Article

कथा: प्र ज अक्कल बहादुर शाही

Raju Nepal

डडेलधुरा सदरमुकामको जिल्ला प्रहरी चौकी । साँझको मेस वन्द भैसकेको थियो । ड्युटीमा खटिएका प्रहरी बाहेक कोही सुत्ने तरखरमा थिए त कोहि जाडोको बेलामा दाउरा बालेर दन्किरहेको आगोको वरिपरी झुम्मीरहेका थिए । एकाएक गेटभित्र प्रहरी प्रमुखको गाडी आयो । सलाम ठोक्न सबै जर्याकजुरुक उठे । अग्ला प्रहरी प्रमुखलाइ छेउमै हाजिर देखेर जाडोले कठ्यांग्रीएका सबै हातहरु सलाममा परिणत भए । 

ए तँ खप्तड गएको छस  ?– प्रहुरी प्रमुखले एक जवानलाई सोधे । 

“छु सर” – बुट बजार्दै प्रहरी जवानले जवाफ दियो । 

“मेरा केही साथीहरु काठमाडौंबाट खप्तड जान आएका छन् तँ साथी जान सक्छस ?”

प्रहरी प्रमुखले जवानलाई फेरी प्रश्न गरे । 

एक त बझाँगी मान्छे, त्यसमाथी काम बाट केही समय छुट्कारा पाउने अनि खप्तड जस्तो सुन्दर ठाउं जान पाइनृे हुँदा जवानलाई जान्न भन्ने शब्दै हुँदैनथ्यो त्यसमा पनि उसले जान्न भनेपनि कहाँ धर पाउथ्यो र ? उस्ले सजिले “हुन्छ साप” भनिदियो । 
विहान सबेरै तयार हुने आदेश दिंदै प्रमुख आफ्नो वासस्थानतर्फ लागे । जवानले यत्रा साथीहरुमध्ये आफूलाई नै खप्तड जान रोजेकोमा प्रमुखलाई मुरी मुरी धन्यवाद दियो । 

भोलिपल्ट विहानै प्रहरी प्रमुखको गाडीको पछिको एक गाडी प्रहरी जवान डडेलधुराको सनराइज होटलमा पुग्दा काठमाडौंबाट आएका पाहुनाहरु खप्तड निस्कने तयारीमा थिए । काठमाडौंबाट आएका चार पाहुना र हाकीमको गाडी अघि अघि लगाई एक हुल प्रहरी जवान पाँच किलोमिटर टाढा रहेको उग्रतारा मन्दीरमा पुगे । काठमाडौंका पाहुना र हाकीमले पुजा आजा गरे । जवानहरु वाहिरै रोकिएका थिए । 

“ल उहाँहरुसँग जा है” प्रहरी प्रमुखको आदेशलाई हवस भन्दै जवानले वुट बजार्यो । टोयटा हाइलक्स गाडीमा जवानसहितको काठमाडौंका  पाहुना डोटि तर्फ लागे भने प्रहरी प्रमुख र जवान सहित गाडि प्रहरी कार्यालयतर्फ लम्कियो । काठमाडौंका पाहुना र प्रहरी जवानको गाडि डोटितर्फ ओरालो लाग्दा जवानको अनुहारमा एक आश्चर्यलाग्दो खुशी नाचिरहेको स्पष्ट देखिन्थ्यो । गाडिमा भएका पाहुनामध्ये तिलचामल कपाल भएका एक अधवैंशैले प्रहरी जवानलाई नियाली रहेका थिए । जवानमाथी प्रश्न गर्दै भने – “नाम के हो नि तपाइको ? ” 

“प्रजअक्कलबादुरसाही !”

एक त बझाँङी शैली, त्यस्माथी अस्पष्ट आवाजले गाडीमा बसेका कसैलाई पनि उनको बोली प्रस्ट भएन र दोहो¥याई तेहे¥र्र्याइ उसको नाम सोधे । तेश्रो पटको जबाफमा बल्ल सबैले बुझेछन्, प्रहरी जबान अक्कल बहादुर शाही । 

घाम भर्खर पहाडबाट सितलफेरी झर्दै थियो । जसरी गाडी ओरालो लाग्दै थियो । फाँटभरी हरिया झुलेका गहुँ वालीका वोटहरु हावासँगै नाचिरहेका थिए । त्यसमाथि घामका कलिला प्रकाशहरुले अझ सौन्दर्यता थपिरहेको थियो । सेती नदी कलकलाउँदै वगिरहेकीे थिइन् । बडो उत्सुक भन लिएर सबै यात्रुहरु दिपायलतर्फ लम्किदा जवान अक्कल बहादुर र स्थिरचित्त देखिन्थ्यो । धिर प्रशान्त मुद्रामा देखिने कालो वर्णको पातलो जिउडाल भएको करिव ३२÷३३ वर्षको अक्कलबहादुर सबैको चासोको विषय थियो । 

गाडि आफ्नै धुनमा बढ्न थाल्यो बाटोको वारीपारि पनौती खेतमा वालीहरुले दिएको सौन्दर्यता विछट्टको थियो । त्यत्तिकैमा अधवैशे मुसुक्क मुस्कुरायो र प्रश्न गर्यो  –“कति वर्ष भो प्रहरिमा काम गर्नु भएको ?”

हजुर छोरो जन्मेको साल भर्ति भको । छोरो दश पुरा भयो । सब युद्ध पचाएर आएको हुँ हजुर” – निम्चो स्वरमा जवान बोल्दै गयो । “माउवादी युद्धमा वेला त्राही त्राहीमा काम गरियो । आफ्नै साथीहरुको लास गनेर गाडीमा हाल्दाको पिडा झल्झली छ  हजुर । देशको लागि बाच्नुपर्छ भन्ने थियो । छोरो सानो हुँदा पनि युद्ध लडिरहेकै थिए । कस्ले देख्दो रैछ र ? गरिवको पहुँच हुन्न भन्छन् हजुर । यौटा नेतालाई भन्याथ्यो सरुवा वा बढुवा गरिदेउ भनेर, खै तात्तो लगाएन । जवानको जवानमै रिटायर्ड हुने भो” वडो हृदयविदारक शैलीमा जवानले आफ्नो पिडा पोख्यो । गाडि भित्रका सबै यात्रुको मर्मसम्म छोयो जवानको कुरा । “युद्धकालमा कतिखेर मरिएला भन्ने चिन्ता सधै भइरहन्थ्यो आफ्नो शासलाई हातमा मुठी बन्द गरेर युद्ध लडेको जवानलाई हिजो अस्ती जस्तो लाग्छ । रात छिप्पिँदै जाँदा मृत्युको भन्दा ठूलो पिर आफ्नो छोराको लाग्थ्यो । बुढी आमा र श्रीमति आँखाभरी नाँचिरहन्थे । विदामा एकपटक घर गएको वेला जवानकी आमा सारै रोएकी थिइन । जागिर छाड् छोरा बरु एक छाक खाउला भनेर साह्रै विलौना गरिन रे तर एक मनले आमाको कुरामा सहमत भएपनि अर्थिक अवस्थालाई हेरेर जागिर छोड्न हिम्मत आएको थिएन उस्लाई । फेरी एकदिन मर्नै पर्छ । मरिएछ भने पनि घरले राम्रै राहत पाउछ आर्थिक हिसाबले । बाँचिन्छ भने एउटा युद्ध जितेको गर्व समेटिन्छ जस्तो लागेको थियो जवानलाई । 

माओबादी बिद्रोहको बेलामा उ दुई बर्ष युनिफाइड कमाण्डमा परेको रहेछ । माओबादीमा तीन वटा आक्रमणमा त उ आफैं परेको रहेछ । 

जवान एकोहोरो बोल्दै गयो । कुरा घतलाग्दो भएकाले सबैले ध्यान उसको कुरा सुन्नमानै लागेका थिए । “हाम्रा कमाण्डरहरुसँग युद्ध लड्ने कौशल आइडिया थिएन जस्तो लाग्छ हजुर । त्यसैले धेरै साथीहरु मरे हाम्रा । न त युद्ध नै जितियो । जिते पनि कस्ले को सँग जितिन्थ्यो र ? सबै हाम्रै दाजुभाई ।” अघिको सोझो बझाँङी अक्कल बहादुर अव सबैको नजरमा भित्री बाठो लगिसकेको थियो । 

अक्कल बहादुर बझाङबाट आमा छोराछोरी र श्रीमतिलाई धनगढीमा सारेको पाँच वर्ष जति भो । घर बनाएको ऋण तिर्न नसकेर वेला वेला वैचेनीमा परेको अनुभूति पोख्थ्यो उ । 
साँझ छिप्पिसकेको थियो । 

बग्लेक र खप्तडको बीचमा एउटा सानो बजार छ, झिड्राना । त्यस ठाउंलाई खप्तडको बेसक्याम्प भने पनि हुन्छ । त्यहाँ सेनाको एउटा क्याम्प, निकुन्जको कार्यालय तथा साना केहि बास बस्ने होटेलहरु छन् । बग्लेकमा गाडी राखेर डोटीबाट थपिएका एक प्रहरि हबल्दार र दुई भरियाहरु सहितको टोली साँझ त्यहाँ पुगेको छ । यात्री त्यहा पुग्दा खाना खाने समय भइसकेको थियो । खाना खाँदै गर्दा अधवैंशेको दिमागमा प्रश्न आयो र सोध्यो “अक्कल जी मेसको खाना कस्तो हुन्छ ?”

थड क्लास खाना हजुर ! हामी भन्दा राम्रो खाना त चौकीका कुकुरहरुले खान्छन् । आफू त गाउँको मान्छे तै बरु ठीकै लाग्छ । धेरैलाई बाहिर यसो चिल्लो पिरो नखाई चित्तै बुझ्दैन रे” – अक्कल बहादुरले सिधा जवाफ दियो । 

“चिल्लो पिरो सँग अरु चिज पनि लिदा हुँन नि बाहिर ?” – अधवैंशेको छेउमा बसेको मान्छे प्राश्निक बन्यो “अँ जाँडका त घ्याम्पैै  हुन्छन् मोराहरु, थोरै हुन्छन् जो पिउँदैनन् ।

“तपाई नि” फेरी प्रश्न उठ्थ्यो 

“म जाँड त छुन्न । बाहिर कहिले काँही साथीभाइको करले खाजा साजा खान्छु । 

अधवैंशले गफसँगै अक्कलबहादुरको खाना खुवाई नियालीरहेको थियो । खसीको मासुसँगको मिठो खाना सायदै भोको जोगीलाई खिर बरावर थियो । लाग्थ्यो उ धेरै पछाडी यति मिठो खाइरहेको थियो । “मेसमा त खाँए खा नखाए घिच बरावर हो” अक्कल बहादुरले खानाको अन्तिम गाँस लिंदै भन्यो ।

“हेर्नुस् सर के कुरा गर्ने प्रहरीमा ठूलो समस्या छाडापन हो । त्यो के भने खाली आमा वहिनीको नाममा छाडागाली दिन्छन् । म त दिक्क छु ।”

“प्रहरीमा जवानको कुनै इज्जत हुँदैन । जे पकाए पनि खानुपर्ने । न कतै गुनासो सुनाउने ठाँउ हुन्छ । त्यसैले एक तह प्रमोसन खोजिराछु । कम्तिमा यो आमा बहिनीको नामको छाडा गाली त कम खाइन्थ्यो । उस्ले प्रहरि जवान हुनुको पिडा पोख्दै भन्यो । 
अधवैंशेले साच्यो : प्रत्येक प्रहरीमा उच्च मनोवल हुनुपर्ने हो । हृष्टपुष्टताका लागि मिठो भोजन हुनुपर्ने हो । सानो होस् या ठूलो एक अर्कामा सम्मान हुनुपर्ने हो । अशिष्ट, फटाहा र अपराधीलाई सज्जन बनाउने कला हुनुपर्ने हो । प्रहरी प्रमुखले सबै भन्दा इमान्दार भनेर साथीहरुसँग पठाएको प्रहरी यति कमजोर हैसियतमा बाँचेको छ । यति कमजोर आत्मवलले खडा छ भने अरुको के हैसियत होला ? यस्तै यस्तै सोचाईमा अधवैंशे घोत्लिरहेको थियो ।

बिहानै “हजुर अब उकालो लाग्ने हैन” – अक्कलबहादुरको शिष्टतापूर्ण घच्घचाहटले अधवैंशे झस्कियो । उठ्यो र अक्कल बहादुरको काँधमा धाप मार्दै अघि बढ्यो । तर उस्को मनमा भने अजिवको वेचैनीले तुफान मच्चाइ रहेको थियो । “सरहरु त ठूलो ठाँउबाट आइवक्स्या मेरो प्रमोसन र सरुवाका लागि कुरा गरिदिनु पर्यो” । भोलिपल्ट खप्तडको उकालो लाग्ने क्रममा जवानले मन खोल्दै अधवैशेलाई अनुरोध गर्यो ।  हैन सबै सहर जान खोज्छन तपाईं किन बिकट गाउँ जान खोजेको ? बरु घर पायक बझाँड वा धनगढी गए हुन्न र ? अधबैंशेले सोध्यो । हैन सर आफ्नो गृह जिल्ला वा सुगममा त भत्ता पाइन्न नि फेरि घर बनाएको ऋण कसरी तिर्नु ? उसलाई त बस दार्चुला सरुवा गराइदिए आनन्द हुन्थ्यो । विकट ठाउमा भत्ता बढी आउने र पैसा पुरा बच्ने हुँदा घरको ऋण उस्ले दुई वर्षमा तिर्न सक्यो । 

अब अक्कल बहादुरको बोली सबैले बुझ्ने भैसके । अक्कल बहादुरको हिम्मत देखेर डोटीबाट मिसिएका हबल्दार पनि के कम, बोलिहाले, सर म त सँचार पटिको स्टाफ प्रहरि भित्र, मलाइ पनि राम्रो ठाउँमा सरुवा गरिदिनुस न । बिडम्बना यी दुबै प्रहरिहरुलाइ के थाहा उनीहरु जो सँग यात्रामा छन् ती मानिसहरु मात्र प्रहरी प्रमुखका साथी हुन् सरुवा बढुवा गर्ने मानिस हैनन् । तर यो सत्य अक्कल बहादुरलाइ बुझाउने कस्ले ?