राजु नेपालको तर्फबाट

श्रीमद्भगबद्गीताः अध्याय दुईः गीताको सारसंक्षेप

  सञ्जयले भनेः करुणाले भरिएका, शोकले व्याकुल भएका र आँखाभरि आँसु लिएका अर्जुनलाई देखेर मधुसूदन कृष्णले निम्नलिखित शब्दहरु भन्नुभयो । ।। २।१ ।।  श्री भगवानले भन्नुभयोः प्रिय अर्जुन, तिमीमा यी खिन्नताहरु कसरी आए । जीवनको मूल्य बुझ्ने मानिसका लागि यी कुराहरु सुहाउँदैनन् यसबाट न स्वर्गीय लोकहरुको प्राप्ती हुन्छ न राम्रो कीर्ति नै रहन्छ । ।। २।२ ।। हे पृथापुत्र अर्जुन । नामर्द नबन, तिमी जस्तो वीरलाई यो शोभा दिंदैन । हे शत्रु दमनकर्ता । ह्दयको क्षुद्र दुर्बलतालाई त्यागेर युद्ध गर्न उठ । ।। २।३ ।। अर्जुनले भनेः हे शत्रुहन्ता, हे मधुसूदन । मैले कसरी युद्धभूमीमा भीष्म र द्रोण जस्ता पूजनीय व्यक्तिहरुमाथि वाणले प्रतिप्रहार गरुँ । ।। २।४ ।। ठूला महानुभाव गुरुजनहरुलाई मार्नुभन्दा बरु यो संसारमा भीख मागेर बाँच्नु राम्रो हो । सांसारिक लाभका इच्छुक भए पनि उनीहरु मेरा गुरुहरु हुन् । यदि उनीहरु मारिन्छन् भने हामीले भोग गर्ने हरेक वस्तु रगतले मुछिएको रक्तरञ्जित हुनेछ । ।। २।५ ।।  हामीले उनीहरुलाई जिते राम्रो हुने हो कि उनीहरुले हामीलाई जिते राम्रो हुने हो त्यो पनि हामीलाई थाहा छैन । हामी जुन धृतराष्ट्र्का छोराहरुलाई मार्न चाहाँदैनौँ तिनीहरुनै अहिले हाम्रा अगाडि युद्धभूमीमा उभिइरहेका छन् । ।। २।६ ।।  अहिले विवेकको दुर्बलताले गर्दा मैले मेरो कर्तव्य के हो निश्चित गर्न सकिरहेको छैन र म आफ्नो सम्पूर्ण धैर्य पनि गुमाउँदैछु । यस्तो अवस्थामा मैले हजुरसँग सोधिरहेको छु मेरा लागि सबैभन्दा राम्रो के हुन्छ, त्यही भन्नुहोस् । म हजुरकै शिष्य हुँ र हजुरकै शरणमा आएको छु, अतः कृपा गरेर मलाई समुचित उपदेश दिनुहोस् । ।। २।७ ।। मेरा इन्द्रियहरुलाई सुकाउने यो शोक हटाउने कुनै उपाय म देख्दिन । स्वर्गमा देवताहरु जस्तै यो पृथ्वीमा संसारभरीको निष्कण्टक र धन धान्यपूर्ण राज्य पाए पनि म यो शोकलाई हटाउन सक्दिन । ।।२।८ ।।  सञ्जयले भनेः यति भनेपछि शत्रुहरुलाई दमन गर्ने अर्जुनले कृष्णसँग  गोबिन्द, म लडाइँ गर्दिन भने र चुप लागेर बसे । ।। २।९ ।। हे भरतवंशी, त्यस समय दुवैतर्फका सैनिकहरुका बीचमा शोकमग्न भएका अर्जुनलाई कृष्णले हाँस्दै यी शब्दहरु भन्नुभयो । ।। २।१० ।। भगवान्ले भन्नुभयोः तिमी कुरा विद्धानका जस्ता गर्छौ तर जसका लागि शोक गर्नु आवश्यक छैन त्यसैका लागि शोक गरिरहेका छौ । पण्डितजनहरु न जिउँदाका लागि शोक गर्दछन् न मरेकाका लागि शोक गर्दछन् । ।। २।११ ।। यो भन्दा अघि पनि म नभएको, तिमी नभएको र यी राजाहरु नभएको कुनै समय थिएन र पछि भविष्यमा पनि हामी सबैको अस्तित्व नभएको कुनै समय हुने छैन । ।। २।१२ ।। जसरी यो शरीरधारी आत्मा निरन्तर बाल्यावस्थाबाट युवावस्थामा र युवावस्थाबाट बृद्धावस्थातिर परिवर्तन भइरहन्छ, त्यसैगरी यो आत्मा एउटा शरीरको मृत्युपछि अर्को शरीरमा स्थानान्तरित हुने गर्दछ । यस किसिमको परिवर्तनलाई देखेर धीर पुरुषहरु मोहित हुँदैनन् । ।। २।१३ ।।  हे कुन्तीपुत्र, दुःख र सुख भन्ने कुरा कालक्रममा आउने र जाने जाडो र गर्मी ऋतु जस्ता अस्थायी विषय हुन् र यी इन्द्रियबोधबाट उत्पन्न हुन्छन्, अतः हे भरतवंशी अर्जुन, यस्ता कुरालाई मानिसले विचलित नभईकन सहन गर्न सिक्नुपर्दछ । ।। २।१४ ।। हे पुरुष श्रेष्ठ अर्जुन, जुन व्यक्ति सुख र दुःखबाट बिचलित हुँदैन र दुवै अवस्थामा समान रहन्छ त्यो व्यक्ति निश्चय नै मुक्ति पाउनयोग्य हुन्छ । ।। २।१५ ।।  असत् वस्तु (भौतिक शरीर) को कुनै चिरस्थायित्व छैन र सत् वस्तुको –आत्माको) कुनै परिवर्तन नै हुँदैन । आत्मा र शरीर यी दुवैका प्रकृतिको अध्ययन गरेर तत्वदर्शीहरुले यस्तो निष्कर्ष निकाले । ।। २।१६ ।।  जो सम्पूर्ण शरीरहरुमा व्याप्त छ त्यसैलाई तिमीले अविनाशी सम्झनु पर्दछ । यो अव्वय आत्मालाई कसैले पनि नष्ट गर्न सक्दैन । ।। २।१७ ।। अविनाशी, अपरिमेय र शाश्वत जीवात्माको भौतिक शरीर नाशवान् छ, त्यसैले हे भरतवंशी अर्जुन तिमी युद्ध गर । ।। २।१८ ।।  जसले यो जीवात्मालाई मार्ने ठान्दछ र जस्ले यसलाई मार्नेवाला ठान्दछ ती दुवै अज्ञानी हुन् । यो आत्मा न मर्दछ न मारिन्छ । ।। २।१९ ।।  आत्माका लागि न कहिल्यै जन्म छ न मृत्यु । आत्मा कहिल्यै जन्मिएन, जन्मिदैन र जन्मिनेछैन । ऊ अजन्मा छ, नित्य छ, शाश्वत छ र पुरातन छ । शरीर मर्दा पनि ऊ मर्दैन । ।। २।२० ।।  हे पार्थ, जसले यो आत्मा अविनाशी छ, नित्य छ, अजन्मा छ र अव्यय छ भन्ने जान्दछ त्यसले कसरी कसैलाई मार्ला वा मार्न लगाउन सक्ला ? ।। २।२१ ।।  जसरी मानिसले पुराना वश्त्रहरु त्यागेर नयाँ वश्त्र धारण गर्दछ त्यसै गरी आत्माले पनि पुराना र काम नलाग्ने शरीरलाई त्यागेर नयाँ भौतिक शरीर धारण गर्दछ । ।। २।२२ ।।  यो आत्मालाई न कहिल्यै कुनै हतियारले टुक्राउन सकिन्छ न आगोले डढाउन सकिन्छ, न पानीले भिजाउन सकिन्छ न हावाद्धारा नै सुकाउन सकिन्छ । ।। २।२३ ।।  यो व्यष्टि आत्मा कहिल्यै नफुट्ने, नडढ्ने, नभिज्ने र नसुक्ने खालको हुन्छ । यो आत्मा सधैं रहिरहन्छ, सर्वव्यापक छ, अपरिवर्तनशील छ, अचल छ र सर्वदा एकैनासको छ । ।। २।२४ ।।  यो आत्मालाई अव्यक्त, अचिन्त्य र अपरिवर्तनीय भनिन्छ । यो कुरा बुझेर पनि तिमीले शरीरका लागि शोक गर्नु हुँदैन । ।। २।२५ ।। यदि तिमीले आत्मालाई सधैं जन्मिरहने र सधैं मरिरहने ठान्छौ भने पनि हे महाबाहु, तिमीले यसका लागि शोक गर्नु पर्ने कुनै कारण छैन । ।। २।२६ ।।  जो जन्मिएको छ, त्यो अवश्यै मर्छ र मरेपछि फेरि अवश्य जन्मिन्छ, अतः आफ्नो नगरिनहुने कर्तव्यको पालन तिमीले गर्नैपर्दछ र यसमा शोक गर्नुहुँदैन । ।। २।२७ ।।  जन्मिनुभन्दा अगाडि सबै जीवहरु अव्यक्त अवस्थामा हुन्छन्, जन्मेर नमरुन्जेल मध्य अवस्थामा तिनीहरु व्यक्त हुन्छन् र मरेपछि फेरि अव्यक्त नै हुन्छन् अतः यसमा शोक गर्नुपर्ने के आवश्यकता छ ? ।। २।२८ ।।  यो आत्मालाई कसैले आश्चर्यका रुपमा हेर्दछन्, कसैले आश्चर्यका रुपमा व्याख्या गर्दछन्, कसैले आश्चर्यकै रुपमा यसका बारेमा सुन्दछन् तर कोही यसका बारेमा सुनेर पनि केहि बुझ्न सक्दैनन् । ।। २।२९ ।।  हे भरतवंशी अर्जुन, शरीरमा रहने शरीरका स्वामीलाई कहिल्यै मार्न सकिंदैन त्यसैले कुनै पनि जीवात्माका लागि तिमीले शोक गर्नु पर्दैन । ।। २।३० ।।  एउटा क्षत्रियले गर्नुपर्ने विशिष्ट कर्तव्यलाई विचार गरेर, धर्मका लागि युद्ध गर्नुभन्दा राम्रो अरु कुनै कार्य छैन भन्ने कुरा तिमीले बुझ्नुपर्दछ र यस्तो कार्य गर्न तिमीले कुनै संकोच मान्नुहुँदैन । ।। २।३१ ।।  हे पार्थ, स्वतः प्राप्त हुन आएको, स्वर्गको खुलेको ढोका जस्तो यस्तो युद्धको अवसर अत्यन्त सुखी वा भाग्यशाली क्षत्रियहरुले मात्र प्राप्त गर्दछन् । ।। २।३२ ।। यदि केहि गरेर तिमीले यो युद्धरुपी धार्मिक कर्तव्य पुरा गरेनौ भने, तिमीलाई आफ्नो कर्तव्य पालन नगरेको पाप लाग्नेछ र तिमीले योद्धाका रुपमा पाएको यश पनि गुमाउनेछौ । ।। २।३३ ।। मानिसहरुले सधैं तिम्रो अपयशको वर्णन गर्नेछन् । एउटा सम्मानित व्यक्तिका लागि अपयश भन्ने कुरा मृत्युभन्दा पनि बढ्ता कष्टकर हुन्छ । ।। २।३४ ।। जुन जुन महारथीहरुले तिम्रो नाम र इज्जतलाई अत्यन्त आदर गरेका छन्, तिनैले तिमीलाई युद्धबाट डराएर भागेको ठानेर तिमीलाई तुच्छ मान्नेछन् । ।। २।३५ ।।  तिम्रा शत्रुहरु तिम्रो पुरुषार्थको उपहास गर्दै अनेकौं दुर्वचनहरु भनेर तिम्रो निन्दा गर्नेछन्, त्यो भन्दा कष्टदायी कुरा तिम्रा लागि अरु के होला ? ।। २।३६ ।। हे कुन्तीपुत्र, यदि युद्धमा मारियौ भने तिमीले स्वर्गलोक पाउने छौ र यदि युद्ध नै तिमीले जित्यौ भने पृथ्वीको राज्य भोग्न पाउने छौ त्यसैले दृढ संकल्पका साथ उठ र युद्ध गर । ।। २।३७ ।।  सुख–दुःख, लाभ–हानी, विजय–पराजयसम्बन्धी विचारै नगरी तिमी युद्धका लागि युद्ध गर, यसो गर्यौ भने तिमीलाई कुनै पाप लाग्ने छैन । ।। २।३८ ।।  यसरी विष्लेषणात्मक अध्ययनद्धारा मैले तिमीलाई यो ज्ञानको वर्णन गरें । अब म निष्काम कर्मको व्याख्या गर्छु, सुन । हे पार्थ, यदि तिमीले यहि ज्ञानमा रहेर कर्म गर्यौ भने तिमीले आफुलाई कर्मबन्धनबाट मुक्त गर्न सक्छौ । ।। २।३९ ।।  यस प्रयासमा न कुनै हानि छ न बिध्न नै । यो मार्गमा गरिएको सानो प्रगतिले पनि व्यक्तिलाई अत्यन्त भयानक किसिमको भयबाट मुक्त गराइदिन्छ । ।। २।४० ।।  जो व्यक्ति यो मार्गमा लागेका छन्, जो आफ्नो लक्षमा दृढ छन् तिनको उद्धेश्य एउटै हुन्छ । हे कुरुनन्दन्, तर जो दृढप्रतिज्ञ छैनन् तिनीहरुको बुद्धि भने अनेक शाखाहरुमा विभाजित हुन्छ । ।। २।४१ ।।  अल्पज्ञानी व्यक्तिहरु वेदका आलंकारिक वचनहरुप्रति अति आसक्त हुन्छन् । त्यहाँ स्वर्ग प्राप्ती गराउने र राम्रो जन्म, शक्ति र यस्तै अन्य कुराहरु प्राप्त गराउने धेरै किसिमका सकाम कर्महरु बताइएका छन् । इन्द्रियभोग र सम्पन्न जीवनको चाहना राख्ने व्यक्तिहरु यो भन्दा ठूलो कुरा केही छैन भन्ने गर्दछन् । ।। २।४२।४३ ।।  जसको मन इन्द्रियभोग र सांसारिक वैभवप्रति अत्यधिक आशक्त छ र जसलाई यस्ता वस्तुहरुले मोहित गर्छन त्यस्ता व्यक्तिहरु भगवानको अटल भक्तिमा दृढ हुन सक्दैनन् । ।। २।४४ ।। वेदमा मुख्य गरी प्रकृतिका तीन गुणहरुका सम्बन्धमा उल्लेख छ, त्यसैले हे अर्जुन, तिमी यी तीन गुण भन्दा पर जाऊ । सम्पुर्ण द्वैतभावबाट मुक्त होऊ, समस्त लाभ र सुरक्षाका चिन्ताबाट पनि मुक्त होऊ र आत्मामा स्थित होऊ । ।। २।४५ ।।  जसरी एउटा सानो कुवाको काम विशाल जलाशयबाट तुरुन्त पुरा हुन्छ त्यसै गरी वेदका पछाडि रहेको प्रयोजन परब्रम्हलाई जानेपछि स्वतः पूर्ण हुन्छ । ।। २।४६ ।।  तिमीलाई आफ्नो निर्धारित कर्म गर्ने मात्र अधिकार छ, तर कर्मको फल पाउने नपाउने कुरा तिम्रो अधिनमा छैन । तिमीले आफुलाई कर्मफलको कारण पनि कहिल्यै नसोछ र कर्तव्य गर्नबाट विमुख पनि कहिल्यै नहोऊ । ।। २।४७ ।।  हे अर्जुन, सफलता वा असफलताका सम्पूर्ण आसक्तिलाई त्याग गरेर समभावमा रहेर आफ्नो कर्तव्य गर । यही समभावलाई योग भनिन्छ । ।। २।४८ ।।  हे धनन्जय, भक्तिमय सेवाद्वारा सम्पूर्ण निन्दित कर्मबाट टाढा बस र त्यही सेवाभावमा रहेर भगवान्को शरणमा पर । आफ्ना सकाम कर्महरुको फल भोग्न चाहनेहरु कृपण हुन्, तुच्छ विचारका हुन् । ।। २।४९ ।।  भगवद्भक्तिमा लागेको मानिसले यही जीवनमा नै आफुलाई राम्रा र नराम्रा दुवै कर्मबाट मुक्त गराउँदछ, त्यसैले तिमी भक्तियोग प्राप्त गर्ने प्रयत्न गर, किनभने सम्पूर्ण कर्ममा कुशलता नै योग हो । ।। २।५० ।।  यसरी भगवान्को भक्तिमा तल्लीन रहेर महर्षिहरु वा भक्तहरुले आफुलाई सांसारिक कर्मका प्रतिफलबाट मुक्त गर्दछन् र यसरी नै जन्म र मृत्युका चक्रबाट मुक्त भएर तिनीहरुले सम्पूर्ण दुःखभन्दा परको अवस्था प्राप्त गर्दछन् । ।। २।५१ ।।  जब तिम्रो बुद्धिले मोहरुपी घना जंगललाई पार गर्नेछ, त्यस समय तिमी पहिल्यै सुनिसकिएका र सुन्नैपर्ने सबै कुराप्रति विरक्त हुनेछौ । ।। २।५२ ।।  जब तिम्रो मन वेदको आलंकारिक भाषाबाट विचलित हुनेछैन र आत्माको अनुभूतिमा एकाग्र भएर स्थिर रहने छ तब मात्र दिव्य चेतना प्राप्त गर्नेछौ । ।। २।५३ ।।  अर्जुनले सोधेः हे कृष्ण, अध्यात्ममा लीन भएका व्यक्तिको पहिचान के हो ? ती कसरी बोल्दछन् ? तिनको भाषा कस्तो हुन्छ ? ती कसरी बस्दछन्, अनि कसरी हिंड्दछन् । ।। २।५४ ।।  भगवान्ले भन्नुभयोः हे पार्थ, जब मानिसले  मानसिक चिन्तनबाट इन्द्रियतृप्तिका लागि उठ्ने सबै किसिमका  इच्छाहरुलाई त्यागिदिन्छ र त्यसरी पवित्र हुन पुगेको उसको मनले आफ्नै आत्मामा परम् सन्तुष्टि प्राप्त गर्नथाल्दछ अनि मात्र त्यस्तो व्यक्तिलाई पावन तथा दिव्य चेतनामा अवस्थित  (स्थितप्रज्ञ) भनिन्छ । ।। २।५५ ।।  तीन तापहरुका बीचमा रहँदा पनि जसको मन विचलित हुँदैन, वा सुखमा हुँदा जसको मन प्रफुल्लित हुँदैन र जो डर क्रोध र आसक्तिबाट मुक्त छ त्यसैलाई स्थितप्रज्ञ भनिन्छ । ।। २।५६ ।।  यस भौतिक संसारमा जसले असल कुरा प्राप्त हुँदा हर्षित हुने र अशुभ कुरा आइपर्दा घृणा गर्दैन, त्यही नै पूर्ण ज्ञान अवस्थित भएको व्यक्ति हो । ।। २।५७ ।।  जसरी कछुवाले आफ्ना अंगहरुलाई खुम्च्याएर खोलभित्र समेट्छ, त्यसै गरी जसले आफ्ना इन्द्रियहरुलाई तिनका बिषयबाट खिच्दछ त्यही व्यक्ति नै दृढतापूर्बक चेतनामा स्थिर रहन्छ । ।। २।५८ ।। कुनै देहधारी जीव इन्द्रियभोगबाट मुक्त भएर पनि उसमा त्यसको वासना भने रहिरहन्छ तर यदि त्यो भन्दा उत्कृष्ट रसको स्वाद उसले पायो भने विषयभोगको अभिरुचि समाप्त हुन्छ र ऊ कृष्णचेतनामा स्थिर हुन्छ । ।। २।५९ ।। हे अर्जुन, इन्द्रियहरु कति बलवान् र वेगवान् छन् भने तिनीहरुलाई नियन्त्रण गर्ने प्रयत्नशील विवेकी मानिसको मनलाई पनि तिनले बलपूर्वक हरण गरिदिन्छन् । ।। २।६० ।।  जुन व्यक्तिले आफ्ना इन्द्रियहरुलाई पूर्णतया नियन्त्रणमा राखेर निग्रह गरेको छ र आफ्नो चेतनालाई ममा स्थिर गरेको छ, त्यही व्यक्ति स्थितप्रज्ञ भनिन्छ । ।। २।६१ ।।  इन्द्रियका विषयहरुको चिन्तन गर्दागर्दै मानिस तिनै विषयमा आसक्त हुन्छ, त्यस्तो आसक्तिबाट काम उत्पन्न हुन्छ र कामबाट क्रोध उत्पन्न हुन्छ । ।। २।६२ ।। क्रोधबाट पूर्ण मोह उत्पन्न हुन्छ, मोहबाट स्मरणशक्ति भ्रमित हुन्छ, स्मरणशक्ति भ्रमित भएपछि बुद्धि नाश हुन्छ, जब बुद्धि हराउँछ, मानिस यो संसाररुपी कुवामा फेरि खस्दछ । ।। २।६३ ।।  तर सम्पूर्ण राग र द्वेषबाट मुक्त भएको र स्वतन्त्र नीति–नियमहरुद्वारा आफ्ना इन्द्रियहरुलाई नियन्त्रण गर्न सक्ने व्यक्तिले भगवान्को पूर्ण कृपा प्राप्त गर्न सक्दछ । ।। २।६४ ।।  यसरी कृष्णभावनामा सन्तुष्ट रहने व्यक्तिका लागि संसारका तीनै किसिमका भौतिक कष्टहरु धेरै टिक्दैनन् । यस किसिमको तृप्त चेतनामा रहने व्यक्तिको बुद्धि चाँडै नै स्थिर हुन्छ । ।। २।६५ ।।  जो व्यक्ति कृष्णभावनामा रहेर भगवान्सँग जोडिएको छैन त्यो व्यक्तिको न बुद्धि नै दिव्य हुनसक्दछ न मन नै स्थिर हुनसक्दछ । अस्थिर मन भएका व्यक्तिले शान्ति प्राप्त गर्नु सम्भव छैन र शान्तिबिना सुख कसरी पाउन सकिन्छ र ? ।। २।६६ ।। जसरी पानीमाथिको डुंगालाई शक्तिशाली हावाले हुत्याएर एकातिर पुर्याइदिन्छ त्यसै गरी विचरणशील इन्द्रियहरुमध्धे कुनै एकमा एकाग्र भएको मनले मानिसको बुद्धिलाई नै हरण गरिदिन्छ । ।। २।६७ ।।  त्यसैले हे महाबाहु, जसका इन्द्रियहरु आफ्ना विषयबाट पूर्णतः हटेर नियन्त्रणमा आएका छन् त्यसैको बुद्धिलाई निसन्देह स्थिर बुद्धि मान्नुपर्दछ । ।। २।६८ ।।  जुन समय सबै जीवहरुका लागि रात्री हुन्छ, त्यसमा आत्मसंयमी पुरुष जागृत रहन्छन् र सबै जीवहरु जाग्ने समय आत्मदर्शी मुनिका लागि रात्री हुन्छ । ।। २।६९ ।।  जसरी सर्धै परिपूर्ण र अचल रुपमा प्रतिष्ठित समुन्द्रमा नदीहरु प्रवेश गर्दछन् त्यसै गरी स्थिर चित्त भएका व्यक्तिका ह्दयमा अनेक इच्छाहरु नित्य प्रवेश गर्दछन् र बिलाउँदछन् । त्यस्तै स्थिर व्यक्तिले मात्र शान्ति प्राप्त गर्दछन् तर विषयको इच्छा भएका व्यक्तिले त्यो शान्ति पाउँदैनन् । ।। २।७० ।।  जसले इन्द्रियतृप्तिका सबै चाहनाहरुलाई त्यागिदिएको छ, जो इच्छाहरुबाट मुक्त छ, जसले सम्पूर्ण ममतालाई पनि त्यागिदिएको छ र अहंकारशून्य बनेको छ त्यही व्यक्तिले मात्र वास्तविक शान्ति प्राप्त गर्न सक्दछ । ।। २।७१ ।। यो अध्यात्मिक तथा ईश्वरीय जीवनको मार्ग हो जसलाई प्राप्त गरेपछि मानिस मोहित हुँदैन । हे पृथापुत्र अर्जुन, जीवनको अन्तिम अवस्थामा पनि यस्तो स्थितिमा पुग्ने मानिस भगवान्को धाममा प्रवेश गर्नसक्दछ । ।। २।७२ ।।