Article

अर्थ प्रवाह ३२: भोग र कर्म

Raju Nepal

मानिसले हरेक क्षण कुनै न कुनै कर्म गरिरहेको हुन्छ । कर्म नगरी एक सेकेन्ड पनि कोही बाँच्न सक्दैन । शास्त्रले त स्वास फेर्नु पनि एउटा कर्म हो भनेको छ । बिहान उठेदेखि राति नसुतेसम्म गरिने सबै काम अनि सुताइको बेलामा फेरिने स्वाससमेत कर्म हुन् । कर्मलाई शास्त्रका विभिन्न विधामा र विभिन्न विद्वान्ले अनेक अर्थमा व्याख्या गरेको पाइन्छ । गर्न हुने र नुहुने आधारमा कर्म, विकर्म र अकर्मका रूपमा यसलाई व्याख्या गरेको पाइन्छ भने कर्मको प्रकृतिको आधारमा नित्य कर्मदेखि लिएर कर्तव्य कर्मसमेत गरी यसलाई ५ भागमा विभाजन गरिएको पाइन्छ । मानिसले गर्ने हरेक कर्म गर्नैपर्ने नभई यदाकदा विकर्म वा गलत कर्म पनि हुन जान्छ । कतै आफूले गरेको कर्म अकर्म त परेन भनेर मानिस सदा सचेत भइरहनुपर्छ । यो जन्मको लागि चाहिने अर्थ र मुक्ति तथा अर्को जन्मको लागि चाहिने धर्म र भोग दुवै अहिलेको कर्मका फल हुन् । 

कर्मजस्तै अर्को शब्द प्रचलनमा छ– भोग । आखिर भोग के हो ? भोग र कर्मबीच समानता छ ? शब्दकोश र शास्त्रले भोगलाई फरक ढंगले व्याख्या गरेको छ । शब्दकोशले भोगलाई उपलब्ध साधनको प्रयोग गर्ने प्रक्रियाको रूपमा बुझाएको छ । अधिकारको प्रयोग नै भोग हो भन्नेसमेत शब्दकोशमा भेटिन्छ । तर, शास्त्रले त्यसो भन्दैन । यदाकदा भोगलाई विलासितासँग जोडिएको देखिन्छ । कर्म नगरी नहुने र भोग सन्तुष्टिको लागि गरिने हुँदा यसलाई विलासितासँग जोडिएको हो । 
शास्त्रले भोगलाई इन्द्रीयतृप्तिका लागि गरिने प्रयोगका रूपमा व्याख्या गरेको छ । यसअर्थमा भोग नगरे पनि मानिस बाँच्न सक्छ । विद्वान्हरूले त्यागलाई नै भोगको रूपमा व्याख्या गर्दै, भोग र त्यागबीच गहिरो सम्बन्धलाई समेत दर्शाएको पाइन्छ । बोलिचालीको भाषामा यौनसम्पर्कलाई पनि भोग भनेको पाइन्छ, जुन सही हैन । शास्त्रले मानेको भन्दा बाहिरको कामवासनालाई भोग भने मानिन्छ । तर, शास्त्रनिहित कामवासना भने कर्तव्य कर्मभित्र पर्छ । 

शास्त्रले बताएजस्तै भोगको विषय इन्द्रीयतृप्तिलाई मान्दा यो प्रकृतिसँग जोडिन्छ, किनकि इन्द्रीय भनेको प्रकृतिका प्रमुख अंग हुन् । प्रकृतिका स्वाभाविक गुण शब्द, स्पर्श, रूप, रस र गन्ध अनि त्यसमा मन, बुद्धि र अहंकार जोडेपछि हुन आउने ८ तत्वको सम्मिश्रण नै मूलरूपमा प्रकृति हो । आकास, वायु, अग्नि, जल र पृथ्वी तत्वले माथिका ५ गुणको प्रतिनिधित्व गर्छन् । 
यसअर्थमा समस्त जीवात्माले यिनै ८ तत्वको अधिनमा रही भोग गर्छ । भोग शब्दले साकारात्मकता र विलासी जनाउने हुँदा भोगको बखत र भोग गरिसकेपछि मानिस खुसी वा तृप्त हुन्छ । तर, कर्ममा त्यसो नहुन पनि सक्छ । कर्म गर्दा हुने दुःखको फल पछि पाइन सकिन्छ, तर भोगको फल भने तुरुन्त पाइन्छ । कुनै काम फलको लागि भन्दा पनि गर्नैपर्ने कारणले गर्ने कर्म हो भने गर्नु नपरे पनि शरीर र मनको आनन्दको लागि गरिने भोग हो । प्रकृतिका ८ तत्वमध्ये जुनसुकै तत्वको भोग गरे पनि मानिसका अरु सबै इन्द्रीय खुसी र सुखी हुन पुग्छन् । यसअर्थमा भोगको सम्बन्ध सम्पूर्णरूपमा शरीरसँग हुन्छ । शरीरका अंग हुँदै मनसमेतको खुसीलाई नै भोगको सोझो अर्थमा लिँदा पनि गलत हुँदैन । सबैजसो भोग रजोगुण र तमोगुणका कारक हुन्छन् । कुनैकुनै बेला बुद्धिसँग मिसिएर आउने भोगलाई सत्व गुणसँग मिलाएर हेर्न सकिए पनि त्यसले सृजना गर्ने प्रतिफल तल्लो श्रेणीको वा तमोगुणयुक्त हुन्छ । 
मानिसले शब्दको भोग कानमार्फत् सुनेर गर्छ । आत्मीय मानिससँगको घन्टौँको फोन वा प्रत्यक्ष कुराकानी, संगीत सुन्ने, भगवान्को नाम, पुराण आदि शब्दको भोग हो । शब्दको भोगमा एकाग्रता प्रमुख हुन जान्छ । मानिसले स्पर्शको भोग छालामार्फत् गर्छ । चाहे त्यो स्पर्श हावाको होस् वा आत्मीयजनको । सानो बच्चालाई उसकी आमाले स्पर्श गर्दा बच्चा र आमा दुवैले चरम स्पर्शको भोग गर्छन् । त्यतिमात्र नभई मायाको स्पर्शले विगतका रिस आदिलाई भुलाउने र विभिन्न प्रकारका रोग निको पार्न थेरापीको समेत काम गर्छ । दुःख परेको बेलमा आफन्तले आएर एकपटक हातमात्रै समाइदिँदा पनि मानिसले राहत अनुभव गर्छ । त्यो उसले गरेको स्पर्शभोग हो । शब्दको भोगमा एकाग्रताको जरुरी हुन्छ भने स्पर्शको भोगले एकाग्रता भंग गर्ने काम गर्छ । 
मानिसले रूपको भोग आँखामार्फत हेरेर गर्छ । सिनेमा हेर्नु, तमासा हेर्नु, आफूलाई धेरै समयसम्म ऐनामा हेर्नु रूपको भोग हो । हरेक जीवात्माले सबैभन्दा धेरै माया गर्ने भनेको आफैलाई हो । तसर्थ, रूपको भोगमा ऊ आफैमा रमाउँछ । एक्लै गीत गाउनु, आफ्नै अंगहरू मुसार्नु अन्य उदाहरण हुन् । रूपको भोग जुनसुकै स्थानमा पनि गर्न सकिन्छ । बाटोमा हिँड्दा नचिनेका राम्रा मानिस देख्दा पनि प्रसन्न हुने मन त्यसको उदाहरण हो । 
मानिसले रसको भोग जिब्रोमार्फत् स्वादबाट गर्छ । स्वाद ६ प्रकारका हुन्छन् । गुलियो, अमिलो, पिरो, टर्रो, तीतो, नुनिलो । यी सबै शरीरका लागि अकारक हुन्छन् । तर पनि मानिस आफ्नो हरेक खानामा यी वस्तुको प्रयोग गर्छ, रसको भोगका लागि । मानिस प्रकृतिको सबैभन्दा पहिलो अमृत दूधमा समेत चिनी हालेर बिख बनाएर पिउँछ । हामी रसको भोगले खानालाई जिब्राको लागि मीठो र शरीरको लागि खराब गराउँछौँ । यसबाट पनि स्पष्ट हुन्छ, भोग कर्म हैन । 
गन्धको भोग मानिसले नाकको माध्यमबाट सुँघेर गर्छ । अत्तरको बासना, फूलको सुबास लिएर मन आनन्दित बनाउने यसको तरिका हो । खानामा समेत स्वादका अतिरिक्त बासना, चियाको सुगन्धको भोग अन्य उदाहरण हुन् । फूलको सुगन्धलाई छाड्ने हो भने धेरैजसो गन्ध पनि स्वास्थ्यका लागि हानिकारक हुन्छन् र कर्मभन्दा बाहिर पर्छन् । 
माथिका ५ पृथ्वीका पञ्च तत्वसँग सम्बन्धित भोग हुन् । यी भोग प्रत्यक्षरूपमा इन्द्रीयसँग सम्बन्धित छन् । यी भोग गर्दा मानिस खुसी हुन्छ, तर बाँच्नको लागि नभई नहुनेचाहिँ हैन । बाँकी ३ प्रकारका भोग भने दिमागका भोग हुन् । मन, बुद्धि र अहंकार हरेक प्राणीमा हुने गुण हुन् । यिनले प्रकृतिका ३ गुण सत्व, रज र तमको प्रतिनिधित्व गर्छन् । तसर्थ, यी भोगले मानिसलाई त्यही गुणको अधिनमा पु¥याउँछ । 
मानसम्मान, पुरस्कार, पद अनि आफूले भनेको कुरा अरुले मानोस् भन्ने चाहना मनको भोग हो । यो भोग सात्विक भए पनि यसमा लिप्त मानिसमा सात्विक गुण भेटिँदैन । यस्तो भोग राख्ने मानिस अरुको तल बसेर कर्म गर्न हिच्किचाउँछन् । यस्तो भोगमा लागेको मानिस बाहिर देखिने एउटा र भित्र अर्कै पनि हुन सक्छन् । कतिपय स्थितिमा यसले मानिसलाई राम्रा कर्म गर्न प्रेरित गरिरहेको हुन्छ भने धेरैजसो घमण्डतर्फ आकर्षित गरिरहेको हुन्छ । 
दिमागको भोगको दोस्रो र रजोगुणले युक्त भोग भनेकोे बढाइँ, प्रशंसाबाट खुसी हुने भोग हो । यस्ता मानिस अरुलाई होच्याएर बोल्छन् । धेरैजसो आफूभन्दा तलका मानिससँगको संगतमा हुन्छन् र आलोचना सुन्न तयार हुँदैनन् । सधैँ प्रशंसा सुन्न मन पराउने यस्ता मानिस आफ्नो धन खर्चेर आफ्नो बढाइँ गर्ने मानिस जम्मा गर्न रूचाउँछन् । हरेक विकर्मलाई कर्म देख्छन् र गलत बाटोमा हिँड्छन् । हिजो आफूले हिँडेको बाटो गलत रहेछ भनेर यिनीहरू ढिला भइसकेपछि बुझ्छन् । बढाइँ र प्रशंसाका भोगीहरू परिवार र आत्मीय मानिसबाट धेरै टाढा पुग्छन् । यस्ता मानिसमा मनको शान्ति कहिल्यै हुँदैन । यस्ता मानिसका प्रशंसक आफ्नो स्वार्थ पूरा नहुन्जेल सँगै हुन्छन् गुणगान गाउँछन् । नेता, ठूला प्रशासक र समाजसेवी तिनै प्रशंसकका कारण गलत कर्मतर्फ आकर्षित हुन्छन् । 
मनको भोगको तेस्रो र प्रकृतिको भोगको अन्तिम तथा तामसी भोग भनेको आराम र सुखसयल हो । यस्ता मानिसको लक्षण धेरै सुत्ने, काम नगर्ने, बिनाकाम यात्रा गरेर रमाइलो गर्ने, काममा लागेका मानिसलाई आफ्नो खुसीको लागि बिगार्नेलगायत हुन्छ । यस्ता मानिस आफू कर्म गरेर धन उपार्जन गर्दैनन्, बरु अरुले कमाएको धन खर्च गर्छन् । रक्सी, जुवा र शास्त्रबाट वर्जित कामबासना यो प्रकारका भोगका प्रमुख उदाहरण हुन् । यो भोगमा लागेका मानिसमा सही र गलत छुट्याउन सक्ने शक्ति हुन्न । को आफ्नो र को पराइसमेत चिन्दैनन्  र गलत संगततर्फ आकर्षित हुन्छन् । यस्ता मानिस एकान्तमा दुःखी हुन्छन् । यिनको जीवनको पछिल्लो समय अत्यन्त दुःखमय हुन्छ । 
माथिका आधारहरूबाट के कर्म हो र के भोग हो भन्ने कुरा सजिलै बुझ्न सकिन्छ । भोगमा प्यास हुन्छ, कर्ममा आस्था । कर्ममा स्वच्छपन हुन्छ भने भोगमा तृष्णा । जो भोगको पछि लाग्छ उसले प्रायः कर्मको बाटो त्याग्छ । जब कर्मको बाटो त्यागिन्छ मानिस फेरि पापको कुवामा खस्छ । सायद यही कारणले विद्वान्हरूले भनेका होलान्– जसले त्याग्यो उसले भोग्यो, जसले भोग्यो उसले त्याग्यो । 

 

Published in Nagarik on 7th March 2016