Article

अर्थ प्रवाह - १८ माेदी अारति कि गाली ?

Raju Nepal

मोदी: आरती कि गाली!

नेपालमा भारतको अमानवीय नाकाबन्दीको असर नपरेको व्यक्ति सायदै कोही होला। बजारमा सामानको अभावको कल्पना बजार जान नपर्ने मानिसले कुनै हालतमा गर्न सक्दैन। समाचारमा आएजस्तो बजारमा इन्धन र औषधिमात्र हैन, सानासाना सामानहरू पनि सजिलै उपलब्ध छैनन्। केही मानिस चाँडै पैसा कमाउन कालोबजारीमा लागेका देखिन्छन्। देशलाई अप्ठेरो परेको बेलामा सबैले सहयोग गर्नुपर्नेमा कालोबजारी गर्ने आफैले बुझ्नुपर्ने हो, आफूले ठीक गरिरहेको छु कि बेठीक भन्ने!
हरेक समस्याको दोष सरकारलाई लगाएर आफू चोखो हुन खोज्ने हामी नेपालीको पुरानै बानी हो। यसपटक पनि हामी त्यस्तै मानसिकता प्रदर्शन गरिरहेका छौँ। आन्तरिकरूपमा कालोबजारीलाई दिएको प्रोत्साहन, वैकल्पिक उपायको खोजप्रतिको उदासीनता र मन्त्रीहरूको अनावश्यक बकबकलाई छाड्ने हो भने भारतीय नाकाबन्दीका बारेमा सरकारलाई दोष दिनुपर्ने कारण छैन। किनकि, यो नाकाबन्दी कुनै आन्दोलनको उपज हैन। मधेस आन्दोलन साम्य भए पनि यसको स्थायी समाधान हुन्छ भन्ने कुरामा विश्वास गर्न सक्ने बलियो आधार छैन। हिजोसम्म हाम्रो संविधानका केही प्रावधान मन नपरेर वा परिवर्तन गर्नका निम्ति भारतले हामीलाई दिएको दुःख भन्ने तर्कले पनि अब काम गर्न छाडिसकेको छ।

त्यसोभए नाकाबन्दीको खास कारण के हो त? यतिखेर यसको जवाफ एउटै छ– भारत नेपाललाई आफ्नो क्रिडास्थल बनाउन चाहन्छ। यो अमानवीय नाकाबन्दी भारत र यसका अहिलेका शासकहरूको सनकको उपज र घमण्डबाहेक अरु केही हैन। यो न कुनै मधेससँग सम्बन्धित तत्कालीन एजेन्डा थियो न हुनसक्छ। मधेसमा अहिलेको भन्दा ठूलो आन्दोलन हिजो पनि भएको हो, तर नाकाबन्दी भएन। के कारणले नेपालमाथि यस्तो क्रूर र एक्काइसौँ शताब्दीमा कसैले सोच्नै नसक्ने कार्य भारतले गरिरहेको छ भन्ने कुरा कसैलाई पनि थाहा छैन। कोही यसलाई प्राकृतिक स्रोतसँग जोडेर हेर्छन् भने कोही सुरक्षासँग त कोही यो नेपालका ठूला जलविद्युत् आयोजना आफ्नो हातमा पार्न रचिएको नाटक भन्छन्। यतिमात्र होइन, कोही हिन्दु धर्म र राजतन्त्रसँग पनि जोडेर हेर्छन्। जे भए पनि अब नेपालीले धेरै दुःख पाइसकेका छन्। भारतीय कदमका कारण नेपालमा त्यस निकटतम छिमेकीप्रतिको भावना अति नकारात्मक बन्दै गएको छ। अब सायदै यस्ता कोही सच्चा नेपाली होलान् जो श्रद्धाले मोदीको नाम लिन चाहन्छन्!

साउन महिनाको अन्तिम सोमबार पशुपतिनाथ दर्शन गर्ने चाँजोपाँजो मिलाएर मोदी नेपाल आउँदा हामीले उनको स्वागत–सत्कार र आदर गर्न कुनै कसर बाँकी राखेनौँ। सरकारले गर्नेबाहेक पनि जनताको तर्फबाट हामीले सकेको गरेकै हो। हाम्रा देशका सबै पत्रपत्रिकाले उनको स्तुति गाएकै हुन्। नेपालमा त्यतिबेला जति इज्जत उनले पाएका थिए, सायदै अन्त कतै पाए र पाउलान्। नेपालीले उनको प्रशंसा गर्दा आफ्ना नेतालाई गाली गरेका शब्द त अझै सुन्नै नसकिने थिए। हामीले उनलाई भारतको मात्रै हैन दक्षिण एसियाकै नेताको रूपमा प्रस्तुत गर्याँदै। कोहीकसैले उनको विगत र अतिवादी चरित्रको कुरा गर्योै भने हामीले त्यसलाई उल्टै झम्ट्यौँ र चुप लाग्न बाध्य बनायौैँ। योभन्दा धेरै इज्जत छिमेकी राष्ट्रको सरकार प्रमुखलाई दिएको इतिहास देख्न गाह्रो पर्छ। उनीप्रति नेपालजस्तो महŒवपूर्ण छिमेकीको आदर, सत्कार र विश्वास त्यसबेला यति चुलिएको थियो कि, उनकै मुलुकमा पनि त्यो अवस्था सायद थिएन।

अब उनलाई हेर्ने नेपाली आँखा फेरिएका छन्। नेपाली जनता आफूले अहिले पाएको दुःखको कारण भारतको कुनै सरकारी नोकरशाही वा कुनै एजेन्सी हैन, केवल भारतका प्रधान मन्त्री हुन्। उनको व्यक्तिगत हठ र सन्किपनको उपजका रूपमा नेपाली जनता इतिहासकै सबैभन्दा दुःख भोग्दैछन्। हामीबाट के गल्ती के भयो? छिमेकमा सबै सामान उपलब्ध भएका कारण नै हामीले आफूलाई चाहिने सामान किन्न अर्को कुनै बजार खोजेनौँ। सजिलो बाटो हुँदाहुँदै अन्तर्रा्ष्ट्रिय कानुनअनुसार हामीले पाउनुपर्ने पारवहनको लागि चीनतर्फको अप्ठेरो बाटोको भर परेनाँै। के यस्तो स्थितिमा सोझो र सानो देशलाई बिनाकारण दुःख दिनु पाप हैन? अपराध हैन? हामी सानो र कमजोर देश भएरमात्रै हो, नत्र अब त भारतले अन्तर्रा्ष्ट्रिय मञ्चहरूमा पनि स्पष्टिकरण दिनुपर्ने बेला भैसकेको छ। अझै उसकै ठूलो स्वर भएको हालैको उनको बेलायत भ्रमणका बेला निकालिएको संयुक्त विज्ञप्तिले पुष्टि गर्योल। तर, ढिलाचाँडो अन्तर्रा्ष्ट्रिय जगत्ले बुझ्यो र बुझ्न बाँकीले पनि विस्तारै बुझ्छन्।

यो परिस्थितिमा भारतका विशेष दूत बनेर नेपाल आएका विदेश सचिव र लामो समयदेखिका नेपालमा रहेका भारतीय राजदूतले हाम्रा नेताहरूसँगको भेटमा भनेका एउटा कुरा अचम्मलाग्दो छ। समाचारमा आएअनुसार उनीहरूको चिन्ता नेपालमा भारतप्रति बढेको नकारात्मक भावनामा छ रे! अनि नेपाली जनमानसले मोदीलाई गरेको गालीले उनीहरूको चित्त दुख्छ रे। अझ हास्यास्पद कुरा त कतिपय भेटमा उनीहरूले यो कुरा बन्द गरेर भारतसँग वार्ता गर्न आऊ भनेर पनि भनेको समाचारमा आयो!

भारतीय नाकाबन्दीका कारण नेपालीले पाएको दुःख कसले बुझेको छैन? कतिपय देशका राजदूतावास नेपालमा छन्। उनीहरूले आआफ्नो देशमा यसको प्रभाव र कारणबारे खबर पनि पक्कै गरे होलान्। इन्धन, ग्याँसको लाइन, खानेकुराको अभाव, सानोभन्दा सानो सामान नपाइने स्थिति, बिहानदेखि बेलुकीसम्म परिवारका सदस्यहरूको कुनै न कुनै लाइनमा लाग्नुपर्ने बाध्यता अनि औषधिको समेत अभाव! यो कसलाई थाहा छैन र? यी सबै ’अभाव’ मोदीको व्यक्तिगत कारणले भइरहेको बुझिरहेका नेपालीले उनको नाममा बिहान–बेलुकी आरती गर्ने कि उनलाई गाली? के हामीलाई चित्त दुख्दैन?

यसै त बिजुलीको अभाव व्यहोरिरहेको नेपालको सहरी क्षेत्र ग्याँसको अभावमा अहिले कोही दाउरामा त कोही इन्डक्सन चुल्होमा आश्रित भइसके। केही समयअघिसम्म बजारमा जहाँतहीँ पाइने, भर्खर जन्मेको बच्चालाई सेक्न र कतिपय धनीको घरमा कोठा तताउन प्रयोग हुने ब्रिकेट कोइलासमेत अचेल पाइन छाडेको छ। जब घरमा ग्याँस हुन्न अनि इन्डक्सन चुल्होमा भात आधा पाक्दै गर्दा बत्ती जान्छ र त्यो नेपालीले ग्याँस नपाउनुको कारण भारत र मोदी हुन् भन्ने सम्झन्छ अनि के उसले त्यो बेलामा नेपालको संसद्मा गरेको भाषण सम्झेर रमाउने कि यथार्थ बुझेर उनलाई गाली गर्ने?

बिहान जब बच्चाको स्कुलको बस आउँदैन, आफ्नो सवारी साधनमा इन्धन हुँदैन, त्यो बेलामा महामहिम भारतीय राजदूतको अनुहार नसम्झेर, महाकालशनि मृत्युञ्जय पाठ गर्नेे विचार कसैलाई आउँछ होला? तेल पाउने आशामा हप्तौँदेखि लाइनमा राखेर धुलाम्मे भइसक्दा पनि आफ्नो सवारी साधनको ट्यांकी रित्तै हुँदा मोदीको अनुहारमा कृष्ण देख्ने कि कंस? हप्तौँदेखि बसको छतको यात्राको त कुरागरी साध्यै छैन। बिहानै काममा जाने बेलामा दाउरा किन्न जानुपर्दा, दाउरा किनेर फर्कंदा आफ्नो घरमा देखिने रित्तो ग्याँसको सिलिन्डरले नेपालीको सोचाइ कस्तो होला?

आफ्ना छिमेकीसँग यो जाडोमा बाहिर आगो तापेर बसेका सोझा नेपालीलाई नेपालमै आएर भारतीय सुरक्षाबलले बिनाकारण गोली हान्छन् अनि भारत सरकार झूठ बोल्छ कि नेपाली भूमिमा केही भएको छैन। उक्त घाइतेको नेपालकै अस्पतालमा गोली निकाल्ने काम हुन्छ। अब यो स्थितिमा हामी मोदीको आरती गरौँ? जय दामोदरदास हरे भनेर!

आफ्ना बाबु–आमा र दाजु–भाइ नेपालमा खान पाइरहेका छैनन्, बच्चाहरू स्कुल–कलेज जान पाइरहेका छैनन्, यो सबै टेलिभिजनमा हेरेर बसेका र हरेकपटक नेपालमा फोन गर्दा आफन्तको चित्कार सुनेका विदेशमा बस्ने नेपालीले मोदी उनीहरू बसेको सहर पुग्दा बाटोमा दौरा–सुरुवाल लगाएर भारतको झन्डा बोकेर जन गण मन गाउन थालून्! के संसार यसैगरी चल्छ ? यही र यस्तै नै भारतीय सोच हो भने तिनले अझै धेरै कुरा बुझ्न र सिक्न बाँकी छ भन्ने बुझ्नुपर्छ। जब औषधि नपाएर आफन्त अस्पतालको बेडमा तड्पन्छ, मर्छ अनि उसका परिवारले औषधि नपाउनु र आफन्त मर्नुमा मोदी र उनको सरकार शतप्रतिशत दोषी हो भन्ने कुरा बुझ्छन् तब मनोभावना कस्तो होला! अब एकछिन सोचौँ त्यो व्यक्तिको लास जल्दै गर्दा आफन्तले मोदीको गुणगान गाउने कि, के गर्ने? यो भावनालाई त शब्दमा उतार्न पनि कठिन छ। शब्दमा उतारियो भने पनि पढ्न सक्ने आँट कसैसँग हुँदैन।

इन्धनको अभावमा हवाइजहाज उड्दैन, बसमा यात्रा गर्नु असम्भवप्रायः नै छ। बल्लतल्ल आँट गरेर बस चढ्दा जब ढुंगा बर्सन्छ अनि यात्रुको टाउको फुट्छ, अब त्यो यात्रु, बसका अन्य यात्रु र परिवारले भारत सरकार र मोदी यसको एउटैमात्र कारक हो भन्ने बुझ्दाबुझ्दै पनि के बाँकी यात्रा उनको गुणगानमा बिताउने? अर्बौं रुपैयाँ पर्ने व्यापारिक सामान सीमामा रोकिएको ३ महिना हुनलाग्यो। सयौँ कन्टेनर बन्दरगाहमा छन् र अझ कतिलाई त जहाजबाट उतार्नसमेत दिइएको छैन। सामानको मोलभन्दा बढी त्यहाँ तिर्नुपर्ने विलम्ब शुल्क भइसकेको छ। व्यापारीहरू बोल्न सक्ने स्थितिमा छैनन्। कतिपय त डिप्रेसनमा गएको कुरा परिवारबाट थाहा हुन थालिसक्यो। कतिपय व्यापारीले त अब त्यो सामानको मत्लब नगर्ने, तर यहाँ बैंकको पैसा जसरी पनि तिर्ने अनि चुपचाप बस्न सकिन्छ कि सकिँदैन भनेर वकिलहरूसँग सल्लाह गर्न थालिसकेका छन्। यो सबैको जिम्मेवार मोदी र भारत हो भनेर बुझ्ने ती व्यापारीले अब मोदीको मूर्ति बनाएर पूजा गरुन् कि बेस्सरी गाली?

नेपालमा मोदी र भारतीय राजदूतप्रतिको घृणा बढ्दो क्रममा छ। यो कुरा भारतीय संस्थापन पक्षले राम्ररी बुझे हुन्छ। यो यथार्थ हो, यसमा कसैले शंका नगरे हुन्छ। यो घृणालाई इज्जतमा बदल्ने काम हाम्रा नेताले गर्नसक्ने हैन, किनकि नेपालीले यहाँका नेताले भनेर उनीहरूलाई घृणा गर्न थालेका हैनन्। यो सबै मोदी सरकारको क्रियाकलाप र त्यसमा मलजल गर्ने काम नेपालका लागि भारतीय राजदूतले गरेका कारणले भएको हो। तसर्थ यसलाई राम्रोमा बदल्ने काम पनि उनीहरू स्वयंले नै गर्नुपर्छ। जति चाँडै गर्योा उति उनीहरूकै हितमा हुनेछ।

आफूलाई दिएको दुःखका कारण मोदी र भारत सरकारलाई नेपालीले गाली गरे, चित्त दुःखाए। उनको आफ्नै देश जहाँ उनी राम्रो दिनको नारा दिन्छन् र आफ्नो शासन रामराज्य भएको भाषण दिएर कहिल्यै थाक्दैनन्, अहिले करोडौँ भारतीयका हरेक बिहानको मोबाइल फोनको जोकको पर्याय बनेका छन्। करोडौँ भारतीयको दिन उनका नाममा बनेका जोकबाट सुरु हुन्छ र रातको सुताइ पनि त्यसैबाट थालिन्छ। ती जोकले हामी नेपालीको पनि मोबाइल फोनको घन्टी बजाउन मद्दत गरेकै छ। संसारकै सबैभन्दा बढी जोक बनेका नेता बनिसकेका छन् मोदी अहिले। सायद नेपालमा किन मोदीलाई गाली गरेको भनेर प्रश्न गर्नुभन्दा भारत सरकारले माथिको प्रश्नको जवाफ आफै खोज्दा राम्रो हुन्छ।

विगतमा कुनै व्यवस्थाविरुद्ध आन्दोलन गर्दा हाम्रा नेताले छिमेकी अनि ठूलो भएको नाताले कुनै सहयोग लिए होलान्। विरामी हुँदा मानवताको आधारमा केही नेताको उपचार भारतले गरिदियो होला, केहीका छोराछोरीलाई छात्रवृत्ति पनि दियो होला। तर, त्यसको हिसाब सिंगो देश र ३ करोड नेपालीसँग माग्न पाइन्छ? एउटा ठूलो छिमेकीको योभन्दा तल्लोस्तरको सोचाइ संसारको इतिहासमा कहाँ पाइएला? मानवताको परिभाषा समय र परिस्थितिअनुसार बदल्ने? यही हो ठूलाको चरित्र?

साउन महिनाको अन्तिम सोमबार पारेर पशुपतिनाथको दर्शन गर्न आउने अनि गौतम बुद्धको नाम लिएर कहिल्यै नथाक्ने मोदीले गरेको नेपालमाथिको नाकाबन्दी उनले पशुपतिनाथ र गौतम बुद्धमाथि गरेकोे अपमान हो। भोलि स्थिति सामान्य भएपछि नेपालीले त दुःख बिर्सेलान्, तर पशुपतिनाथ र गौतम बुद्धले .....? देशभित्र कतिपय यस्ता कारण होलान् जहाँ हामी नेपालीले नेतालाई गाली गर्नपर्ने, तर यो अमानवीय नाकाबन्दीको बारेमा केही छिटपुट मधेसवादी दलका नेताहरूको बाहेक हाम्रा अरु नेताको कुनै गल्ती छैन। हाम्रा नेतालाई यो विषयमा कुनै गाली गर्नु हुन्न।

http://nagariknews.com/opinion/story/49527.html

नागरिकमा प्रकाशित मितिः २०७२ मंसिर १४ गते साेमवार