Article

अनुभूति - बालसखाकाे अन्तिम बिदाइ ।

Raju Nepal

शनिबारको दिन,घाम पनि झोलुङ्गामा हल्लिँदै आएझैँ पूर्वी क्षितिजबाट सुस्तरी धर्तीलाई चिहाउँदै थियो । तुवाँलोले ढपक्क ढाकिएको पृथ्वी पुसको ठन्डी ओढेर लोसे पाराले आएको बिहानीको स्वागतमा तम्तयार हुँदै आएको थियो । मानिसहरु उठेर दैनिक क्रियाकलापमा ब्यस्त हुँदै थिए । मोटर गाडीको घर्घराहटले बिहानको निस्तब्धता छिचोल्दै थियो । केहि मानिसहरु आ– आफ्ना गन्तब्यतिर लम्किरहेका देखिन्थे ।

बिहानीको यात्राबाट फर्केपछि हुतराज आफ्ना छोराछोरीसँग खेल्दै थियो । आज छ्ट्टीको दिन । ऊ छुट्टीमा प्राय बाहिर जान मन पराउँदैन । यो उसको परिवारका लागि छुट्याइको दिन हो । नत्र त ऊ ब्यस्त छ, अति ब्यस्त; यो शहर जत्तिकै ब्यस्त । हप्ताका छ दिन ऊ आफैँलाई फर्केर हेर्न भ्याउँदैन । आज आफूलाई निहार्न तथा छोराछोरीका निम्ति पिताको शीतल छहारी दिन ऊ घरै बसेको थियो । श्रीमतीले दिएको चियाको चुस्की सकिएको थिएन । अकस्मात् फोनको घण्टी बज्यो । सामान्यतः उसलाई शनिबार कसैको फोन समेत उठाउन मन पर्दैन । आज किन हो, ऊ त्यसै उठेर फोन भएतिर गयो ।

किन किन उसको मनमा अनौठा भावहरु आइरहेका थिए । कुनै अनिष्टको आशङ्काले उसको छाति बोझिलो भैरहेको थियो । नजानिदो अत्यासले बिहानैदेखि उसको मनमा डेरा जमाएको थियो । सायद त्यसैले ऊ फोन उठाउन गयो । संयोगले ,फोन उसकी बाल्य सखा सबिताको रहेछ । उनी त्यति धेरै फोन गर्दिनन् र बिना काममा त झनै गर्दिनन् । आज अचानक उनको आवाज सुनेर उसलाई आश्चर्य लाग्यो र साथसाथै खुशी पनि । उसले औपचारिकता बस् केहि सोध्न नभ्याउँदै सबिताले भनिन् ,
“हुतराज तिमीले लक्ष्मणका बारेमा थाहा पायौ ?”

लक्ष्मण उसको बालापनको हितैषी मित्र थियो । लक्ष्मणको प्रसङ्ग आउना साथ उसको मनमा चिसो बरफझैँ ठिहि¥याउने भावहरु मडारिएर आए । केहि दिन अघि उसले लक्ष्मण बिरामी परेको खबर सुनेको थियो । उसले ढुक्ढुकाउँदो मनले बिस्तारै जिज्ञासा राख्यो । 
“अहँ ? के भयो र ?”

“लक्ष्मण त बितेछन् नि ?” सबिताले सुष्क स्वरमा भनिन् । उसका आँखा अघि छिपछिपे अँध्यारो भरिएर आयो । मुटु जोडले थर्थरायो । उसले सकेसम्म आफूलाई सम्हाल्ने प्रयत्न गर्दै सोध्यो । 
“कहिले ? कहाँ ?”

“भक्तपुमै हिजो राति ।” सबिताको बोलिमा पनि कुनै उत्साह थिएन । उसले पनि यसअघि केहि सुन्ने हिम्मत गर्न सकेन । उनी अझै केहि भन्दै थिईन् । उसले बुझेन । उनको बोली टाढा कतैबाट आएको झैँ धमिलो भएर उसको कानमा ठोकिई रहे । उसले कुनै प्रतिकृया जनाउन सकेन । फोन राखेर ऊ सोफामा लमतन्न पर्यो । दुबै हातमा टाउको अड्यायो र आँखा चिम्लियो । उसका आँखाका कुनाबाट एकनासले आँशुका थोपाहरु चुहिए । उसले तिनलाई पुस्ने प्रयत्न गरेन । मनमा सिर्सिराउने चिसो हावा चल्यो । त्यहि हावाले उडाएर उसका बालापनका केहि मृदु स्मृतिहरु यत्रतत्र छरिदियो ।

हुन त केहि दिन अघि लिलाले फोन गरेर लक्ष्मणका बारेमा उसलाई बताएकी थिईन् । लक्ष्मणलाई लिभरको क्यान्सर भएर अस्पतालमा राखेको कुरा उसले थाहा पाएको थियो । तैपनि ऊ हेर्न जान सकेन । ऊ बिरामी हेर्न सक्दैन । उसको छाति थेग्नै नसक्ने गरी गह्रुङ्गो हुन्छ । आफ्नो यहि कमजोरीले ऊ निकै मर्माहत हुने गरेको छ ।  केहि वर्ष पहिले आफ्नै पिताको आखिरी अवस्थामा पनि ऊ अस्पतालको शैयासम्म पुग्न सकेन । हरेक दिन उहाँलाई राखिएको कोठाको ढोकासम्म जानु र उहाँको अवस्थाको बारेमा जानकारी राख्नु उसको दिनचर्या बनेको थियो यद्दपि उसले भित्र पसेर उहाँको अन्तिम दर्शन गर्ने हिम्मत जुटाउन सकेन । भित्रबाट उसका पिता उसलाई हेर्ने अन्तिम इच्छा ब्यक्त गरिरहनु हुन्थ्यो अनि ऊ बाहिर आफ्नो छातिमा हातले थिचेर रुँदै बस्दथ्यो । उसले लक्ष्मणलाई पनि हेर्न जाने हिम्मत जुटाउन सकेन । जिन्दगीको अन्तिम मोडमा पुगेर आफ्नो अन्तरङ्ग मित्रलाई अन्तिम हात हल्लाउने मन त थियो तर आफ्नो कमजोरी माथि उसले यसपटक पनि विजय पाउन सकेन ।

उसका आँखा आँशुले टम्म भरिए । तिनै आँशुमा मिसिएर उसको स्वच्छन्द बालापन गालाभरि छरियो । ती दिन ज्यादै प्रिय थिए । भक्तपुरका गल्ली गल्ली चहार्दै स्कुल दौडिनु ,एक आपसमा भलाकुसारी गर्नु , कहिलेकाहिँ कुनै कुरामा मत नमिले लात्ता हानाहान गरेर चल्नु अनि तुरुन्तै सुलह गर्नु , यस्तै थियो लक्ष्मण र उसको मित्रता । कहिँ कतै स्वार्थको नाम निशान थिएन । आज ती दिनको सम्झनाले मात्र पनि उसको मन शीतल हुन्छ । आज उहि परम मित्रको मृत्युको खबर उसले सुनेको थियो । मनको कुनै ठेगान थिएन । त्यो घरि रुन्थ्यो त घरि अतिततिर फर्किएर जान्थ्यो । उसले के गर्ने के नगर्ने भन्ने विषयमा कुनै निक्र्योल गर्न सकेको थिएन । त्यसै बेला अर्को साथीले लक्ष्मणलाई दाहसंस्कारका निम्ति घाटमा पुर्याएको खबर दियो । उसको दिमाग स्तब्ध भयो । मनमा भक्कानो छुट्यो । ऊ मनको भेलमा बहकिँदै भर्यांङ ओर्लियो । थर्थराउँदो छातिलाई सम्हादै गाडी निकाल्यो र साथीले बताए अनुसार लक्ष्मणलाई लगिएको भनिएको हनुमान घाटतिर लाग्यो । बाटोभरि उसको मनमा अतितको याद बल्झिरह्यो ।

लक्ष्मण मध्य चालिसको उमेरमा थियो तर पनि उसको कपाल फुलेको थिएन । उसका गाला पोटिला थिए । पातला ओठ माथि काला बाक्ला जुँगा ज्युँका त्युँ थिए । ऊ आफ्ना उमेरका साथीभाइभन्दा उमेरले दश वर्ष कान्छो जस्तो देखिन्थ्यो । उसको हँसमुख बानिले गर्दा ऊ सबैका बीचमा प्रिय थियो । आफ्ना बानी र ब्यबहारले उसले कसैको चित्त दुखाएको थिएन । सायद त्यसैले उसका धेरै शुभ चिन्तक थिए । उसको सरल ब्याबहार र मीठो बोलीले लक्ष्मणलाई विशिष्ट पारेका थिए । ऊ भक्तपुरकै एक विद्यालयमा विज्ञान शिक्षकका रुपमा अध्यापन गर्दथ्यो । उसका प्रशस्त विद्यार्थी थिए । तिनका बीचमा ऊ लक्ष्मण सरका रुपमा आदरणीय थियो ।

गएको वर्ष मात्र उसले आफ्नो छोरोको व्रतबन्ध गरेको थियो । त्यहाँ उसका प्रायः सम्पूर्ण साथीहरु आमन्त्रित थिए । छोराको व्रतबन्धको पार्टीमा आइदिएकोमा लक्ष्मणले उसलाई पटक पटक धन्यबाद भन्यो । त्यतिबेला हुतराजलाई छातिभित्र कता कता कसैले चिमोटी दिएझैँ भएको थियो । उसले आफ्नो बाल्य सखाका दुबै हात समातेर यसरी बारम्बार धन्यबाद नभन्न आग्रह गर्दै भनेको थियो , “बरु तिमीले आफ्नो भोजमा मलाई सम्झिदिएकोमा धन्यबाद !” हुतराज विशिष्ट ब्यक्ति भएको ठान्ने लक्ष्मणलाई पत्याउन सायद गाह्रो परेको हुँदो हो कि हुतराज अझै पनि उसको मित्र हो , केटाकेटीमा लात हान्दै खेलेको मित्र । हुतराजलाई लक्ष्मणको त्यो निस्वार्थ मित्रताको तिर्सना अझै मरिसकेको थिएन । ओहेदाले ऊ जतिसुकै माथि भए पनि मित्रतामा ऊ त्यहिँ थियो , आसपास मै । 

गाडी भक्तपुरतिर मोडिँदा पनि उसलाई आफ्नो स्कुले जीवन र लक्ष्मणकै यादले पिरोलिरहे । भक्तपुर प्रवेश गरेदेखि नै उसका आँखा सामु लक्ष्मणसँग बिताएका अमूल्य क्षणहरु फन्को मारिरहेका थिए । मन हिउँझैँ जमेको थियो । उसले बाटोमा दायाँ बायाँ केहि देखेन । आँखामा केबल लक्ष्मण र मनमा उसको बियोगको पिडामात्र उसले महशुस गरिरहेको थियो । उसले हनुमान घाटमा पु¥याएर आफ्नो गाडी रोक्यो । घाटको एक घेउमा निकै मानिसको जमघट थियो । चितामाथि कसैलाई फुल अबिरले सिँगारेर सुताइसकेको देखे पछि ऊ पनि त्यतै तिर लाग्यो । नभन्दै त्यो उसकै साथीको अन्तिम यात्रा थियो । वरिपरि नेवार समुदायको बाक्लो उपस्थिति थियो । त्यहाँ उसले चिनेका कोहि थिएनन् , तर पनि उसलाई सबै परिचित झैँ लाग्यो । हुतराज गह्रौँ मन र छचल्किँदा आँखा लिएर चिताको नजिकै गयो । लक्ष्मण फुल मालाले छोपिएर निदाई रहेको थियो, चिर निद्रा । उसलाई अन्तिम पल्ट उसको बोली सुन्ने इच्छा भयो । उसको उहि स्वरुप थियो । उहि पातलो जीउ , काला जुँगा र तेजस्वी अनुहार । उसले एकटक लक्ष्मणको पार्थिव शरीरलाई हे¥यो । वरिपरि लक्ष्मणका विद्यार्थीहरु निन्याउरो अनुहार लगाएर आफ्ना गुरुलाई अन्तिम श्रद्धाञ्जलि दिन कुरिरहेका थिए । उनीहरुले लक्ष्मणप्रति श्रद्धाले उच्चारण गर्ने सर , र उसलाई मानिसहरुले सम्बोधन गर्ने सर शब्दमा कति भिन्नता थियो । लक्ष्मणको सरमा श्रद्धा लुकेको थियो भने उसको सरमा बाध्यता लुकेको ऊ प्रष्टै थाहा पाउँथ्यो । उसको मनमा चिसो निश्वास चल्यो । ऊ त्यहाँबाट उठेर यताउता टहलिन थाल्यो ।

पर्तिर एउटा तेह्र , चौध वर्षजतिको केटो सेतो धरो फेरेर उँभिएको थियो । उसलाई अर्को बयस्क पुरुषले समातेको थियो । हुतराजलाई अन्दाज गर्न गाह्रो परेन कि त्यो लक्ष्मणको छोरो थियो । उसले आँखा बन्द ग¥यो । मन चसक्क दुखेर आयो । उसले भक्कानिदो हृदयले सोच्यो , “यतिबेला म मरेँ भनेँ मेरो छोरो पनि यसैगरी निरिह भएर उँभिन्छ होला ।” उसलाई लक्ष्मणको छोरालाई गएर गम्लङ्ग अँगालो हालेर रुन मन लाग्यो । पितृ बियोगमा छट्पटाएको छोरोलाई गएर टाउको मुसार्दै सान्त्वना दिन मन लाग्यो । तर उसले हिम्मतै जुटाउन सकेन । आफ्नै छातिभित्र अथाह पिडा उर्लिइरहेको थियो । उसले जसो तसो आफ्नो मनलाई थुम्थुमायो ।

चिता माथि लक्ष्मणलाई राखिसकिएको थियो । हुतराजले आँखा झिमिक्क नगरी आफ्नो साथीको अनुहार मनभरि नियाल्यो । उसका खुट्टा ओढाइएको पहेँलो कपडाभन्दा बाहिर निस्किकएका रहेछन् । हुतराजलाई गएर छोपिदिउँ झैँ लाग्यो । यो पुषको ठन्डीमा उसलाई कति जाडो लागेको होला ? भावावेगमा ऊ हुत्तिएर अघि बढिसकेको थियो । तुरुन्तै उसको मनले महशुस ग¥यो , अब त लक्ष्मणलाई केहि हुँदैन न जाडो न त गर्मी । ऊ त अब निदाइ सकेको छ । चिर निद्रामा । यो सांसारिक जञ्जालबाट टाढा उसको आत्माले मुक्ति पाइसकेको छ ।  उसको पैताला देखि चिसो सरेर तालु सम्म पुग्यो । हात गोडा सिरिङ्ग भए । मन भारि हुँदै आयो । जिन्दगी के रहेछ र ? पानीको फोका झैँ क्षणभङ्गुर त हुँदो रहेछ नि । मान्छे ब्यर्थै अतृप्त प्यासको पछि पछि दौडन्छ । उसको छातिलाई नैराश्यले खँगार्दै लैजान्छ । घाटमा लक्ष्मणलाई दागबत्ती दिने बेला भइसकेको थियो । ऊ पनि आफ्ना जुत्ता मोजा फुकालेर लाममा उँभिन गयो । जल चढाउने लाइन रहेछ त्यो । सानो घैँटोमा प्वाल पारेर सबैका अँजुलिमा पानी दिइयो । उसले पनि पानी थापेर लक्ष्मणको मुखमा हालिदियो । उसका हात खुट्टा थरर काँपे । मुटु जोडले ढुक्ढुकायो । उसलाई रिङ्गटाले छोप्ला जस्तो भएर आयो । ऊ धर्मराउँदै अघि बढ्यो । अलि पर्तिर उँभिएर उसले आफ्नो प्रिय साथीको अन्तिम दर्शन ग¥यो । 
 उसको मनमा स्कुले जीवनका अनगिन्ति तस्वीरहरु एकपछि अर्को गर्दै फन्को मार्न आए । उसको मनमा एक तमासले गाँठो परेझैँ भयो । ऊ जसोतसो आफ्नो मन थुम्थुमाएर  त्यहाँबाट केहि अघि बढ्यो । अलिकति पर्तिर सरेर अग्निमा लपेटिँदै गएको आफ्नो साथीलाई निहा¥यो ।

बिस्तारै चिता आगोको लप्काले छोपिँदै आयो । हुतराजलाई आफ्नो मनमाथि काबु राख्न गाह्रो पर्दै गएकोले ऊ केहि बेर अर्कोपट्टि मुख फर्काएर उँभियो । रसाएका आँखाका कुना पुस्यो । उसलाई आफ्नो पैतालामुनिको जमिन पनि धस्सिँदै गएझैँ भयो । छातिमा मडारिँदै आएको भक्कानोलाई धेरैबेरसम्म रोकिराख्ने धैर्यता जुटाउन उसलाई गाह्रो पर्दै गएकोले ऊ फर्कियो र आफ्नो गाडीतिर लाग्यो । 

आज उसले जिन्दगीको अमूल्य पल गुमाएको छ । उसको मन रित्तो भएर आउँछ । बाटो भरि उसका मन मस्तिष्कमा लक्ष्मण र उसको याद मात्र घुमिरहन्छन् । सिनेमाको पर्दामा झैँ ऊसँग बिताएका क्षणहरु एकपछि अर्को गर्दै फन्को मार्न आउँछन् । ऊ चाहेर पनि तिनलाई रोक्न सक्दैन । आँखाबाट धैर्यको बाँध तोडेर आँशुको भेल उर्लिन्छ ,एकनासले उर्लिरहन्छ ।