Article

कथा: बग्लेककी पद्मा

Raju Nepal

खप्तड आउने जानेहरुको भोजन र बसोबास  स्थल बनको बगलेक बजारको उसको होटलले दुइदशक पचाईसकेको छ । काईली छोरी पद्मा जन्मदा उसले यो होटलको खाबा खुट्टे  गाडेको थियो । उमेरका भगौटे सेना उ अथार्त सोहि होटलको साहु बिरबहादुर आजपनि बटुवासगं सेना छदाको क्षणलाई सम्झेर गफिन्छ ।
 रत्नसमसेर भन्ने मेजर थिए उसको । ब्यारेकका मेसको खाना पकाउने निहुमा झगडा पर्दा तरकारी पकाउदाको तातो डाडुले साथीको टाउकोमा टुटुल्कै उठाइदिएछि घरतिर कुलेलाम ठोकेको थियो । सेनाले पक्डेला भन्ने डरले छ महिना साथीभाइसगं मुम्बई मा बस्यो । पछि स्वास्नीके मायाले घर फर्कियो । बुढ्यौलीले सुक्दै गएको शरिर, हरेक दिन नछुट्ने सुफी रक्सीले सधै गन्हाउने मुख  र लटपटिने बोली बिरबहादुर खत्रीका बिशेषता  नै हुन ।
उ आर्मीमा भर्ति हुदा देखि भागुन्जेलसम्मको कहानी चिनेजानेका सबैमा कन्ठै छ । बाबु गफिदा पद्मा भान्छामा बाबाुले अब बोल्ने कुरा भट्भटाइरहेकी हुन्छे । मानौ बिरबहादुर कुनै स्क्रिप्ट रटेर बोलिरहेको छ ।
डोटीको बगलेक । एउटा सानो बजार । सदरमुकाम बाट तिनघण्टा ठाडै उकालो उक्लिएर बगलेकमा लामो सास तान्न पाइन्छ । हिउदमा यसोतसो भारी ओर्सान गाडि जान्छ, बर्खामा त उहि हो पद्मा र उसकी आमाले भरिया लगाउनै पर्छ । खप्तड जानेहरुको यहा एकछिन थकाई नमेटी पाइला नै सर्दैन । “यस वेलकम हजुर” भन्नमा जतिनै सुफी पेलेपनि बिरबहादुरलाई केहिले रोक्दैन । हुन त पठ्ठी छोरी देखेरै पनि यायावरहरुको घुइचो हुन्छ उसको होटलमा । हुनपनि उसकी पठ्ठी छोरी पद्माको रुपरङ्ग र बोलीबच्चन सबैलाई लठ्ठ पार्ने छ ।
बगलेकमा धेरै पसलहरु त कहा छन र ! जम्मा चार पाच वटा पसलहरु मात्र । गाउका महिला दिदीबहिनीहरु तरकारी र अनाजसगं नुन तेल साट्न  यहि आउनुपर्छ । पुरुषहरु प्राय सबै भारत स्थित मुम्बई कमाउन जाने गर्दछन । केहि पुरुषहरु सेनामा, काहि अलिअलि पढेको भए जागिर खोज्न सहरतिर लाग्छन् । गाउमा मर्दा पर्दा पुरुष भन्दा महिलाकै सङख्या बढि देखिन्छ, युवाहरु भेट्नै मुस्किल । पढाईलेखाईमा भने खासै मोह राख्दैनन यहाका मानिसहरु ।
खप्तड घुम्न आएको एक खैरे बिरबहादुरको होटलमै थला परेको छ । गोडा मर्कएकाले  सदरमुकाम झर्न पनि उ अशक्त छ । पद्माले एकपटक रेडक्रसले दिएकोे प्राथमिक उपचारको तालिम लिएकी थिइ ।  कोहि बिरामी पर्दा सारोगारो टार्न उसैको गुहार माग्नुपर्छ । अबिवाहित छोरीले पराई मर्दको गोडा छुनुहुन्न भन्ने यहाको रितीरिवाजकै कारण खैरेको गाडा मिच्ने काम बिरबहादुरकै भागमा परेको छ ।
बिरबहादुरले गफमा जतिनै फुर्तिफार्ती दखाएपनि कामकाजमा खासै मेलोमेसो ल्याउदैन । सुफिले टिल्ल  उसको सास खैरेलाई सहिनसक्नु छ । बेलाबेला उघेर मर्किएको खुट्टामा दर्द थपिदिदा खैरे चिच्याउछ । पद्माकी आमा त्यो देखेर परैबाट गाली गर्दै भन्छे—“ टिल्ल परेका छ्यौ, भोली यिनै खैरे आउन छाडेभने खाउला जाड !”
“म सक्दिन ! धेरै निहु नखोज नत्र त्यहि बुलाकीमा दाम्लो लयाएर थाममा बाधिदिउला”— बिरबहादुर रिसाउदै उठ्छ र बाहिर मेचमा आएर बस्छ ।
“मेरो बुलाकीले तिम्लाई रक्सी धोक्न त रोकेको छैन नि ?”पद्माकी आमा नाकमा झुण्डिएको बुलाकी हल्लाउदै कराउछे ।
“भो भो आमा नकराउ ! मै गरिदिम्ला मालिस” पद्मा आमालाई थमथुमाउछे र खैरेको गोडा मालिस गर्नतिर लाग्छे । 
बिरबहादुरका पाच छोरी । तिन जनाको बिबाह भैसक्यो । साइलि छोरी भिग्रासा आर्मी पोस्टका आर्मीसगं बिबाह गरेर धनगडी बस्छे । एक छोराकी आमा साइलि शारिरीक रुपमा सारै कमजोर र अशक्त छ ।
बिरबहादुर बेलाबेला खैरेको खुट्टा मालिस गरिरहेकी छोरीलाई हेरिरहन्छ । “यहि खैरेसगं भागे हुन्थ्यो नि काइली” मनमनै यस्तै सोचेर बसिरहेको छ  उ । फेरी सोचाइमा डुब्छ —“साइला ज्वाइसगं पोइला गए नि हुन्छ नि, बिचरा साइली पनि अशक्त छे । ज्वाई जागिरमा दौडनै पर्छ, छोरा स्यार्ने मान्छे नि हुन्थ्यो । ” आफनै छोरीको सौता भएर गइदिए हुन्थ्यो भन्ने सोच्न समेत पछि पर्दैन उ ।
कान्छी छोरी उमा टाढाको गाउमा एसएलसी दिएर बसेकी छे । उमेरले बिस पुगेकी पद्माको बिहे बिरबहादुरलाई घाँडो भएको छ । अरु छोरीहरु भागेरै गए । पद्मालाई पनि यहि खान आउने झिग्रासा आर्मी पास्टका आर्मीले भगाए हुन्थ्यो भन्ने सोचाई बारम्बार आइरहन्छ उसको मनमा ।
खाना खान आएका आर्मीलाई पालैपलो बिबाह भएनभएको सोध्न कहिल्यै छुटाउदैन बिरबहादुर । पद्मा आजित छे आफ्नो बाबुसगं । कम बोल्ने, रुखो ब्यबहार कसैसगं पनि नगर्ने स्वभाब की पदरमालाई आफ्नो बैस र बाबु दुबैसगं अस्वभाबिक असन्तोष छ । कारण साठ्ठी बर्ष पुगेकी आमा र होटल हो । उ बिना न त आमा काम गर्न सक्छिन  नत होटल नै चल्न सक्छ ।
 बैसमा जिस्कने रहर कस्लाई हुन्न र ! अरुको अगांलोमा बाधिएर  प्रेमबाट प्राप्त हुने रोमाञ्चको  अनुभुति संगाल्ने रहर कस्लाई हुन्न र ! तर पद्मा कामको चटारोले उस्को आफ्नो कल्की बैसलाई कतै फुलेको अनुभुति गर्न पाएकी छैन ।
पद्माको शिष्टतापुर्ण ब्याबहारले सबैको मन जितेको छ । पाहोर एक खैरे त लठ्ठै पिरेको थियो र भनेको पनि थियो—“म तिमीलाई स्विजरल्याण्ड लैजान चाहान्छु ।” “के भर छ र यिनीहरुको” उसले यस्तै सोचेर त्यो प्रस्ताव लत्याएकी थिई ।
“खालमा जम्न जानु रे” पल्लो पसलेकी फुच्ची बिरबहादुरलाई बोलाउन आइपुग्छे । आज पल्लो पसलले च्याग्रा काटेकाले तास खेलाउने पालो पनि आज उसैको छ । तल गाउबाट तास खेल्ने जुवाडेहरुको  एक हुल अघि देखि नै तम्तयार छ । सुफीका बोतलहरु ज्ुवाडेका लागि तयार छन् । आएका गेष्टहरुलाई होहल्ला र असुबिधा नहोस भनेर तास खेल्नेहरुका लागि वेग्लै कटेरो बनेको छ । स्याउलाले छाना छाएको कटेरोमा लेकका दाउरामा आगोको घान लाग्छ ।
च्याग्राको मासु र सुफिमा बिरबहादुरहरु तासमा मस्त झुम्मीने गर्छन् । यो यिनीहरुको दिनचर्या नै हो । बटुवा होस या टुरिष्ट, उनिहरुको खानपान र बसोबास मिलाउन महिलाहरु नै सिपालु छन् ।
“पद्मा शहर जा, नत्र यो जेलाहा बाबु तेरो निम्ती अभिषाप बन्न सक्छ”— आमाले कयौपटक पद्मालाई सम्झाई सकेकी छिन । “बहिनीको जस्तो एसएलसी पढेको भए म उहिल्यै कहाँ पुग्थे ! आफुले त मात्र सात किलास पढियो”— पद्माको बिस्मत यहि छ ।
पद्माले साइली दिदीको बिहे अघि होटलमा खासै हेर्नु पर्दैनथ्यो । काम गर्नु पर्छ भनेर बाउले  स्कुल छोडाएदेखि पद्मा न त स्कुल जान पाई न त साथीभाइसगं भेट्न ।
शहर जाने र ठुलो मान्छे बन्ने चाहाना अंकुराउदै भाचिदै गरे । कत्तिले  के सपना देखाए, बत्तिले के रहर उब्जाए उ बस हेर्दै र सुन्दै मात्र रहि । उसलाई थाहा छ कहिले न कहिले त नयाँ जिन्दगी सुरु गर्नु छ । तर कसरी ? उ नभए होटल चल्दैन । चले पनि बुढी भएकी आमाको हाड न छाला हुन्छ । बाबुको के भर रक्सीले ज्यान खाइसकेको छ । पद्मालाई हिजोआज रातदिन यस्तै कुराले निर्घात पिटीरहन्छ । सोचमग्न बनाइरहन्छ । किंकतब्यबिमुढ छ ।