Article

अनुभुति: मन्दिर र मेरो आस्था

Raju Nepal

अनुभुति
मन्दिर र मेरो आस्था
 

सम्झन चाहन्न त्यो महाबिनाशकोे दिन अनि त्यो क्षण । कति विभत्स थियो । एउटा कहालीलाग्दो बिनाश । यो भावभूमिमा त्यो वस्तु तथ्य रापिलो फलामको छेउमा तड्पिरहेको एउटा कामदार जस्तै छ  मेरो लागि । पश्चिमको उग्रतारादेखि पूर्वको पाथिभरासम्म एक यायावर बनेर दर्शनका लागि हिडेको तीर्थयात्री म । भगवानप्रतिको आस्थाको प्रभाव र निष्ठा मैलै खिचेका हरेक तस्विरहरुमा कति हदसम्मको सजिवता लिएर बसेको छ त्यो ति तस्विरहरुले नै बताउँछन् । म आज फेरि एक पटक ति तस्बिरहरुलाई एक–एक गरेर नियाल्दै छु । हाम्रो देशलाई देवदेवताको मन्दिरहरुले वैभवशाली बनाएको छ । भूकम्पले जन्माएको दुःख सागरमा जेलिएर करुणाजनक नियति सारा देशवासीले भोगिरहेका छन् । मेरा आस्थाका मठ मन्दिरहरु भत्किएका छन् । कतै टेका र खुट्टिका भरमा अडिएका छन् । मन थाम्नै नसकिने कहालिलाग्दा दृश्यहरुले आम नेपालीको मन कुडिएको छ । मेरो अनुहार मणी हराएको सर्पको रुप जस्तो बनेको छ । अध्यारो मुखण्डल लिएर म स्तभित छु । चमक हराएर कुरुप छु । मैले आफैँलाई नहँसाएको धेरै समय भएछ । आज भूकप्प गएको एक बर्ष पुरा भैसक्दा पनि मन्दिरको भग्नावशेष परिदृश्यमा भग्न हृदय लिएर उभिएको छु म । मेरो आस्थाका केन्द्र महाविनासकारी  भूकम्पको जुधानमा परेको छ र बन्ने कुनै छाँटकाट छैन । 
आफ्नै आँगन छेउको मन्दिरको विरानो, उराठ र विदीर्ण रुप आफैँमा पिडादायी छन् । मन्दिर क्षतविक्षत छ । चम्चमाइरहने गजुर भग्नावशेषमा पुरिएको छ । मैले बजाउने घण्ट टुक्रिएको छ । दशनार्थी बस्ने पौवा दिन सकिएर मकाएको काठ झै वेकामको बनेको छ । यहाँ भक्तहरुको आरती छैन । न यस्को आँगनमा परेवा नै  छन् । जव मन्दिरको प्राङ्गणमा परेवाहरु मकमकाई रहेका हुन्थे उसवेला संगीत साधकको रियाजको मिठो ध्वनी श्रवणको आनन्द मिल्थ्यो मलाई । म ति परेवाहरु नजिक पुगेर मकैका दानाहरु छरिदिन्थें, परेवाका हुल त्यो दानामा कति मिठो गरेर झुम्मिरहन्थे । मलाईृ स्वर्गीय आनन्द मिल्थ्यो त्यसबेला । म जस्ता अरु थुप्रै भक्तहरु दाना छरिरहेका हुन्थे । आज त्यहाँ दाना छरिरहेका करुण हृदयका मानिसहरु पनि छैनन् । परेवाहरु भत्ककेका टुँडालमा आफ्ना घर खोज्दैछन्, आफ्नो घर नपाउँदा भावविह्ल छन् । मन्दिरको मूल ढोकामा फूलप्रसाद बेचेर जीवनयापन गर्नेहरु यहाँ देखिएका छैनन् । शायद ती पनि कतै पिडामा  छट्पटाइरहेका हुन सक्छन् ।
जतिपटक नियाले पनि मन्दिरको बाह्य आकृति विरक्तलाग्दो नै लाग्छ मलाई । दीर्घ स्वासद्वारा एक भक्तको भावुवकता त्यहाँ पोखिन्छ मेरो । म अन्यमनस्क भावले त्यो भग्नावशेष हेरिरहन्छु । कति सुन्दर थियो  यो मन्दिरको अभङ्ग रुप ।  कति हर्षप्रद थियो ।  पुष्प गुच्छाले अलङ्कृत यो मूर्ति आज सितले छोपेको धर्ति झै आक्रन्त छ । भगवानको यो उच्छवासी रुप देखेर मन कटक्क खान्छ । आज कोेही यहाँ गन्धाक्षत लिएर आएको छैन । प्रसादको टोकरी लिएर आएको छैन ।  यो शीतकालको ठण्डीले जसरी मेरो शरिरलाई चिस्याएको छ उसरी नै यो देव निकेतनको खण्डहरताले मन चिसिदै गएको छ ।
देव नन्दन ! हाम्रा पुर्वजले यी आस्थाका धरोहरहरु बनाए । सभ्यताका यी धरोहरहरुले अन्नतप्रवाहसम्म आफ्नो रश्मिले दुनियाँलाई चम्काइरहे । तीनले परम्परा धाने अनि आमीलाई मुग्ध, शान्त र जुझारु बनाइरहने थिए । अव त्यसो होला नहोला ? सुगन्धित चन्दनको लेप त्यो गजुर उडेको मन्दिरको मुर्तिले कहिले पाउला ? यहि सोचले मेरा रातहरु आक्रान्त बन्छन् । अशान्त बन्छन् । मन्दिरको घण्टले ब्युझाउने मेरा हरेक बिहानीहरु एउटा दैनिकी बनेर मलाई विछ्यौनाबाट उठाउथे । अव त्यो घण्टको शव्दशक्ति विरानो बन्दैछ बिहानीमा । आस्थाको गला घोटेर पिशाच भुकम्प किन गएको होला ? तीर्थस्थलहरुका छातीमा मडारिन किन आएको होला ? आक्रोश छ मेरो हृदयमा । किन किन आजकल म आफैलाई साह्रै निरिह ठान्न थालेको छु । शायद मन्दिर पुनर्निर्माणको सपना एक्लैले देखेर नहुने रहेछ भन्ने लागेर होला । उफ ! यहाँ मैले बजाउने घण्ट छैन । भेटी चढाउने दानबक्स छैन । धातुले जगमग बनेर चमचमाइरहेको मन्दिरको गजुर छैन । तीर्थालु बस्ने पौवा छैन । भक्तहरुको आरती छैन । भजनका मन्त्रमुग्ध आवाजहरु कतै सुनिएका छैन । छ त केवल उजाडलाग्दा भग्नावशेष माथि किच्च हाँसिरहेको सन्नाटा । पुरिएका मूर्तिहरु छन् । मानौ कुनै ठुलो युद्धबाट पराजित छ । अनि दुखित हुँदै त्यो बिभत्स दृष्य हेर्न आउनेको सानो संख्या छ । हिजोको भिड कता गयो ? मानिसको स्वभाव नै हो राम्रो मा हाउने । आज मेरो भगवानलाई दुख परेको छ तसर्थ कोहि आउँदैन यहाँ । यो मन्दिर आफ्नो रुग्नतालाई सौन्दर्यशालीमा रुपान्तरण गर्न गुहारिरहेको छ । मैले त्यो चित्कार सुनेको छु । मजस्ता इषत् हृदयमा त्यो श्रृतिमधुर तरंग पक्कै परेको हुनुपर्छ । पुनर्निमाणको आत्मबोध पक्कै भएको हुनुपर्छ ।
एक विगत थियो, जतिवेला म देवदेवताको तस्विर खिच्न मन्दिर पुग्थे मेरो उत्पुलक मन एकतमासले शान्त बन्थ्यो । यस्तो लाग्थ्यो म कुनै झरनाको फेदीमा छु । झरनाको झर् झर् आवाजमा शास्त्रिय संगीत छाड्दै पानीका स–साना कणहरु मेरो वरिपरी नाँचिरहेका हुन्थ्ये । कहिलेकाँहि लाग्थ्यो मुसुक्क हाँसेका ति देवदेउताहरु मेरो क्यामेरा भित्र बस्न हुन रेडि पोजमा बसेका छन् । म आफुले खिचेको तस्विर देवतातिर फर्काएर देखाउथे र मनमनै भन्ने गर्थें यो तिम्रो सुन्दर तस्विर म दुनियाँलाई देखाउने छु । अव तिम्रो दर्शन यो मन्दिरमा आउन नसकेकाहरुले तस्विर हेरेर आफुलाई धन्य सम्झनेछन् । घर घरका आफ्नो पुजाकोठामा त्यो तस्विरलाई प्राणप्रतिष्ठा गर्नेछन् । आज यिनै ईश्वरलाई प्राथाना गर्ने मन्दिरका इँट इँटहरु रोइरहेको दर्दनाक दृश्य मेरा क्यामेराले खिच्न मानेको छैन । मेरो क्यामराले मन्दिर, धार्मिक आस्थाका केन्द्र, नदी मेरा हिमाल र पूर्णचन्द्र बाहेक कहिल्यै केहि खिचेन र भबिस्यमा पनि खिच्ने छैन । यहि क्यामेरा हो, प्रत्येक मठ मन्दिरमा पुगेर देव देवताको तस्विर लिन्थ्यो । आफ्नो क्लिक आवाजले भगवान प्रति याचना गथ्र्यो । दुर्लभ ऐतिहासिक र चमत्कारी दैवि पीठहरुका तस्विरहरु विश्वसामु पु¥याउने मेरो क्यामेरा आज भाव विहृल छ । स्तब्ध छ , कोमा म छ र धुलोमा लटपटिएको छ । 

मेरो अन्तस्करणमा विगतको मन्दिरको सग्लो र सौन्दर्यशाली रुप निरन्तर नाँचिरहेको छ । दर्शनार्थीहरु पूजाको थालीमा लामवद्ध छन् । पुरोहितहरु बाहिर टीकाप्रसादमा व्यस्त छन् । घण्ट बजिरहेको छ । अगरबत्तिको सुगन्ध टाढा टाढासम्म छरिएको छ । यहि मन्दिरमा देव आरधनाले मेरो जीवनका सवै जोखिमी दिनहरु सहज बनेका थिए । 
मलाई हातमा डोर्याएर मन्दिर पु¥याउने मेरी आमालाई सम्झन्छु म यहाँ । मेरा हरेक बिहानी अमुल्य थिए आमासंग । मेरो आखाँमा आज उनी पनि एकटक लागेर छानो उडेको त्यो मन्दिर नियालिरहेकी छिन् । मानौं उनि त्यहि ‘सालिक’ बनेकी हुन ।  हातमा मेरो जस्तै फुल प्रसादले भरिएको थाली, केही वर चप्पल खोलेर देवताको छेउमा पुगेकी उनी पनि म जस्तै भावुक छिन् । आफ्ना अभिभावक, मायाँगर्ने मानिस र आफ्नो आस्था जहिल्यै आफु भन्दा माथि हुन्छ । हामीलाई जीवन, दर्शन, प्रेरणा र आशा जगाइदिने मातापिता र यो मन्दिरको हरेक इँटइँट हाम्रालागि पूजनीय छन्, आत्मिक छन् । आस्थाले भरिएका छन् । यिनै देवताको आस्थाले हाम्रो नैतिकता, स्वाभिमान र विवेक फराकिलो भएको छ ।  व्यवहारिक भएको छ, सांस्कारिक भएको छ । धर्म र आस्था व्यवहारको एक पद्धति हो, जसद्धारा मानिस जीवनमा अप्ठेरा समय सित जुध्न सक्छ । हामीले पनि त्यहि गर्यौ । अप्ठ्यारोमा रामराम भन्यौं, भाकल ग¥यौ, शुभकाम सुरु गर्दा उनैसंग आर्शिवाद माग्याँै । कार्य सिद्धि भनेको आफ्नो लगाव, विवेक र निरन्तरताको प्रतिफल हो तर आस्थाले यात्रालाई आत्मविश्वासी र साहसिक बनाइदिन्छ । मैले त्यहि गरें, हामी सबैले त्यहि गर्यौं । 
२०७२ सालको यो विनासकारी भुकम्पले पु¥याएको मानवीय र भौतिक क्षति अपुरणीय छ । कहालिलाग्दो ति दिनहरुमा कहिल्यै सडकमा पैदल नहिंडेकाहरु पनि भगवान को नाम कल्पेर सडकमा पाल ओडेर सुतेका दृश्यहरु अकल्पनिय थिए । फुटपाथमा सुत्नेको  पिडामा सान्त्वना उसबेला तिनको मानसपटलमा भगवानले घुसाइदिएका थिए । 
मान्छे चेतनाले बाधिएको हुन्छ । चेतना आस्थाले । चाहे नास्तिकहरु भगवानप्रति प्रत्यक्ष आस्था नदेखाउलान् तर आपतमा ‘इश्वर’ भनिरहेकै हुन्छन् । इश्वरसंग कुनै न कुनै रुपले संरक्षण मागिरहेका हुन्छन् । मैले पनि कयौं पटक आफ्नो स्वार्थको लागि त्यसो गरे होला । कुनै दिन आफ्ना हर्कतहरुले आफैलाई दःुखी बनाएको कयौं क्षण मसंग पनि छन् । जव म दुःखी हुन्छु उसवेला मेरो दःुखको हरण यिनै देवताको आस्थाले गर्छ । साधनाले गर्छ ।  अरुवेला ईश्वर विर्सनेहरु भलै मन्दिरको शरणमा नपुग्लान् तर दिन विग्रेका वेला ईश्वरलाई नै भजिरहेका हुन्छन् । हृदयमा पुजिरहेकै हुन्छन् । पुकार गरिरहेकै हुन्छन् । हृदयको कुना कुनामा करुणा र कृपाको याचना गरिरहेका हुन्छन् । अहंकार, बल, दुःख र क्रोधमा वशीभुत भई अरुका विरुद्ध जाने मान्छे आफु र अर्काको मनमा रहेको आस्थामा आघात पु¥याइरहने स्वभावका हुन्छन् । तरपनि ती पनि कुनै न कुनै बेला भगवानमा पुगेकै हुन्छन् । वेदान्तमा हृदयको अर्थ स्नेह हो । सहृदयता हो । प्रेम हो ।  पूजा हो ।  करुणा हो । यि सवै आस्थाले प्रकट हुने सवेगात्मक कुरा हुन् । आस्था भनेकै इश्वर हो, त्यसैले दर्शनहरुमा पनि भनिएको छ, ईश्वर हृदय हुन् । हृदयमा बस्छन् र हृदयद्वारा प्राणीहरुलाई शुद्धिकरण गर्छन् । 

साँच्चि भन्दा यो भग्नावशेषले मानिसहरुलाई एउटा दर्शन  पढाएको छ । जो आज छ त्यो भोलि नहुन सक्छ । दुनियाँमा कान्ति छरेका यो मन्दिरको भग्नावशेष झैं कुनै एउटा समय जिन्दगीका इँटहरुले समयको प्रकोप संग जुध्न नसकेर आफ्नो ठाउँ छोड्नुनै पर्ने हुन्छ ।  मृत्यु आफ्नो अघि आउँदा तपाईले कमाएको जीवनभरको भौतिक वस्तुको कुनै मुल्य नहुने रहेछ । मैले महसुश गरेको एउटा सत्य मान्छेको नरित्तिने सम्पति, नथाक्ने शक्त्ति र नहार्ने क्रिया भनेको आस्था हो । भगवानको आस्था, जुने जति खोतले रहस्यमय छ, निराकार छ र नित्य छ । 
जीवनमा आउने अनेक प्रकारका स्पर्धा, संघर्ष र दुखसंग जुध्ने साहस, क्षमता हामी ‘एउटा आशा’ बाट लिन्छौ र आशा भगवानबाट । हामीले विवेक, विचार, लगाव र आत्मसंयम्को जीवन व्यतित ग¥यौ भने अवश्य शान्ति मिल्छ । शान्तिले रचनात्मकता दिन्छ र रचनात्मकताले शक्ति मिल्छ । शक्तिले जीवनलाई सफलता तिर डो¥याईरहेको हुन्छ । सफलताले यश–कृति, अनुयायी, विचार वा आशा पैदा गराउँछ जो आफ्ना शुभचिन्तकहरुको लागि प्रसाद जस्तै पवित्र हुन्छ ।  कर्म त एउटा बाटो मात्र हुनसक्छ । प्रेम अर्कोेे बाटो हुनसक्छ । यी सवै कुरा तव संभव छ जव हामी आफुभन्दा माथि भगवानमाथि आस्था गर्छाैं, पूजा गछौं,  मान दिन्छौ, आर्शिवाद माग्छौ र हरेक कार्यसिद्धिको लागि आशा र उर्जा पैदा गर्न भनिरहेका हुन्छौ । 
विश्वमा आस्थाकोे सुवास छर्ने मेरो शहरका यी सांस्कृतिक सम्पदा र दैविपिठको  कालजायिता न विनाशकारी भूकम्पले भष्म गर्न सक्छ न कुनै शाशकले मेट्न सक्छ । तसर्थ हरेकको मन मनमा यी आस्थाका  केन्द्रहरु आज पूननिर्माणको पखाईमा रहेका छन् । आशा गरौं भूकम्प पिडित नेपालीका घरसँगै म र मजस्तै करोडौंको आस्थाका केन्द्र ती मन्दिरहरु फेरि पुरानै रुपमा बन्नेछन् । 
  
मेरो जीवनको अतिशय दुःखमय अनुभव उसवेला हुन्छ जस वेला भग्नाबशेष मन्दिरहरुका मूर्तिहरु मलाइ मेरो नामले बोलाइरहेका हुन्छन् । भगवान प्रकट हुन्छन्, उनको तेजस्वी रुप हेरेक इँटका टुक्राहरुमा महसुश गर्छु म । जसरी पूणर््िामाको जुन हरेक काँच काँचमा देखिन्छन्, हरेक तलाउ तलाउमा देखिन्छन्, जता हिडेपनि आफुसँगै हिड्ने त्यो जुन झैं देवदेवता मेरो आँखा वरिपरी घुमिरहन्छन् । म एक इँट उठाएर शिरमा राख्छु । तिलस्मि हातहरुले मेरा शिरमा आर्शिवाद दिएको आभाष हुन्छ । एक हुल बतासले निधार चुमे झै त्यो इँटले चुमेको महसुश गर्छु । छिनको कन्द्रन अव आल्हादमा रुपान्तरित भएको छ । भगवानको करुणा र कृपा मेरो शिरमा परेको छ । म धन्य भएको छु । साधनामा लिप्त एक साधु झै चिम्म आँखामा म विशाल स्वर्ग देख्छु । म त्यहाँ डमरु बजाएर नाचिरहेका भगवान मेरो भोले देख्छु,  अपार प्रेममा लिप्त राधाकृष्ण देख्छु । करुणाले भक्तलाई पुकारीरहेका भगवान विष्णु देख्छु । समर्पणमा सवैभन्दा बढी आनन्द हुन्छ । म एकछिन भएपनि आफ्नो हृदय मन मस्तिष्क भगवानमा समर्पित गर्छु । मनमा शान्ति, आखाँमा आनन्द नाकमा सुगन्ध र शरिरमा शक्तिको अदभुद् रुप महसुश गर्न समय लाग्दैन मलाई । म एकछिन गद्गद हुन्छु । कृतकृत हुन्छु । 
फेरि मैले श्रद्धाले केही नजराना अवश्य चढाउनु छ । आफ्नो आस्थाको आलिङ्गनमा फेरि नयाँ तस्विर खिच्नु छ । मन्दिरको ढोकामा खहर्र्षोन्मत्त जिन्दगीहरु लमेतान देख्नु छ । जसका आखाँमा सपनाहरु हुनेछन् । फेरी हरेक र्मिमिरेमा घण्ट बज्ने छ । बिहानीले मलाई जगाँउने छ । यी सब तब मात्र पुरा हुन्छन् जव मेरा मन्दिर फेरि बन्नेछन् । 

Published in Nagarik on 11th Baisakh 2073