Article

फाल्गुण २६ को सूर्य ग्रहणः बुझ्नैपर्ने कुरा

Raju Nepal

 

फाल्गुण २६ को सूर्य ग्रहणः बुझ्नैपर्ने कुरा 

यो बर्ष फाल्गुण २६ गते (मार्च ९ तारिख) काठमाण्डौ र नेपालका प्रमुख स्थानहरुबाट ग्रस्तोदित सूर्यग्रहण देखिंदैछ । यो ग्रहण नेपाली समय अनुसार बिहान ५ बजेर ५७ मिनेट जाँदा सुरु हुन्छ । सो दिन काठमाण्डौंमा सूर्योदय ६ बजेर २२ मिनेटमा मात्रै हुने भएकोले यस्तो ग्रहणलाई ग्रस्तोदित भनिएको हो । ग्रस्तोदितको अर्थ सूर्य उदय हुँदा ग्रहण सहित उदयहुनु हो । ग्रहणको मध्य ६ बजेर २७ मिनेटमा हुनेछ र मोक्ष ७ बजेर २ मिनेटमा हुनेछ । यसप्रकार कुल ग्रहणको पूण्यकाल ४० मिनेटको रहनेछ । ग्रहणलाई आँखाले देख्न सकिने समयलाई पूण्यकाल भनिन्छ । ग्रहणको सुतक २४ घण्टा अघि देखि लाग्छ । 

ग्रहण स्पर्शको बेला स्नान गर्ने, वीचमा होम, पूजा र श्राद्ध  गर्ने, छाड्ने बेलामा दान गर्ने र छाडेपछि स्नान गर्ने गर्नुपर्छ ।  

स्नानको बारेमाः 

ग्रहण स्नान तातोपानीले गर्नुहुँदैन भन्ने शास्त्रीय मान्यता छ । सकेसम्म गंगा स्नान उपयुक्त हुन्छ । साथै ग्रहण स्नान लुगा सहित गर्नुपर्ने भनाई पनि कतैकतै पाइन्छ । ग्रहण स्नान मन्त्र नपढी गर्नुपर्छ । भरखरै बिबाह गरेका जोडीले टाउको नुहाउनु हुन्न भने अरुले टाउको सहित नुहाउनुपर्छ । नछुने भएकी नारीले भने भाँडाको पानीले स्नान गर्नुपर्छ ।

दानः 

ग्रहणको दान, गाई, सुन अन्न र पैसा प्रमुख हुन् । 

के गर्न हुन्न ? 

शास्त्रका अनुसार ग्रहणको बेलामा सुते रोगी भइन्छ, पिसाब गरेमा दरिद्र हुन्छ, दिसा गरेमा अर्को जन्ममा किरा भइन्छ, मैथुन गरेमा सुँगुर भइन्छ, तेल घसेमा कुष्ठरोगी भइन्छ र खाना खाएमा नरक जानुपर्छ । ग्रहण लाग्नुअघि पकाएको खाना ग्रहण मुक्त भएपछि खानुहुन्न । तर दुध, मोही र भुटेको खाना भने खाए हुन्छ । 

के गर्ने ?

किताब पढ्ने, अझ सके धार्मिक किताब पढ्ने । पढ्दा सुतेर नपढ्ने । भगवानको मन्दिर वा जलासयमा जाने । भजन गर्ने वा सुन्ने । 

यो पटकको सूर्यग्रहण हेर्दाको फलः 

चिकित्सकहरुका अनुसार आँखाको ज्योति गुम्ने डरले कसैले पनि खाली आँखाले सूर्यग्रहण हेर्न हुन्न । हेर्नैपरे पनि बिधि पुर्याएर मात्रै हेर्नुपर्छ । शास्त्रका अनुसार कुन राशिलाई यो ग्रहण हेर्दा राम्रो र कुन राशिलाई नराम्रो भन्ने हुन्छ । जसअनुसार यसपटको सूर्यग्रहण हेर्दाको फलः 

मेषः लाभ, वृषः सुख, मिथुनः माननास, कर्कटः कष्ट, 
सिंहः बिपरित लिंगलाई पिडा, कन्याः सुख, तुलाः चिन्ता, वृश्चिकः ब्यथा, धनुः सम्पत्ति प्राप्ती, मकरः क्षति, कुम्भः घात र मीनः खर्च 

अत्यन्त जरुरीः यदि कसैको कुण्डलीमा राहु र सूर्य एकैस्थानमा छने भने त्यस्तो अबस्थालाई ग्रहण योगको अबस्था भनिन्छ र सूर्य ग्रहणको बेलामा त्यस्तो कुण्डली भएको मानिसले अनिवार्य दान गर्नुपर्छ । यस्मा पनि पूवभाद्र्रपदा नक्षत्र भएका र कुम्भ राशि भएकाहरुलाई ग्रहण हेर्दा अत्यन्त खराब हुनेछ । 

सन्दर्भश्रोतः पात्रो, निर्णयसिन्धु र धर्मसिन्धु