Article

कथा: मलेखुकाे माछा र कोपिला भाउजु

Raju Nepal

“आज अचाक्ली जाडो छ । आउनुहोस् माछा खाएर जानु”
आफ्नो होटल भन्दा केहि पर रोकिएको गाडीलाई इशारा गर्दै उनले भनिन । नभन्दै गाडिवाला होटलमा  आयो ।
“धेरै भो कता हराउनु भाथ्यो”— छेउको थाकबाट माछा हाल्ने प्लेट निकाल्दै प्रश्न गरिन ।
“अहिले ठेकापट्टामा मन्दी  छ त्यसैले कम भाको”— ग्राहकले जवाफ दियो ।
“माछासगं एक पेग पनि लिनुहुन्छ कि”—उनि सोध्छिन । ग्राहक सहमतिमा मुन्टो हल्लाउछ ।
म त कहा जानु भएछ भन्दै थिएं ग्लासमा रक्सी हाल्दै थपिन —“के गर्ने जाडो छ यसो नलिई गाडि गुडाउनपनि त गारो होला ।”
पुस महिनाको जाडो । चिसोले पुरै धादिड जिल्ला नै कठ्याग्रिएको थियो । काठमाण्डौबाट ७० किलोमिटर दुरीमा रहेको धादिडको मलेखु बजारमा माछा खान जाने यात्रीहरुलाई चिसो ले निकै सताइरहेको थियो । धादिड नजिकैका स्थानहरु पोखरा, चितबनलाई गन्तब्य बनाएका यात्रीहरु प्नि उनको वा नजिकैको पसलको माछा खाएरै मात्र ओहोरदोहोर गरिरहेका हुन्थे ।
उनि अर्थात कोपिला भाउजु  । सबै जान पहिचानको बोलाउने नाम हो उनको । केहि मोटी, काली काली बर्णकी र फरसाइली यि होटल वाली त्यस्तै पैतिस छत्तिसकी हुदी हुन । उन्लाइ चिन्ने मध्धे धेरै जसोले उन्को नामको पछाडी भाउजु लगाउंछन । 
सासु ससुरा श्रीमान र दुई छोराको साथ बस्दै आएकी कोपिला भाउजु मलेखु राजमार्ग ओहोरदोहोर गर्नै ड्राइभर खलासी हुन या बेलाबेला माछा खाने योजनाले त्यहा गइरहने यात्री सबैको परिचित छिन । हेर्दा सानो झुप्रो देखिने उन्को होटेलका ग्राहक भने धेरै जसो ठुला ब्यापारी र काठमाण्डौका बैंकका हाकिमहरु हुन् । 
एक दशक भयो उनले एक्लैले होटल सम्हालेको । चितवनबाट बिहे गरेर त्यहां आएदेखिनै पसल उन्को जिम्मामा छ र त्यो पसलले ६ जनाको परिवार पाल्छ । पुसको जाडो महिनामा  होटलको लागि चाहिने तरकारी केलाईदिने, आलु ताछिदिने बाहेक आगनीको डिलमा बसेर दिनमा १० खिल्ली बिडीको धुवा उडाउनु उनकी सासुको दैनिकी हो ।  त्यो बाहेक सासुको काम नै हो स साना कुरामा बुहारीलाई दोस लगाउने । मन लागे होटलको केहि काम सघाउने नलागे छिमेकीसगं बुहारीको कुरा काट्ने । कहिलेकाहि त होटलमै ठाकठुक  पर्छ, बुहार्तन सुरु हुन्छ ।
 “मेरो छोरालाई फसाएर आइकी राण ”—बुहारीलाई धारे हात बनाउदै सराप्छिन ।
उनि पनि के कम हांसेरै भएपनि जवाफ फर्काइहाल्छिन—“ फसाएरै आएपनि के कराउछौ ? कमाई त मेरै खादै छौ ।”
ससुरा केहि सोझा छन । धेरै बोल्दैनन । बिडी असाध्यै खान्छन । मन लागे आगनमा ग्राहकसगं गफ लडाएर बस्छन मन नलागे धुमधुम्ती चुरोट बिडी तानेर । बेलाबेला बुहारीलाई ब्यापारको बारेमा सोध्छन, सामान भए नभएको बारेमा सोधिरहन्छन । बुहारीले होटल चलाउदा कोहि ग्राहक पैसै नतिरी जालाकी भनेर चनाखो रहन भनिरहन्छन ।
 कोपिला भाउजुका श्रीमान छन् एसएलसी फेल । उच्च शिक्षाको लागि ठाडाकान लगाएनछन ।  कुन ब्राण्डको नया महगां मोबाईल बजारका आएको छ उनको हातमा परिहाल्छ । पल्सर बाइकमा हुइकीदै चोकसम्म पुगेभने उनको सान नै करोडपनिको भन्दा कम हुन्न । कहिलेकाहि होटलमा बसेका बेला गा्रहकलाई आफ्नो मोबाइलतिर ध्यान खिचाउन अनेकौ बहाना रच्न पछि पर्दैनन । बिहान बेलुका होटल हेरिदिने होटल पछाडी त्रिसुली नदिको किनारामा भएको धारामा माछा धोइदिने र सामान ल्याइदिने बाहेक सिन्को भाच्ने काम गर्दैनन ।कहिलेकाहि  कुखुरा बनाउनु परे या सारोगारो परे मात्र होटलमा बस्छन् ।
भाउजुको होटलको अनौठो बिशेषता छ, पुसको जाडो होस या बैशाख जेठको उत्ताउलो घाम नै किन नहोस माछा खान जाने ग्राहकको भिड नै रहन्छ । पसलमा माछा मासुका बिभिन्न परिकार पाइने भएपनि धेरै बिक्ने भनेको तारेका भुरा माछा र रक्सी नै हो । त्रिशुलीको भनेर जति भने पनि अब भने ग्राहकले बुझिसके माछा कहांवाट आउंछ भनेर । मलेखु बजारमा यस्ता होटेल धेरै भएपनि उन्को पसल अलि बढिनै चलेको छ उन्को हाउ भाउ र ब्यबहारले । 
“आज त खचाखच छ नि भाउजु ?”— माइक्रो ड्राइभरले कपाल बनाउदै सोध्यो ।
“अ, बस्नु न । गाडि पनि त प्याक नै रैछ नि”— भाउजु ले जिस्कीदै भनिन ।
“क्या भाउजुपनि, जति प्याक भएपनि तपाईको दुध हालेको चिया खान सधै यहि आम्छम कयारे, तपाइएकै दुध हालेको चिया नखाई चित्तै बुझदैन, ल्याउनु न छिटो ”— खलासीले प्याच्च बोल्यो ।
“के रे, मारिदिन्छु नि फेरी मात्तिने होइन”—भाउजु लजाउदै भित्र पसिन र केहि सेकेन्डमै बाहिर निस्किदै भनिन—“ यि खलासीको त जातै हुन्न भन्या”
बेलाबेलामा जिस्काउने र जिस्कन चाहाने ग्राहकको कमी कहिल्यै हुन्न त्यहा तर उन्लाइ ती सबै कुराहरु पचिसकेको छ । 
“ओहो हजुर नमस्कार नमस्कार, लौ यत्तिका पछि पो आउनुभयो त योे होटलमा !”— होटलको आगनमा गाडि रोक्दै एकका पुराना ग्राहकले उनको नमस्कार फर्कायो र हास्दै भन्यो— “तपाइको होटल बिर्सने आट कस्को ? माछा बनाइराख्नु हामी एक ग्रुप नै आउछौ ।”
—“फर्कन कतिबेर लाग्ला ? नत्र यहि भाले बनाएर राखौ कि ? एक दम राम्रो छ हेर्नुस त सर !”— आगनको डिलमा यताउति गरिरहेको भाले देखाउदै उनले भनिन — जाडो मौसममा सारै मज्जा हुन्छ खान, ९ बटा थियो हजुर एक हप्ता भित्रमा यहा आएको पाहुना ले सबै अर्डर गरेरै सके । अब त यहि मात्र छ, हजुरहरु त लक्की पो हुनुहुदोरहेछ ।”
आगनको डिलमा यताउति डुलिरहेको भाले रामै्र आम्दानीको श्रोत बनिदिएको छ उनिहरुको । त्यहि एउटा भाले देखाएर धेरै ग्राहकले लोकल भालेको शुल्क तिरेपनि बोइलर कुखुराको मासु खाएको पत्तै पाउदैनन ।  त्यहि भालेको शुल्क तिरेका ग्राहक होटलमा हुन्जेल भालेलाई भित्र थुन्ने र बाहिरीएपछि  बहिर निकाल्ने उनिहरुको नियम नै भैसक्यो । “लौ अलि चाडै नै पो आएकी क्याहो ?”— टाढाबाट आएको गाडीको संकेत  आफ्नो ग्राहक भएको अनुमान लगाउदै इसाराले बुढालाई कराउछिन— “एता सुन्नुस त, यस्लाइ छिटो लगेर थुनीहालौें, उनिहरु आईसके ।”
“कति भो भाउजु ?”— सुजुकी मारुती चढेर चितवनबाट काठ्माण्डौ फर्किएका एक ब्यापारीले खानपान सकेर बिलको बारेमा सोधे। 
 “चौबिस सय साठी भयो चौबिस सय मात्र दिनुस न”, तारेको माछालाई जालीमा हाल्दै उनले भनिन—“हजुर  पुरानो ग्राहक, ग्राहक हाम्रा भगवान, भगबानसंग धेरै पैशा लिन हुन्न ।”
 होटलमा आएका ग्राहक हेरेर ठग्न माहिर छिन कोपिला भाउजु । हासी हासी ग्राहकको गोजीबाट हरिया नोट कसरी निकाल्नुपर्छ भन्ने बिषयमा मानौ उनले ठुलै डिग्री हासिल गरेकी छिन । उनका होटलमा आएका धेरै कम ग्राहक होलान् जसलाई त्यस होटलको परिकारको मुल्य सुचि थाहा छ । 
“मम्मी भाइले कार्टुन हेर्नै दिदैन”— ठुलो छोरो बेलाबेला तलमा आएर भाइको गुनासो सुनाउछ । उनि होटल किन आएको भनेर बेस्सरी गाली गर्छिन ।
“मम्मीले भनेको दे रे भन जा”—माछा तार्दै छोरालाई भित्र पठाउछिन । उनका दुई छोरा छन । झट््ट हेर्दा उस्तै उस्ता देखिए पनि जुँम्ल्याहा भने होईनन ।  स्कुल जाने, घर आउने, हामवर्क गर्ने , फुर्सदको समयमा कार्टन हेर्ने बाहेक केहि गर्न उनका अनुमति लिनैपर्छ छोराहरुले ।
दुबै छोरालाई होटलमा पाईला समेत टेक्न दिन्नन उन्ले । कसैले  एक ग्राहकले  चासो प्रश्न गर्दा भन्छिन —“छोराहरुलाई पढाएको होटल चलाउन होइन, यिनीहरुलाई पढाएर ठुलो मान्छे बनाउनु छ,मैले जस्तो दुखी पेशा अब मेरो सन्तानले गर्नु नपरोस ।”
बाजेको सेकुवा कर्नर जस्तै फेमस बनाउने ठुलो सपना छ उनलाई आफ्नो होटल । उनि बेलाबेला ठुला ठुला होटल रेष्टुरेन्ट चलाउनेहरु कति पढेका हुन्छन भन्ने बारेमा नजिकका ग्राहकहरुलाई सोधिरहन्छीन । उनको यो  सपनाले बेलाबेला उनलाई नमज्जाले पिरोलिदिन्छ । कमजोर बनाइदिन्छ । त्यहि होटलकी साहुनी यति कमजोर होलिन भन्ने कसैले कल्पना नै गरेका हुन्नथे । उनको कमजोरीलाई औल्याएका  कतिपय  नियमीत पुराना ग्राहकले उनको होटललाई बिस्तार गर्न लगानि गरिदिने सपना देखाउछन त कत्तिले ब्यवस्थापकको जिम्मा आफुले लिईदिने आश्वासन दिन्छन, कपिपयले होटल चलाउन शिक्षा होइन सौन्दर्य र मिठो बोलिबचन चाहिने बताएर मख्ख बनाईदिन्छन । तर कस्तो बिडम्बना मिठो बोलेर ग्राहकको गोजीबाट मोटो रमक निकाल्न माहिर कोपिला भाउजु सित्तैमा उनको होटलको परिकार खान र धैरै छुट पाउन अनेकौै आश्वासन र सपना देखाएर उनि बाट ति ग्राहकहरुले पनि आफुबाट फाईदा लिइरहेकोे उनले बुझ्न सकेकी छैनन । 
जबसम्म पृथ्वीराजमार्गमा गाडी चल्छन तब सम्म ग्राहकले कोपिला साउनीलाइ भाउजु भनेर जिस्काउन छाड्दैनन अनि उनी पनि हरेक जिस्काइलाइ बिलमा जोड्न बिर्सन्नन् ।