Article

अर्थ प्रवाह ३६ विज्ञप्तियुद्धको परिणाम

Raju Nepal

विज्ञप्तियुद्धको परिणाम


गतसाता नेपालको समाचार बजार दुईटा कुराले ताते । एउटा, प्रधानमन्त्रीको चीन भ्रमण र अर्को भारत–ईयु (युरोपियन युनियन)को संयुक्त वक्तव्य– जसमा नेपाल पनि कतैबाट एउटा पात्र बन्न पुग्यो । भारत भ्रमणलगत्तै चीन जानुलाई सामान्यरूपमा हेर्दा नियमित छिमेकी राष्ट्रको भ्रमण मान्न सकिन्छ । भ्रमणक्रममा जेजस्ता सम्झौता भए तिनले न त नेपालीको जीवनस्तर उकास्न खासै मद्दत गर्छन् न त अरु कुनै देशविरुद्ध नै ती सम्झौता लक्षित थिए । अलिकति पनि कूटनीति, राजनीति र अर्थनीति बुझ्ने मानिसलाई थाहा हुन्छ, ओली चीन गए र बिरालो बाँधेर श्राद्ध गरी आए । जति सफल भारत भ्रमण उनको थियो, चीन पनि त्यस्तै हो । 
यहीबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ब्रसेल्स भ्रमणको क्रममा ईयु र भारतले संयुक्त विज्ञप्ति निकाले, नेपाल पनि विज्ञप्तिको अंश बन्न पुग्यो । भारत र ईयुको मिलन नेपालीका लागि कुण्डलीमा मंगल र शनिको जस्तो हुन पुग्यो । एउटा आफैमा आगो र अर्कोको दृष्टिमात्रै पनि नास गर्न पर्याप्त हुने ! ईयु नेपालप्रति नकारात्मक हुन थालेको धेरै भइसक्यो । नेपालको आर्थिक र राजनीतिक विकासमा बाधक तिनले विगतमा पनि पटकपटक नेपालले लिन खोजेको अग्रगामी छलाङमा छेकबार लगाएकै हुन् । धेरै बुझिएको र सुनिएको अर्थमा धर्मपरिवर्तन र राजनीतिक अस्थिरता उनीहरूको एकमात्र उद्देश्य देखिन्छ । उनीहरू किन नेपालप्रति यति धेरै नकारात्मक छन्, त्यो बुझ्ने प्रयास हामीले कहिल्यै गरेनौँ । उनीहरूका क्रियाकलापलाई संवेदनशील भएर हेर्ने प्रयास नै भएन । नेपाली राजनीतिका केही नेता त्योबेला झस्के, जब केही युरोपेली देशका राजदूत नेपाललाई धर्मनिरपेक्ष बनाउन खुलेरै लागे । त्यतिमात्र नभई देश विखण्डन गर्ने भाषण दिँदै हिँड्नेसँगको उनीहरूको हिमचिम अब टाउको दुखाइको विषय भइसकेको छ । 
सबैलाई थाहा छ, भारतीय प्रधानमन्त्री मोदी नेपालसँग खुसी छैनन् । प्रधानमन्त्री बन्नेबित्तिकै आफ्नो दोस्रो विदेश भ्रमणमा नेपाललाई छानेका उनी किन नेपाल र नेपालीसँग खुसी छैनन् यो कुरा कसैलाई थाहा छैन । कोही पानी र जवानीको कुरा भन्छन् र कोही मधेसी मुद्दा र नयाँ संविधान । कोही यो बेखुसी हिन्दुधर्मसँग जोडिएको देख्छन् त कोही चीनसँग नेपालको मित्रता उनलाई नपचेको मान्छन् । कोही कालापानीको कुरा यहाँका कम्युनिस्टले उठाएको उनलाई मन नपरेको देख्छन् भने कोही नेपालमा बढ्दैगएको भारतविरोधी भावना । यथार्थ कुरा के हो कसैलाई थाहा छैन । भेटेका विभिन्न भारतीय अधिकारी पनि फरकफरक तर्क दिन्छन् । विषय जे भए पनि रिस पोख्ने माध्यम भने मोदीले बनाए नेपालको संविधानलाई । किनकि, यहाँको अस्थिरतामा सबैभन्दा सजिलोसँग खेलाउन उनलाई सघाउने मधेसी दलका नेताहरू थिए, तिनैले आफ्नो धर्म पूरापूर निर्वाह गर्दै आएका छन् । परिणाम नाकाबन्दी, नेपालीको जीवनस्तर ५० वर्षपछाडि धकेल्ने काम र धम्की । जबसम्म भारतले चाहेको स्वार्थ पूरा हुन्न तबसम्म हाम्रो नियति यही हो । 
संविधानका सानातिना विषयलाई लिएर भूकम्पले आक्रान्त गरिब छिमेकीलाई अमानवीय नाकाबन्दी लगाउन सक्ने भारत सरकार र वर्तमान भारतको नोकरशाही संरचनाबाट अबका केही वर्ष कुनै सकारात्मक अपेक्षा नेपालले नगरे हुन्छ । भारतमा जुनसुकै सरकार आओस् र नेपालमा कुनै पनि व्यक्ति वा पार्टीको नेतृत्वमा सरकार बनोस्, अब हामीले उताबाट पाउने व्यवहार यही हो । परम्परागत, सांस्कृतिक, रोटीबेटी भन्ने कुरा अब हाम्रा सन्ततिलाई किताबमा पढाउने विषयमा मात्र सीमित हुन सक्छन्, व्यवहारमा हैन । यो कुरा सबै नेपालीले बुझ्नु जरुरी छ । मोदी सरकार रहुन्जेल त नेपालीले भारतबाट कुनै राम्रा कुराको अपेक्षा गर्नु नै बेकार छ । किनकि, मोदी सरल राजनीतिज्ञ हैनन् र उनको नेपालप्रति कुनै सकारात्मक दृष्टिकोण पनि छैन । उनी आफूलाई मन नपरेको विषय र व्यक्तिप्रति कसरी प्रस्तुत हुन्छन् भन्ने कुरा उनकै देशभित्र उनले देखाएका व्यवहारबाट बुझ्न सकिन्छ । यति बुझिसकेपछि अब त्यो वक्तव्य किन र कसरी आयो भन्ने अनुमान लगाउन गाह्रो नपर्ला । र, अबका दिनमा पनि जतिजति मोदीको परराष्ट्र नीति दक्षिण एसियामा असफल हुँदै जान्छ, नेपालजस्ता अरु गरिब र साना देशप्रति लक्षित उनका थप विज्ञप्तिहरू आउने छन् । सबैलाई थाहा छ, यस्ता विज्ञप्ति निकाल्ने भारत र उसलाई साथ दिने धनी राष्ट्रहरू गलत छन् । तर पनि उनीहरू यो कदमको विरोध गर्दैनन्, किनकि ती देशको स्वार्थ नेपालसँग भन्दा भारत र इयुसँग बढी छ । उनीहरू तिनलाई चिढाउन चाहँदैनन् । 
एक रोपनी जग्गामा बनेको र सम्पन्न परिवारमा बस्ने मान्छेले छेवैको तीन आनामा बनेको टिनको घरमा बस्ने छिमेकीलाई कस्तो व्यवहार गर्ला ? तीन आनामा बनेको घरका मानिसको आवतजावत त्यही ठूलो मान्छेको घरको बाटोबाट हुने गर्दा हरेक दिन उसले आँखा तर्नु स्वाभाविकै हो । गरिब छिमेकीको घरको हरेक दिनको कलह र चाकडी गर्न कोही न कोही ठूलै घरमा जाने, खाने र उसले तिमीहरूको समस्या मिलाइदिन्छु भनेपछि मख्ख परेर आउने बानी लागेपछि उसले के गर्ला ? नेपालका राजनीतिक दलका नेताहरूले दुई दशक यही काम गरे, जसको परिणाम अहिले सम्पूर्ण नेपाली भोग्दैछन् । न त हामी छिमेकी परिवर्तन गर्न सक्छौँ न हाम्रो व्यवहार परिवर्तन गर्न नै हामी तयार छौँ ! बाह्रँबुँदेदेखि हरेक पटक सरकार परिवर्तन गर्दा साक्षी राखेका छिमेकीले त्यत्तिकै छाड्ने छाँट अहिले देखिन्न । 
यस्तो लाग्छ, नेपाल–भारतबीचको सम्बन्ध दयाको सम्बन्ध हो र यसमा बराबरीपन कहीँकतै छैन । यो तबसम्म यस्तै चल्छ, जबसम्म हामी पूर्णरूपमा आफूमा एक हुन सक्दैनाँै । अनि हामी तबसम्म एक हुन सक्दैनाँै, जबसम्म हामी साम्यवादी ढुकढुकीको एउटामात्र पनि सास लिन्छौँ । स्वतन्त्र, सार्वभौम मुलुक भन्नेजस्ता कुरा अब किताबमा पढ्नेमात्र हो । हामी कति स्वतन्त्र छौँ भन्ने कुरा भूकम्प, नाकाबन्दीको बेलामा मात्र नभई अहिले सहर गल्लीमा अत्यावश्यक वस्तु किन्न लाइनमा बसेका नेपालीलाई सोधे हुन्छ । अबको नेपाल–भारत सम्बन्ध भारतको इच्छाअनुसार चल्छ, नेपालको इच्छाअनुसार हैन भन्ने कुरा नेपाललाई बुझाउनु संयुक्त विज्ञप्तिको अर्को पाटो हो । 
एकातिर चुनावमा एकएक भोटका लागि भारतविरोधी भावना देशका युवामा फैलाउने अनि चुनाव जितेको भोलिपल्टै मन्त्री बन्न लैनचौर छिर्ने प्रवृत्तिको उपज हो त्यो विज्ञप्ति । विज्ञप्तिले प्रजातान्त्रिक पद्धतिमा विश्वास राख्ने हरेक नेपालीको मन दुःखेको छ, तर मुखमा लोकतन्त्रको मन्त्र जप्दै खल्तीमा रातो किताब राखेर हिँड्नेलाई यसले भाषण गर्ने विषयमात्रै दिने हो, देशलाई हरेक दिन अझ कमजोर बनाउन । न त नेपालका कम्युनिस्ट शासक यसबाट कुनै शिक्षा लिन तयार छन् न त विपक्षीसँग बसेर यस्ता विषयमा एकमत बनाउनै ! जबसम्म देशका प्रमुख दलहरू र बुद्धिजीवी तप्काको ठूलो समूह यस्ता विषयमा एकमत हुन सक्दैन तब भारतले गरेको कदम जहिले पनि विश्वसमुदायको आँखामा स्वीकृत हुन्छ । 
यता नेपाल सरकार भने देखाउनको लागि विज्ञप्ति युद्ध गर्दैछ, जुन सरासर प्रत्युत्पादक हुन्छ । के यस्तै हुन्छ कुशल कूटनीति ? यही हो आधुनिक राजनीति ? हिजो देशभित्रका सबैजसो बुद्धिजीवीले ओलीको भारत भ्रमणको असफलताको चर्चा गर्दा ओलीवृत्तबाट आएको अपार सफलताको रागमा भारतले शब्द भरेको मात्रै हो यो विज्ञप्ति भनेर अब सबैले बुझेको हुनुपर्छ । अब सरकारले निकाल्ने विज्ञप्ति भनेको नांगो मान्छेले हातले लाज छोपेको जस्तोमात्रै हो । यसको समाधान बन्द कोठाभित्र कूटनीतिकरूपमा खोजिनुपर्छ । यसका निम्ति ओली सरकार हिजो पनि तयार थिएन र भोलि पनि तयार हुने छाँट छैन । 
भारतले यतिवटा अन्तर्राष्ट्रिय कानुन मिच्यो भनेर राग अलाप्नुभन्दा कानुन मिचिँदाको उपचार खोज्नु उत्तम हुन्छ । त्यता लाग्न सरकारलाई केले रोक्यो ? हरेक पटक छिमेकीले प्रहार गर्दै जाने अनि हामी एउटा भाषण वा विज्ञप्ति निकालेर चुप बस्ने हो भने तिनको हौसला बढ्दै जान्छ । नेपालीलाई तर्साउन, झस्काउन र नेपालका कम्युनिस्टलाई विगत देखाउन भारत सरकार र मोदीले नियमितरूपमा यस्ता विज्ञप्ति निकाल्छन् । यो हाम्रो आफ्नै कर्मका कारण उत्पन्न नियति हो । आफ्नो कर्मको फल हात पर्दा चिच्याउनुको कुनै अर्थ छैन । भोलिका दिनमा यस्तो नहोस् भनेर चाहने हो भने सरकारले देशभित्र खुल्ला बहस चलाउनुपर्छ । सबैको कुरा सुन्न सक्नुपर्छ । हिजोलाई परिवर्तन गर्न नसके पनि भोलिलाई राम्रो बनाउन हिजोबाट शिक्षा लिन त सकिन्छ !