पूर्वीय ज्योतिष सिद्धान्त गते, बार, महिना, अयन, वर्ष, राशि, ग्रह, नक्षत्र, पञ्चांग, दशा र तिनमा आउने परिवर्तनमा आधारित छ । यसलाई सिद्धान्त, संहिता र होरा गरी तीन भागमा र अरु विभिन्न उपभागहरुमा वर्गीकरण गरेको पाइन्छ । जसले गणित, फलित र उपचारका बारेमा विस्तृत चर्चा गर्छ ।
ती शास्त्रका अनुसार समस्त आकाशमण्डललाई ३६० डिग्रीमा बाँडिएको छ र ती ३६० डिग्रीले एक वर्षका दिनलाई प्रतिनिधित्व गर्छन् । त्यो ३६० डिग्रीलाई १२ भागमा बाँडेर बाह्र वटा महिनामा वर्गीकरण गरिएको छ र हरेक महिनाको प्रतिनिधित्व मेषदेखि मीनसम्मका एकएक राशिले गर्छन् । तारामण्डलको समूहलाई नक्षत्र भनिन्छ जुन अश्विनीदेखि रेवतीसम्म २७ वटा हुन्छन् । सूर्यदेखि शनिसम्मका सातवटा बारले सातवटा ग्रहलाई प्रतिनिधित्व गर्छन् । बाँकी दुई ग्रह राहु र केतु छायाँ ग्रह भएकाले तिनीहरुको आफ्नो बार भने छैन । राहुलाई शनिजस्तै र केतुलाई मंगलजस्तै फल दिने आधार मानेर हेर्ने चलन छ ।
खगोल शास्त्रीय यथार्थमा सबै ग्रहहरुले सूर्यको परिक्रमा गर्ने भए पनि ज्योतिर्विज्ञानले हामी बसेको पृथ्वीलाई स्थिर मानेर अरु ग्रहहरु आकाशमा परिक्रमा गरेको मान्दछ । यस अर्थमा सबै नौ ग्रह आफ्नो आफ्नो बाटोमा माथि भनिएको ३६० डिग्रीको वृत्तमा आफ्नो आफ्नो गतिमा सदैव भ्रमण गरिरहेका हुन्छन् । जसलाई ग्रहको गोचर भनिन्छ । खगोल शास्त्रका अनुसार त्यो ३६० डिग्री वा सबै राशिमा एक पटक भ्रमण गर्न विभिन्न ग्रहहरुलाई फरकफरक समय लाग्छ । यस्को मूख्य कारण ग्रहहरुको पृथ्वीबाट फरक दूरी र उस्को आफ्नो फरक फरक गति हो । सूर्यले करिब एक वर्षमा त्यो वृत्त भ्रमण पूरा गर्छ भने चन्द्रमाले करिब २७ दिनमा त्यो वृत्त पुरा गर्छ । मंगलले यो वृत्त एक वर्ष ६ महिनामा, बुधले लगभग १२ महिनामा, बृहस्पतिले करिब १२ वर्षमा, शुक्रले एक वर्षमा त्यो वृत्त पूरा गर्छन् । शनिलाई त्यो वृत्त पूरा गर्न तीस वर्ष लाग्छ । शनि एउटा राशिमा झन्डै लगभग साढे दुई वर्षसम्म रहन्छ । यस अर्थमा शनिलाई यो वृत्त पूरा गर्न अरु ग्रहको तुलनामा सबैभन्दा बढी समय लाग्छ । तसर्थ यसलाई ढिलो ग्रह पनि भनिन्छ ।
माथिको वृत्त पूरा गर्न लाग्ने समय हेर्दा, चन्द्रमा करिब सवा दुई दिन एउटा राशिमा बस्छ भने सूर्य, बुध र शुक्र एक एक महिना, बृहस्पति करिब एक बर्ष र मंगल करिब ४५ दिन एउटा राशिमा बस्छन् । तसर्थ ज्योतिषीरुले दैनिक र साप्ताहिक राशिफल चन्द्रमाको गोचर र त्यसको प्रभावबाट, पाक्षिक, मासिक र त्रैमासिक सूर्यलगायत बुध, शुक्र र मंगलको गोचरबाट, अद्र्धवार्षिक र वार्षिक बृहस्पति र शनिको गोचरबाट निकाल्ने गर्छन् । तसर्थ ती पूर्ण र सधैं सबै विषयमा मान्य नहुन सक्छन् ।
ज्योतिर्विद्हरुले कुनै पनि मानिसको चिना टिपन बनाउने र उसका वर्तमान, भविष्य र दशाहरुका बारेमा बताउने माध्यम ऊ जन्मेको बेलामा आकाशमा ग्रह तथा नक्षत्रहरु कुन कुन अवस्थामा थिए र अहिले तिनीहरुको स्थिति के छ भन्ने हेरेर नै हो । अर्थात् एउटा निश्चित नक्षत्र र ग्रहहरुको स्थितिमा जन्मेको मान्छेको जीवनमा ग्रहहरु भ्रमण गर्दै जाँदा अनुकूल वा प्रतिकूल असर पर्छ ।
हुन त सबै ग्रहहरु एकपछि अर्को राशिमा गोचर गर्दै हुन्छन् र त्यसको प्रभाव प्राणी तथा समस्त भू मण्डलमा परेकै हुन्छ तर पनि जब शनि ग्रह एक राशिबाट अर्को राशिमा सर्छ तब त्यसको अर्थ अलि धेरै नै हुन जान्छ ।
जब जब ग्रहहरु गोचर गर्दै एकपछि अर्को नक्षत्र र राशिमा जान्छन्, तबतब हरेक राशि र नक्षत्र भएका मानिसमा त्यसको प्रत्यक्ष सकारात्मक, नकारात्मक वा सामान्य असर पर्छ । यसको मुख्य कारण सम्बद्ध ग्रहसँग सम्बन्धित महादशा, अन्तरदशा तथा सूक्ष्मदशाहरु ती राशि वा व्यक्तिलाई लाग्न जानु हो । दशा शब्दको खास अर्थ समय हो तर जनमानसले यो शब्दलाई नकारात्मक शब्द बनाएको छ, जुन गलत हो ।
धेरै प्रकारका र समयका दशाहरु ज्योतिषीय सिद्धान्तले बताए पनि हामीले सबैभन्दा बढी सुनेको र सुन्नासाथ तर्सने दशा भनेको शनिको साढेसाती र अढैया नै हो । यी दुवै दशाहरु शनि ग्रहसँग सम्बन्धित छन् र शनिको गोचरबाट लाग्ने गर्छन् ।
के हो शनिको साढेसाती र अढैया दशा ?
पुराणका अनुसार शनि सूर्यका छोरा हुन् र संसारका हरेक प्राणीलाई आफ्नो आफ्नो कर्म अनुसारको फल दिनका लागि एकमात्र न्यायाधीशको काम गर्न खटिएका देवता हुन् । तसर्थ शनिको दृष्टिमा कोही आफ्नो र कोही पराया छैन । पौराणिक कथाहरुमा भगवान् शिवलाई समेत शनि लागेका कथा प्रसंग आउनाले पनि शनिको शक्तिको अनुमान गर्न सकिन्छ । जब शनिग्रह एक राशिबाट अर्को राशिमा गोचर गर्छन्, त्यसबेला कुनै राशिलाई साढेसाती लागेको हुन्छ । उदाहरणका लागि यदि शनि ग्रह मेष राशिमा छ भने मेष राशिका मानिसलाई मध्य मेषभन्दा एक अगाडिको राशि मीनलाई अन्त्य र मेषभन्दा एक पछाडिको राशि वृषलाई आद्य साढेसातीको दशा लाग्छ । त्यस्तै, यो अवस्थामा मकर राशिलाई सुरुको र कन्या राशिलाई दोस्रो अढैया लाग्छ ।
ज्योतिषीय नियम अनुसार आद्यभन्दा मध्य र मध्यभन्दा अन्त्य साढेसाती कडा हुन्छ । त्यस्तै, सुरुको भन्दा अन्त्यको अढैया बढी कडा हुन्छ ।
२०७१ साल कात्तिक २५ गते बिहान ६ बजेबाट शनिग्रह विगत साढे दुई वर्षदेखि बसेको तुला राशिबाट सरेर वृश्चिक राशिमा प्रवेश गर्दै छ । अब यसको अर्थ त्यस दिनबाट कन्या राशिलाई शनिको साढेसाती दशा सकिन्छ भने धनु राशिलाई सुरु हुन्छ । वृश्चिकलाई आद्यबाट मध्यमा सर्छ र तुलालाई मध्यबाट अन्त्यमा साढेसाती जान्छ । त्यस्तै, कर्कट र मीन राशिको अढैया समाप्त भएर मेष र सिंह राशिलाई अढैया लाग्छ । साढेसातीको अवधि साढेसात वर्ष र अढैयाको अवधि अढाइ वर्षको हुन्छ ।
साढे साती तथा अढैयाको प्रभाव र न्यूनीकरणका उपाय
यस्तो अवस्थामा साढेसाती तथा अढैया लागेका राशिका मानिसको जीवनमा महत्वपूर्ण उतारचढाव आउने कुरा एकातिर ज्योतिषशास्त्रले बताउँछ भने अर्कोतिर विभिन्न अनुसन्धानहरुले पनि यो कुराको पुष्टि गरेका छन् । तर शनिको साढेसाती र अढैया सबैलाई खराब चाहिँ हुन्न । व्यक्तिको जन्म कुण्डलीमा शनि ग्रहलाई हेरेर मात्र दशाफल बताउन सकिन्छ । कसैलाई यी दशा समयहरु असाध्यै राम्रो पनि हुन सक्छन् । सबैले बुझ्ने भाषामा भन्नुपर्दा व्यक्तिको जन्मकुण्डलीमा शनि भएको ठाउँमा ७ को अंक भएमा वा लग्नबाट तेस्रो, छैटौं र एघारौं कोठामा बलवान् शनि ग्रह बसेको भए त्यस्ता व्यक्तिलाई यी दशाहरु शुभफलदायी हुन्छन् । जसबाट मानसम्मान बढ्ने, मेलमिलापमा वृद्धि, रोजगारीमा पदोन्नति, घरजग्गा जोडिने आदि शुभफल हुन्छ । यदि ती स्थानमा शनि छैन भने ती व्यक्तिको शनि खराब हुन सक्छ र दशाको फल प्रतिकूल हुन्छ ।
माथि भनिएझैं साढेसाती तथा अढैया हामीले सोचे जस्तो आफैंमा खराब हुँदैन । तर पनि ज्योतिषीय मान्यतामा शनि पाप र दुःखदायी ग्रह भएकाले यसको प्रभाव मानिसको जीवनमा नकारात्मक नै हुन्छ । बढी खर्च हुने, काम ढिला हुने, मानसिक अशान्ति, र वाहनबाट दुःख हुने शनिका मुख्य प्रभावहरु हुन् । यसको राम्रो र खराब पक्ष थाहा पाउन ज्योतिषीसँग परामर्श लिनुपर्छ ।
यदि जन्म समयमा शनि खराब रहेछ भने पनि त्यसको प्रतिकूल प्रभावबाट बच्ने वा न्यूनीकरण गर्ने उपायहरु शास्त्रले बताएको छ । यदि खराब साढेसाती वा अढैया छ भने त्यस्तो अवस्थामा केही उपाय गरेर प्रतिकूल प्रभावबाट बच्न सकिन्छ । यसको मतलव यी कुराहरु ज्योतिषशास्त्रमा विश्वास गर्ने जोकोहीले मान्नुपर्ने कुरा हुन् । ती उपायहरु वैदिक वा तान्त्रिक मन्त्रोपचार विधि, यन्त्र विधि, रत्न धारण विधि वा अरु पूजापाठका उपचार विधि हुन सक्छन् । मन्त्रोपचार विधिमा निश्चित समयमा मन्त्र जप गर्ने र गराउने तथा दान धर्मका कुरा आउँछन् भने यन्त्र र रत्नचाहिँ धारण गर्नुपर्छ । शनिको रत्न नीलम हो । खासगरी यो रत्न औंठी वा लकेटमा धारण गर्नुपर्दा ५ क्यारेटभन्दा बढीको पञ्चधातु वा चाँदीमा बनाएर निश्चित दिन, बार, तिथि मिलाएर दाहिने हातको माझी औंलो वा घाँटीमा छाला छुने गरी लगाउनुपर्छ । नेपालमा शुद्ध रत्न पाउन गाह्रो हुने र अरु लगाउँदा त्यसको प्रभाव नहुनाले रत्नभन्दा वैदिक मन्त्र र पूजापाठ उपचार विधि बढी प्रभावकारी हुन्छ । यन्त्र धारण पनि त्यति व्यावहारिक नहुन सक्छ । तर जे गरे पनि ज्योतिर्विद्को परामर्शमा गर्नुपर्छ ।