Article

अर्थ प्रवाह - २२ जग हँसाउन सिपालु अाेली

Raju Nepal

जग हँसाउन सिपालु ओली

अभाव, कालोबजारी, मूल्यवृद्धि, लोडसेडिङ अनि गरिबलाई जाडोको पीडा यी सबै नेपालीजनको दैनिकी बनिसके। अझ हाम्रो जिब्रोमा अर्को एउटा शब्द पनि झुन्डिएको छ अचेल, नाकाबन्दी। हरेक पटक नयाँ अनुहारका मन्त्री वा नयाँ सरकार बन्दा अब त केही हुन्छ कि भन्ने आशामा बाँचेका नेपालीको मनमुटु पनि अब कुँडिन छाडिसकेको छ। सरकारको आशा गर्नुभन्दा देशमा सरकार छ कि छैन भन्ने प्रश्न गर्नु आवश्यक भइसक्यो।
विकास, निर्माण, सम्पन्नता भन्ने कुरा त शब्दकोशमा पनि भेट्न गाह्रो होला हामीलाई। टेलिभिजनको पर्दामा विदेशीले गरेका कार्य हेरेर रमाउन सक्ने हिम्मत पनि अब हामीसँग बाँकी रहेन। कोही आफन्त वा मित्र विदेश गएर फर्कंदा सबैभन्दा पहिला भन्छन्– बिजुली गएको कहिल्यै थाहै भएन।

के हामी नेपालीको भाग्य नै यस्तै हो त? भाग्यको कुरा गर्योग भने धेरैजसो समय भाग्यमा हैन कर्ममा विश्वास गर भन्नेहरू देशको शासन सञ्चालनमा छन्, तसर्थ भाग्यको कुरा गर्नै भएन। त्यसो भए के हामी कर्म गर्न नजान्ने हौँ त? आजको विश्वमा कर्म गर्न नजान्ने पनि कोही हुन्छ र? प्रविधिले सबैलाई सबै कुरामा पोख्त बनाएको छ र हामी पनि त्यसबाट धेरै टाढा छैनौँ। साथै, हाम्रा कर्मयोगी हातहरू अमेरिका, बेलायतमात्रै हैन खाडि मुलुक नवनिर्माण गर्ने काममा अब्बल दरिएका छन्।

अब समस्या के त? सामान्यतया कुनै एउटा व्यक्तिको सफलता ३ तŒवमा भर पर्छ। ज्ञान, स्रोत र सीप। ज्ञान अध्ययन हो, स्रोत पैसा र सीप भनेको सिकाइ वा तालिममा भर पर्ने कुरा हो। यी ३ तŒवको उचित व्यवस्थापन नै सफलता हो। तर, राज्यका सवालमा जम्मा २ वटा तŒव नै देश विकासका लागि अपरिहार्य छन्। स्रोत र इच्छाशक्ति। स्रोत राज्यसँग हुन्छ भने इच्छाशक्ति नेतृत्वसँग। अब प्रश्न उठ्छ, नेपालमा स्रोतको अभाव छ कि इच्छाशक्तिको?

जब यो प्रश्नको जवाफ खोज्न थालिन्छ, आधुनिक नेपालको विगत २५ वर्ष केलाउन मन लाग्छ। युरोप र अमेरिकाका केही देशबाहेक अधिकांशले विकासमा फड्को मारेको समय पनि यहि २५ वर्ष हो र हामी नेपाली तल परेको पनि यही समयमा हो। खानेपानीदेखि लिएर बाटोसम्म, बिजुलीदेखि स्वास्थ्यसम्म अनि नियमकानुनदेखि खेलकुदसम्म हामी किन पछाडि? के हामी गरिब भएरै हो? के मेलम्चीको पानी चौथाइ शताब्दीसम्म पनि काठमाडौँ नआइपुग्नु पैसाकै अभावले हो? के काठमाडौँको रिङरोडको विस्तार १० वर्षमा पूरा नहुनु स्रोत वा ज्ञानको अभावले हो? अपार जलस्रोत भएर पनि अन्धकारमा बाँच्न हामी बाध्य हुनुमा दोष हाम्रो भाग्यको कि नेताका बुद्धिको?

यी कुरामा नेपालीले नेतृत्वलाई भित्रभित्रै गाली गरे पनि धेरै हदसम्म सहलान्, तर जब भूकम्पजस्तो प्रकोपको व्यवस्थापन गर्न सरकारले खेलाँची गर्छ र जनताको मनोभावनामा बलात्कार गर्छ अनि नेपाली जनता आफैलाई धिक्कार्न थाल्छन्। बैशाखको भूकम्पले झन्डै ९ हजार जनाको ज्यान लियो। देशविदेशबाट सहयोग आयो। तत्कालै सबै ठाउँमा नपुगे पनि धेरैले कुनै न कुनै प्रकारको राहत पाए। सारा जनता सहयोगको लागि ओर्ले। सरकारको खोजी धेरै भएन। उद्दार र राहतपछिको काम थियो पुनर्निमाण र दीर्घकालीन राहतको, जहाँ सरकार असफलमात्रै भएन निकम्मा साबित भयो। सरकार संवेदनाहीन भयो, संसारका क्रूरतम शासकभन्दा तल्लो स्तरमा ओर्ल्यो। जनताका आँसु उसले देख्न चाहेन।

के हामी नेपाली र हाम्रो देश नेपाल गरिब भएर भूकम्पपीडित जनतासम्म पुग्न नसकेको हो त? पक्कै हैन। भूकम्पपछि सरकारले सहयोग जुटाउनका निम्ति राजधानीमा विशाल कार्यक्रम गर्योक। विदेशीबाट आवश्यक रकमको जोहो गरिदिने प्रतिबद्धता आयो। स्वदेशी संघसंस्था र व्यक्तिका सहयोग त छँदैथियो। अब कुनै कुरा बाँकी थियो भने त्यो थियो इच्छाशक्ति। जुन कुरा सरकारमा र सरकारबाहिर रहेका कुनै पनि पार्टीमा थिएन। नेपाली कांग्रेस भूकम्पपीडितमा भन्दा संविधान निर्माणमा व्यस्त हुन चाह्यो, एमाओवादीले दुई–चार वटा बाँसका टहरामा आफूलाई अल्मल्यायो भने एमालेबाट सिन्को नभाँचिने र अरुले गरेको कामको विरोध गर्ने तथा भाँजो हाल्ने काम भयो। बन्न लागेको पुनर्निर्माण प्राधिकरण एमालेको अवरोधका कारण बनेन। हिजोको अरुण तेस्रो जलविद्युत् आयोजना काण्डबाट सुरु गरेको देश र जनविरोधी कार्यलाई प्राकृतिक प्रकोपले थिल्थिलो पारेका बेलामा पनि निरन्तरता दिँदै उसले भूकम्पपीडितको घाउमा नुनचुक छर्किरह्यो।

गर्मी र वर्षा भूकम्पबाट आक्रान्त नेपालीले परकम्पको भयसँगै बिताए, सरकार आउला र जाडो काट्न सजिलो होला भनेर। सरकारले राहत ल्यायो नयाँ संविधानको रूपमा। धानको आशा गरेर बसेकालाई संविधानले पेट भरेन। सरकार परिवर्तन भयो। हिजोको सरकारले संविधानको नाममा उपेक्षा गरेको यो अत्यावश्यक कामलाई ओली सरकारले पनि वास्ता गरेन। उसलाई पद भागबण्डा र कालोबजारीमा रूचि थियो, उतै लाग्यो। हिजो विदेशी सहयोग आउँदा र हेलिकप्टर चढ्न भूकम्प मन्त्रालय नै मेरो भन्ने सचिव र कर्मचारीहरू अब सबै लाखापाखा लागे। भूकम्पपीडितका लागि काम गर्ने मन्त्रालय नै भएन।

जनातले जति इन्धन नपाए पनि र गोरखा, रसुवा तथा दोलखामा जति जाडो भए पनि त्यो अभाव तथा चिसो बालुवाटार नपसेसम्म केही नहुने हाम्रो पुरानै रोग हो। ओली सरकार पनि त्यो रोगबाट बाहिर आउनै चाहेन। सिन्धुपाल्चोकमा जाडोले भूकम्पपीडित मरे, सरकार विस्तार भयो अनि बालुवाटारमा भोज चल्यो! यो नेपालीको भाग्य नभए के त? कर्ममा ती नेपालीको के नै खोट थियो र? राहतअभावमा भएको मृत्यु, साँचो अर्थमा मृत्यु नभई राज्यबाट गरिएको हत्या हो। यसले कर्ममा विश्वास राज्य सञ्चालकहरूलाई कानुनको कठघरामा त न उभ्याउला, तर भाग्यमा विश्वासै नगरे पनि उनीहरू यो पापबाट मुक्त कहिल्यै हुन सक्ने छैनन्।

जसरी भूकम्पका बेला जनता सल्बलाए, सहयोगी हात अघि सरे र सकेको गरे। विभिन्न संस्था र व्यक्तिगतरूपमै केही भित्रभित्रै अरु अभीष्ट भएका–नभएका हात ती भूकम्पपीडितको दुःख देखेर जुर्मुराए। के ती सीमित व्यक्तिले गरेको सहयोग र घरघर पुगेर गरेको याचना बालुवाटारले सुन्दैन? यो प्रयोजनको लागि सरकारसँग पर्याप्त पैसा हुँदाहुँदै पनि भूकम्पले आफन्त मर्दा लगाएको सेतो लुगामै परिवार पनि त्यही भूकम्पले भत्केको घरमै कठ्यांग्रिएर मर्नुपर्ने? उनीहरू सोच्दा हुन् बरु बैशाखमै जान पाएको भए सँगै पनि गइन्थ्यो र कमसेकम यो पापी सरकारलाई नसरापी त मर्न पाइन्थ्यो!

के सरकारसँग स्रोत छैन? त्यसलाई बाँड्न सक्ने संस्था छैन? नेताहरूको दुर्म्तिले गर्दा स्थानीय निकाय नभए पनि नेपाली सेनाले सजिलै यो काम गर्न सक्छ। अनि रोक्यो केले? इच्छाशक्तिले? किन? किनकि, ओलीले पढेको बाह्रखरिको किताबमा ’ल ला लि ली’ मात्रै थियो ’द दा दि दी’ थिएन। अब आफूले जनानेको कुरा कसरी गर्नु? उनको बाह्रखरिको शिक्षा नै देशको लागि आज अभिषाप सिद्ध हुनपुग्यो।

लुगा बाँड्ने युवा समूह काठमाडौँमा लुगा माग्दै र गाउँगाउँमा गएर बाँड्दै गरेको दृश्य (केही उरन्ठेउला पिकनिक मनाउन र पानी खेल्न गएकाजस्ताबाहेक) जति मार्मिक छन्, त्यति नै तिनले ओली र उनको सरकारको मुखमा झापड हानिरहेझैँ लाग्छ। गरिबलाई नयाँ–पुराना लुगा वितरण गर्दै गरेका फोटो खिच्ने र त्यत्तिको लागि हिँड्नेले ओली सरकारको पथको अगुवाई गरिरहेका देखिन्छन्। समाजसेवा फोटो खिच्नका लागि र प्रचारका निम्ति गरिन्न भन्ने सामान्य हेक्कासमेत नभएका युवा पनि सक्रिय रहे। भूकम्पको पीडाले आहत बनेका गरिबको दुःख हेर्ने र तीसँग फोटो (सेल्फी) खिच्ने उद्देश्य राख्नेको ताँती पनि थियो। यस्तो ’सेल्फी राहत’ले भूकम्पपीडितको घाउमा मल्हम लगाउने हैन, जगहँसाउने कार्य गर्दैछ। नत्र यिनीहरू राजधानी फर्केपछि आफ्ना पिकनिकको फोटोको उन्मत्त हाँसोको बदलामा सरकारलाई घच्घचाउने खालका कर्ममा ध्यान दिन्थे होलान्। यसबाट यस्ता समूहका सीमित व्यक्तिको भित्री अभीष्ट बुझिन्छ, जसले ३० लाख पीडितमध्धे ३० जनाको बासस्थालमा पुगेर उनीहरूलाई जबर्जस्ती हसाउँदै फोटो खिच्नमा रमाउँछन्! यो अर्को प्रकारको सामाजिक रोग र यो कुसंस्कारको विकासको जिम्मेवार पनि सरकार नै हो।

अझै सरकार चेतेको छैन। ऊ व्यस्त छ सरकारविस्तारमा। ऊ सरकार नामको ऐतिहासिक जम्बो जेट तयार पार्नमा मस्त छ। सबैभन्दा दुःखको कुरा त जुन दिन पुनर्निर्माण प्राधिकरणमा प्रमुख छानिए र उनको विगतको छविका कारण अब त केही हुन्छ कि भनेर आशाको किरण जाग्यो, त्यही दिन पुनर्निर्माण मन्त्रालयमा नयाँ मन्त्री आए। उनीबाट फेरि नेपालीको आशामा तुषारापात गर्ने काम भयो। यसबाट अझै स्पष्ट भयो ओली सरकार भूकम्पपीडितप्रति कति असंवेदनशील छ भन्ने कुरा! जति उखानतुक्का ओलीले विगत १० वर्षमा अरुका नाममा गरे, ती सबै एकमुष्ट अहिले उनैमा फिर्ता आएको छ। यो विषम परिस्थिति, जहाँ नेपालीसँग हाँस्ने कुनै बहाना छैन, त्यो बेलामा पनि ओली भने जग हँसाइरहेछन् आफ्नै कार्यशैलीबाट!

यक्ष प्रश्नः यो रमिता हामीले कहिलेसम्म हेर्नुपर्ने?

http://nagariknews.com/opinion/story/51351.html

नागरिक दैनिकमा प्रकाशित मितिः २०७२ पुस १३ गते साेमवार