Article

अर्थ प्रवाह ३१: खानामा प्रकृतिका तीन गुण

Raju Nepal

सनातन धर्मशास्त्रका सबै किताबमा प्रकृतिका तीन गुण र ती गुण कसरी उत्पन्न हुन्छन् र मानिसका शरीर र दिमागलाई ती गुणले कसरी सञ्चालन गर्छन् भन्नेबारे उल्लेख भएको पाइन्छ । मानिस कुनै गुण लिएर जन्मेको हुँदैन । जति जति ऊ बढ्दै जान्छ, कुरा बुझ्ने हुँदै जान्छ र समाजका विभिन्न तत्वसँग भिज्दै जान्छ, त्यहीअनुसारको गुणमा ऊ रमाउन पुग्छ । त्यसपछि उसको जीवनशैली र क्रियाकलाप तीनै गुणको अधिनमा हुन पुग्छन् । साथै उसका आमा, बाबु र समाजले उसलाई जे जस्ता खाना खुवाउँदै जान्छन्् त्यही खानाको गुण उसले टिप्छ । 

सत्व, रज र तम नामका यी गुणबीच मानिसको मन र मस्तिष्कभित्र चौबीसै घण्टा प्रतिस्पर्धा भइरहेको हुन्छ । जुन गुणले तत्कालीन समयमा जित्छ, सोही गुणको अधिनमा रही उसले आफ्नो क्रियाकलाप सञ्चालन गर्छ । कुनै पनि गुणले कुनै निश्चित समयमा जित्न त्यो मानिसको अगाडिको क्रियाकलापको ठूलो भूमिका हुन्छ । 
सत्वगुणले प्रकाशको प्रतिनिधित्व गर्छ जसले सही मार्गमा हिँडाउन प्रेरित गर्छ र ज्ञानको बाटो देखाउँछ । सबैजसो शास्त्र सत्वगुणकारक हुन्छन् । यो गुणले युक्त जीवात्माले समभाव राख्छ । कर्मकुशलता यसको स्वाभाविक गुण हो । रजोगुण प्रवृत्तिको द्योतक हो । यसले धेरै हदसम्म आकांक्षाकोे प्रतिनिधित्व गर्छ र सांसारिक कर्मबन्धनमा बाँध्छ । आधुनिक समाजका विभिन्न वर्गको प्रतिनिधित्व यो गुणले गर्छ । कर्मबन्धन यसको स्वाभाविक गुण हो । तमोगुण अन्धकारको प्रतिनिधि हो र यसले अज्ञानता र मोहको प्रतिनिधित्व गर्छ । यसले मानिसलाई पाप कर्म गर्न प्रेरित गर्छ । झैझगडा, रिस, अत्यधिक मोहमा यो रमाउँछ । निद्रा र आलश्यता यसका स्वाभाविक गुण हुन् । 
हरेक मानिसमा माथिका तीन गुण विद्यमान हुन्छन्, फरक यत्ति हो कि उसले आफ्ना कर्म कुन गुणअन्तर्गत सम्पादन गर्छ । यही तीन गुणको अधिनमा रही सनातन धर्मले मानव जीवनलाई तीन भागमा बाँडेको छ । 
सत्व गुणको प्रधानता भएकालाई देवता भनिन्छ किनकि उनीहरु बाटो देखाउने अग्रज हुन् । उनीहरुकै नाममा लेखिएका किताबलाई हामी शास्त्र भन्छौं र राम्रा मानिसले ती किताबको अनुशरण गर्छन् । आज पनि बाबु आमा, माया गर्ने मानिस अनि गुरुहरुमा हामी देवता देख्छौं किनकि उनीहरुले हामीलाई सही बाटो देखाउँछन् । यदाकदा देवतातुल्य मानिसले देखाएका बाटो तीतो लागे पनि कालान्तरमा राम्रो मानिसमा सही कुराको बोध हुन्छ । 
रजोगुणको प्रधानता भएकालाई मानिस भनिन्छ । मानिस कर्मबन्धन र लोभबाट ग्रसित हुन्छन् । उनीहरु पेशा, पैसा र प्यासमा रमाउँछन् । यिनीहरुमा यदाकदा सत्व गुण देखिए पनि धेरैजसो तल्लो कोटीकै गुणमा रमाउँछन् । दिनभरी इन्द्रीय तृप्तिका लागि मेहनत गर्नु, राति तमोगुणमा रमाउनु उनीहरुको दिनचर्या हुन्छ । केही राम्रा कोटीका रजोगुणी भने बिहान सत्वगुणी स्वभावमा गई पूजापाठ ध्यानमा आफूलाई समाहित गर्छन् । आधुनिक योग विज्ञानले पनि रजोगुणी मानिसका लागि यही व्यवहार सुध्याएको छ । बिहानको योग, दिनभरको कर्म र रातको आराम नै योगी जीवनकोे आधार हो । यसो गर्दा शरीर र मनको शुद्धता, शरीर र श्वासको व्यायाम, शुद्ध खानपिन र ध्यानलाई योग विज्ञानले प्रमुख मानेको छ । यो सबै प्रकृतिका माथिका तीन गुणको संयोजनबाहेक अरु केही हैन । 
तमोगुणको प्रधानता भएकालाई दानव भनिन्छ । काम, क्रोध, लोभ, मोह सबैले यिनीहरुलाई ढपक्कै ढाक्छन् । यिनीहरु अरुको दुःखमा रमाउँछन् । अहंकार, घमण्ड, रिस उनीहरुको चरित्र हुन्छ । यिनीहरु इन्द्रीय तृप्तिका लागिमात्रै कर्म गर्छन् । 
पहिलो कोटीकाहरु ज्ञानी हुन्छन्, सरल हुन्छन्, दृढ संकल्पमा हुन्छन् र मोक्षको बाटोमा मात्रै लाग्छन् भने दोस्रो कोटीकाहरु जीवनमा परिवार र अर्थको कामनाले कर्मको बाटोमा हिँड्छन् । तेस्रो कोटीकाहरुलाई अधम कोटीका भनिन्छ । झगडा र अविश्वास उनीहरुको जीवनशैली हुन्छ र झुट उनीहरुको भगवान । पहिलो कोटीले गर्ने दान निस्वार्थ हुन्छ भने दोस्रो प्रकारकाहरु भोलि केही पाउने आकांक्षासहित दान गर्छन् । तेस्रो र अधम कोटीकाहरु अरुलाई देखाउन र समाजमा आफू ठूलो हु ँभन्ने बताउन दान र सेवा गरेको ढोंग गर्छन् । 
सत्वगुणीहरु कर्ता भएर पनि आफूलाई कर्ता मान्दैनन् भने रजोगुणीहरु आफूलाई कर्ता त मान्दैनन् तर कुनै घटकको माध्यम भने आफूलाई ठान्छन् । तमोगुणीहरु केही नहुँदानहुँदै पनि आफूलाई कर्ता र मालिक ठान्छन् । उनीहरु भ्रममा बाँच्छन् । आजका समाजका धेरै मानिस तमोगुण र रजोगुणको बीचतिरको जीवनमा बाँच्छन् र उनीहरुको प्रयास एक खुड्किला माथि चढ्ने हुन्छ तर जानी वा नजानी भएका गल्तीले उनीहरु हरेक दिन एक खुड्किला तल झरिरहेका हुन्छन् । 
दीर्घकालीनरूपमा कुन गुण प्रधानमा मानिस बाँच्ने भन्ने कुरा ऊ हुर्केको वातावरणले धेरै असर गर्छ किनकि समाजको संरचना र सोच्ने तरिका स्थानपिच्छे अलग छ । हामी पश्चिमा मुलुकमा पुग्यौं भने त्यहाँ जीवनलाई हेर्ने दृष्टिकोण हाम्रो भन्दा पुरै अलग पाउँछौ । हाम्रै देशभित्र पनि विभिन्न गाउँ र सहरमा मनाइने सांस्कृतिक पर्व र खानपिनको संस्कार हेर्दा जीवन बाँच्ने तरिका फरक देखिन्छ । छोटो र तत्कालका लागि भने मानिसको गुण परिवर्तन गराउने दुई तत्व भनेको उसको दैनिकी र खानपिन नै हो । जब यी दुई तत्व लामो समयसम्म अंगालिन्छ, त्यो नै उसको जीवनशैली र गुण बन्न पुग्छ । 
जति मानिसको दैनिकी नियमित हुन्छ त्यति नै ऊ माथिल्लो गुणतर्फ आकर्षित हुन्छ । दैनिकी कस्तो हुने भनेर भन्न कठिन छ किनकि हरेक मानिसको दैनिकीले उसको आस्था र कर्मसँग मेल खानुपर्छ । जस्तो कर्म र आस्था भए पनि मानिसको दैनिकी नियमित भने हुनुपर्छ । सामान्य परिस्थितिमा आज बिहान ५ बजे उठ्ने अनि भोलिपल्ट ७ बजे, आज व्यायाम गर्ने अनि भोलि नगर्ने जस्ता अनियमित दैनिकीले मानिसलाई तमोगुणतर्फ लैजान्छ । उठ्नेमा मात्र नभई कर्ममा पनि मानिस नियमित हुनैपर्छ । कर्मको नियमितताले मानिसलाई गलतबाटोतर्फ जानबाट रोक्छ । तसर्थ मानिसले कर्म कहिल्यै छाड्न हुन्न । सनातन धर्मशास्त्रले मात्रै हैन संसारमा हाल प्रचलित सबै धर्मशास्त्रले कर्मलाई नै जोड दिएका कारण पनि यही नै हो । 
अब कर्म कस्तो हुने, सोच कस्तो हुने अनि सोच र कर्मको तालमेल कसरी मिलाउने भन्ने निर्णायक तत्व भनेको मानिसको खानपिन र रहनसहन नै हो । श्रीकृष्णले गीतामा अर्जुनलाई खानामा भएको गुण नै मानव जीवनको कारक हो भनेर बुझाउनुभएको छ । हामीले खाने खानेकुरामा माथिका प्रकृतिका तीन गुण विद्यमान रहन्छन् । जस्तो खानेकुरा हामी खान्छौं त्यसले तुरुन्तै हामीलाई त्यो गुणतर्फ आकर्षित गर्छ । 
शास्त्रअनुसार सात्विक खानाले आयु बढाउँछ, जीवन शुद्ध पार्छ, बल तथा सुख प्रदान गर्छ, त्यसमा रस हुन्छ र घीउको चिल्लोपन हुन्छ । यस्तो खानाले ह्दयलाई आनन्दमय बनाउँछ । सत्वगुणी खानामा स्वादको कुरा गरिएको पाइन्न । के हुन त यस्ता खाना ? दूध र दूधबाट बनेका पदार्थ, फलफूल, पानी अनि अन्न । यहाँ स्वास्थ्य प्रधान हो र स्वाद गौण । हामीले खाना खाँदा यो कुरालाई मात्र ध्यान दिन सक्यौं भने हाम्रो शरीर र मन दुवै शुद्ध हुन्छ । हुन त हामी कतिपय शरीरमा रोग लागिसकेपछि मात्रै सात्विक खाना खान थाल्छौं, जुन गलत हो । 
त्यस्तै रजोगुणी खानाको चर्चा गर्दै सनातनशास्त्र भन्छ, यस्तो खानामा स्वाद प्रधान हुन्छ र स्वास्थ्य गौण । धर्मशास्त्र र आधुनिक विज्ञान दुवैले स्वादलाई छ भागमा बाँडेको पाइन्छ । गुलियो, अमिलो, पिरो, टर्रो, तीतो र नुनिलो । यस्ता खाना दुःखका कारण हुन् र यसले शरीर बिगार्छ । रजोगुणी खाना शारीरिक विकासका लागि भन्दा पनि जिब्रोको खुसीका लागि खाइन्छ र कालान्तरमा त्यो नै मानिसको रोगको कारण बन्न जान्छ । मीठो, नमीठो भन्ने शब्दको विकास यहीँबाट हुन्छ । जति जिब्रोले मीठो थाहा पाउँछ, मानिसले त्यति नै धेरै खान्छ । आवश्यकता भन्दा बढी खानाले त्यो नै उसको शरीरका लागि विष बन्दै जान्छ र रोगको कारण पनि । यस्ता खानाले तुरुन्तै रिस उठाउने र गलत कर्मतर्फ लाग्न प्रेरणा दिन्छन् । सत्वगुणी खानामा घीउको मात्रा हुन्छ भने रजोगुणी खानामा तेलको मात्रा हुन्छ । अहिले पनि यसै तथ्यलाई आधार मानेर गाउँघरतिर एउटा उखान सुन्न पाइन्छ, धनीको भान्छामा घीउ हुन्छ, गरिबको भान्छामा तेल । जब सत्वगुणी खानामा स्वाद मिसाइन्छ, त्यो खाना रजोगुणी बन्न जान्छ । जस्तै दूधमा चिनी, तरकारीमा नून र खुर्सानी । यस्ता खानाले शरीरको वजन विकास गर्न सहयोग गरे पनि दिमाग विकास गर्न कुनै सहयोग गर्दैन । हामीले हरेक दिन खाने खाना पनि यस्तै हुन् । सकेसम्म हामीले जिब्रो प्रधान खाना त्याग गर्नुपर्छ । 
तमोगुणी खाना भनेको सडेको, गलेको, खानुभन्दा केही घण्टा अघि पकाएर वा बनाएर राखिएको, सडाएर वा कुहियाएर बनाइएको आदि खानालाई भनिन्छ । बासी खाना यही प्रकारको खानामा पर्छन् । यो प्रकारको खानाले तुरुन्तै मानिसको दिमागमा नकारात्मक असर गर्छ । मादक पदार्थ तथा विभिन्न प्रकारका उत्तेजना पैदा गर्ने मांसहारीे खाना तामसी खानाको मुख्य उदाहरण हो । झैझगडा आदि यस्तो प्रकारको खानाको प्रमुख काम हो । न त यसले शरीरको विकासमा टेवा पुग्छ न दिमागकै । यसमा स्वास्थ्य र स्वाद दुवैको प्रधानता हुँदैन । यस्तो खानामा दुव्र्यसन र अल्छीपनको प्रधानता हुन्छ । तामसी खानाले कि निद्रामा लगाउँछ कि त अपराधमा । 
माथिका सबै कुराको एउटै अर्थ– हामी जस्तो खानालाई आफ्नो जीवनशैली बनाउँछौ, हामी त्यही गुणतर्फ आकर्षित हुन्छौं भन्ने हो । अनि हामी त्यही गुणअनुसारको कर्म गर्छौं र त्यही गुणअनुसार सोच्न थाल्छौं । सोच बदल्न समाज बदल्नु जरुरी छ र त्यसका लागि आफ्नो भान्छामा पाक्ने खाने कुरा । 

Published date : 29th Feb 2016

http://nagariknews.com/opinion/story/58068.html