Article

अर्थ प्रवाह - २६ हामी कम्युनिष्ट नेपाली

Raju Nepal

 

 

गत साता हामी मोरङको रंगेली घटनाले दुःखी हुनुपरे पनि खुसी हुने केही कारण पनि पायौँ । खुसी हुनुको मुख्य कारण दुईवटा थिए । पहिलो, नेपाल आयल निगमले मोटरसाइकललाई ५ लिटरका दरले इन्धन बाँड्यो । दोस्रो कारण, ग्यास उत्पादकहरूले आधा होइन अब पूरा सिलिन्डर ग्यास दिने सपना बाँडे । 
लामो समयदेखि आयल निगमले निजी सवारी साधनलाई इन्धन नबाँड्दा पनि हामीले आफ्नो सवारी गुडाएकै थियौँ । तर, निगमले काठमाडौँका मुख्य सहरका चौडा बाटो दिनभरि जाम हुनेगरी इन्धन बाँड्दा र भएभरको सबै काम छाडेर केही घन्टा लाइनमा बसेर ५ लिटर पेट्रोल पाउँदा हामीले आफूलाई संसारकै भाग्यमानी ठान्यौँ । यी हाम्रा वर्तमान नियति र शासकहरूका गतिविधि हुन् । जनजीविकाप्रति उनीहरूको संवेदनहीनताले हामी अझै धेरै तल खस्ने निश्चित छ । हिजोसम्म नाकाबन्दीको कारण भारतमात्रै हो र हाम्रा कुनै पनि नेताको त्यसमा दोष छैन भनेर वकालत गर्दै हिँड्ने यो पंक्तिकार पनि अब आएर भन्न बाध्य भएको छ– आजको विषम परिस्थितिको जिम्मेवार कोही छ भने नेपालका शासक र नीतिनिर्माण तहमा बस्ने कर्मचारीतन्त्र नै छन् । 
अमानवीय नाकाबन्दीको चार महिना बितिसक्दा पनि जनतामा यसको असर कम गर्न कुनै पाइला नचाल्ने सरकारलाई के उपमा दिने ? प्रत्येक सेकेन्डको महŒव भइरहेको आजको विश्वमा नेपाली जनता भने ५ लिटर पेट्रोलका निम्ति दिनभर लाइनमा बस्नुपर्ने अवस्थाको जिम्मेवार को ? के अब हाम्रो खुसी संसारमा उपलब्ध सबै अवसरबाट वञ्चित हुँदै दिनभरि लाइनमा बस्नुमा सरेको हो ? संसारमा इन्टरनेटलाई मानवजातिको मौलिक अधिकारको रूपमा हेर्न थालिसकिएको स्थितिमा हामी भने सातामा ५ लिटर पेट्रोल, महिनामा एक सिलिन्डर ग्यास र दिनमा १२ घन्टा बिजुलीको लागि तड्पिनुपर्ने ? के पाप गरेका थिए नेपालीले विगतमा ? के सबै नेपालीले आजका नेतालाई यो ठाउँसम्म पु¥याउन उनीहरूले आह्वान गरेका सबै आन्दोलनमा शरीर, समय र स्रोत लगाएका थिएनन् ? त्यो बलिदानको बदला सरकारले जनतालाई दिने यही पीडादायी जीवनशैली हो ? संवेदनहीनता र क्रूरताको पनि हद हुन्छ ! 
अब निष्कर्ष निकाल्नुपर्ने बेला भएको छ, हामी किन संसारमा पछाडि प¥यौँ ? यो अवस्था कहिलेसम्म रहिरहने हो ? संसारका कतिपय देशका इतिहास केलाउँदा र विभिन्न शासनपद्धति तथा शासकहरूका किताब पढ्दा एउटामात्र निष्कर्षमा पुग्न सकियो, अब नेपाल पूर्णकम्युनिस्ट मुलुक भइसकेको छ, कम्युनिज्ममा जनताको दुःख यस्तै हुन्छ । सन् ५० देखि ८० को दशकमा दोस्रो विश्व भनिने कम्युनिस्ट मुलुकमा जनता जेमा खुसी हुन्थे, अब हामी त्यसैमा खुसी हुनुपर्ने भएको छ । किनकि, अब हामी कम्युनिस्ट मुलुकका गौरवशाली नागरिक हौँ । यस्तो लाग्छ– लाइनमा बस्नु हाम्रो नियति हो । अभाव हाम्रो भाग्य हो । हाम्रो खुसी र संसारका अरु देशका नागरिकका खुसीमा आकाश–जमिनको अन्तर छ । अमेरिका, बेलायतका कुरा त परै जाओस्, अब भारत र चीनका नागरिकले उपभोग गर्ने सुविधा पनि हाम्रा लागि सिनेमाको रमाइलोमा सीमित हुन पुगेको छ र यो क्रम अझ बढ्ने निश्चित छ । 
कम्युनिस्ट शासन प्रणालीमा सरकार सञ्चालन गरिन्न, राज्य कब्जा गरिन्छ । प्रथम संविधान सभाको निर्वाचनपछि बनेको पुष्पकमल दाहालको सरकारका एकजना वरिष्ठ मन्त्रीले भनेका थिए, हामी सरकारमा छौँ– राज्य हाम्रो छैन । उनको कुरा शतप्रतिशत ठीक थियो । सिद्धान्तअनुसार त्यहाँ राष्ट्रपति, उपराष्ट्रपतिलगायत विभिन्न पदमा गैरकम्युनिस्टहरू थिए । तर, आज दिन बदलिएको छ । नेपालमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, प्रधान मन्त्री, उपप्रधान मन्त्री, गृह, अर्थ र रक्षामात्रै हैन धेरैजसो कर्मचारीसमेत पूर्णकम्युनिस्ट छन् । अब हामी दैनिक जीवनका अत्यावश्यक सामानको लागि लाइनमा नलागेर के गर्नु ? हामीले लाइन लागेर भोट हालेकै भोलिका दिनमा लाइनमा बसेर इन्धन किन्छु भन्नलाई थियो ! एक किलो चिनी किन्न साल्ट टे«डिङको लाइनमा जान्छु भन्नलाई थियो ! 
समाचारमा देखिन्छ, सुनिन्छ उत्तर कोरियाका शासकका कारण त्यो देशमा मानवीय संकट व्याप्त छ । तसर्थ, संसारका अरु शासकले उत्तर कोरियाका शासकलाई तानाशाह भन्छन् । अर्को समाचारले भन्छ, भारतीय नाकाबन्दी र त्यसबाट उत्पन्न समस्या अनि उक्त समस्या समाधान गर्न हालको सरकारले नचाहेका कारण नेपालमा मानवीय संकट परिरहेको छ । अब हाम्रा शासकचाहिँ के त ? सिरियामा युद्ध छ, मानिस मरिरहेका छन् । गत साता आएको समाचारमा त त्यहाँका केही स्थानमा मानिस खानेकुराको अभावमा माटो खान थाले रे ! अनि हामी अर्थ लगाउँछौँ त्यहाँका शासक तानाशाह हुन्, इतिहासकै क्रूर हुन् । 
नेपालमा गोरखा, सिन्धुपाल्चोक, रसुवालगायतका क्षेत्रमा भूकम्प गएको ९ महिनापछि पनि पीडितले राहत पाएका छैनन् । चिसोका कारण ती स्थानका सर्वसाधारण मरिरहेका छन् । सरकार निदाएको बहाना गरिरहेको छ । हामी कम्युनिस्टराजमा छौँ, त्यसैले हामीले सरकारले जे भन्यो त्यसमा ताली बजाउनैपर्छ । हामीले कहिल्यै सोच्यौँ संसारले हामीलाई के भन्दै होला ? कति निकम्मा सरकार भन्दै होलान् ? 
कुनै पनि मुलुकमा सरकार बन्छ, त्यो सफल वा असफल हुन्छ । अधिकांश सरकार असफल हुने कारण कि त राम्रो काम गर्न नसकोले हुन्छ कि त भ्रष्टाचार मौलाउनाले । तर, विश्व इतिहासमा विरलै सुनिने र देखिने कालोबजारी सरकार भनेर सबैले भनिरहँदा पनि हामी मौन छौँ । जब सरकार नै कालोबजारलाई प्रोत्साहन गर्न अगिसर्छ, तब जनताले भोग्नुपर्ने अवस्था कस्तो होला ? यो हो नेपालीको आजको विडम्बना ! 
सरकारले सय दिन पूरा ग¥यो । सबैलाई थाहा छ, यो अवधिको उपलब्धिशून्य छ भन्ने । यो अवधिमा मुद्रास्फिति बढेर झन्डै १२ प्रतिशतको हाराहारीमा पुग्यो । अत्यावश्यक सामानको भाउ ४५ प्रतिशतसम्म बढ्यो । हामी हरेक दिन अत्यन्त गरिब बन्दै गइरहेका छौँ । तर पनि सरकार मौन छ, किनकि हामी कम्युनिज्म मौलाएको देशका नागरिक हौँ । अब त यस्तो लाग्छ, कालोबजारी हाम्रो पेशा हो अनि कृत्रिम अभाव हाम्रो साझा चरित्र । 
हरेक दिन प्रधान मन्त्री र मन्त्रीहरूको ‘जनहितका निम्ति’ भनिएको भाषण सुनिन्छ अनि पढिन्छ । तर, यथार्थमा आजसम्म यस्तो एउटा समाचार पढ्न पाइएको छैन– जहाँ सरकारले कुनै निर्णय लिएको होस् जनताको सुविधाको लागि । बरु सबै मन्त्री भन्छन्, यस्तो हुनुप¥यो– उस्तो हुनुप¥यो । कसैले यस्तो गरेँ भन्दैन । किनकि हामी कम्युनिस्ट राज्यमा छौँ र त्यस्तो राज्यमा यस्तै हुन्छ । कम्युनिस्ट शासन व्यवहारबाट हैन, किताबबाट चल्छ र सय वर्षअघिको त्यो किताबमा यही कुरा लेखिएको छ, जुन कुरा हाम्रा अहिलेका शासकहरू गरिरहेका छन् ! 
मन्त्रीहरूले जे पायो त्यो बोल्ने अधिकार प्रधान मन्त्रीबाट पाएका छन् । जनतालाई तत्काल राहत र सुविधा दिने कुनै मनशाय नभएका प्रधान मन्त्री कहिल्यै पूरा गर्न नसकिने आश्वासनमुखी भाषण गर्छन्, अनि हामी त्यही कुरा पत्याउँछौ र हातै दुःख्नेगरी ताली बजाउँछौँ । किनकि, हामी कम्युनिस्टपथमा हिँडेको मुलुकका नागरिक हौँ । प्रधान मन्त्री भाषणमार्फत् जनताको कानलाई खुसी पार्छन् । यो गरिदिन्छु र त्यो गरिदिन्छु भनेर अनि हामी जनता पनि उनको हरेक भाषणमा ताली बजाएर उनको कानलाई आनन्दित पारिदिन्छौँ । नतिजा, हात लाग्यो शून्य ।  
७० को दशकमा सोभियत संघमा मानिस अधिकांश समय लाइनमै हुन्थे रे ! पाउरोटीको लाइनमा हरेक दिन घरको बूढो मानिस जाने गरेको यथार्थ हामीले सुनेकै हौँ । आज आएर हामी त्यही नियतितर्फ अग्रसर भइरहेका छौँ । हरेक दिन घरका एक न एकजना लाइनमा बस्न नगएको नेपाली होला र अचेल ? किताबी कम्युनिज्म संसारबाटै करिबकरिब लोप भइसक्यो, तर हामी भने त्यही कुरा हुबहु प्रयोग गर्ने प्रयासमा छौँ ! अमेरिकालगायत विश्वका प्रजातान्त्रिक मुलुकले त्यस्तो व्यवस्था अन्त्यका लागि धेरै पैसा र समय खर्च गरे । भारतजस्तो ठूलो देशको एकाध राज्यमा भएका कम्युनिस्टलाई सरकारबाट विस्थापित गर्न विभिन्न पार्टीसमेत फुटाइयो । हामी भने त्यही पुरानो पद्धति लागु गर्ने क्रममा छौँ । हामीलाई देशको विकासका निम्ति विभिन्न देशको सहयोग चाहिएको छ, तर जबसम्म अहिले देखापरिरहेको कम्युनिज्मउन्मुख अवस्था रहन्छ हामीलाई कसैले फर्केर पनि हेर्ने छैनन् । खोप, परिवार नियोजनजस्ता मानवीय सहयोगबाहेक अब नेपालमा ठूला सहयोगमा गिरावट आउन थालेको र भएका पनि पलायन हुन थालेको हामीले सुने–बुझेकै हो । हामीसँग सरकारको जस्तै आत्मरतिमा रमाउनुबाहेक अर्को कुनै विकल्प छैन । सरकार बनेको ४ महिना हुन लाग्दा पनि प्रधान मन्त्रीले एउटा छिमेकी मुलुकको भ्रमण गर्न सकेका छैनन् । कारण स्पष्ट छ, आजको जमानामा सय वर्ष पुरानो किताब लिएर सरकार चलाउँछु भन्नेसँग कुरा गर्न कसलाई फुर्सद होला र ?
युवा जनशक्तिमध्ये पढाइ राम्रो हुनेहरू विकसित मुलुक र कमजोर शिक्षा हुने तर काम गर्न सक्ने खाडी मुलुक जाने क्रम रोक्ने हामीसँग कुनै उपाय छैन । यसले आगामी २५ वर्षमा पार्ने असरको कल्पना अहिले गर्न गाह्रो छ । हिजोसम्म छोराछोरी विदेश गएर पढेर पर्केपछि देशको सेवामा आउन् भनी इच्छा गर्ने अभिभावक अब स्वदेश नफर्क भन्न थालेका छन् । किनकि, मुलुकमा अब पूर्णकम्युनिस्ट शासन पद्धति लागु हुँदैछ । र, यस व्यवस्थामा यस्तै हुन्छ । कम्युनिस्टलाई जति दोष दिए पनि कम हुन्छ, तर दोषबाट उम्कन यो मुलुकको एकमात्र लोकतान्त्रिक तथा गैरकम्युनिस्ट पार्टी नेपाली कांग्रेसले पनि पाउँदैन । यस्तो विकराल परिस्थिति देशमा आइसक्दा पनि कानमा तेल हालेर बसेको छ उक्त पार्टी । सत्तामा जान कहिले आफ्नो पालो आउला भनेर चुपचाप बस्ने कांग्रेस पनि जनविरोधी पार्टी नै हो । यही सोचाइमा कांग्रेस रहिरहने हो भने, उनीहरूको उज्यालो भोलि कहिल्यै नआउन सक्छ ! 

 

http://www.nagariknews.com/opinion/story/53155.html

नागरिक दैनिकमा प्रकाशित मितिः २०७२ माघ ११ साेमवार