राजु नेपालको तर्फबाट

परमा एकादशीकाे बर्त बिधि तथा कथा

पुरुषोत्तम महिनाको अर्को एकादशी परमा एकादशी  परमा एकादशीको महात्म्य यस्तो छ(।अधिक मासमा कृष्ण पक्षमा जुन एकादशी पर्दछ, त्यसलाई हरिवल्लभा अथवा परमा एकदशीका नामले सम्बोधन गरिन्छ भनेर भगवान् श्री कृष्णले अर्जुनलाई बताउनु भएको थियो र प्रभुले अर्जुनलाई यस व्रतका प्रसङ्गमा एउटा कथा पनि सुनाउनु भएको थियो। कथा काम्पिल्य नगरीमा सुमेधा नामक एकजना ब्राह्मण आफ्नी पत्नीका साथमा निवास गर्दथे। ब्राह्मण धर्मात्मा थिए र उनकी पत्नी पनि पतिव्रता थिइन्। त्यो परिवार यस्तो थियो, आफुस्वयं भोकै बसेर भए पनि अतिथि र परपाहुनाको सेवा हृदयबाट नै सत्कारपूर्वक गर्दथ्यो। धनको अभावका कारण एक दिन ब्राह्मणले आफ्नी पत्नीलाई भने ( धनोपार्जन गर्न म अब परदेश जानु उचित हुनेछ किनकि धनको अभावमा परिवार सञ्चालन गर्न अति कठिन छ। ब्राह्मणीले पतिलाई सम्झाउँदै भनिन्, मनुष्यले जे जस्तो वस्तु प्राप्त गर्दछ, त्यो भाग्यवश प्राप्त हुन्छ, हामीले पूर्वजन्ममा गरेका कुकर्मका कारण अहिले गरिबी ब्यहोर्नु परेको हो, हजुर परदेशमा जाँदा मेरो पनि बिल्लीबाठ हुन्छ, त्यसैले यतै आफ्नै थातथलोमा बसेर कर्मशील हुनुहवस्, म पनि मेरा बुताले भ्याएसम्म सरसहयोग गर्नेछु, जसैतसै गुजारा चल्नेछ। अनि भगवानको इच्छा जाग्यो भने राम्रै पनि हुन सक्छ। आखिर मन सन्तुष्ट र आनन्दपूर्ण भयो भने धेरै धनसम्पत्ति पनि त चाहिंदैन। बाहुनलाई बुढीका कुरा मन परे र जेजस्तो भए पनि घरैमा बसेर कुनै कामधन्दा गर्ने निधो गरे। एक दिन संयोगले कौण्डिल्य ऋषि ती ब्राह्मणका घरैछेउबाट कतै जांदै थिए, ऋषिको दर्शन प्राप्त गरेर ब्राह्मणरब्राह्मणी अतीव प्रसन्न भए र ऋषिलाई घरमा बोलाएर स्वागतसत्कार र आदरभाउ गरे। ऋषि ती दम्पतीको सेवा भावनालाई देखेर असाध्यै खुसी भए अनि ब्राह्मण र ब्राह्मणीको गरिबी एवं दीनता हटाउने उद्देश्यले मल मासको कृष्ण पक्षको एकादशीको व्रत प्रतिपादन गर्ने सल्लाह समेत प्रदान गर्दै भने हजुरहरू युगल दम्पतीले अधिकमासमा आउने उक्त परमा नामको एकादशीको विधिपूर्वक व्रत सम्पादन गर्नुहोस्। उनले उक्त एकादशीको व्रतको प्रभावबाट धनधान्य, ऐश्वर्य र वैभवको प्राप्ति हुने र इहलोकमा सुखसम्मृद्धिका साथै परलोकमा समस्त पापको नाश गर्दै उत्तम गतिको प्राप्ति हुन्छ। ऋषि भन्दछन्( कुनै समयमा धनाधिपति कुबेरले यस एकादशीको व्रत लिएको थियो, जसबाट प्रसन्न भएर भगवान् शङ्करले उनलाई धनाध्यक्षको पद प्रदान गर्नुभएको थियो। मलमासको समय प्राप्त भएपछि सुमेधा नामका ती ब्राह्मणले विधिपूर्वक त्यस एकादशीको व्रत लिए, जसबाट उनको गरिबीको अन्त्य भयो र पृथ्वीमा लामोसमयसम्म सुख भोगेर ती दुबै पतिपत्नी भगवान् विष्णुको उत्तम वैकुण्ठ लोकतर्फ प्रस्थान गरे। व्रत पूजन विधि यस व्रतका दिन भगवान् विष्णुको ध्यान गर्दै उनलाई नै समर्पण गर्ने उद्देश्यले व्रत लिनु पर्दछ। व्रत लिने व्यक्तिले घिउको वर्तनमा दियो बालेर फल, फूल, तिल, चन्दन एवं धूपले भगवान् विष्णुको पूजा गर्नु पर्दछ। व्रत अवधिमा विष्णु सहस्रनाम एवं विष्णु स्तोत्रको पाठ गर्नुपर्छ, यसको ठुलो महत्त्व छ। दानको महत्त्व शास्त्रहरूमा परमा एकादशीलाई दान गर्नका निमित्त पनि अत्युत्तम दिन भनेर चर्चा गरिएको पाइन्छ, यस दिन धार्मिक पुस्तकहरू, अन्न, फल, मिट्ठाइ आदि दान गर्ने विधान छ। जसले कारणवश यो व्रत सम्पादन गर्न सक्दैनन् तिनले यस व्रतको पुण्य प्राप्त गर्न माथि बताइएका वस्तुहरूको दान गर्नुपर्दछ। दान गर्दा के कुरो सम्झनुपर्छ भने त्यस्ता व्यक्तिलाई धार्मिक पुस्तक दान गर्नुपर्दछ, जो ईश्वर एवं धार्मिक पुस्तकप्रति आस्था राख्दछ। इति शुभम्।