तीर्थ पर्यटन: सम्भावना र चुनौती
नेपाल मन्दिरै मन्दिरको देश । यहाँ पूर्वको ताप्लेजुङदेखि पश्चिमको दार्चुलासम्म जहाँ गए पनि धार्मिक आस्थाका केन्द्र देख्न र त्यसका किंवदन्ती सुन्न पाइन्छन् । मानिस आ–आफ्नो धर्म र संस्कृतिप्रति अगाध आस्था राख्छन् र आफ्नो गच्छेले भ्याएसम्म पर्व मनाउँछन् ।
अझ त्यति मात्रै हैन, नेपाल राम्ररी चिन्ने विदेशीमाझ एउटा भनाइ प्रचलनमा छ, नेपालमा एक वर्षको क्यालेन्डरमा भएका दिनभन्दा बढी त्यो वर्ष चाड मनाइन्छन् । कुरा सही हो र नेपालमा मनाइने चाडबाड करिब–करिब सबैजसो धार्मिक आस्थाका आधारका हुन्छन् । दशैं–तिहार मात्र हैन, तराईका संसारीमाई पूजादेखि पहाडका लाखे नाचसम्ममा कुनै न कुनै धार्मिक आस्था जोडिएको पाइन्छ ।
हालसालै मानिसको भ्रमणसम्बन्धी भारतको एउटा आँकडा प्रकाशमा आयो, जसअनुसार दैनिक शिक्षाको लागि स्कुल– कलेज र जिविकाको लागि कार्यालय जाने यात्रालाई अलग राख्ने हो भने मानिसका बाँकी यात्राको दुई तिहाई धार्मिक क्षेत्रको भ्रमणको कारणले हुन्छ । यसको स्पष्ट अर्थ हो, तीर्थ पर्यटन । तीर्थ पर्यटनकै कारणले संसारमै धार्मिक केन्द्रहरू धनी छन् । विश्वका विभिन्न भागमा चर्चले स्कुल–कलेज सञ्चालन गर्छन् भने भारतमा त संसारकै धनी मन्दिरहरू छन्, जसको आम्दानी हरेक दिन करोडौं रुपैयाँमा हुन्छ । पुरा अर्थतन्त्र तीर्थ पर्यटनले धानेका सहरहरूको संख्या भारतमा सैयौँको संख्यामा पाइन्छन् । तर विडम्बना भारतकै हाराहारीमा धार्मिक महत्वका केन्द्र हुँदाहुँदै पनि हामीले त्यो काम नेपालमा गरेनौ ।
हाम्रो देशमा पनि हरेक धर्म मान्ने र सबै सम्प्रदायका मानिसका आ–आफ्नै धार्मिक आस्थाका केन्द्र छन् । धेरैजसो नेपाली हिन्दु र बौद्ध भएकाले ती धर्मसँग सम्बन्धित आस्थाका केन्द्रहरू बढी हुनु स्वभाविकै हो । कतिपय मन्दिर त यस्ता छन्, जहाँ हिन्दु र बौद्ध धर्मावलम्बीहरूले समान आस्थाले आ–आफ्ना तरिकाले पूजाअर्चना गर्छन् ।
नेपालमा हिन्दु धर्मसँग सम्बन्धित आस्थाका केन्द्रका चर्चा गर्ने हो भने तिनलाई तीन भागमा बाँड्न सकिन्छ । पहिलो, पुराणमा उल्लेख भएका जस्तै पशुपतिनाथ, डोलेश्वर, बराहक्षेत्र, कालिगण्डकी, गुह्येश्वरी, कुशेश्वर महादेव आदि । यी क्षेत्रको महत्व काशी वा रामेश्वरमभन्दा कुनै हालतमा कम छैन । यी केन्द्रको उत्पत्ति, विकास अनि माहात्म्य सबै पवित्र पुराणहरूमा उल्लेख भएकाले महत्व पनि असाध्यै बढी छ । दोस्रो, ऐतिहासिक किताबहरूमा उल्लेख भएका धार्मिक क्षेत्र जस्तै जनकपुरधाम, बाल्मीकि आश्रम आदि । रामायण, महाभारतका पात्रसँग सम्बन्धित यी क्षेत्रले हाम्रो इतिहास र भगवानसँगको साक्षात्कारलाई दर्शाउँछ । तेस्रो, स्थापित (कसैले स्थापना गरेको) र अगाध श्रद्धाका साथ दर्शनार्थीहरू दर्शनमा आउने क्षेत्र जस्तै मनकामना, पलाञ्चोक भगवती, पाथीभरा आदि ।
यीबाहेक भगवान बुद्धको जन्मस्थल लुम्बिनीलगायत हिन्दु र बौद्ध धर्मावलम्बीले समान आस्था राख्ने हलेँसी महादेव जसलाई बौद्ध धर्मावलम्बी हलेँसी गुफा भन्छन् तथा मुक्तिनाथजस्ता मन्दिर पनि नेपालभित्रै छन् । मुक्तिनाथ मन्दिर त अझ दक्षिण भारतको एउटा सम्प्रदायको कुलदेवतासमेत भएकाले हरेक वर्ष हजारौंको संख्यामा त्यो क्षेत्रबाट दर्शनाथीहरू मुक्तिनाथ दर्शन गर्न आउँछन् तर आवतजावतको कठिनाइले मानिसलाई त्यहाँ आकर्षित गर्न त्यति सजिलो भने छैन ।
यस्तो पवित्र भूमि नेपालमा तीर्थ पर्यटनको सम्भावना धेरै छ । तीर्थ पर्यटन स्वदेशी र विदेशी गरी दुई प्रकारको हुन्छ । नेपालमा सहरी क्षेत्रमा बढ्दै गएको जीवनस्तर र बढ्दो धार्मिक आस्थाका कारण मानिस यस्ता धार्मिक क्षेत्रको भ्रमण गर्न खोज्दैछन् । त्यस्तै दुई विशाल र नवधनाढ्य देश भारत र चीनको बीचमा रहेको देश अनि एकातिर बौद्ध धर्मावलम्बीको अपार समूह अनि अर्कोतर्फ कट्टर हिन्दुहरूको समूह । यो भन्दा सुनौलो तीर्थ पर्यटनको अवसर नेपालका लागि के नै हुन सक्छ र ? बौद्ध धर्म मान्ने मानिसको संख्या दिनप्रतिदिन बढ्दै छ र उनीहरूका लागि लुम्बिनीभन्दा ठूलो तीर्थस्थल कहाँ हुन सक्ला र ?
तीर्थ पर्यटनका लागि अत्यावश्यक तत्व भनेको भौतिक पूर्वाधार र सूचना मात्रै हो । भौतिक पूर्वाधारका रुपमा सरकारले बाटो मात्र बनाइदिए अरु सबै काम जनस्तरबाटै हुन्छ । करिब पाँच वर्षअघिसम्म विरलै सुनिएको डोलेश्वर मन्दिरको महत्वको प्रचारप्रसार र सरकारले बनाएको बाटोका कारण अचेल सो मन्दिर स्वदेशीका लागि मात्रै नभै विदेशी दर्शनार्थीहरूका लागि पनि प्रमुख गन्तव्य बन्न पुगेको छ । मन्दिरमा भएको आवतजावतले त्यस भेगका करिब १० हजार मानिसको जीवनस्तरमा आमूल परिवर्तन आएको छ । मन्दिर वरिपरिका घर–पसल मात्रै नभई त्यो भेगका तरकारी उत्पादक किसानसमेत लाभान्वित भएका छन् ।
केही वर्षअघिसम्म झापा, इलाम, पाँचथर र ताप्लेजुङका मानिसले मात्रै नाम सुनेका पाथिभरा देवी मन्दिरको प्रचारप्रसार र बाटोको सहजताले अहिले काठमाडौँलगायत नेपालका विभिन्न स्थानबाट बर्से्नि त्यहाँ पुग्नेको संख्या दसौं हजार पुगेको छ । अब ताप्लेजुङको सदरमुकाम फुङलिङलगायत बाटामा पर्ने काफ्लेपाटी र माथिल्लो फेदीले राम्रा तारे होटलको माग गरिरहेका छन् । यसबाट थाहा हुन्छ, तीर्थ पर्यटनको महत्व । पश्चिमको कुरा गर्ने हो भने यदि केही होटेल र बाह्रै महिना खान र बस्न पाइने सुनिश्चितता हुने हो भने अहिले वर्षमा केही सय मानिस पुग्ने गरेको खप्तडमा बर्से्नि लाखौं मानिस जान्छन्, त्यसमा कुनै दुविधा छैन । यसबाट डोटी, अछाम, बाजुरा र बझाङ जिल्लाबासी प्रत्यक्ष लाभान्वित हुन्छन् । साथै, नेपालभित्रकै तीर्थ पर्यटनको विकासले नेपालीले बिदा मनाउन विदेश जाँदा गर्ने विदेशी मुद्राको वचतसमेत हुन जान्छ ।
माथिको डोलेश्वर र पाथीभराकोे उदाहरण मात्रै बनाएर हामीले पूर्वदेखि पश्चिमसम्म केही धार्मिक आस्थाका केन्द्रलाई उच्च प्राथमिकतामा राखेर भौतिक पूर्वाधारको मात्रै विकास गर्न सकेको खण्डमा त्यसले दिने प्रतिफलको आँकलन कुनै अर्थशास्त्रीले गर्न सक्दैन । यो क्षेत्रमा स्वदेशी र विदेशीले गर्ने खर्च हरेक वर्ष अर्ब रुपैयाँमा नभई खर्ब रुपैयाँमा हुन्छ ।
ताप्लेजुङको पाथिभरा, सुनसरीको बराहक्षेत्र, मोरङको रंगेली काली, सप्तरीको सखडा भगवती, धनुषाको जनकपुरधाम, बाराको गढिमाई, चितवनको बाल्मीकि आश्रम, चितवन, तनहुँ र नवलपरासीको सीमाको देवघाट, नवलपरासीको मौलाकालिका र त्रिवेणी, कपिलवस्तुको लुम्बिनी, बाँकेको बागेश्वरी, सुदूर र मध्यपश्चिमका उग्रतारा, शैलेश्वरी गरी नौ देवी दिदीबहिनी र खप्तड, जुम्लाको चन्दननाथ, मुस्ताङको दामोदर कुण्ड र मुक्तिनाथ, बाग्लुङको काली, पाल्पाको भैरव, गुल्मी, पाल्पा र स्याङजाको त्रिवेणीमा रहेको रिडी, तनहुँका ढोर र छाब्दी बराह, गोर्खाको भगवती र मनकामना, नुवाकोटको भैरवी, बेत्रावती, रसुवाको गोसाईंकुण्ड, काभ्रेको पनौती, धनेश्वर र पलाञ्चोक भगवती यस्ता धार्मिक आस्थाका केन्द्र हुन्, जसले हरेक वर्ष हजारौंको संख्यामा रोजगारीको सिर्जना गर्ने मात्र नभई देशको कुल गार्हस्थ उत्पादनमा ठूलो योगदान गर्न सक्छन् । मध्यपश्चिमको दैलेख त पुरा जिल्ला नै एउटा मन्दिर हो भन्दा पनि अत्युक्ति हुन्न तर प्रचारप्रसार र बाटोघाटो तथा खाने बस्ने सुविधा नहुँदा त्यो क्षेत्र ओझेलमा परेको छ ।
त्यस्तै सिन्धुपाल्चोकको तातोपानी, सिन्धुली र काभे्रको सीमामा रहेको कुशेश्वर, सिन्धुलीको कमलामाई, खोटाङको हलेँसी महादेवको महिमा जति गरे पनि सकिँदैन । काठमाडौँ उपत्यकामा त यस्था केन्द्रहरूको नाम लिएर साध्य नै छैन । हरेक दुई किलोमिटरको दुरीमा एउटा धार्मिक आस्थाका केन्द्रको नाम लिन सकिन्छ । अझ उपत्यकाको रक्षाका लागि चार कुनामा स्थापित चार नारायण, चार गणेश अनि आठ भैरव र दश महाविद्यालाई धार्मिक रुपमा मात्रै हेर्दा त पाप नै लाग्छ । यी सबै त देशका सम्पत्ति हुन् र यिनलाई हामीले अर्थ उपार्जनमा उपयोग गर्नै पर्छ ।
यी माथिका मध्ये कतिपय प्रचारप्रसार र त्यहाँसम्म पुग्ने बाटो अभावका कारण स्थानीय मन्दिर हुन पुगेका छन् भने कतिपयमा बाटो र खान बस्न सुविधा नहुनाले तीव्र इच्छा हुँदाहुँदै पनि दर्शनार्थी पुग्न सकेका छैनन् । उदाहरणका लागि मुस्ताङ जिल्लामा रहेको सालिग्राम उत्पन्न हुने विभिन्न पुराणमा कृष्णा नामले चिनिएकी प्रसिद्ध कालिगण्डकी नदीको उद्गमस्थल दामोदरकुण्डलाई लिन सकिन्छ । त्यहाँ पुग्ने रहर कसलाई हुँदैन र ? तर जोमसोमबाट एकतर्फी चारदिनको हिँडाइमा रहेको सो स्थान पुग्ने दुई दिनको बाटोमा मानव बस्ती नै छैन, बाटोघाटोको कुरा त बेग्लै हो । अब जतिसुकै धार्मिक आस्था भए पनि के गर्ने ? यदि सरकारी पहलमा त्यो स्थानको विकास हुन सके त्यसबाट हुने आर्थिक र धार्मिक फाइदाको लेखाजोखा गर्न कठिन हुन्छ ।
धार्मिक क्षेत्रलाई विकासको मेरुदण्डकै रुपमा अघि बढाउन चुनौती भनेको विगत २५ वर्षदेखि कुनै न कुनै रुपमा नेपालको सत्तामा रहेको नेपालको कम्युनिस्ट सोच मात्रै हो । कुराकानीकै बेलामा पनि उच्च तहका कम्युनिस्ट नेता धर्म र धार्मिक आस्थाका केन्द्रलाई कता–कता राजतन्त्रसँग जोड्ने र मन्दिर भनेको राजाको अवशेष भएको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बताउँछन् र त्यो क्षेत्रको विकासमा उदासिन भैदिन्छन् । यो पूर्ण रुपमा गलत सोच हो ।
एउटा धार्मिक क्षेत्र विकास गर्दा त्यो क्षेत्रले मात्र फाइदा लिने हैन । यदि काठमाडौंबाट हलेँसी महादेवसम्म पुग्ने बाटो सहज भएको खण्डमा हलेँसी वरपरका मानिस बढी लाभान्वित होलान् तर त्योभन्दा कम बाटोमा पर्ने जिल्ला काभ्रे, सिन्धुली, उदयपुर, ओखलढुंगाका बासिन्दा हुँदैनन् । साथै विभिन्न स्थानका पर्यटन व्यवसायीदेखि लिएर तरकारी उत्पादन किसानसमेत उत्तिकै फाइदामा रहन्छन् ।
तीर्थ पर्यटनलाई धार्मिक समाजको विकास भनेर डराउने र धर्मबाट मानिसलाई टाढा राख्नुपर्छ भन्ने आजका नेपालका कम्युनिस्ट शासकले बुझ्न नसकेको कुरा के हो भने आस्था माथिको प्रहार कसैलाई सैह्य हुन्न र यो जति रोक्न खोज्यो त्यति बढ्छ । नेपाल हिन्दु राज्य हुँदा भन्दा धर्म निरपेक्ष राष्ट्र हुँदा मन्दिर जानेको संख्यामा उल्लेख्य वृद्धि आएकोले यो कुराको पुष्टि गर्दछ । तसर्थ यसलाई धर्मभन्दा पर्यटन विकासको रुपमा लिनु नै बुद्धिमानी हुन्छ ।