भौतिक रुपमा अलग पारियो । आफ्नो खुशीसँग रमाइलोगरी बिताएको स्थान छाडेर उ अन्तै लगिई बिरानो ठाउँमा । उ मर्माहत भई । यद्यपी मन भित्र कतै, उ फर्केर आउने झिनो विश्वास बाँकी थियो । उषाले मान्ने गरेको धर्मले पनि त्यही भन्थ्यो, धैर्यता नगुमाउ । 
उस्ले सन्तानको मुख हेरेर मन सम्हाल्ने प्रयास गरी, उ फर्केर आउने पर्खाइमा । तर उस्को खुशी कहिल्यै फर्केर आएन । सायद जस्लाई उस्ले ऊ आफनो खुशी ठान्थी, त्यो उस्को खुशी थिएन । उस्को मन अझ कुंडियो दुखित भई । त्यस्का केहिबर्ष उस्ले आफ्ना सन्तानको हुर्काइमा बिताई । 

धार्मिक आस्थावान उषालाई एक्लैहुँदा उस्को भगवानले भन्थे, "तेरो खुशी सायद त्यो मानिसमा थिएन । तर तेरो खुशी पक्कै छ यो सन्सारमा र उ एकदिन अवश्य आउँछ, म पठाउँछु उस्लाई, तँ चिन्ता नगर । खुशी मात्रै हैन, तैले खोजेको तेरो माया आउँछ, धैर्य गर ।" 

नभन्दै एकदिन उस्को माया, उस्को खुशी आयो, अर्कै रुप र रङ लिएर उस्ले सधैं कुरा गर्ने गरेको भगवानकै रुपमा, उस्को मायाको, उस्को खुशीको पुरै प्याकेज बनेर । अब उ फेरि जीवन बाँच्न थाली अघि भन्दा कैयौं गुणा बढी । 

उसको मायाको आगमन यति स्वादिलो भयो कि, भगवानको प्रसाद त्यही थियो उषाका लागि ।  उषाले केही समयमा नै आफूलाई उसैमा समाहित गरी । मन, वचन र कर्म सुम्पी अनि तन र धन पनि । आफ्नो मायालाई आफ्नो तन सुम्पेको दिन संभवत सबैभन्दा प्रीय दिन थियो उषाका लागि । एकदिन बिराएर नभेटेको र नचुमेको दिन हुँदैनथ्यो उस्ले आफ्नो मायालाई । सम्झना त चौवीसै घण्टा । 

उ भन्थी सन्सारमा जस्तोसुकै परिस्थितिसँग जुध्न परेपनि म तिमीलाई मेरो आँखाबाट ओझेल हुन दिन्न । साँच्चिकै अपरम्पार थियो दुई वीचकौ माया । उ सन्सारको कुनै शक्तिलाई आफु दुई वीचमा देख्न सक्दिनथिई । माया होस् त यस्तो पो । उस्ले आज बुझी किन भगवानले उस्लाई बिहे गौण र माया सम्पूर्ण हो भनेर बुझाएका थिए केटाकेटी देखिनै । अब उस्को सन्सारमा केहि थिए भने, आफु, भगवान र ऊ । उषाले आफुले गर्नेभन्दा कतै कम थिएन उस्ले पाउने माया पनि । 

तर यो पापी समाजलाई यसपटक पनि उस्को खुशी पचेन । अनेक बहाना बनायो यो क्रुर समाजले यी दुई जोडीको फुट गराउन । सधैं सहयोग गर्ने भगवान पनि यो पटक समय कुर्दै चुप बसे । सायद उषाको अन्तिम परीक्षा लिंदैछन् उषाका आफ्नै भगवान ।  

अचेल उ सोच्न नसक्ने भएकी छ । के यहि जीवन हो ? के अब मैले कानूनी र बाध्यात्मकरुपमा बलात्कृत हुँदै जीवन काट्नुपर्ने हौ ? के मेरो चिनामा निरन्तर मायामा रमाउने अधिकार छैन ? उ सोच्न बाध्य छे, तर पनि भगवान र समयसँग हार मानेकी छैन, अनि उस्लाई आफ्नो माया र खुशीमा यति विश्वास छ कि उ फेरि उस्कै अँगालोमा हुन्छे सदाका लागि, कहिल्यै नछुट्टीने गरी । उस्लाई थाहा छ उस्को खुशी उबाट टाढा जानै सक्दैन र उ पनि आफ्नो खुशीबाट टाढा जान सक्दिन ... कहिलेकाहिं मनले भन्छ, उस्ले बोलाउँदा जाउँ र झम्लङ्ग अंगालो हालौं उस्लाई, समाजको मत्लब नगरी, तर पनि उ केही समय कुर्न चाहान्छे । हेर्न चाहान्छे समाजको तमासा । 

तर पनि किन यो समय अनि यो समाज उसँग यसरी परीक्षा लिंदैछ ? आखिर किन ?