राजु नेपालको तर्फबाट

दान, तीर्थ र व्रतकालागि महत्वपूर्ण पुरुषोत्तम महिना वा मलमास

दान, तीर्थ र व्रतकालागि महत्वपूर्ण पुरुषोत्तम महिना वा मलमास हाम्रो प्रचलनमा रहेको पञ्चाङ्ग सौर र चान्द्र गरी दुई प्रकारले चलेको छ । दैनिक कामकाजको लागि सौरमानअनुसार चल्ने विक्रम संवत् चलिरहेको छ भने धार्मिक कार्यका लागि चान्द्रमानअनुसार चल्ने पात्रो । यद्यपि, धार्मिक कार्यमा दुवैको संयोजन भएको महिना फलदायी मानिन्छ ।  सौरमास र चान्द्रमासबीचको अन्तरबाट बन्ने अतिरिक्त चान्द्रमासलाई अधिकमास वा मलमास भनिन्छ । वैशाख जेठ आदि १२ महिना सूर्यको गतिअनुसार चलिरहेको हुन्छ । जसलाई सौरमास भनिन्छ । सौरमासमा २९ देखि ३२ सम्मका दिन हुन्छन् । सौरमानअनुसार वर्षमा ३ सय ६५ दिन हुन्छ । शुक्लपक्षको प्रतिपदा (वा कृष्णपक्षको प्रतिपदा) देखि कृष्णपक्षको औंसी (वा शुक्लपक्षको पूर्णिमा) सम्मको अवधिलाई चान्द्रमास भनिन्छ । चन्द्रमालाई प्रतिपदाबाट औंसीसम्मको यात्रा गर्नलाई २९ दिन १२ घन्टा ४४ मिनेट र २४ सेकेन्नड लाग्छ । चान्द्रमानअनुसार वर्षमा ३ सय ५४ दिन मात्र हुन्छ । यसरी एक वर्षमा सौरमास ११ दिनले बढी हुन्छ । सौरमान र चान्द्रमानको गणनामा निश्चित समय भएपछि मलमास पर्छ ।  सामान्यतः एउटा मलमासदेखि अर्को मलमासको दूरी २७ महिनादेखि ३२ महिना १६ दिन, १ घन्टा ३६ मिनेट पुगेपछि मलमास पर्छ । एउटा सौरमासमा दुईओटा औंसी पर्दा त्यो महिना मलमास हुन्छ। अर्थात् सङ्क्रान्तिविहीन चान्द्रमास मलमास हो । यस वर्षलाई नै हेरौं,  असार १ गते औंसी परेको छ र यसै महिनाको ३१ गते औंसी छ । एकै महिनामा दुईओटा औंसी र यी दुई औंसीका बीचमा सङ्क्रान्ति नपर्नु नै मलमास हो । सामान्यतयः एक वर्षमा १२ महिना हुने भए पनि मलमास परेको वर्षमा १३ ओटा चान्द्रमास हुन्छन् । चन्द्रमाको घडी पला हुँदै महिना नै मलको रूपमा आउने मास(महिना) भएकाले पनि मलमास भनिएको हो। मलमास अधिक र क्षय गरी दुई प्रकारको हुन्छ । एउटा मलमास, अर्को क्षयमास । मलमास २७ देखि ३४ महिनामा आउँछ भने क्षयमास घटीमा १९ वर्ष र बढीमा १ सय ४१ वर्षमा आउँछ । क्षयमास परेको अघि र पछि गरी दुई पटक मलमास पर्छ । ज्योतिषीय रूपमा मात्र होइन, धार्मिक सांस्कृतिक एवं व्यावहारिक दृष्टिले पनि मलमासको महत्व छ। मलमासले गर्दा हाम्रा साविकका चाडपर्वहरू एक महिना पर सर्न पुगेका छन् । यसमासलाई पुरुषहरूमा उत्तम भगवान् पुरुषोत्तमको आराधना गरिने परम्पराअनुसार पुरुषोत्तम मासको नामले पनि चिनिन्छ।  मलमासभरि पुरुषोत्तम माहात्म्य पाठ गरी भगवान नारायणको आराधना गरिन्छ । मलमासको समयमा मांगलिक शुभकार्यहरू गर्न नहुने भए पनि भगवान् पुरुषोत्तम (नारायण) को आराधना गर्नुपर्ने पौराणिक मान्यता छ। यसैले पनि मलमासलाई पुरुषोत्तम मास पनि भनिन्छ । यो महिनाभरि पुरुषोत्तम माहात्म्य पाठ गर्ने परम्परा छ। बिभिन्न पुराणअन्तर्गतको भनिएको पुरुषोत्तम महात्म्यमा मलमासको उत्पत्ति कसरी भयो र यसबेला के–के गर्न हुन्छ र हुँदैन लगायतका विभिन्न प्रसंगहरू बताइएका छन्। यस महिनामा तुलसी पत्रले भगवान् नारायणको पूजा आराधना गर्ने श्रीमद्भागवत महापुराणको श्रवण गर्नुपर्नेलगायतका विधान बताइएका छन् । यस बेला गरिने स्नान, दान र भगवान् पुरुषोत्तमको आराधना विशेष फलदायी हुने बताइएको छ। मलमासको अन्त्यमा तिलको तेलद्वारा निर्मित दीप र काँसको थालमा ३३ ओटा मालपुवा दान आदि कार्य गरिन्छ । मलमासको समयमा नारायणका मन्दिरहरूमा मेला लाग्छ। विशेष रूपमा कीर्तिपुरको मच्छेगाउँमा रहेको मत्स्यनारायणको मन्दिरमा भक्तजनहरूको भीड लाग्दछ । पौराणिक ग्रन्थहरूमा बताइएका भगवान् विष्णुका दसावतारमध्ये मत्स्यावतारलाई प्रथम अवतार मानिन्छ। जन विश्वासअनुसार भगवान् नारायणले मत्स्यावतार लिई विचरण गरेको स्थान हुनाले यस ठाउँको ठूलो महत्व छ । उपत्यकाका चारनारायणलगायत बूढानीलकण्ठमा समेत दर्शनार्थीको घुइँचो लाग्छ। विवाह भएको पहिलो मलमास पतिपत्नीसँगै बस्न नहुनेजस्ता ज्योतिषका नियमहरूबारे माहात्म्यमा केही बताइएको छैन। यद्यपि, वैदिक परम्पराका प्राचीन ग्रन्थहरूमा समेत नवबधू पतिका घरमा बस्न नहुने कुराको विधान गरिएको छैन । तरपनि ज्योतिषीय मान्यतालाई विश्वासका रूपमा कसैले पूरै महिना र कसैले सुरुका केही र अन्त्यका केही दिन घर छल्ने परम्परालाई अँगाल्दै आएको बुझिन्छ । यसैगरी, यस समयमा माङ्गलिक कार्य गर्नु हुँदैन भन्ने मान्यता छ । सामान्यतया गर्नैपर्ने शुभ कार्य जस्तै पास्नी बाहेकका अरु शुभकार्यहरु गर्नु हुँदैन ।  श्रोत: बिभिन्न पुस्तक तथा वेबसाइटहरु