Article

अर्थ प्रवाह ४३ अर्थसमाजको विकास

Raju Nepal

 

अर्थसमाजको विकास 


भनिन्छ– संसारको सबैभन्दा ठूलो सत्य भनेको परिवर्तन हो । परिवर्तन भन्नु सोचाइको भिन्नता पनि हो । अहिलेको समाजमा अडिरहन वा अगाडि बढ्न कि त परिवर्तनको संवाहक बन्न सक्नुपर्छ कि त परिवर्तनलाई आत्मसात गर्न सक्नुपर्छ । यसो गर्न नसक्ने असफल हुन्छन् । केही वर्षअघिसम्म परिवर्तनलाई पुस्तान्तर मानिन्थ्यो । तर, सञ्चारको विकासले करिव ५ वर्षको अवधिलाई परिवर्तनको अवधि मान्न थालिएको छ । अचेल हरेक ५ वर्षमा मानिसका सोच्ने, बाँच्ने, काम गर्ने र समाजलाई हेर्ने दृष्टिकोण परिवर्तन हुने गरेको छ । 
जबजब समाजमा जनसंख्या बढ्छ, आवश्यकता पनि बढ्न थाल्छ । जबजब जीवनशैली परिवर्तन हुन्छ, आवश्यकताहरू परिवर्तन हुन्छन् । यी सबैलाई समेट्न समाजका नीति–नियम पनि बदलिन्छन् । सय वर्ष पुराना कानुनले संसारका अहिलेका मानिसलाई बाँध्न नसक्ने कारण पनि त्यही हो । आरम्भमा मानिसका आवश्यकता कम थिए । गाँस, बास र कपासबाहेक अरु कुनै प्रकारको आवश्यकता थिएन । त्यसबखत मानिसलाई बाँध्नका निम्ति कुनै कानुन वा नियमको आवश्यकता थिएन । जब समाजको आकार ठूलो हुँदै गयो, त्यही समाजले मानिसलाई कुनै न कुनै नियमले बाँध्नुपर्ने आवश्यकता ठान्यो र धर्मशास्त्रको विकास भयो । धर्मशास्त्रले मानव जीवनका सबै कार्य भगवानमा समर्पित गरायो । राम्रो कामलाई धर्म भनियो भने नराम्रो वा खराब कामलाई पाप । धर्म गर्नेले मृत्युपछि स्वर्ग जान पाउने आश देखाइयो भने पाप गर्नेले नर्क जानुपर्ने त्रास । भगवानका गाथाले भरिएका किताबहरू लेखिए, जसलाई पुराण भनियो । पुराण नै बाँच्ने आधार बन्यो । स्वर्ग र नर्कको परिभाषा यसरी गरियो, मानिस पापसँग डराउन थाले । समाजमा देवता, मानव र राक्षसलाई परिभाषित गरियो । धर्मशास्त्रले मानिसले पाएको रूप, पद, बल र ऐश्वर्य पनि अघिल्लो जन्मको फल भन्यो । जसले मानिसलाई अर्को जन्मको लागि पनि धर्म गर्न उक्सायो । त्यो बेला मानव जातिलाई बाँध्ने नियम त्यहीमात्रै थियो । मानव जातिले गर्ने सबै कर्म धर्मशास्त्रकै अधिनमा हुन्थ्यो र भगवान त्यसका न्यायाधीश । गुरुहरू धर्मको व्याख्या गर्ने आधिकारिक व्यक्ति हुन थाले र राजाहरू सम्पूर्णरूपमा धर्मशास्त्रको अधिनमा राज्य सञ्चालन गर्न थाले । युद्धसमेत धर्मशास्त्रको अधिनमा हुन्थ्यो । 
जब समाज क्रमिकरूपमा ठूलो हुँदै गयो, शिक्षामा परिवर्तन आयो । मानिसका आवश्यकता परिवर्तन भई ठूला बन्दै गए ।  नयाँ पुस्ताका कतिपयले धर्मशास्त्र हुबहु मान्न छाडे । यसको अर्थ धर्मशास्त्र सान्दर्भिक नरहेका हैन, तर धर्मशास्त्र एउटैले समाजलाई बाँधेर राख्न नसक्ने भयो । त्यो बेलामा विद्वान्हरूले अर्को शास्त्र निकाले– नीतिशास्त्र । नीतिशास्त्रका कतिपय प्रावधान धर्मशास्त्रकै अधिनमा भए पनि त्यसले देखाउने बाटो पूरै फरक हुन पुग्यो । हिजोका दिनको पाप र धर्मलाई ठीक–बेठीकले प्रतिस्थापन ग¥यो । अब कुन कर्म ठीक र कुन कर्म बेठीक भन्दै पुरस्कार र दण्डको व्यवस्था हुन गयो । ठीक कर्म गर्नेले पुरस्कार पाउने भयो भने बेठीक गर्नेले दण्डसजाय पाउने भयो । अर्थात्, नीतिशास्त्रले स्वर्ग र नर्कलाई पृथ्वीमै ल्याउने काम ग¥यो । पुरस्कारको रूपमा पद पाउँथ्यो भने दण्डस्वरूप जेल । त्यो नै स्वर्ग र नर्क थियो यो शास्त्रमा । 
धर्मशास्त्रले समेट्न नसकेका जमातलाई वा एउटामात्र शास्त्र समाज सञ्चालन गर्न अक्षम भएका कारण दोस्रो शास्त्रको रूपमा नीतिशास्त्र आयो । त्यो बेला दुवै शास्त्रका प्रावधानहरू बराबरी चल्थे । धर्मशास्त्रका अनुयायीहरू त्यसै पनि पाप–पुण्यका कारण अनुशासित थिए भने त्यो नमान्ने वा विश्वास नगर्नेलाई बाँध्न दोस्रो शास्त्र उपयोगी बन्न गयो र संसारले अरु हजारौँ वर्ष गति पायो । त्यो बेला धर्मशास्त्रलाई व्याख्या गर्ने विद्वान्हरूको बोलावाला धर्मशास्त्र पढाउने गुरुको भन्दा बढी थियो । राजाहरू पनि धर्मशास्त्र मान्दामान्दै नीतिमा बढी विश्वास गर्न थाले । धेरैजसो सरकार सञ्चालन नीतिमुताविक हुन थाल्यो । नीतिशास्त्रका विभिन्न किताब आए, जुन अहिले पनि कतिपय स्थितिमा सान्दर्भिक छन् । 
समाजको गति, मानवजातिले गर्ने आविष्कार र त्यसले सृजना गरेका आवश्यकताहरू तथा विज्ञानप्रतिको बढ्दो विश्वासलाई कसैले रोक्न सक्ने कुरै भएन । यी सबै कारणले ठीक–बेठीकको परिभाषा समाज, व्यक्ति र परिस्थितिअनुसार अलगअलग हुन पुग्यो । हरेक मानिसले आफ्नो परिस्थितिअनुसार ठीक–बेठीकको परिभाषा आफ्नै ढंगले लगाउन थाले । समाजमा राजनीति हावी हुन थाल्यो । दरवारभित्र र बाहिर सल्लाहकारहरूले सरकार सञ्चालनमा आफ्नो ठूलो भूमिका खोज्न थाले । जसरी पनि जनतालाई आफ्नो बसमा पार्नुपर्छ भन्ने मान्यता विकास हुँदै गयो ।
साथै, सर्वसाधारणका आवश्यकता यति धेरै भए कि उनीहरूको पनि ध्यान धर्म र नीतिबाट बाहिर आउन थाल्यो । त्यो बेला समाजको मागअनुसार अर्को शास्त्र समाजले पायो, तर्कशास्त्र । जसले आफ्नो तर्कले समाजलाई आफूतिर आकार्षित गर्न सक्यो उसले राज्य गर्न सक्ने भयो । यो शास्त्र नै राजनीतिशास्त्रको पहिलो र अन्तिम बिन्दु हो । हजारौँ वर्षअघि सुरु भएको यो शास्त्र अहिलेपनि त्यत्तिकै प्रभावकारी छ, जति त्यो बेलामा थियो । विभिन्न पुस्तक, भाषण र राजनीति यसका उदाहरण हुन् । पाप–धर्म, ठीक–बेठीक भन्ने कुराले भन्दा कसका तर्क बलिया र कसका तर्क कमजोर भन्ने कुराले अर्थ राख्न थाल्यो । जसले आफ्ना तर्क वा कुतर्कले समाजको ध्यान आफूतिर तान्न सक्यो ऊ नै शासक हुन थाल्यो । पहिलेको जमानामा हुने एउटामात्रै शासकबाट अब विभिन्न प्रकारका शासक हुनथाले । राजाहरू विस्थापित वा कमजोर हुन थाले, धर्मको अर्थ विभिन्नरूपमा लगाउँदै धार्मिक गुरुहरू समाजको भिन्न प्रकारका शासक हुन थाले । एउटै समाजमा धेरै प्रकारको शासन चल्न थाल्यो । आज कतिपय स्थानमा देशका राजा वा राष्ट्रपतिभन्दा शक्तिशाली धार्मिक गुरु, लेखक वा समाजशास्त्री देखिन्छन् । यसको एउटै कारण उनीहरूको तर्क शक्ति हो ।  

समाज विभक्त गराउने यो शास्त्र यति शक्तिशाली हुन पुग्यो कि आज पनि संसारको राजनीति धेरै हदसम्म यही शास्त्रअन्तर्गत चल्छ । हरेक नेता वा पार्टीले जनताको जीवनस्तर उकास्ने कुरा गर्छन्, धारा, पानी, बिजुली, बाटोको कुरा गर्छन् । तर, उनीहरूको तर्क यति फरक हुन्छ कि जनता अल्मलिन्छन् । यही नै तर्कशास्त्रको विशेषता हो । परापूर्वकालमा धर्मशास्त्रअन्तर्गत लेखिएका पुराणको अर्थ पनि विभिन्न व्यक्तिले विभिन्न ढंगले लगाउँछन् र मानिसको ध्यान आफूतिर तान्न प्रयास गर्छन् । यसरी एउटै समाजमा तीनवटा शास्त्र विद्यमान रहँदा एक र अर्कोबीचको द्वन्द्व चलिरह्यो र समाजले आफ्नो परिवर्तनशीलताको चरित्र पनि छाडेन । समाज विशाल बन्दै गयो साथमा विभिन्न धर्म प्रतिपादित हुँदै गए । एकै स्थानमा बसेर मानिसको गुजारा चलेन । व्यापार, उद्योग र शिक्षा क्षेत्रको विकास भयो । स्वास्थ्य र सञ्चारले मानिसको जीवनमा परिवर्तन ल्याउन सघायो । विस्तारै संसार धर्म, नीति र तर्कले चल्न छाड्यो । कुनै बेला सबैभन्दा कम महŒव राख्ने अर्थ अब मावन जीवनमा हावी हुन थाल्यो । अब समाज हाँक्ने शास्त्र अर्थशास्त्र हुन पुग्यो । जोसँग पैसा छ, उसँग अधिकार छ, उसँग सबथोक छ भन्ने भावनाको विकास भयो । यो युग अर्थशास्त्रको युग हुन पुग्यो । संसारमा पैसाले किन्न नसकिने कुनै वस्तु रहेन । मानिसले पैसाले धर्म, नीति र तर्क किन्न थाले । धर्मगुरुदेखि तर्कशास्त्री अनि नीतिशास्त्रीहरू सबै पैसाको बसमा पर्न थाले । 
अर्थशास्त्रका विभिन्न किताब लेखिए । मानिसहरू त्यही किताबलाई आफ्नो जीवनको आधार बनाउन थाले । व्यवस्थापनका किताबका अन्तिम पानामा अर्थशास्त्रले प्रश्रय पायो । पैसा नभई शिक्षा पाउन नसकिने यो युगमा अरु कुराको अपेक्षा गर्नु बेकार छ । अझ कतिपय बेलामा त मायासमेत किनबेच हुने यो परिस्थितिबाट सजिलै पार पाउन सकिने  देखिन्न । विज्ञानका उपलब्धिदेखि धर्मका कारकसम्म पैसा हुन पुगेको यो युगमा माथिका चार शास्त्रको अनुपात छुट्याउने हो भने धर्मलाई १० प्रतिशत, नीतिलाई २०, तर्कलाई ३० र अर्थलाई ४० प्रतिशत दिन सकिन्छ । अर्थशास्त्रमा हरेक कर्म अर्थप्रधान भए । शासकहरूको ध्यान सबैभन्दा पहिला पैसामा जान थाल्यो । अपवादलाई छाडेर पैसा नभई शासक हुनै नसकिने भयो । भ्रष्टाचार मौलाउनुको कारण पनि यही हो । रूप, शिक्षा र ज्ञानको बलभन्दा पैसाको बल धेरै ठूलो हुन पुग्यो । 
यसरी विकास भएको पृथ्वीको मानव समाज जबसम्म अर्थप्रधान हुन्छ, तबसम्म आर्थिक कर्म गर्नुको विकल्प रहँदैन । आर्थिक समाज परिवर्तन हुन्न, तर यसको अनुपात अलि घटाएर नीति जोड्न सके समाज उन्नत हुन सक्थ्यो । तर, जतिजति आर्थिक समाज बढ्दैछ, त्यति नै नीति समाज कमजोर बन्दै तर्कसमाज र रुढीबादीरूपमा धार्मिक समाजको विकास भएको देख्दा दुःख लाग्छ । यसमा हामी सबै सजग भने हुनैपर्छ ।