राजु नेपालको तर्फबाट

माघ महिनकाे राशिफल

२०७१ साल माघ महिना : महिना भरि सूर्य मकर राशिमा रहने, चन्द्रमा घुम्दै सबै राशिमा गोचर गर्ने, मंगल कुम्भ राशिमा रहने, बुध मकर राशिमा रहने, बृहस्पति कर्कट राशिमा रहने, शुक्र माघ ७ गते दिउँसो १४ः४१ सम्म मकर राशिमा रहने त्यसपछि कुम्भ राशिमा जाने, शनि बृश्चिक राशिमा रहने, राहु कन्या राशिमा रहने र केतु मीन राशिमा रहने गर्छन् ।  ग्रहहरुको गोचर र दृष्टिबाट हेर्दा यो माघ महिना,  मेष : महिना मध्यम छ । काम ढिला बन्ला । धैर्य लिन सक्नु पर्छ । गुरु र ब्राम्हण सेवा गर्नु पर्ला ।  बिहीवारको ब्रत बस्नु राम्रो हुन्छ ।  बृष : महिना मध्यम छ । आर्थिक कठिनाइ उठाउनु परेपनि घरका मान्यजन र आफुले आदर गरेका मान्छे सँगको सल्लाहमा काम गर्दा नराम्रो फल धेरै नपाइएला । बिना मूल्यको श्रममा समय भने ब्यतित हुन्छ । हनुमानको पुजा र ध्वजा चढाउनु राम्रो हुन्छ ।  मिथुन : महिना राम्रो छ । शत्रुबाट बिजय प्राप्त होला, सन्तानका राम्रा खबर सुनिएला, काम फटाफट बन्ला तर आफुले बिगतमा गरेका नराम्रा कामका फल पनि यहि महिनामा भोग्नु पर्ला । आफन्तबाट प्रशस्त धोका होला । आइतबारको ब्रत र शनिबार पीपलमा जल चढाउनु राम्रो हुन्छ ।  कर्कट : महिना खराब छ । ज्वरो आउने, खानामा रुचि नहुने, रक्तश्राब हुने, भोग बिलासतिर मात्रै मन जाने होला । शत्रुबाट मानसिक र भौतिक दुबै आक्रमण हुन सक्छ । गणेशको पुजा र मंगलबारको ब्रत लिनु राम्रो हुन्छ ।  सिंह : महिना मध्यम छ । शत्रु बढेपनि केहि बिर्गान नसक्लान्, धन प्रशस्तै कमाइएला, राम्रा मित्र बन्लान्, तर जीवन साथीको स्वास्थ्यको कारणले धन खर्च होला र चिन्ता बढ्ला ।  कन्या : महिना मध्यम छ । पुराना बैरभाबको अन्त्य होला, सरकारी सहयोग पाइएला तर घर परिबार र पुत्र संगको असमझदारीको कारणले मानसिक छटपटी बढ्ला । आइतबारको ब्रत बस्ने र सूर्यलाई बिहान जल चढाउने गर्दा राम्रो हुन्छ ।  तुला :  महिना राम्रो छ । सुख ऐश्वर्यका कारण सारिरिक र मानसिक सन्तुष्टि मिल्ला, मातृशुख मिल्ला, भुमी वा बाहन खरिद होला । तर केहि झगडा र संतानपिडाको पनि योग छ । मंगलबार गणेशको ब्रत बस्नु राम्रो हुन्छ ।  बृश्चिक : महिना मध्यम छ । धनको लागि कार्यालयको स्थान परिबर्तन होला, रागबाट छुटकारा पाईएला र धर्मकर्ममा मन जाला । शत्रु पनि मित्रु बन्लान तर रक्तबिकार संबन्धी रोगले पिडा देला, प्रेममा धोका पाईएला र आत्मबलमा ह्रास आउला । गणेश र हनुमानको पुजा गर्दा राम्रो हुन्छ ।  धनु : महिना खराब छ । मित्रबाट केहि सहयोग पाइएपनि महिना भरी दुख झेल्नु पर्ला । धन चोरि होला, ठगहरुले ठग्लान् र तिरस्कृत हुनु पर्ला । हरेक काम ढिला होला र बहुमुल्य धातु हराउला । शनिबार भैरबको पुजा र दर्शन गर्दा राम्रो हुन्छ ।  मकर : महिना खराब छ । महिना भरिनै कुनै न कुनै उपद्रो गर्न मन लाग्ला । अर्काको चुकुली लगाउने र नीच काम गर्ने तिर मन जाला, बाणीमा संयम नहुनाले झगडा पर्ला । आगो र चोरको भय होला, राज्यपक्षबाट दण्डित हुनु पर्ला र शरिरमा कुरुपता आउला । सूर्यलाई बिहानै जल चढाउने र मंगलबार गणेशको ब्रत बस्दा माथिका दोषबाट मुक्ति पाइएला ।  कुम्भ : महिना मध्यम छ । कडा परिश्रम गर्नुपरे पनि काम बन्ला, शत्रुसँग पनि मिलन होला, बायु र अग्निबाट बच्नु पर्ला र अर्कालाई अहितकारी बचन नबोल्नु पर्ला । भ्रमणबाट फाइदा नहोला । मंगलबार हनुमानलाई ध्वजा चढाउँदा राम्रो हुन्छ ।  मीन : महिना खराब छ । छोटो फाइदाका केहि काम भएपनि चीरकालमा तिनैले समस्या गर्लान् । धेरैजसो काम घाटाका होलान्, खराब मान्छेको सल्लाह मानिएला । पति, पत्नीबीच मनमुटाब होला, मित्रपनि शत्रु बन्लान् र कुनै अकल्पनीय खराब घटना घट्ला । सूर्यलाई नियमित जल चढाउने र आइतबारको ब्रत बस्दा फाइदा ुहन्छ ।  माघ महिना : मिथुन र तुला राशिलाई राम्रो, मेष, बृष, सिंह, कन्या, बृश्चिक र कुम्भ राशिलाई मध्यम र कर्कट, धनु, मकर र मीन राशिलाई खराब छ ।