Article

अर्थ प्रवाह ३४ स्त्रीका सात ऐश्वर्य

Raju Nepal


स्त्रीका सात ऐश्वर्य

नारी, आधा आकाश र धरती । आमाको अवतारमा हरेक मानिसको जीवन सुरु गराउने माध्यम अथवा सबैकी जननी । विभिन्न कालखण्ड र परिवेशमा आइमाई, स्त्री अनि नारी भनेर बोलाइने नाम । समयक्रमसँगै अहिले आएर आइमाई शब्द यदाकदा गालि सूचक बन्न पुगेको छ । प्रचलनमा नारी शब्द बढी छ । तर, पौराणिक ग्रन्थमा भने सबैजसो स्थानमा स्त्री शब्द प्रयोग भएको पाइन्छ । आमा, दिदी, श्रीमती, साथी हुँदै छोरी सबैको एउटै जात । जतिजति र जहाँजहाँ नारीको इज्जतमा समय र स्रोत खर्च हुन्छ, त्यतित्यति समाज उन्नत बन्दै गएको उदाहरण इतिहासले देखाएको छ । मातृ शक्ति अनि भगवान्को शक्तिको रूपमा रहेकी नारीको परिभाषामा नै हामी यदाकदा अल्झेका हुन्छौँ । 
शब्दकोशले यो शब्दलाई नारीसूचक लिंगको रूपमा मात्र परिभाषित गरेको छ । तर, विभिन्न सनातन पौराणिक किताब र विद्वानहरूका व्याख्यामा यसलाई गहनरूपमा प्रस्तुत गरेको पाइन्छ । लिंगकै रूपमा स्त्री हुन त प्रकृतिले दिएको नारी र पुरुषमध्धे एक भए पुग्ने तर व्यावहारिकरूपमा स्त्री हुन धेरै गुणले सम्पन्न हुनुपर्छ । जसलाई आधुनिक समाजमा लैगिंकताको रूपमा परिभाषित गरिन्छ र पढाइन्छ । लैंगिकता गुण हो, जुन सिक्न र व्यवहारमा उतार्न सकिन्छ । यस अर्थमा पनि स्त्री रूप र लिंग हैन, गुण हो । कतिपय स्थितिमा लैंगिकता पढाउँदा घरको भात–भान्छाका काम र प्रजननसम्बन्घी कुरा गरेर यो शब्दलाई नकारात्मकरूपमा समेत बताउने गरेको पाइन्छ, जुन सरासर गलत हो । 
धेरै शास्त्रमा स्त्रीको व्याख्या गर्ने क्रममा विभिन्न प्रकारले गरे पनि गीतामा श्रीकृष्णले स्त्री शब्दबारे गरेको व्याख्या सबैभन्दा व्यावहारिक, समयसापेक्ष छ र कालान्तरसम्म रहिरहने छ । गीताका अनुसार कुनै नारी साँच्चिकै अर्थमा स्त्री हुन ती स्त्रीमा सात ऐश्वर्य हुनुपर्छ । सात ऐश्वर्यको सम्मिश्रण नभई कोही नारी साँचो अर्थमा स्त्री हुनै सक्दैन । ती हुन्– कीर्ति, लक्ष्मी, वाणी, स्मृति, बुद्धि, धृति र क्षमा । के हुन् त यी सात ऐश्वर्यका अर्थ र भावना ? के अहिलेका नारीमा ती सबै वा केही लक्षण पाइन्छन् ?
कीर्तिको अर्थ हुन्छ, नाम वा यश । जब कुनै राम्रो कामको प्रचार अरुबाट हुन्छ त्यो नै कीर्ति हो । आफ्नो काम र नामका प्रचार आफैले गर्नु कीर्ति हैन । त्यो शास्त्रीय भाषामा पाप हो । कीर्ति अमर हुन्छ, अजर हुन्छ र अरुले पनि कीर्ति राख्न सिको गर्छन् । नारी सबैको पहिलो विद्यालयसमेत भएकी हुँदा नाम वा यश नारीको पहिलो गुण हुन पुगेको हो । जुन घरकी नारीको कीर्ति टाढाटाढासम्म फैलिएको छ, त्यो घरका पुरुषले इज्जतका साथ समाजमा हिँड्न सक्छन् । तर, जुन घरकी नारीको समाजमा बदनाम छ, त्यो घरका पुरुष बाहिर असाध्यै दुःखी हुन्छन् । यस्तो स्थितिमा त्यस्ता पुरुषले आफ्नी श्रीमतीको खुसी बाहिरका पुरुषको आँखामा खोज्नुपर्ने हुन्छ । यस्ता पुरुषलाई नै शास्त्रले नपुंसक भन्छ । तसर्थ, पुरुषलाई कस्तो बनाउने भन्ने पनि नारीले नै हो ।
लक्ष्मीको अर्थ हुन्छ धन । यहाँ धन शब्द जम्मा र खर्चको तालमेलसँग जोडेर लिइएको छ । ती नारीमात्रै साँच्चिकै नारी हुन् जसले स्रोत र साधनको उचित व्यवस्थापन गर्न सक्छिन् । जथाभावी र अनावश्यक स्थानमा खर्च गर्ने, के आवश्यक र के अनावश्यक हो भन्ने छुट्याउन नसक्ने अनि मातापिता, पति वा सन्तानको कमाइमा रजाईं गरेर ठाँट देखाउने नारीलाई शास्त्रले नारी मान्दैन । कमाइ, खर्च र बचतको तालमेल सबै नारी गुण हुन् र जुन घरमा नारीले यसको व्यवस्थापन गरेकी छन्, त्यो घर खुसी र सुखी हुन्छ । आफ्नो मात्र लवाइखवाइमा खर्च गर्ने अनि घरपरिवारको आवश्यकता र अभावबारे चासो नराख्ने नारी कुशल स्त्री हुन सक्दिनन् । त्यस्ता स्त्री कुलक्षण हुन्छन् र परिवारको नासको कारण बन्छिन् ।
वाणीको अर्थ दुईवटा छ । एउटा मीठो बोली र अर्को सत्य बचन । यी दुवै सबै प्रकारका मानिसमा अत्यावश्यक गुण हुन्, तर नारीको त यो गुण र गहना पनि हो । मीठो र सत्य बोली सात्विक हुन्छ भने, खस्रो बोली रजोगुणले भरिएको हुन्छ । गालि र झुटमा तामसी गुण हुन्छ । जहाँ मधुरता हुन्छ, त्यो बोलीमा संगीत हुन्छ, लय हुन्छ । विभिन्न चरा र जनावरसमेत वाणीका कारण मानवजीवनसँग नजिक छन् । संगीत भनेकै मधुरताको अर्को नाम हो । मीठो बोल्दा समाज आफ्नो नजिक हुन्छ । खस्रो बोली एकछिन राम्रो सुनिए पनि मानिस फेरि त्यस्तै बोली सुन्न चाहँदैन । गालिले स्त्रीचरित्रलाई दुष्ट बनाउँछ । गालिका शब्द प्रयोग गर्ने स्त्रीको कहीँ गतिलो स्थान हुँदैन । नराम्रा कुरा नबोल्ने र अरुको कुरा नकाट्ने नै वाणीको गुण हो । धेरै बोल्ने, अरुको कुरा काट्ने र जुन विषयमा पनि अघि सरेर बोल्ने गुण हैन वैगुण हो, जसले नारीचरित्रमा दाग लगाउँछ । 
जुन घरमा स्त्रीले झुट बोल्छिन्, त्यहाँ अनिकाल र कंगालको बास हुन्छ । झुटको सहारामा बाँचेकाले न त परिवार सम्हाल्न सक्छन् न त अरु सम्बन्ध नै सुधार्न । स्वार्थमा बाँच्नेहरू हरेक शब्दमा झुट बोल्छन् र सास फेरे पनि हरेक दिन मर्छन् । उनीहरू समाजबाट भाग्छन्, सत्यको अगाडि पर्न सक्ने आँट उनीहरूमा हुँदैन । त्यस्ता नारी निच मानिससँगको सम्बन्धमा रमाउँछन् । साथै, तामसी शब्द र झुटको सहारामा बाँच्नेहरू छोटो छोटो समयमा साथी र सम्बन्ध परिवर्तन गरिरहन्छन् । किनकि, दिगोपन उनीहरूमा हुन्न । ती तामसी प्रवृत्तिका मानिस बाहिरबाट खुसी देखिए पनि भित्रबाट एक्लो र दुःखी हुन्छन् । 
स्मृतिको अर्थ हो सम्झना । जब सकारात्मकतामा नारी स्मृतिको कुरा आउँछ, त्यहाँ राम्रो कामको सम्झनाको चर्चा हुन्छ । जुन नारी राम्रा कुरा र व्यवहारलाई दिमागमा राख्छिन् अनि गलत कुरालाई बाहिर निकाल्छिन् र बिर्सन्छिन् तिनी नै साँचो अर्थमा स्त्री हुन् । सानोसानो कुरा बिर्सने वा बिर्सेको नाटक गर्ने गुण स्त्री गुण हैन । दिएर बिर्सनु अनि लिएर नबिर्सनु भन्ने भनाइ चरितार्थ पार्नु नै स्त्री गुण हो । यसैलाई यहाँ स्मृति भनिएको छ । स्मृतिले शिक्षा दिन्छ । आफूले जानेको–सिकेको कुरा आफूभन्दा तलको पिँढीलाई सिकाउनु र व्यवहारमा उतार्न लगाउनु पनि स्मृति हो । यस्तो गुणमा हुर्केका र जानेका नारीले आफ्ना सन्तानलाई सुयोग्य बनाउन सक्छन् । 
नारीको अर्को गुण बुद्धि हो । धेरै–थोरै बुद्धि सबैसँग हुन्छ । बुद्धि जाँच्ने भनेको त्यसको प्रयोगमा हो । सही र गलत छुट्याउन सक्ने शक्ति नै बुद्धि हो । सही र गलतको परिभाषा स्थान र परिस्थितिअनुसार अलगअलग हुन्छ । यसको समेत ख्याल राख्न सक्ने शक्ति नै सुबुद्धि हो । जहाँ बुद्धि हुन्छ, त्यहाँ विवेकको आगमन हुन्छ । विवेकले मानिसलाई ज्ञानी र व्यावहारिक बनाउँछ । घरमा जब स्त्री बुद्धिमान हुन्छिन् सबैमा त्यो गुण सर्छ । तर, जब घरकी स्त्री नै बुद्धिहीन छिन् त्यहाँ अरु कुनै गुणको बास हुँदैन । ती स्त्री डुलुवा प्रकृतिकी हुन्छिन् र समाजको चर्चाको माध्यम बन्छिन् । बुद्धिमान स्त्रीले आफ्नो र पराया छुट्याउँदिनन् । सबैमा समभाव राख्छिन् र घरलाई बस्न योग्य बनाउँछिन् । उनी सुखमा मात्तिनन् र दुःखमा आत्तिनन् । यो नै बुद्धिको काम हो । जब मानिस सुख र दुःखमा धेरै हदसम्म समभाव राख्न सक्षम हुन्छ, उसमा देवत्व प्राप्त हुन्छ र सुमार्गतर्फ लम्कन्छ । 
धृतिको अर्थ सहनशीलता हो । अझ स्पष्टरूपमा भन्नुपर्दा धृति शब्दले अस्थिरतामाथि विजय पाउने क्षमतालाई बुझाउँछ । यो गुण पुरुषमा कममात्रै पाइन्छ । जुन घर वा समाजमा यो गुण भएकी स्त्रीको बास हुन्छ, त्यहाँ झगडा र उतारचढावको सम्भावना कममात्रै रहन्छ । जहाँ धृति हुन्न, त्यहाँ हमेसा कलह हुन्छ । सानोसानो कुरामा नारी रिसाउने कारण धृतिको अभाव हो । यो गुण सिक्न कठिन छ । धृतिको यशको वर्णन सबैले गर्छन् । 
कुनै नारी स्त्री हुन चाहिने अन्तिम गुण भनेको क्षमा हो । क्षमा यस्तो गुण हो, त्यसले लिनेलाई भन्दा दिनेलाई महान बनाउँछ । यहाँ क्षमाको अर्थ निस्वार्थ र मनमा कुनै क्लेस नराखी गरिने क्षमा भनेर बुझ्नुपर्छ । मैले क्षमा गरेँ भनेर मनमा दुःखको भावना राखिरहने स्थिति क्षमा हैन । यो ढोँग हो । ढोँगी नारीलाई स्त्रीको संज्ञा दिन सकिँदैन । कुनै मानिस आफूले गरेको गल्ती सम्झेर माफी माग्न आउँछ भने उसलाई क्षमा गर्नु अर्को पक्षको कर्तव्य हुन्छ । तर व्यवहारमा यो कमैमात्र देखिन्छ । जब नारी क्षमा गुणबाट सम्पन्न हुन्छिन् उनी सबैकी प्रिय हुन्छिन् । 
माथिका सबै गुण जहाँ हुन्छ त्यहाँ सम्पन्नताको बास हुन्छ, यसै कारण यी गुणलाई सात ऐश्वर्य भनिएको हो । यी सबै गुणका कारण संसारमा जति पनि आवश्यक तŒव छन् तिनलाई स्त्रीवाचक बनाइएको छ । पृथ्वी, हिमाल, खोला यी सबैमा माथिका सबै गुण शत्प्रतिशत विद्यमान छन् । यसले सम्पूर्ण जीवनलाई ऊर्जा प्रदान गर्छ र स्त्री त्यसको कारक बनेर रहेकी छन् ।
जहाँ गएर माथिका गुण हुन्न त्यहाँ विनाश र अधोगतिको आरम्भ हुन्छ । किनकि, जुन घरमा साँच्चिकै स्त्री हुन्नन्, त्यो घर नर्कतुल्य हुन्छ । त्यो घरमा बस्नेको भविष्यसमेत अन्धकार हुन्छ ।