Article

धार्मिक स्वतन्त्रता कि धर्म सापेक्षता

Raju Nepal

धार्मिक स्वतन्त्रता चाहिन्छ, देश धर्म निरपेक्ष भए हुन्छ

कसैले तिमी को हौ भनेर सोध्यो भने मैले धर्म जोडेर आफ्नो परिचय दिन्न । कुन धर्म मान्छौ भन्ने प्रश्नमा म छाति फुलाएर भन्न सक्छु– हिन्दु । म हिन्दु हुँ त्यसकारण हाम्रो धर्मले र शास्त्रले सिकाएका कुरा संभव भएसम्म पालना गर्छु । धर्मका नाममा यो किन गरिरहेको छु भन्ने प्रश्न पनि मेरो मनमा आउँदैन । ‘शास्त्रमा लेखिएका कुरा किन भनेर नसोधी पालना गर्नु’ भन्ने भनाई छ, म त्यसै गर्छु । मलाई मेरो धार्मिक स्वतन्त्रता चाहिन्छ, म मेरो देशमा बसेर आफ्नो शास्त्र र पुर्वजले सिकाए अनुसारका सबै धार्मिक काम गर्दा कसैको बाधा बन्देज मलाई स्वीकार्य छैन । धर्मका नाममा हुने÷गरिने हस्तक्षेप म ठाडै स्वीकार गर्छु । अरुका धर्म र उनीहरुको धर्मले सिकाएका संस्कृतिका बारे म टिकाटिप्पणी गर्न चाहन्न ।
एक कट्टर हिन्दु ब्राह्मण परिवारमा जन्मिएको नेपाली हुँ, धार्मिक अनुशासन पालना गर्न दुनियाँको कुनै पनि ताकतले मलाई रोक्न सक्दैन । तर धार्मिक विभेद गर्दिन । अरुका धर्मको सम्मान र आफ्नो धर्म पालना गर्नुपर्छ भन्ने कुरा पनि मलाई मानवीय धर्मले सिकाएको हो । म प्रत्येक देवी देवताका मन्दिरमा गएर टाउको ठोक्काउँछु, पबित्र नदीहरुमा गएर पुसको जाडोमा बिभिन्न मन्त्र पाठ गर्दै स्नान गर्छु । प्रत्येक मन्दिरका घण्टी बजाउँछु  र आफू पुगेका मन्दिरका पुजारीको हातबाटै टिका ग्रहण गर्छु, आर्शिवाद लिन्छु ।  धर्मका नामका ‘वाद’हरू मलाई अस्वीकार्य छन् । मलाई मगर पुजारी भएको मनकामना होस् या झुमा पुजारी भएको मुक्तिनाथ, चौधरी पुजारी भएको गढीमाई होस् वा नेवार पुजारी भएको मैतिदेवी, मधेशी सम्प्रदायका पुजारी भएको छिन्नमस्ता होस् वा पहाडिया पुजारी भएको उग्रतारा सबै मन्दिरप्रति बराबर श्रद्धा लाग्छ । जब ती मन्दिरहरुमा जान्छु हाम्रो धर्म संस्कारले सबैलाई बराबर देखेकोमा गर्व पनि लाग्छ । आफैलाई कोट्याउछु र सोध्छु के हाम्रो धर्मले जात र लिङ्गका आधारमा विभेद गर्दाे रहेछ त ? त्यसो त जुनजुन क्षेत्रमा जुन जातिको बाहुल्यता ती क्षेत्रका मन्दिरहरुमा अधिकाशं पुजारी तीनै जातिका हुन्छन् । उदाहरणनै दिन खोजियो भने लामो सूचि बन्न सक्छ ।
हिन्दु धर्मावलम्वीभित्रै जातपातका कुरा हुन्छन, महिला पुरुषका कुरा उठ्छन् । विभेद भएका कुराहरु आउँछन । तर हिन्दु धर्मले कहिल्यै पनि यस्ता कुरामा भेदभाव गरेको छैन । म प्रष्ट छु यी सब कुरा हाम्रो धर्म होइन, संस्कारभित्र पर्छन । धर्म र संस्कार त फरक कुरा हुन् नि । हामीले आजसम्म किन कुरा बुझ्न सकेनौ र धर्ममाथि प्रहार गरिरह्यौ ? हिन्दु धर्मले महिला पुरुषमा विभेद गर्ने भए हाम्रो धर्ममा शक्तिका भगवानहरु किन महिलामात्रै छन ? हामीले कहिल्यै पनि सोचेनौ र धर्मलाई आक्षेपमात्रै लगाईरह्यौ ।  कतिले धर्म परिवर्तनको कारक नै यिनै कुराहरुलाई मान्ने गरेका छन् । यो सरासर गलत कुरा हो । धर्मले जातपात, महिला पुरुष र धनि गरिब कहाँ छुट्याएको छ ? हाम्रै धर्ममा कृष्णसुदामाको मित्रता बलियो छ, धन, शिक्षा र वलका देवीहरु महिलालाई नै मानिएको छ अनि मन्दिरमन्दिरमा जातजातका पुजारी छन्, महिला र पुरुषहरु छन् । यति हुँदा हुँदै पनि धर्ममा विभेद देख्छौ भने हाम्रो दृष्टिमै दोष छ, खोट छ  । 
नेवार समुदायले धेरै मान्ने जिवित देवी कुमारीको खुट्टामा मैले ढोगेको देखेर मलाई मेरा धेरै साथीहरुले सोधे–किन ? मेरो जवाफ प्रष्ट छ पहिलो कुरा त उनी जिवित देवी हुन्, दोस्रो कुरा बच्चा हुन र तेस्रो उनी छोरी हुन् । जिवित देवी हुनु उनको पृथकता हो, हाम्रो धर्मले बच्चालाई भगवानको रुपमा लिन्छ र छोरीलाई पुज्ने हाम्रो चलन नै छ । त्यसैले उनको खुट्टामा टाउको ठोक्नु मेरो धर्म हो । एकचोटी दक्षिण भारतको एकजना साथीलाई सोधेँ– तिमी कुन धर्म मान्छौ ? उनको जवाफ थियो ‘म प्राक्टिसिंङ हिन्दु हुँ, हिन्दु धर्मको अभ्यास गर्छु ।’ उनको जवाफमा तर्कहरु थिए । हो, धर्म मान्ने होइन, अभ्यास गर्ने हो अभ्यासका क्रममा आफसेआफ मानिन्छ । 
यस बर्ष मेलाको अबसर पारेर म बारा पुगेको थिएँ, गढीमाई मन्दिरमा दर्शन गर्न । म जानु अघि र पछिपनि गढीमाईमा दिइने र दिइएको पशुबली बारे चर्काे मिडियाबाजी भइरहेको थियो । पशुअधिकारको कुरा गर्नेहरु र धर्मसंस्कृतिको रक्षा गर्नुपर्छ भन्नेहरूबीच निकै ठूलो मतभेद थियो । बलि चढाइएका पशु व्यस्थापनको कुरा अर्काेतिर उठिरहेको थियो । अनेक कोणबाट बिरोध गरिएको थियो गढिमाईमा दिइएको पशुवलीबारे । तर मैले त्यो बिरोध के कुराको थियो छुट्याउन सकिन भने के पशुपक्षिंको हत्या हिन्दु धर्ममा मात्रै हुन्छ र त्यो पनि गढीमाईमा मात्रै ? हाम्रा त देवीका प्रत्येक मन्दिरहरुमा भाकल हुन्छन् र बलि चढाइन्छन । यतिमात्रै होइन हाम्रा कतिपय भैरव र गणेशका मन्दिरमा समेत बली दिइन्छ । अनि, बलि दिने बिधिको आलोचना गरिएको हो भने त्यतिधेरै दर्शनार्थी आउने र हजारौँको संख्यामा बलि चढाएको मन्दिर साँच्चिकै व्यवस्थित थियो । बरु त्यति व्यवस्थित हुँदा हुँदै पनि बाहिर गलत प्रचार भएको भन्दै मन्दिर व्यवस्थापन र सुरक्षाकर्मीसँग भेट भएका बेला उनीहरुले गुनासो गरेका थिए । त्यो बिरोध पम्पराको हो कि, पशुबलीको हो कि, विधि प्रकृयाको हो आजसम्म चित्तबुझ्दो जवाफ पाउन सकेको छैन । यसै पनि बलि प्रथा विस्तारै कम हुँदै गएको छ, पशुपंक्षिमा ठाउँमा नरिवल र फलफूलहरु प्रयोग गर्न थालिएको छ । चेतनास्तर बढ्दै जाँदा मान्छे आफै परिवर्तन हुन्छ, कसैले जबर्जस्ती गर्नुपर्छ र ?
धर्मका बिरुद्धमा ठूला ठूला दुष्प्रचारहरु भएका छन् । हामी नेपालीलाई पनि उक्साइएको छ । धर्म नै विभेदको कारक हो भन्न लगाइएको छ । साँच्चै धर्मका नाममा भयानक खेति भइरहेको छ । जनचेतनाका नाममा गाउँ पसेर धार्मिक आस्थाका बिरुद्ध भडकाउनेहरु सलबलाई रहेका छन् । यस्तो बेलामा हामी पनि तिनै कुराहरुको पछि लाग्ने कि सचेत हुने ? विश्वका ठूला ठूला युद्ध धर्मकै कारण भएका छन् । त्यस्तो परिस्थिति हाम्रो देशमा पनि नआओस्, धर्मका बिरुद्धमा सोझा जनतालाई नभड्काइयोस् । धर्मलाई राजनीतिको अखडा बनाएर मानविय संवेदनामाथि खेल्ने काम कहीँ कतैबाट पनि हुनुहुँदैन । धर्म हाम्रो आस्था हो । 
भनाई नै छ, खोला, माया र आस्थाको गति कहिल्यै पनि रोकिन्न, कहिल्यै बदलिन्न । ‘कसैले आस्था बदल्यो’ त्यो कुरामाथि म कदापी विश्वास गर्दिन । त्यहाँ आस्था परिवर्तन भएको कसले देख्यो ? धर्म परिवर्तन भएको कसले देख्यो ? यस्ता घटनामा मैले केबल स्वार्थ बदलिएको देख्छु । त्यसैले म धर्म परिवर्तनको बिरोधी हुँ । आफ्नो स्वार्थ सिद्ध गरेर मैले धर्म परिवर्तन गरेँ भन्ने हक कसैलाई पनि छैन ।  धर्म परिवर्तन गरेको भोलिपल्टैदेखि अर्काे धर्म मान्नेहरुको स्वाभिमानमा आँच आउने किसिमको कुरा गर्ने छुट पनि कसैलाई हुँदैन । बर्षाैदेखि, पुर्खाैदेखि चलिआएको धार्मिक आस्था कसरी परिवर्तन गर्न सकिन्छ हँ ? तर्क गर्नेहरु भन्छन् ‘धर्म परिर्वतनको अधिकार दिनुपर्छ ।’ उनीहरुलाई सोध्न चाहन्छु धर्म कसरी परिवर्तन हुन्छ र स्वार्थ परिवर्तनलाई के आधारमा धर्म परिर्वतनको नाम दिने ? कसैले चित्त बुझ्दो जवाफ दिएछन् भने स्वीकार गर्न मलाई कुनै आपत्ती छैन । 
हिन्दु धर्मका धेरै कुरा पालन गर्ने भएकाले आफूलाई कट्टर हिन्दु हुँ भन्न नै रुचाउँछु म । त्यसैले हिन्दु धर्मको धेरै उदाहरण दिएँ । यसको मतलब हिन्दु धर्ममा मात्रै स्वतन्त्रता हुनुपर्छ भन्ने मेरो आशय होइन । मेरो धर्ममा जस्तै स्वतन्त्रता अरुको धर्ममा पनि हुनुपर्छ । चैत्य, बिहार, चर्च र मस्जिद जहाँ जान मन लाग्छ कसैको रोकतोक बिनानै जान पाउनुपर्छ आफ्नो भगवान मान्न पाउनुपर्छ । नेपालमा बस्ने मुस्लिम र पाकिस्तानमा बस्ने हिन्दुले धर्मका कारण ममाथि विभेद भयो भन्ने महसुस गर्ने वातावरण बन्नु हुँदैन । युरोपका बुद्धिष्ट र जापानका इसाइहरुले कहिल्यै पनि उपेक्षित भएको महसुस गर्ने दिन आउनु हुँदैन । अहिले त्यस्तो भइरहेको छ भने बरु अन्त्यका लागि आवाज उठाउँने आँट गर्नुपर्छ । बस् यही हो धार्मिक स्वतन्त्रता । 
तर अहिले धार्मिक स्वतन्त्रतालाई सापेक्षतासँग जोडेर राजनीति गर्नेहरुको जमात बढेको छ । २०६३ साल अघि नेपाल हिन्दु राज्य नै थियो । अन्तरिम संविधानले देशलाई धर्म निरपेक्ष घोषणा गरेपछि धेरै पक्ष त्यसमा सहमत पनि देखिएका छन् । त्यसो त देशलाई धर्म निरपेक्ष बनाउनु हुँदैन भने आवाज त्यतिबेलै पनि नउठेको भने होइन । तर जब पहिलो संविधानसभा असफल भएर दोस्रोपटक चुनाव भयो, धर्मका नाममा राजनीति असाध्यै धेरै भएर आयो । धार्मिक संगठनहरू सक्रिय हुन थाले, देशलाई हिन्दु राज्य नै बनाउनुपर्छ भन्ने माग गर्दै विभिन्न पक्षहरुबाट विभिन्न खाले कार्यक्रमहरु पनि हुने गरेका छन् । 
लोकतन्त्र भन्नु नै बहुमतले निर्णय गर्ने र अल्पमतको कदर गर्ने संस्कृति हो । लोकतन्त्रलाई स्वीकारेको हाम्रो देशले यस्तै मागहरुको संवोधन गर्न हिन्दु धर्मलाई मात्रै लाद्ने काम ग¥यो भने परिणाम के होला ? हिन्दु राज्यलाई मुसलमान वा बुद्ध धर्मवालम्बीहरुले कसरी आफ्नो भन्ने ? यहाँ कसरी सुरक्षित महसुस गर्ने ? के हाम्रो धर्मले यस्तै अधिनायकबादी बन्न सिकाएको हो त ? होइन भने धर्मको राजनीतिमा देशलाई कहिलेसम्म बन्धक बनाउने ? 
जबसम्म म डोलेश्वरमा गएर निर्धक्क रुद्री गर्न पाउँछु, कार्यविनायकको मन्दिरमा गएर लड्डु चढाउन पाउँछु, कुनैपनि देवीका मन्दिरमा गएर मेरो परम्परा र आस्था अनुसार पूजा गर्न पाउँछु, जबसम्म बुद्ध धर्म मान्ने मेरो साथीलाई स्वयुम्भुमा वा गुम्वामा गएर ध्यान गर्न कुनै रोकतोक हुँदैन, जबसम्म मेरो मुस्लिम साथी जामे मस्जिदमा प्राथना गर्न कोहीसँग डराउनुपर्दैन, हामीलाई देश धर्म निरपेक्ष भएर के अप्ठ्यारो पर्छ ? आफ्नो धर्मप्रति कटिबद्ध हुनेलाई देश धर्म सापेक्ष र निरपेक्ष हुनुको कुनै अर्थ हुन्छ जस्तो मलाई लाग्दैन । तर बारम्बार स्वार्थ परिवर्तन गर्न चाहनेहरुलाई जुन कुनै पनि वाद र व्यवस्थाले रोक्न सक्दैन । धर्मका नाममा राजनीति गर्नेहरुले यति कुरा त पक्कै पनि बुझेका होलान । र पनि, उनीहरु धर्मको ढाडमा टेकेर राजनीति गरिरहेका छन् भने कसैका लागि राम्रो परिणाम निस्किँदैन । यो उनीहरु स्वयम्का लागि पनि घातक हो । त्यसैले अरुको धर्मको सम्मान गरौँ र आफ्नो धर्म पालना गरौँ । हाम्रो देश धर्म निरपेक्ष भएकैमा हामीले गर्व गर्नुपर्ने धेरै कारण छन् । 
धर्मका नाममा राजनीति गर्न र अनेकखाले प्रचारबाजी गर्न धार्मिक स्वतन्त्रता र धर्म सापेक्षतालाई एउटै टोकरीमा हाल्न मिल्छ ? पक्कै पनि यी दुई फरक कुरा हुन् । त्यसैले एक कट्टर हिन्दु भएर मैले संबिधान निर्मातासँग केही माग्नु प¥यो भने म माग्छु – मलाई धार्मिक स्वतन्त्रता चाहिन्छ, देश धर्मनिरपेक्ष भएर केही फरक पर्दैन ।