Article

कथाः सेल्फी राहत

Raju Nepal

 

सेल्फी राहत

वैशाखको गर्मी मौसम। मध्य दिन हुँदा पनि आकाश छ्यांग उघ्रिएको थिएन। घुम्लुंग बादल ओढेर समय कुन्नि किन ठुस्स परेर बसेको थियो। सुन्तली बाख्रालाई टाट्नामा घाँस हालिदिएर आँगनमा निस्किई। छोरो बाहिरै खेलिरहेको थियो। भित्रबाट एक बाल्टिन पानी लिएर निस्कँदासम्म उसको एकाग्रता भंग भएको थिएन। बिहानको मेलो जोतिसकेर भर्खरै फर्किएको बिर्खबहादुर गोरु बाँधेर घरमाथि उक्लिएर आराम गरिरहेको थियो।

छेउमै बाल्टिनभरि पानी थियो। एक जग उघाएर टाउकोबाट खन्याउन लाग्दा–नलाग्दै छोरो फुत्किएर भाग्यो। उसले फेरि झम्टिएर कपालमा जगल्ट्याएर तानी। छोरो रुन थाल्यो।

करेसा नजिकैको रूख छेउमा एक हुल काग उडे। चराचुरुंगीको चर्को कल्याङमल्याङ सुनियो। छोराको जिउमा साबुन दल्नमात्र लागेकी सुन्तली करेन्टको झट्का लागेझैं भएकाले ढुनमुनिएर कान्लामुनि पुगी। छोरो हुत्तिएर उसको अँगालोमा आइपुग्यो। एक छिनसम्म उसले आँखा खोल्नै सकिन। के गर्ने, के नगर्ने होसै भएन। जमिन त झोलुंगोझैं हल्लिरहेको थियो। छोरालाई कस्सेर समातेर उसले एकनासले फलाकिरही— रामराम’ राम’ राऽऽऽम’

गाउँमा खैलाबैला मच्चियो। रोएको चिच्याएको आवाजले उसको कान नै फुट्लाझैं भएको थियो। केही बेरपछि उसले बल गरेर टाउको उठाई। आँखैअघि छिमेकीको घर डङ्ग्रंग लडेको थियो। मान्छे, गाईबस्तु सबै सोत्तर’ उसको छाती ढक्क फुल्यो। हात गोडा थरर्र कामे। आँखाका कुनाबाट आँसुका ढिका ढुनमुनाउँदै ओरालो लागे। उसले हिम्मत बटुली र यसो मुन्टो फर्काएर आफ्नो घरतिर चिहाई। घरको नामोनिसान थिएन। घरका ठाउँमा एउटा ठूलो माटोको ढिस्को थियो र त्यसबाट छारो पनि उडिरहेको थियो। ऊ आतेसले दुई पाइला अघि बढी। आशामुखी नजरले वरिपरि नियाली। अघि भर्खरैसम्म बार्दलीमा बसेर बिँडी तानिरहेको बिर्खबहादुरको कतै अत्तोपत्तो थिएन। एक्कासि उसको जिउ तातो भएर आयो। ऊ फाल हालेर घरतिर दौडिई। कान्लामाथि पुग्न नभ्याउँदै फेरि अर्को झट्का लाग्यो। एक छिन त्यहीँ बसेर उसले आफूलाई सम्हाल्ने प्रयास गरी। छातीभित्र मुटु बेजोडले हल्लिइरहेको थियो। ऊ मनमनै भगवान्को नाम जप्दै दुवै हातले टाउको समातेर उठी र कान्लामाथिको आफ्नो घरतिर आई।

’सन्तुका बा’!!’ आहत स्वर थर्थराएर निस्कियो। अपसोच! कसैले हजुर’ भनेन। सुन्तली बिर्खबहादुरलाई बोलाउँदै बेहोसीझैं माटोको ढिस्को वरिपरि घुमिरही। छोरो कोकोहोलो गर्दै उसको पछिपछि लाग्यो।

ढिस्कोको एक छेउमा सेतो दौराको फेर देखिएको थियो। त्यहीँबाट रगतको भल पनि बग्दै गरेको सुन्तलीले देखी। दौराको फेरमुन्तिर एक जोडी मैला नांगा पैताला पनि देखिए। छोरो दौडिएर गयो र नजिकै टुक्रुक्क बसेर आर्त स्वरमा बोलायो, ’बा’!’

बिर्खबहादुर बोलेन।

छातीभित्र ढ्यांग्रो बज्न थाल्यो। मन र मस्तिष्क दुवै काम नगर्ने अवस्थामा थिए। तत्काललाई सुन्तलीले कुनै प्रतिक्रिया जनाउन सकिन। छोरो आमाको जिउमा लिपिक्क टाँसिएर थुरुरुरु काम्दै डाँको छोडीछोडी रुन थाल्यो। सुन्तलीको भने होस ठेगानमा थिएन। दिमाग आँधी चलेर थामिएको वातावरणझैं सनन्न परेको थियो। पूरा जिउ नै शीतांग थियो। एक छिनसम्म ऊ मूर्तिझैं जहाँको त्यहीँ ठडिइरही।

केही बेरमा टाढाको मधुरो आवाजजस्तै छोराको ह्वाँह्वाँ उसको कानसम्म आइपुग्यो। उसले आफ्नो जिउमा टाँस्सिएर कहालिएको छोरालाई चकित भएर नियाली। बिस्तारै आफूलाई यथास्थानमा फर्काएर उसले चारैतिर हेरी। त्यस बेला माटाको थुप्रोमा परिणत भएको घरलाई देखी उसले। त्यहीँ थिए, ढिस्कोमुन्तिर च्यापिएका एक जोडी पैताला अनि ऊ उभिएको ठाउँसम्मै आइपुग्न लागेको रगतको आहाल!

’गाईबस्तु, अन्नपात, श्रीसम्पत्ति, सन्तुका बा’!!’ उसको छातीमा गाँठो परेर आयो। भक्कानो फुट्यो। ऊ भुइँमा थचक्क बसेर डाँको छोडीछोडी रुन थाली। छोरोले पनि उसलाई सघायो। केही बेर अघिसम्मको हाँसीखुसी उसको घरसंसार क्षणभरमै श्मसानझैं बनेको थियो। आशाको मसिनो डोरी भने कायमै रहेछ क्यारे। अतासिएर ऊ वल्लोपल्लो घरतिर दौडी। मद्दतका लागि हारगुहार गरी। कोही आएन। आऊन् पनि कसरी? सबैको अवस्था उही थियो। पूरै गाउँ शोकमग्न थियो। सबैको छातीमा गहिरो चोट थियो। उसको घाउले मलम पाएन।

बाँचेकाहरूले गाउँ सम्हाले। तेह्र दिनको शोक बार्दा लगाउने सेतो लुगा पनि कसैले दिएको थियो। त्यसलाई साट्ने अवस्था पनि उसको थिएन। सम्पत्तिका नाउँमा आफ्नो र छोराको दुई थान जिन्दगी र हृदयभरिको पीडाबाहेक ऊसँग अब अरू केही बाँकी थिएन। बेसहारा उसले छोराको हिम्मत नटुटोस् भनेर जिन्दगी जसोतसो घिसार्ने भरमग्दुर प्रयास गरिरही।

भोक, प्यास र पीडामा रन्थनाएर सहाराको आशमा खुल्ला आकाशमुनि गाउँलेले दुई साता गुजारे। दीनहीन उनीहरूको दयनीय दृष्टिले एक–अर्कालाई नियाल्नबाहेक अरू केही गर्न सकेनन्। बालबच्चा बेलाबेला भोकले आत्तिएर रुन्थे। पूरै गाउँ सिनोझैं दङदङी गन्हाउन थालेपछि उनीहरू केही पर सरे। घरिघरि आकाशमा हेलिकप्टर देखापर्थ्यो। उनीहरू केही पाउने आशले झुरुम्म भएर आकाशतिर हेर्थे। हेलिकप्टर टाउकैमाथि एक फन्को लगाएर त्यसै फर्कन्थ्यो।

पालैपालो गाउँलेले घर लडेको ढिस्को सोहोर्न थाले। अलिअलि काठ निस्कियो। गाउँका बाँस काटिए। चित्राको कटेरो बनाउने बन्दोबस्त हुन थाल्यो। मुस्किलले दुई साता कटेपछि गाउँमा फाट्टफुट्ट नयाँ मान्छे देखिन थाले। पोल्टाभरि आशा बोकेर उनीहरू तिनलाई घेरा हाल्न जान्थे।

काँधमा बोक्ने, हातमा बोक्ने थरीथरीका क्यामेरा, मोबाइल बोकेर मान्छेहरू आउँथे। एकएक पोका पहिले कहिल्यै नखाएका खाद्यान्न उनीहरूका हातमा दिन्थे अनि मुसुक्क हाँस्न लगाउँथे र फोटो खिच्थे। छातीभित्र आलो घाउ चहर्या इरहन्थ्यो। कलेटी ओठ तन्काएर सुन्तली खल्लो हाँसो खिसिक्क हाँसिदिन्थी। त्यही हाँसोको बदला पाएको दुई–चार पोका चाउचाउ, बिस्कुट र एक जोर अर्धानो लुगा बोकेर ऊ छोराको टाउको सुमसुम्याउँथी। छोरो आमाको हातमा बिस्कुटको पुरिया देखेर मुख मिठ्याउँथ्यो।

हिजोसम्म आफ्नै हातले उब्जाएको अन्न छ्यालब्याल थियो। बाँडेरै खान पुग्थ्यो। कहिल्यै कसैसँग हात पसार्नुपरेको थिएन। आज नियतिले यस्तो दिन पनि देखाइदियो। उसको बालख छोरो यो सब बुझ्ने भएकै थिएन। बबुरा पेटको ज्वाला सहन सक्दैनथ्यो अनि बेलाबेलामा भोक लाग्यो भन्दै आमालाई पिरोल्न आउँथ्यो। सुन्तली अर्कापट्टि फर्किएर आँसु चुहाउँथी।

सहरमा उसका केही आफन्त थिए। उनीहरूले केही खाद्यान्न ल्याइदिए। सहयोग जुटाइदिए। चित्राको सानो कटेरो बन्यो। ऊ एक छाक मकै, एक छाक भोकै भएर दिन बिताउन थाली। दुई महिनासम्म काला, गोरा, गहुँगोरा, सुकिला, मोटाघाटा थरीथरीका मान्छे आइरहे। पहिले–पहिले क्यामेरा देखेर असहज महसुस गर्नेहरूलाई पनि पछि त बानी पर्न थाल्यो। गाउँ छिर्नासाथ सबै क्यामेरा तेर्स्याउँथे।

कसैले टालेका लुगा खिचे त कसैले पीडाले सुर्ताएको अनुहार। कसैले छोराको नांगो आङ खिचे, कसैले चित्राको कटेरो। कोही उनीहरूको छेउमा आउँथे अनि हातमा पोको राखिदिएर सेल्फी हान्थे। छोरालाई ’चिज’ गर भन्थे। सुन्तली भित्रभित्रै कहालिन्थी। एक पोको राहतका लागि उसले धेरैपटक आँसु बेचिदिई। पेटको आगो निभ्ने झिनो लालसाले ओठमा कृत्रिम हाँसो टाँसिदिई। निधारमा ठूलो रातो टीका र रातै चस्मा लाउनेले आफ्नो मैलो सेतो बरखी बारेको धोतीलाई रातै देखेको उसले बिस्तारै बुझ्न थालेकी थिई। तर पनि ऊ अबुझ बन्दिन्थी।

यता मान्छेको भेल सकियो, उता बर्खा सुरु भयो। बल्लतल्ल उभ्याएको चित्राको कटेरोले बर्खा थाम्न सकेन। भित्र भेलबाढी चल्थ्यो। कहिले हुरीले जस्ताको छानो उडाइदिन्थ्यो। बिहानै बटुलेर ल्याई पुनः छानो हाल्नुपर्थ्यो। छोराको अनुहारमा एक टुक्रा हाँसो फुलेको हेर्ने रहरले उसले कैयन् दिन आँसु पिएर बिताई। घरको हालतले बिर्खेलाई सम्झेर धक फुकाएर रुनसमेत सकेकी थिइन उसले। एवंरीतले दसैं गयो, तिहार बित्यो। यसपटक गाउँभरि परेको शोकले गर्दा चाडबाड कतै थिएन।

जाडो सुरु भयो। लगत्तै गाउँमा फेरि नयाँ मान्छेहरू सलबलाउन थाले— भिन्न रुपरङमा।

केही दिनदेखि जाडोले सुन्तली सुत्नै सकेकी थिइन। चिसोकै कारण छिमेकीको मृत्यु भएपछि त झन् उसको हिम्मत टुट्न लागेको थियो। ऊ रातभर आगो बालेर छोरालाई काखमा लिएर बस्थी। चिसो सिरेटोले पिठ्युँ जम्लाजस्तै हुन्थ्यो। एकसरो ओढ्ने ओछ्याउने पनि थिएन।

एक दिन सुन्तली अँगेनामा खोले उमाल्न लागेकी थिई। छोरो बुर्कुसी मारेर छाँद हाल्न आइपुग्यो।

’आमा, स्कुलको चौरमा जाऊँ रे,’ हातमा समातेर हिँडिहाल्न हतार लगाउँदै छोराले तान्न थाल्यो।

’किन?’ उसले उठिहाल्ने हतार देखाइन।

’राहत दिने रे,’ छोराका खुट्टा भुइँमा थिएनन्।

’कसले भन्यो?’

’केशबेका बाले त ब्लांकेट ल्या’छन्, हरिको दाइले लुगा पाएछन्। तपाईंलाई पनि रातो धोती दिन्छन् कि?’

सुन्तलीले छोरोको अबोधतामा पनि आँसु रोक्न सकिन। त्यो बालकलाई के थाहा, सेतो धोतीमा बसेको उसको बाउको आत्माको बारेमा।

ब्लांकेटको सम्झनाले मात्र पनि सुन्तलीको मन न्यानो भयो।

’छिट्टो जाम न। सकियो भने फेरि हिस्स परिन्छ,’ छोरो एकोहोरो जिद्दी गरिरहेको थियो।

सुन्तली उठेर हतारहतार स्कुलको चौरतिर लागी।

चौरमा निकै जमघट भएको रहेछ। गाउँलेहरू लाममा ज्ञानी भएर थपक्क बसेका थिए। सुन्तली पनि गएर हुलमा मिसिई। हेर्दा भर्खरका केही सहरिया युवायुवती बडो उत्साहले राहत बाँड्दै थिए। हातमा ब्लांकेट र एक पोको खाद्यान्न लिएपछि बदलामा क्यामेरातिर हेरेर मुसुक्क हाँसिदिनुपर्ने त हो। पालैपाले उनीहरू लुगा बाँड्थे। एउटाले बाँड्दा सात जनाले फोटो खिच्थे विभिन्न पोजमा। यता हेर्नुस् यता भन्दै आदेश दिन्थे र फोटो खिच्नेबित्तिकै फोटो कस्तो आयो भनेर सबै झुम्म हुन्थे। लाग्छ— त्यहाँ लुगा बाँडिदैछैन, उनीहरूको गरिबीमाथि मानवताको ढोँगरूपी बज्रप्रहार गरिँदैछ।

समाजसेवाको सामान्य र अकाट्य नियम भनेको दाहिने हातले दिएको देब्रे हातलाई थाहा हुनुहँुदैन भन्ने हो। अझ भन्नुपर्दा दिनेलाई उसले दिएको कसले पायो भन्ने थाहा हुनुहुन्न र पाउनेले कसले दियो भन्ने थाहा पाउनुहुन्न। तर यो सामान्य ज्ञान पनि नभएकाहरू पिकनिक मनाउन केही सामान लिएर गाउँमा आउँदा पढेलेखकाहरू आफ्नो कर्मलाई धिक्कार्थे तैपनि चुप थिए किनकि त्यहाँ बोल्दा झगडा पर्न सक्थ्यो। सहरियाले गाउँमाथि गरेको चरम यातनाको यो अर्को रूप थियो— मानवताको खोल ओढेर गरिने अमानवीय काम। लाग्थ्यो— यसरी मानवताको ढोँगरूपी खोल ओढेर समाजमा कुरीतिको बीउ रोप्नेहरू समाजका अपराधी हुन्।

ढिलो आएकाले ऊ अन्तिममा परेकी थिई। पालो नआउने हो कि भन्ने डर पनि लागेको थियो। तर रित्तो हात फर्किनुपरेन। एउटी भर्खरकी युवतीले सुन्तलीको विधवापन र गरिबीको खिल्ली उडाउँदै उन्मत्त हाँसेर फोटो खिचाउँदै उसको हातमा एउटा प्याकेट राखिदिई। नबुझ्ने छोरो दंग परेर मुसुमुसु हाँसिरहेको थियो। प्याकेट लिएर फर्कंदै गर्दा आमाले मैलो बरखी बारेको सेतो धोतीको फेरले आँसु पुछेको उसले देखेन।

फर्किने बेलामा सुन्तलीले सामान झोलामा हाली। हलुका कपडा छोरालाई समात्न दिई अनि छोरो डोहोर्याोउँदै घरतिर लागी। अलि वर कुइनेटोमा ठूलो पीपलको रूख थियो। रूखपछाडि सम्म परेको फाँट र फाँट पर्तिरबाट जंगल सुरु हुन्थ्यो। जंगलको मुखैनिर अघि राहत बाँड्न आएकाहरू वनभोज खाँदै थिए, कोही एक्लै विभिन्न पोजमा सेल्फी खिच्दै थिए। तीमध्येका एक जोडी युवायुवती हातमा हात राखेर बसेका थिए। पीपलको रूख कट्नै लाग्दा सुन्तलीले त्यस युवतीको बोली सुनी।

’खै, तिम्रो फोटो देखाऊ त। भरे म फेसबुकमा अपलोड गर्छु।’

’युवकले भन्यो, ’म त ट्वीटरमा हाल्ने हो, मस्ती फलोअर्स बढ्छ।’

एक छिन रोकिएर उसले फेरि थप्यो, ’बुझ्यौ, राहत त बहानामात्र थियो, वास्तवमा म आजको पूरै दिन तिमीसँग बिताउन चाहन्थेँ। अब यी सबै र पहिलेका फोटो मिलाएर काठमाडौंमा एउटा फोटो प्रदर्शनी गर्छु। त्यहाँ फोटो बिक्री भएको पैसाले अस्ति तिमीले भनेको ग्यालेक्सी ग्रान्ड किनिदिन्छु।’

समातेका हात अझ जोड लगाएर युवतीले सहमति जनाई। दुवै हाँसे।

माथिका अपलोडका कुरा नबुझे पनि तलका कुरा सुन्तलीले सुनी अनि बुझी। उसका पाइला धर्मराए। मन कस्तोकस्तो भएर आएपछि उसले बिर्खेलाई सम्झी। एकमन त सोची— अघि पाएको त्यही राहतका कपडा नै छोरासहित घाँटीमा बेरिएर बिर्खेकोमा जाऊँ! तर खै पछि के सोची कुन्नि, ऊ राहतको भारी बोकेर लुखुरलुखुर घरतिर लागी। छोरो उसको पछिपछि टुकुटुकु हिँडिरह्यो।

भोलिपल्ट काठमाडांैमा पढ्दै गरेको सुन्तलीको भाइले दिदी र भान्जाको फोटो कतैबाट फेसबुकमा देखेछ। आफ्नी दिदीलाई एक पोका सामानको लागि हाँस्न लगाएको बुझेर ऊ भक्कानो छाडेर रोयो। उसलाई लाग्यो( गाउँलाई मात्रै होइन, ती सेल्फी राहतकर्मीले त गाउँको खोला, जंगल र रूखबिरुवा समेतको धज्जी उडाएछन्स राहतको नाममा पिकनिक मनाएर!

http://nagariknews.com/nagarik-sanibar/story/51694.html

नागरिक दैनिकमा प्रकाशित मितिः २०७२ साल पुस १८ गते शनिवार