Article

राजु नेपाल भित्रको "म"

Raju Nepal

 

बाल्यकालामा क ख ग पढाउँदा गुरुले राम्रो "म" भनेर पढाउनु भएको यतिखेर झलझली याद आइरहेको छ । मेरा लागि यो म राम्रो हो कि नराम्रो हो भन्ने दोसाँधमा छ मेरो "म" । 

कसैलाई हेरेर ब्याख्या गर्नु र छामेर ब्याख्या गर्नुमा निक्कै फरक हुन्छ । अझ बुझेर ब्याख्या गर्ने काम त मेरा लागि फलामको चिउरा चपाए सरहनै हो । अझै गाह्रो मलाई त्यतिखेर लाग्छ जब आफ्नाबारेमा केही भन्नुपर्ने अवस्थामा पुग्छु । जिन्दगीका सबै पाटाहरु महत्वपूर्ण लाग्छन र सबै सामान्य लाग्छन् । कुन पक्षलाई पहिलो बनाउने र कुनलाई अन्तिम बनाउने भनेर जाँच्ने कुनै आधार नै भेट्दिन । त्यही पनि आफूलाई त चिन्नै पर्छ भन्ने अठोटले दवाव दिए झैँ लाग्छ ।  र अहिले त्यही निष्कर्षको जित भएको छ ।  

बाल्यकाल पुख्र्यौली थलो भक्तपुरको कटुञ्जेमै बित्यो । त्यतिबात्रै होइन जिन्दगीको उर्जाशील युवाअवस्था र औपचारिक शिक्षाको विट मार्ने बेलासम्म कटुञ्जे मेरा लागि फराकिलो नै थियो । जब सिंगो परिवारको दायित्व र अभिभाराले  थिच्न थाल्यो मलाई पनि सहर पस्न मन लाग्यो र पसें । चाहे कटुञ्जे बस्दा होस् वा अहिलेको स्थानमा, जानेर वा नजानेर मैले कसैको केहि बिगारेको छैन र भविस्यमा पनि बिगार्ने छैन । 

म यो भन्दिन मैले कहिल्यै झुठ बोलिन, तर के चाहिं भन्न सक्छु भने, कसैको जीवनमा नकारात्मक असर पर्नेगरी कहिल्यै झुठ बोलिन र भविस्यमा पनि बोल्दिन ।

धेरैले भन्ने गर्छन् "तँ जे देख्छस् त्यहि बोल्छस् र त्यहि नै तेरो जीवनको अभिषाप हो ।" कतिले त्यसलाई मेरो सबैभन्दा ठुलो गुण पनि भन्ने गरेका छन् । जसरी एउटा सर्पकोलागि मणी, सुन्दरीकालागि सुन्दरता, मृगकालागि कस्तुरी, र धनी मानिसका लागि धन बरदान र अभिषाप दुवै हुन्, त्यसैगरी मेरालागि पनि मेरो देखेको कुरा बोल्ने बानी वरदान र अभिषाप दुबै हुन पुगेको छ । कहिले काहिं लाग्छ, आफुलाई बदलौं, तर सायद सक्दिन वा गर्दिन थाहा छैन मलाई । 

मेरालागि बिषय सधैं गौंण हुन्, सम्बन्ध महत्वपूर्ण । तसर्थ मैले जीवनको कुनै कालखण्डमा कसैलाई केहि भनेर चित्त दुखाएको रहेछु भने म ह्दयबाटै माफि चाहान्छु । 

सनातन धर्ममा पूर्ण आस्था र बिस्वास राख्ने म भगवानसँग प्रार्थना गर्न चाहान्छु, 

"अर्को जन्ममा पनि मलाई यस्तै बनाइदेउ प्रभु ।।"