Article

अर्थ प्रवाह ३३: ज्ञान भक्ति र कर्म

Raju Nepal


मानिस सदैव चारवटा कुराको पछि लाग्छ– अर्थ, भोग, काम र मोक्ष । यी सबैको एउटै आधार कर्म हो र कर्म नगरी माथिका चारै तत्व प्राप्त हुन सक्दैन । अर्थ जीवनयापनको लागि अपरिहार्य हुन्छ । अर्थको प्राप्तिपछि मानिस भोगतिर लाग्छ । भोगबाट कामको विकास हुन्छ र अन्त्यमा ऊ मोक्षको बाटो खोज्छ । जसले जति चाँडै मोक्षको बाटो खोज्यो, त्यो त्यति नै सुखी हुन्छ । तर, यदाकदा कर्म गर्दा चुक्ने कारणले ऊ माथिका चारै तत्वको प्राप्तिबाट विमुख हुन पुग्छ । उसलाई कर्म गर्नुपर्ने कुरा थाहा हुन्छ, तर कर्मका बाटोबारे अनभिज्ञ हुन्छ । जब उसले बुझ्छ कि कर्मको बाटो भनेको ज्ञान र भक्ति हो, तब ऊ आफ्नो लक्षमा सजिलै पुग्छ । के हो त कर्मको बाटो ? कर्मको सीधा बाटो भनेका ज्ञान र भक्ति हो । आधुनिक जमानामा यसैलाई मन र वचन पनि भनिन्छ । शास्त्रले भन्ने गरेको ज्ञान, भक्ति र कर्मलाई आधुनिक विज्ञानका ज्ञाताहरूले मन, वचन र कर्म भनेर अर्थ लगाउन थालेका छन् । जेजस्तो अर्थ लगाए पनि यो नै कर्मको बाटो हो, प्रकाश हो र धर्म, अर्थ, काम र मोक्षको जग हो । 
ज्ञानको अर्थ बुझ्नु हो । तर, यो यति सजिलो छैन । सबैभन्दा पहिला त मानिसले के बुझ्ने भन्ने नै बुझ्दैनन् । ज्ञानका हिसाबले मानिसलाई विभिन्न भागमा बाँडिएको पाइन्छ । मानिस सदैव ज्ञानआर्जन गर्न चाहन्छ, तर जब ऊ ज्ञान र अज्ञानबीचको बाटोमा रुमलिन्छ तब उसको दिमागले काम गर्दैन । किनकि, के ज्ञान हो र के अज्ञान हो भन्ने कुरा नै उसले बुझ्दैन । ज्ञान आर्जन गर्ने चाहनाको हिसाबबाट शास्त्रले मानिसलाई चार भागमा बाँडेको छ । 
पहिलो, ज्ञानी । ऊ सदैव सिक्न चाहन्छ, उसलाई थाहा छ ज्ञानको अन्त्य छैन । उसको स्वभाव बच्चाको जस्तो पवित्र हुन्छ । गुरु वा अरु कसैले दिएको ज्ञान उसले आदरभावले ग्रहण गर्छ र आफ्नो घरव्यवहारको स्थितिअनुसार त्यसलाई उतार्छ । 
दोस्रो, अज्ञानी । ऊ बुद्धिहीन हुन्छ । ऊ कहिल्यै झुक्दैन । ऊ सधैँ आफस्लाई सबै कुरा थाहा छ र मलाई कसैले सिकाउन वा सम्झाउन सक्दैन भनेर घमण्ड गर्छ । ऊ केही सोध्नै परे पनि गुरुको परीक्षाको लागि मात्रै सोध्छ । उसलाई ज्ञान र अज्ञानबीचको भेदसमेत थाहा हुँदैन । उसले ज्ञानलाई परीक्षाको रूपमा प्रयोग गर्छ र असफल हुन्छ । ऊ सदैव दुःखी हुन्छ, तर दुःखको कारण उसले कहिल्यै बुझ्दैन । ऊ अरुसँग भन्दा आफैसँग रिसाउँछ । 
तेस्रो, मुढ । ऊ केही सोध्दैन, किनकि ऊ सोच्छ अब जीवनमा जान्नुपर्ने केही छैन । ऊ जीवनमा समस्या छ भनेर पनि बुझ्दैन । ऊ रागी हुन्छ र विषय तथा इन्द्रीयभोगमै मस्त हुन्छ । ऊ सामाजिक हिसाबमा खुसी देखिन्छ । ऊ अर्थ र भोगको बाटोमा मात्रै हुन्छ । धर्म र मोक्ष उसले बुझ्दैन । 
चौथो, मुमुक्षु । उसमा जहिले पनि मोक्षको आकांक्षा हुन्छ र मोक्षको बाटो ज्ञान हो भन्ने पनि उसले बुझेको हुन्छ । ऊ जहिले पनि गुरुको शरणमा हुन्छ र चौबीसै घन्टा केही न केही सिक्न चाहन्छ । ऊ सरल र पवित्र हुन्छ र जान्न तथा सिक्नको लागि सोध्छ । आफूले जानेका कुरा मनन् गर्छ, व्यवहारमा लागु गर्छ र अरुलाई पनि सिकाउँछ । 
माथिका चार प्रकारका मानिसमध्धे जबसम्म कुनै मानिस मुमुक्षु हुन सक्दैन तबसम्म कि त ऊ सिक्दैन वा सिके पनि उसले सिकेको कुरा व्यवहारमा ल्याउन सक्दैन । व्यवहारमा नल्याईएको ज्ञानको कुनै अर्थ हुँदैन । सिक्न चाहने तरिकाबाट मानिसलाई चार भागमा बाँडिनुको मुख्य कारण ज्ञानले उसलाई कता लैजान्छ भनेर नै हो । ज्ञानले अधर्मीलाई धर्मतिर लैजान्छ, अकर्मीलाई कर्मतिर लैजान्छ र बाटो बिराएकालाई फेरि आफ्नो हिँड्नुपर्ने बाटोतिर लैजान्छ । यो सबै हुन ज्ञान हासिल गर्ने बेलामा मुमुक्षु हुनु जरुरी छ । 
जब मानिस ज्ञानको खोजीमा हुन्छ, तब उसमा विषाद आउँछ । यदाकदा विषादलाई नकारात्मक मानिए पनि खास ज्ञान आर्जन गर्न चाहने सन्दर्भमा विषाद शब्दलाई सकारात्मकरूपमा लिइन्छ । जब मानिसमा ज्ञानको भोक चढ्छ, विषाद आउँछ, तब ऊ ज्ञान आर्जन गर्न दौडन्छ । कसैले जबर्जस्ती बताएर वा बताउन खोजेर ज्ञान लिन वा दिन दुवै सकिन्न । यसको लागि त लिने र दिने तयार हुनुपर्छ । आधुनिक संसारमा ज्ञान दिन तयार धेरै भेटिन्छन्, तर ज्ञान लिने मानिसको भने खाँचो छ । 
कसरी हुने मुमुक्षु ? यो कठिन काम हो । यसका लागि सबैभन्दा पहिला दिमागलाई स्वच्छ बनाएर रिस, राग र घमण्ड त्याग गर्नुपर्छ । आफ्ना, पराया र गुरुलाई चिनेको दिनमा माथिको समस्या समाधान हुन्छ । त्यसपछि मानिस मुमुक्षु हुन्छ । ज्ञान हासिल गर्न गुरुको सेवामा नै लाग्नुपर्छ भन्ने छैन । आजको जमानामा गुरु, यात्रा, टीभी, किताब तथा अन्य विभिन्न माध्यमबाट ज्ञान हासिल गर्न सकिन्छ । के ज्ञान र के अज्ञान हो भन्नेचाहिँ मुमुक्षुले छुट्याउने गर्छ । 
ज्ञान आर्जन निरन्तर प्रक्रिया भएकोले मानिस अब ज्ञान आर्जनसँगै त्यसको प्रयोग पनि गर्न थाल्छ । ज्ञानको प्रयोग सदा भक्तिमा गर्नुपर्छ । भक्ति भन्ने शब्द सुन्नेबित्तिकै कतिपय मानिस धर्मसँग जोडेर हेर्छन्, जुन सरासर गलत हो । हिजोको भक्ति शब्दलाई अहिलेको एकाग्रता र निरन्तरताले प्रतिस्थापन गरिसकेको छ । भक्तिको मुख्य अर्थ, जे काम गर्ने हो त्यसैमा पूर्णरूपमा समर्पित हुनु हो । तसर्थ, हिजोको भक्ति शब्दलाई अहिले वचन शब्दले बुझाइन्छ । वचन शब्द मुखले बोल्नेरूपमा मात्र नभई कामले अरुलाई आफ्नोबारे चिनाउन र बुझाउनसमेत प्रयोग हुन्छ । यो अर्थमा नराम्रा वचन तथा विकर्म पाप हुन् जसलाई कुकर्मको रूपमा व्याख्या गरिन्छ । 
भक्तिको पहिलो र अन्तिम सर्त भनेको समर्पण हो । आफ्नो मन र वचन आफूले गर्ने कर्मप्रतिको समर्पण नै भक्ति हो । जो ज्ञानी छ, जसले संसारलाई चिनेको–बुझेको छ, उसले आफूलाई समर्पण गर्छ । जो रागी छ, अबुझ छ, जो मुढ छ उसले भक्ति परिवर्तन गर्छ । खानाको स्वाद फेरेजस्तै उसले ज्ञानको बाटो परिवर्तन गर्छ । उसका लागि आफन्त र माया भनेको लुगा फेरेजस्तो हुन्छ । यस्ता मानिस बाहिर हाँसे पनि भित्र अत्यन्त दुःखी हुन्छन् । गृहस्थीमा रहेका सामान्य मानिसलाई भक्तिको मार्ग कठिन हुने भन्दै गीतामा श्रीकृष्णले भक्तिमय कर्ममार्गको व्याख्या गर्नुभएको छ । जसअनुसार, पहिलो ज्ञान आर्जन गर्दै मनलाई स्थिर गर्ने हो । यसको अर्थ ध्यान गर भन्ने हो । त्यो नसक्नेले इन्द्रीयतृप्तिको चाहनालाई कम गर्ने अनि आफ्नो कर्ममा आफूलाई निरन्तर लगाउने हो । अझ दोस्रो मार्ग पनि अँगाल्न नसक्नेले सामान्य जीवनका नियमहरू आत्मसात गर्दै कर्म गर्ने हो भने अन्तिमचाहिँ कर्म फलमा आशक्ति नगर्ने हो । यसअर्थमा कर्मफलको त्याग वा आशक्ति नराख्नु नै आफ्नो कर्मप्रतिको भक्ति हो । आजको कोलाहलपूर्ण समाजमा योभन्दा ठूलो भक्ति अरु केही हुनैसक्दैन । तर, जसलाई कर्ममय भक्तिमार्ग पनि कठिन लाग्छ, उसले ज्ञानमार्गमै आफूलाई सीमित राख्न सक्छ । यसो गर्दा कमसेकम उसले बाटो बिराउँदैन र कुकर्मतिर लाग्दैन । 
यदाकदा ज्ञानीहरू पनि कसको भक्ति गर्ने भनेर रुमलिएका पाइन्छन् । यसको जवाफ स्पष्ट छ, आफ्नो कर्मको भक्ति गर्ने अरु कसैको हैन । जब मानिस भक्तिमय कर्ममार्गमा लाग्छ तब उसको अगाडि धर्म, अर्थ, काम र मोक्षका चारवटै ढोका एकैपटक खुल्छन्, यसमा कुनै सन्देह छैन । ती चार ढोकामध्ये कुन ढोकामा कहिले प्रवेश गर्ने भन्नेबारे ज्ञानीलाई पहिल्यै जानकारी भइसकेको हुँदा अब यहाँ ऊ अल्मलिँदैन । ज्ञानी भन्नाले भक्तिमय कर्ममार्गमा लागेका, दुःखमा नआत्तिने अनि सुखमा खुसी नहुने र अहंकारशून्य व्यक्ति हुन् । त्यतिमात्रै नभई उनीहरू समभाव राख्ने र आफूले अनुशरण गरेको मार्ग अरुलाई देखाउनेसमेत गर्छन् । तर, मानिस भक्तिमार्गमा छ कि छैन ? भक्त कसरी चिन्ने ? यो प्रश्नको जवाफ सजिलो छ । कर्ममय भक्तिमार्गमा लागेका मानिसका केही फरक लक्षण हुन्छन् । ऊ आत्मसंयमी हुन्छ, संकल्पवान् हुन्छ, आफूलाई कहिल्यै कर्मको स्वामी मान्दैन, सहनशील हुन्छ र उसको मन तथा बुद्धि स्थिर हुन्छ । उसको माया र विश्वास अटल हुन्छ, ऊ सम्बन्धलाई दिगो बनाउन कुनै पनि प्रकारको त्याग गर्न तयार हुन्छ र क्षमा माग्न तयार हुन्छ । 
यति भैसकेपछि अब मानिसका छ वटा गुण आफू र समाज कल्याणमा आउँछन् । विद्या, तपस्या, धन, शरीर, युवावस्था र उच्चकुलयी छ वटा यस्ता तत्व हुन्, जुन ज्ञानी र भक्तका लागि गुण र अज्ञानी र मुढका लागि वैगुण हुन् । जब मानिसले यी तत्वलाई गुणमा परिवर्तन गर्छ, तब उ मोक्ष हुन्छ र आफू जाँदा पनि समाजमा धेरै ज्ञान छाडेर जान्छ जसको अध्ययन कालान्तरसम्म मानिसले गर्छन् ।