Article

अर्थ प्रवाह - २० भारत विराेधी भावना

Raju Nepal

भारतविरोधी भावना

मधेसी नेताहरूको भारत भ्रमण सकिएको छ। हिजोका दिनमा देशका प्रमुख राजनीतिक दलका नेताहरूले गर्ने बेला न कुबेलाको भारत भ्रमणको खुलेर विरोध गर्ने नेपाली समाज यो भ्रमण पनि स्वीकार्ने पक्षमा छैन।
यो भ्रमणले भारत देश, त्यहाँका शासक, नेपाली राजनीति, लैनचौरलगायतलाई पनि अप्ठेरोमा पार्योन। भ्रमणपछि अब कित्ता छुट्टिएको छ, को भारतपरस्त र को राष्ट्रवादी भन्ने। अझ केही भारतीय नेतासँगको भेटका समयमा नेपालका नेताहरूले गरेका कुरा र व्यवहारको भिडियो बाहिर आउँदा ती नेता भारतमा कति निरीह बन्दारहेछन् भन्नेसमेत स्पष्ट भयो।

नेताहरूको भारत भ्रमणपछि सीमानाकामा केही सहजता देखिए पनि यसले दुई देशबीचको सम्बन्धमा दूरगामी नकारात्मक असर पार्नेछ। हरेक १० दिनमा वीरगन्जबाहेकका केही नाका अलि खुकुलो पार्ने भारतको ’ललिपप’ देखाउने चालमात्रै हो भन्ने अब सबैले बुझिसकेका छन्। बिग्रनै लागेका तरकारी र अन्य सामान नेपाल पठाउँदाको पीडाबाट नेपाली आक्रान्त छन्। नाकामा टोकन प्रथा र दिनको यति ट्रक निकासी गर्ने अनि पैसा लिएर ट्रक छाड्ने भारतीय व्यवहारले ऊ आफ्ना नागरिकलाई कस्तो काममा लगाउँदैछ बुझ्न सकिन्छ।

भारतीय शासकले नेपाली नेताहरूलाई भारतमै बोलाएर वा यतै आएर पद तथा अन्य सुविधाको लालसा देखाउँदै बेलाबखत गलत काम गर्न उक्साएका कुरा सबैलाई थाहा छ। अझ पछिल्ला दिनमा त नेपाल सरकारले नियुक्ति गर्ने विभिन्न पदमा समेत उसले आफूनिकट मानिस आसिन गर्न लागिपरेको सबैले देखे–भोगेकै हुन्। जबसम्म उसका साना–ठूला एजेन्डा बिनाअवरोध नेपालीबाट स्वीकृत हुँदैथियो ऊ निकै खुसी थियो। तर, जब लामो समयदेखिको उसको सबैभन्दा ठूलो एजेन्डा संविधानमार्फत् अस्वीकृत हुने स्थिति आयो, ऊ तिल्मिलायो र एकपछि अर्को गलत काम गर्न थाल्यो। उसको अस्वीकृत एजेन्डा थियो– नेपालको मधेसलाई प्रशासनिक हिसाबमा पहाडसँग अलग बनाउने। यसो गर्दा जहिले पनि नेपाल आफ्नो अघोषित उपनिवेश बन्छ भन्ने भ्रम भारतको थियो र अद्यापि छ। तर, अरु कुरामा जतिसुकै भारतपरस्त देखिए पनि यो चाल बुझेर हाम्रा नेताहरूले उसको हैकम मानेनन्। फलस्वरूप आमनेपाली अमानवीय र अकल्पनीय नाकाबन्दी भोग्न बाध्य भए।

तिल्मिलाएको भारतले के बुझेन भने, मधेसी नेताहरूलाई मात्र साथ लिएर मधेसको समस्या समाधान हुन्न। मधेसका नेताहरू मधेसमा कमजोर छन् र पहाडमा अस्वीकृत। गैरमधेसीबाट मधेसको माग पूरा गराउन समयमै राम्रा कदम चालिएको भए त्योभन्दा राम्रो, स्थायी र सजिलो उपाय केही हुने थिएन। तर, भारतले त्यो चाहेन किनकि, ऊ मधेसमा स्थायित्व हैन दीर्घकालीन समस्या चाहन्छ। ऊ मधेसलाई सदाका निम्ति नेपालसँग खेलबाड गर्ने गोटी बनाउन चाहन्छ। काठमाडौँलाई तर्साउन ऊ मधेस कार्ड सदाका लागि खल्तीमा हालेर हिँड्न चाहन्छ। जहाँ र जहिले काठमाडौँका शासक भेटिन्छन् ऊ त्यो कार्ड भिजिटिङ कार्डको रूपमा दिन चाहन्छ। भारतको यो नै महाभूल भयो पछिल्लो नेपाल हेराइमा। अब मधेसमात्र हैन काठमाडौँका शासकहरूसँग हिजोका दिनमा भएको सम्बन्ध पनि भारत आफैले बिगार्योज। आगामी धेरै वर्ष ऊ नेपालको लागि अविश्वसनीय छिमेकी बन्ने अवस्था आयो। जब सम्बन्धमा विश्वसनीयता घट्छ तब सके मानिसले सम्बन्ध तोड्छ नसके भावनात्मकरूपमा टाढा बस्न चाहन्छ। आज हामी नेपालीको हाल त्यस्तै भएको छ। निकटतम छिमेकी भएका कारण न त हामी यो सम्बन्ध तोड्न सक्छौँ न त भारतले नै तोड्न सक्छ! तसर्थ, नेपाली जनता अबका दिनमा सधैँ सशंकित हुँदै भारत र उसका कुटिल चालबाट केही समय टाढै बस्ने छन्, यसमा कुनै दुविधा छैन। यही सिलसिलामा अबका केही वर्ष नेपालभित्रै कतिपय मधेसकेन्द्रित दलका नेतालाई पनि राष्ट्रिय मुद्दाहरूबाट टाढै राखिनेछ, उनीहरूकै बुद्धिका कारण। मधेसवादी दलहरूले आफूलाई सच्चा नेपाली साबित गर्न अग्नि परीक्षाबाट गुज्रनुको अब अर्को विकल्प छैन।

यतिले नपुगेर भारतले आफूले गरेको गल्तीमा अर्को गल्ती जोड्यो। उसले सीमित नेपालीलाई बोलाएर कहिले लैनचौरभित्र त कहिले कुनै तारे होटेलमा नेपाल र आफूलाई मन नपरेका नेताहरूका विषयमा बिष बमन गर्ने काम गरे। यसले पनि नेपालीको मनमा दुःख पुर्याईयो। एकपछि अर्को गर्दै नेपालीको मन दुःखाउने कार्य गर्दै जाँदा पनि हाम्रा कतिपय नेतामा देखिएको सहनशीलता भने प्रशंसनीय छ।

भारतको यो महाभूलको कारण दुःख सबैले पाए। मधेसी जनताको विश्वास जित्न नसकेका चुनाव हरुवाहरू, जो भारतको इशारामा आन्दोलन गर्दैछन्, उनीहरूको अब व्यक्तिगत राजनीति मर्योगभन्दा अतिशयोक्ति हुने छैन। भारतले अब काठमाडौँका कुनै शासकसँग खुलेर जायजै कुरा गर्ने वा माग राख्ने अधिकार पनि गुमायो। योभन्दा ठूलो दुर्भाग्य के हुन सक्छ! अब भारतलाई नेपाली जनताले कसरी विश्वास गर्ने? विदेश मन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले आफ्नो मुलुकको संसद्जस्तो मर्या्दित स्थानमा एकपछि अर्को झूठ बोलेको सुन्दा सदाको लागि आशंका त उत्पन्न हुने नै भयो। विपक्षी दलको कुनै न कुनै सहयोग पाइने झिनो आशामा बसेको भारतीय सत्ताले विगत डेढ वर्षको अवधिमा यति धेरै आलोचना अरु कुनै विषयमा खप्नुपरेको थिएन होला।

स्वास्थ्य उपचारदेखि पदमा पुग्नका निम्ति आशीर्वाद थाप्न भारत जाने गरेका नेपालका गैरमधेसी नेतामा भने अब ठूलै चेत आएको हुनुपर्छ। हिजो भारतले सांसद र मन्त्री बनाइदिन्छ भनेर ढुक्क हुनेहरूले आफ्नो आस्था परिवर्तन गरे होलान् भन्नेमा अबचाहिँ केही विश्वास गर्न सकिन्छ। अब पनि सरकार बन्ने बेलामा वा कुनै अरु ठूला घटनापूर्व नेताहरू भारत धाउन थाले भने तिनलाई समाजले ’अराष्ट्रिय’ भनेर सोझै घोषणा गर्ने छ। भारतले गुमाएको अर्को उसको स्वघोषित अधिकार यो पनि हो। अब नेपालमा उसले कहिल्यै ’माइक्रो म्यानेजमेन्ट’ गर्न सक्ने छैन। नेपालका सानादेखि ठूला आयोजनाहरू कि त अब निकट भविष्यमा धेरै बन्ने छैनन्, बने पनि भारतीय संलग्नतामा काम हुने छैन। नेपालमा भारतविरोधी भावना यति धेरै फैलिएको छ कि भारतसँगको संयुक्त लगानीमा तुरुन्तै काम गर्न कठिन छ। यो परिस्थितिको जिम्मेवार कोही हो भने स्वयं भारत र उसका हालका नेतामात्रै हुन्। ’रोटीबेटी’को सम्बन्धको उपहास र बेइज्जत जसरी भारतले गरेको छ, त्यसको परिणाम भारतविरोधी भावनामा गएर पोखिएको छ। अब भारतीयले नेपालसँग रोटीबेटीको नाता छ भनेर इज्जतका साथ भाषण गर्ने अधिकार गुमाए। जति दुःख यसपटक भारतले नेपालीलाई दिएको छ, अब नेपाली जनता भारतीय सहयोगको अपेक्षा पनि गर्दैनन् र स्वीकार पनि गर्दैनन्।

भारत अब रक्षात्मक स्थितिमा गएको प्रमाणहरू देखिन थालेका छन्। दिनहुँजसो नेपाल भ्रमणमा आएका भारत जिम्मेवार अधिकारीका अनौपचारिक कुरा, भारतमा विपक्षी दलको चर्को आलोचना र नेपालभित्र बन्दै गएको भारतविरोधी वातावरणलाई बुझेर ऊ स्थिति साम्य पार्न चाहन्छ। जति समय ढल्कँदैछ, नेपालीले पाउने दुःखभन्दा भारतप्रतिको नेपालमा बढ्दै गएको विरोधी भावना चुलिँदो छ।

अब मधेसी नेतासामु थोरैमात्रै विकल्प बाँकी छन्। भारतले विश्वसमुदायमा भएको आफ्नो बेइज्जती र नेपाली जनताको अपार सहनशीलताको कारण अब लामो समयसम्म मधेस आन्दोलनलाई साथ दिन नसक्नेखालको संकेत मधेसी नेतासमक्ष दिइसकेको छ। नेपाली शासकवर्ग जबसम्म मधेसी नेताहरू भारतको बुइ चढेर मधेसको (भारतको?) माग लिएर बालुवाटार वा सिंहदरवारमा मागपत्र पेश गर्छन् तबसम्म माग पूरा हुन नदिनेमा दृढ छन्। भारतमा खाजा खाएर नेपालमा गर्ने आन्दोलन जतिजति कमजोर हुन्छ, त्यतित्यति काठमाडौँ ढुक्कसँग सुत्ने कुरामा दुईमत छैन। काठमाडौँको सत्ताको एउटै कमजोरी भनेको ऊ जति छिटो जनतामाझ पुग्नुपर्ने हो त्यति छिटो पुगेको छैन। तर, अब सरकारसामु पनि जनताका बीचमा नपुगी नहुने स्थिति आइसकेको छ।

अब मधेसी नेताले आफ्नो मागपत्र परिमार्जन गर्नुको विकल्प छैन। आफ्ना मागमा भारतीय माग हटाउँदा जे आउँछ त्यसलाई लिएर बालुवाटार पस्दा सबै पक्षलाई फाइदा हुन्छ। यही क्रममा भारतको डिजाइनमा फेरि नाकाबन्दी खोल्ने, तर कुनै न कुनै रूपमा मधेस आन्दोलनलाई जिवित राख्ने बहानाको खोजीको कुरा बजारमा सुुुनिँदैछ। यो बहाना भारत र मधेसी दलको हितमा छैन। आज झन्डै ३ महिने नाकाबन्दी र ४ महिनाभन्दा बढी समयदेखिको तराई हड्तालको भारतीय चालसँग नझुक्ने सरकार सामान्य स्थितिमा वार्तासम्ममा पनि बस्दैन र बस्नु पनि हुँदैन। अनि के भारतले महिनैपिच्छे यी मधेसी दलका नेतालाई जन्ती जसरी भारत बोलाएर रोटी खुवाउला? खुवाएछ नै भने पनि केका लागि?

नाकाबन्दी खुल्ला, अवस्था सहज होला, केही ठूला नेताका भ्रमण आदानप्रदान होलान् तर के ३ करोड नेपालीलाई यो विषम परिस्थितिमा पुर्याहउन भारतले गरेको अमानवीय व्यवहार त्यति चाँडै बिर्सलान्? अनि मधेसी भनेर गर्वका साथ नाम लिइने देशको ठूलो तप्कालाई अन्य क्षेत्रका सर्वसाधारणले शंकाका दृष्टिले दीर्घकालसम्म हेर्दा पनि सहनुपर्ने दिन आयो भने के होला?

http://nagariknews.com/opinion/story/50433.html

नागरिक दैनिकमा प्रकाशित मितिः २०७२ मंसीर २८ गते साेमवार