Article

अर्थ प्रवाह ३९ भूकम्प, सेयरबजार र अर्थतन्त्र

Raju Nepal


भूकम्प, सेयरबजार र अर्थतन्त्र

 

आधुनिक अर्थशास्त्रको सामान्य मान्यता छ, ओलम्पिक र विश्वकप फुटबलजस्ता खेल भएको मुलुकमा अर्को वर्ष अर्थतन्त्र ओरालो लाग्छ । ठूला भूकम्प वा त्यस्तै प्राकृतिक प्रकोप भएको मुलुकमा त्यसको अर्को वर्ष अर्थतन्त्र उकालो लाग्छ । कारण स्पष्ट छ, खेल हुनुभन्दा ७–८ वर्षअघिदेखि सो राष्ट्रले खेलका निम्ति भौतिक निर्माणमा हरेक वर्ष अर्बौं डलर खर्च गर्छ । तर, जब खेल सकिन्छ तब त्यस प्रकारको खर्च शून्य हुन्छ र अर्थतन्त्र ओरालो लाग्छ । प्राकृतिक प्रकोपले कुनै देशमा धनजनको नोक्सानी भएपछि सरकारले अर्बौं डलर पुनर्निर्माणमा खर्च गर्छ र अर्थतन्त्र उकालो लाग्छ । यो क्रम धेरै वर्षसम्म कायम रहन्छ । नेपालको अहिलेको अवस्था दोस्रो प्रकारको हो । 
नेपालमा गत सालको भूकम्पमा परी झन्डै ९ हजार मानिसले ज्यान गुमाए । १० अर्ब डलरबराबरको भौतिक सम्पत्तिको क्षति भयो । तीन महिनाजति त राहतमै लाग्यो । त्यसपछि पुनर्निर्माणमा गएर आर्थिक स्थिति उकालो लाग्नुपर्ने बेलामा भारत सरकारको अमानवीय नाकाबन्दी सुरु भयो । नाकाबन्दीले नेपालको अर्थतन्त्र भूकम्पले भन्दा कैयौँ गुणा बढी तहसनहस ग¥यो । अहिले नाकाबन्दी छैन, भूकम्पले क्षति गराएका सबैजसो संरचना पुनर्निर्माणको पर्खाइमा छन् । अब नेपालको आर्थिक विकासको दर उच्च हुनेछ । यसका लक्षण देखापर्न थालिसके । अबको खाँचो भनेको सरकारको जाँगरमात्रै हो । किनकि, भूकम्पपीडितहरू राहतको पर्खाइमा छन् । पैसा दिन दाताहरू तयार छन् र अधिकार सम्पन्न पुनर्निर्माण प्राधिकरण पनि छ । अबको समस्या के ? त्यो भनेको प्रधानमन्त्रीले पुनर्निर्माणलाई आफ्नो प्रमुख एजेन्डामा नपार्नु नै हो । 
कुनै देशको आर्थिक वृद्धिको अवस्था कस्तो छ भनेर हेर्ने धेरै आधारमध्धे सेयरबजारको सूचकांक पनि एउटा हो । सेयरबजारको सूचकांकले सबैखाले उद्योग र व्यापारको प्रतिनिधित्व गर्छ । देशका प्रमुख उद्योगमा लगानी र बैंकको ऋण प्रवाहले पनि भविष्य कस्तो हुन्छ भन्नेबारे अनुमान गर्न सकिन्छ । अरु कुरा जेजस्तो भए पनि अहिले पुनर्निर्माणमा सरकारी इच्छाशक्ति उच्च हुनु जरुरी छ । 
भारतीय नाकाबन्दीको प्रभाव लामो समयसम्म पर्ने हुँदा आगामी वर्षको आर्थिक वृद्धिदर कमजस्तो देखिए पनि सेयरबजारले भने नेपालको अर्थतन्त्र सुधारोन्मुख भएको संकेत दिएको छ । एकातिर बैंक तथा बीमा कम्पनीहरूले बढाउनुपर्ने पुँजी, अर्कोतिर प्रतिकूल समयमा पनि नाफामा देखिएको बढोत्तरीले ग्राहकको मनोबल उच्च रहेको जनाउँछ । तीन महिनाअगाडि ११२० को हाराहारीमा रहेको नेपाल स्टक एक्सचेन्जको सूचकांक गत साताको अन्त्यमा १४४० पुगेको छ । हरेक दिनजसो नयाँ उचाई छुँदै गरेको यो सूचकांकले कतिलाई त अन्योलमा समेत पारेको छ । यसको बढ्ने क्रम रोकिएको छैन । कुनै ठूलै प्रतिकूलता ननिम्तिएमा यो सूचकांकलाई करिब १८०० सम्म पुग्न कसैले रोक्न सक्ने छैन । अझ यो त्रैमास त वर्षान्त पनि भएकाले ऋण र ब्याज चुक्ताका निम्ति पैसाको जोहो गर्न पनि सेयरबजार केही हदसम्म माथि लाने वा जाने हुन्छ । 
बीचबीचमा कुनै दिन वा सातामा केही अंकले घटे पनि बजार बढ्ने कुरामा सबै निश्चिन्त भए हुन्छ । अहिले पनि बजारमा बिक्री गर्नेको भन्दा खरिद गर्नेकै चाप बढी छ । बैंक तथा वित्तीय संस्थाका अग्राधिकार र बोनस सेयरको बाढी आउन बाँकी नै छ । यो क्रम रोकिन अर्को एक वर्ष लाग्छ । मर्जरका प्रक्रियाहरू पूरा हुन अझ धेरै समय लाग्न सक्छ  । तसर्थ, यो अवधि सेयरबजारका लगानीकर्ताका निम्ति स्वर्णिम देखिन्छ । 
संसारका हरेक सेयरबजारमा केही यस्ता लगानीकर्ता हुन्छन्, जो बजारको उचाईमा प्रवेश गर्छन् र तल्लो स्थितिमा बेच्छन् । यसको अर्थ ती सधैँ घाटा खानेखालका हुन्छन् । नेपालको अहिलेको बजारको स्थिति हेर्दा साना लगानीकर्ता बजारमा प्रवेश गरेकै छैनन् । ती लगानीकर्ता बजार १७०० भन्दा माथि पुगेपछि प्रवेश गर्ने अनुमान गर्न सकिन्छ । जब साना लगानीकर्ता बजारमा प्रवेश गर्छन् तब बजारले स्थिरता प्राप्त गर्छ । तर, नियमित लगानीकर्ताहरू करिब १८०० को अंकसम्म ढुक्क भएर लगानी गर्न सक्छन् । कुन कम्पनी छान्ने भन्नेचाहिँ कम्पनीकै हिसाबकिताब हेरेर निर्णय गर्नुपर्ने हुन्छ । अहिलेको लगानीकर्ताको लगानी हेर्दा बैंक र बीमा कम्पनी नै अगाडि छन् । 
सेयर सूचकांक बढ्नुका पछाडि बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरूको पुँजी वृद्धि, राम्रोसँग नचलेका वा प्रतिफल बाँड्न नसक्नेको मर्ज एउटा कारण हो भने लगानीकर्ताको आत्मबल अर्को प्रमुख कारण हो । हिजोका दिनमा जस्तो एउटा व्यक्ति वा कम्पनीले सेयरबजारलाई तल–माथि लानसक्ने स्थिति अहिले छैन । १५५० अर्ब रुपैयाँबराबरको पुँजीकरण भएको नेपालको सेयरबजार परिपक्व हुँदै गएको अर्को उदाहरण दैनिक करिब १५० कम्पनीका सेयर र १ अर्ब रुपैयाँको कारोबार पनि हो । संस्थागत लगानीकर्ताहरू र म्युच्युअल फन्डहरू न्यून भएको हाम्रोजस्तो सानो बजारमा त्यो परिमाणको कारोबारलाई अत्यन्त सकारात्मक मान्नुपर्छ । धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकको बजारप्रतिको सकारात्मक धारणाले पनि बजारलाई माथि लान मद्दत गरेको छ । अबका दिनका लागि राष्ट्र बैंकले विश्वका अरु देशमा चलेका सेयरबजारसँग सम्बन्धित विभिन्न आर्थिक उपकरण ल्याएमा बजार अझ माथि जान्छ ।
सेयरबजार करिब ११०० बाट १४००को अंकमा पुग्दा बजारले झन्डै ३ सय अर्ब रुपैयाँ नयाँ पुँजी निर्माण गरेको छ । त्यो भनेको नेपालको वार्षिक बजेटको झन्डै एकतिहाइ हो । यसलाई अर्थतन्त्रको सुधारको प्रमुख कारण मान्नुपर्छ । हरेक साल बजारमा आउने नयाँ सेयरहरू र बजारको उछालले वार्षिक बजेटबराबरकै रकमको निर्माण गरेमा देशको आर्थिक विकासमा त्यसले ठूलो टेवा पु¥याउँछ । यो असम्भव भने देखिँदैन । यो क्षेत्र साना लगानीकर्ताका लागि भरपर्दो आम्दानी र लगानीको स्रोत पनि हुन सक्छ । 
एउटा अर्को तथ्य हेर्दा गत तीन महिनामा वाणिज्य बैंकबाट मात्रै ८० अर्ब रुपैयाँबराबरको नयाँ कर्जा प्रवाह भएको छ । त्यति नै अनुपातमा अन्य वित्तीय संस्था र सहकारीको पनि ब्यापार बढेको छ । एकातिर ठूला परियोजनाहरू सुरु भएका छैनन्, तर पनि एक त्रैमासमा १५० अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह हुनु भनेको साना उद्यममा धेरै कर्जा जानु हो । साना ब्यापार र उद्योगले अर्थतन्त्रलाई चलायमान बनाउन ठूलाले भन्दा धेरै मद्दत गर्छन् । साथै, साना उद्यमहरू गाउँकेन्द्रित हुने हुँदा साना कर्जाले ग्रामीण विकासमा टेवा दिन्छ । देशको प्रमुख उद्योग होटलहरूको निर्माणले यो अवधिमा तीव्रता पाएको छ ।  १० वटाजति अन्तराष्ट्रियस्तरका ठूला होटल र रिसोर्ट बन्दैछन् वा बनिसके । यो वर्षको बुकिङ राम्रो भएका खबर आउन थालिसके । यसले पनि अर्थतन्त्रको सकारात्मकताको संकेत गर्छ । 
सिंगो देश पुनर्निर्माणको पर्खाइमा छ । दोलखाको चरिकोटदेखि गोरखाको बारपाकका घर, पाटीपौवा, सडकमात्र नभई काठमाडौँकै धरहरा र भक्तपुरको चाँगुनारायण मन्दिरसमेत कुन दिन सरकार आउला भनेर बाटो कुरेर बसेका छन् । सरकारी तथ्यांकअनुसार अहिलेसम्म दुई प्रतिशत पनि काम हुन सकेको छैन । प्राधिकरणले काम अगाडि बढाउनै सकेको छैन । सरकार जनताको घर बनाउनेभन्दा धरहराको खाका कोर्ने र रानीपोखरीको जिर्णोद्धार गर्ने कामलाई प्रचार गर्दैछ ! 
अघिल्लो साल सरकारले अनुमान गरेको ७ सय अर्ब रुपैयाँले पुनर्निर्माण सम्पन्न नहुने पक्का छ । तर पनि सरकारको ध्यान त्यता छँदैछैन । आर्थिक र जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषय यो सरकारको प्रथमिकतामा कहिल्यै परेन र पर्ने छाँट पनि छैन । सरकार राजनीतिक विषयमा नै बढी अल्झिन चाह्यो । कुनै दिन सरकार ढल्ने कारण पुनर्निर्माण नै बन्यो भने अचम्म नमाने हुन्छ । किनकि, यो वर्षाको याम भूकम्पपीडितहरूको लागि अत्यन्त कष्टकर हुनेछ । वर्षायामसम्म पनि केही नगरेमा सरकारको अस्तित्व समाप्त हुनेछ । तर, सरकार आफैले आकलन गरेको ७ सय अर्ब रुपैयाँको पुनर्निर्माण कोषको एकतिहाइमात्र पनि आगामी वर्ष दिनभित्र खर्च गरेमा नेपालको आर्थिक वृद्धिदर ७ प्रतिशतभन्दा माथि जानेछ । विपक्षी वा सरकारमा भएका एमालेबाहेकका अन्य दलले यो कुरा बुझेर कि त सरकारलाई काम गर भन्नुप¥यो कि त सरकारको विकल्प खोज्नुप¥यो । प्रधानमन्त्रीको पहिलो दिनदेखिको कार्यशैली हेर्दा केही नहुने पक्का भइसकेकाले दोस्रो विकल्प नै उत्तम हुने देखिन्छ ।