Article

Akanksha

Raju Nepal

Real Feelings

परेला खुल्ला छन्, दृष्टि बन्द छ । कस्तो अनौठो परिस्थितिमा छु म । दुवैतर्फका गरेर वरिपरि करिब तीन सय हाराहारी मान्छे छन् । दिनभरिको झन्डै एक हजार पाँच सयजति मान्छे आएर उनलाई आशीर्वाद दिएर फर्किसकेछन् । यति धेरै मान्छेको भीडको वरिपरि छु, तर मेरो मनले एक्लो अनुभूति गरिरहेछ । 
आँसु र हाँसोको दोसाँधमा छ मन, कस्तो असमञ्जस हो यो ? न धक फुकाएर हाँस्न सकिरहेको छु, न डाँको छोडेर रुने हिम्मत छ मसँग । कसैको अनुहार देखेको छैन मैले । 
अघि नै भनिसकेँ नि– परेला खुल्ला छन्, दृष्टि बन्द छ ।
मन र मस्तिष्क दुवैमा शून्यता भरिएको छ, मानौं आँधी आउनुअघिको सन्नाटा हो यो ।
उफ् ! कसरी वर्णन गरूँ ? मेरी छोरी आकांक्षा आज अन्मिँदैछे र अर्कै घर जाँदैछे– सधैंका लागि । घरमात्रै होइन, गोत्रसमेत परिवर्तन गर्दैछे ऊ ।
यज्ञबाट आएका पवित्र मन्त्रोच्चारण घरिघरि कानमा आएर ठोक्किन्छन् । तिनैले केही ऊर्जा दिन्छन् सायद, उभिएर छोरीको अनुहारमा चिहाउने सामथ्र्य जुटाइरहेको छु । घुम्टोभित्र उसको मुहार दिप्तीमय छ । कुनै परीभन्दा कम देखिएकी छैन ऊ । म आज मेरी परीलाई पराईसामु सुम्पिँदैछु । 
मान्छेको संवेदना कति प्रकारको हुन्छ हँ ? अनि दुःख र खुसीको आँसुको रसायन एकै हुन्छ कि फरक ! मन कहालिएर आउँछ । थर्थराउँदो छातीलाई दुवै हत्केलाले ढ्याप्प थिच्छु । परेलाका ढक्कन केही बेर झिमझिमाउँछन्, गुडुल्किनै लागेका आँसुका थोपालाई रोक्न खोज्छु । 
इन्दिरा टुप्लुक्क अगाडि आइपुग्छिन् । उनितिर पुलुक्क हेर्छु– उनको अनुहारमा पनि विषादका धर्काहरू यताउता सल्बलाइरहेका देखिन्छन् । आँसुले ओसिएको मधुरो हाँसो खिसिक्क हाँसेर म उनलाई ढाडस दिन खोज्छु । मलाई थाहा छ, मैले रुनु हुन्न । यद्यपि फुस्कँदै गएको मनको गाँठो कस्ने कुनै उपाय बाँकी छैन । लाग्छ– घरको लक्षिन अन्माएर म रित्तो हुँदैछु । यतिन्जेल कसिलो बनिरहेको सम्बन्धको डोरीको पोयो फुक्दै गएको महसुस गर्दैछु । 
जब म जीवनका बाइस वसन्त पार गर्दै थिएँ, आकांक्षा टुप्लुक्क आइपुगी– अर्को वसन्तझैं खुसी लिएर । उसको पहिलो रुवाइले मेरो छाती गर्वले डम्म भरिएको थियो । उसको पहिलो स्पर्शले म धन्य भएको थिएँ । उसको पहिलो पाइलाले मलाई हजारौं माइल तय गर्ने उत्साह भरिदिएको थियो । पिता हुनुको पहिलो अनुभूति, उसले मलाई गराएकी थिई । इन्दिराले आफ्नो कोखबाट मेरो काखमा सुम्पिदिइन् । उनको काख र मेरो काँध नै आकांक्षाको पहिलो पाठशाला बन्यो । मेरो यौवन र उसको बालापन एकसाथ गुज्रियो । थाहै नपाई एक–अर्काका परिपूरक बन्यौं हामी । ऊ हाम्रो हृदयकी मोती भई । आँखाकी पुतली भएर हुर्किई । मलाई नजिकबाट चिन्ने मेरी एउटी मात्रै मिल्ने साथी भइदिई ।
आफ्नो गुज्रिएको बालपनमा नपुगेका कतिपय रहर म उसलाई पु¥याएर सन्तुष्ट हुन्थेँ । जब ऊ विद्यालयको पोसाक लगाएर तयार हुन्थी, म उसको पानीको बोतल भरिरहेको हुन्थेँ । जब ऊ साइकलका पांग्रा घुमाउने प्रयास गर्थी, म पछाडिबााट धक्का मारिरहेको हुन्थेँ । उसले कुनै कुराको माग राख्नुअघि नै उसको आवश्यकताबोध गरिसकेको हुन्थेँ । आफ्ना कतिपय अधुरा सपनासमेत मैले उसैमाथि आरोपित गरेँ । मेरी पुतली मेरा अधुरा आकांक्षा पूरा गर्ने भरोसा बनिदिई । उसले कहिल्यै गुनासो गरिन । कहिल्यै मलाई निराश तुल्याइन । आफ्ना भाइबहिनीका लागि समेत ऊ सदैव आदर्श बनिरही । हामीले उसका भाइबहिनीलाई समेत उसकै बाटोमा हिँडाउने प्रयास ग¥यौं । समयको दौडसँगै ऊ मेरी सानी साथी भएर हुर्की । मैले उसका लागि तानिदिएका मर्यादाका रेखा  कहिल्यै पार गरिन ।
आकांक्षा ! आज मैले अन्माएर पठाउनुपर्नेछ । मेरो थर र गोत्रबाट आज ऊ अर्कै थर र गोत्रकी हुनेछ । मेरो वात्सल्यको आँगन तरेर आज ऊ पराईको घर सिँगार्न जानेछे । कत्रो उत्साहपूर्वक मैले उसको विवाहको तयारी गरेको थिएँ । एक वर्षपहिले नै पढाइको सिलसिलामा अस्ट्रेलिया गएकी ऊ विवाहकै लागि आएकी थिई ।
इन्दिरा पन्त र रमा दाहालजस्ता मेरा अन्तरंग साथीहरू मात्रै हैनन् मेरा अरू आफन्तहरू हिजैदेखि भनिरहेछन्, ‘छोरी अन्माउने बेलामा तिमी पक्का रुन्छौ !’ मैले जवाफ फर्काइनँ तर मन दरिलो पार्ने प्रयास गरिरहँे । आफैंसँग भनिरहेको छु– म छोरी अन्माउँदा रुने छैन । मेरा आँखा रसाउने छैनन् ।
आफ्नै मनसँग मस्तिष्कको संघर्ष चलिरहेछ । घरि एउटाले जित्छ, घरि अर्कोले उछिन्छ । दुवैको तानातानमा म मूकप्रायः छु । मन भुल्याउनकै लागि पनि यताउता गर्छु । छोरीलाई आशीर्वाद दिन उपस्थित अतिथिहरूसँग कुराकानी गर्छु । कसलाई भेटिरहेछु, के बोलिरहेछु, आफैंलाई थाहा छैन । को आयो, को गयो ध्यान दिऊँ भन्दाभन्दै पनि असमर्थ हुँदै गइरहेको छु । 
आँगनमा नौमती बाजा घन्किरहेछ । त्यो मेरो कानसम्म आइपुग्छ । अरू बेलाझैं त्यसको सुरमा म रमाउन सकिरहेको छैन । आकाशको मेघ गर्जनझैं मेरो मनमा पनि विचारको गर्जन चलिरहेछ ।
सन्तानको विवाह, त्यसमा पनि खासगरी छोरीको; बोझका रूपमा होइन उत्सवका रूपमा लिनुपर्छ भन्ने मेरो मान्यताअनुरूप त्यही तयारी गरेको थिएँ । बाह्र–पन्ध्र सय आगन्तुकको आतिथ्य र घर तथा मण्डपको सजधजमा कुनै कन्जुस्याइँ गरेको थिइनँ । आँखालाई यताउता त्यसैमा डुलाएर मन भुल्याउन खोज्छु । खै किन किन बेचैनी कम हुँदैन । 
आज महसुस भइरहेछ, छोरी अन्माएपछि पिता मणि खोसिएको नागझैं हुँदो रहेछ । फरक यति हो, म मेरो मणि राजीखुसीले सुम्पिरहेछु, सुशान्तको हातमा । उनलाई पनि मैले र आकांक्षाले लाखौंमा रोजेर मन पराएका हौं । मेरा आशामुखी नजर छिनछिनमा सुशान्तको अनुहारमा पुगेर अडिन्छन् । मेरो आहात मनको याचना सायद उनले बुझिदिनेछन् । उनका ओठमा खेलिरहेको हाँसोलाई परैबाट नियाल्छु । मनमा केही शीतलता भरिएर आउँछ । सुशान्तका आँखाको गहिराइमा म मेरी आकांक्षाको जीवन तैरिरहेको देख्छु । सायद त्यसैले उनी मेरा लागि खास भएका छन् ।
वैवाहिक कार्यक्रम अघि बढिरहेको छ । मैले मेरी छोरीको हात सुशान्तको हातमा सुम्पिसकेको छु । उसले आफ्नो शिरमा सिन्दुर स्वीकार गरिसकेकी छ । हामी लगभग बिदाईको तयारीमा छौं । मण्डपमा जुत्ता लुकाउने खेल र पैसा लेनदेनको जुहारी चल्दैछ । सानी छोरी सदीक्षा एक्लै जन्तीतर्फका बीसभन्दा बढी केटाकेटीका लागि भारी छ त्यसका लागि । सायद साली–धर्म निभाउने उसको काम सुरु भयो । दुवैतर्पmका आफन्त रमाइलो मानेर हेरिरहेछन्, तर त्यो रमाइलोले मलाई छोएको छैन । मेरो मनमा कुनै किसिमको भाव छैन । आँखा टिल्पिलाउन लागिसकेका छन् । तिनमा भरिएको पानी खुसीको हो या पीडाको म छुट्याउन सक्दिन । एक वर्षअघि ऊ अस्ट्रेलिया पढ्नका लागि जाँदा पनि मैले उसलाई भारी मनले बिदाई गरेको थिएँ । तर त्यो बिदाई र आजको बिदाईमा निकै फरक छ । आकाश–जमिनको फरक ।
आकांक्षा हुर्किंदै जाँदा हरेक पिताको झैं मलाई पनि जिम्मेवारीबोध भएको थियो– उसलाई कुनै दिन कन्यादान गरेर पठाउनैपर्छ । आज त्यो विशेष दिन साकार भएको छ । मनमा उसको कन्यादान गर्न पाएको खुसी जति छ, मुटुको टुक्रा निकालेर सुम्पिनुपर्दाको पीडाले अनुहारको हाँसो लुप्त भइसकेको छ । त्यही आँसु र हाँसोको दसगजामा उभिएको छु म ।
भित्र कोठाको पूजा सम्पन्न हुनासाथ बिदाईको घडी पनि आइपुग्यो । इन्दिरा छोरीलाई समातेर विशेष गरी सजाएको जग्गेको परिक्रमा गर्न थालिन् । म पनि ज्वाइँको पछिपछि लागेँ । हाम्रा अघिअघि बाजा थियो जग्गे घुम्ने । सम्हालिराखेको मन फुस्किँदै–फुस्किँदै आएर आँखामा टम्म भरिएको थियो । म कसैको अनुहार नियाल्ने हिम्मत जुटाउन सकिरहेको थिइनँ, आकांक्षाको पनि । जग्गे घुम्दा अनायासै मेरी आमालाई देखेँ एकपटक ढोकैको छेउमा, तर उहाँ के सोच्दै हुनुहुन्थ्यो कल्पना गरिनँ । उहाँका मलिन अनुहारले धेरै कुरा बताइरहेका थिए । यस बेला सायद छोरी पनि जन्मघर छोड्नुपर्दाको पीडाबाट आहत थिई । ऊ निहुरिएर मण्डप घुमिरहेकी थिई । मैले चाहेर पनि उसका आँखामा नियाल्न सकिनँ । उसको धपक्क बलेको अनुहारको डिलसम्म आँसु नबगे पनि रसाएको आँखा देख्दा हजार सूर्यको तेजले एकैपटक पोलेझैं भयो मेरो मन ।
मण्डप परिक्रमा सिध्याएर हामी छोरीलाई लिएर गाडीमा चढाउन गयौं । मेरा पाइताला फूलझैं हलुंगा भएका थिए । त्यसको ठिक उल्टो छाती भने बडेमाको जाँतोले थिचेझैं गह्रौं भएको थियो । मन र मस्तिष्कमा शून्यताशिवाय केही थिएन । मन चंगा थियो तर म केही सोच्न सकिरहेको थिइनँ ।
छोरीलाई सिँगारिएको गाडीमा बसाएर पछि फर्केको मात्र थिएँ, मेरा सामुन्ने इन्दिरा उभिएकी थिइन् । उनको अनुहार आँधी आउन लागेको आकाशझैं कालोनीलो थियो । उनका दुवै आँखाबाट निर्बाध आँसुको खहरे बगिरहेको थियो । लाग्यो– एक पलको निम्ति उनलाई सम्हालूँ । आखिर हामी दुवैको पीडा अलग पनि त थिएन । उनी पनि आफ्नो मुटुको टुक्रा अन्माउँदाको पीडाबाट आहात होलिन् । तर अहँ, मनको बाँध रोक्न खोज्दाखोज्दै पनि सकिनँ । अन्ततः फुट्यो बाँध र छुट्यो भक्कानो । त्यो भेलको गड्गडाहट डाँको बनेर बर्सियो । केही बेरअघि साथीहरूसँग नरुने भनेर गरेको वाचा पनि मलाई याद रहेन । मेरो आँगनको डिलबाट अघि बढ्न थालेको छोरीको गाडीलाई पनि फर्केर हेर्न सकिनँ । हिम्मत जुटाउनै सकिनँ मैले ।
आफन्त र साथीभाइ मलाई सम्हाल्ने प्रयास गरिरहेका थिए । केही बेरपछि मन शान्त भयो । जन्ती फर्किसकेको रित्तो मण्डपलाई मैले निकै बेर हेरिरहेँ । मेरो छातीमा आँधी आएर भर्खरै थामिएको थियो । भिजेका परेलालाई बन्द गरेर म उभिएँ । एकै छिनमा मेरा आँखामा आकांक्षाको सुन्दर भविष्यको लोभलाग्दो चित्र उदायो । त्यसैको सहारामा मैले मनलाई थुम्थुम्याएँ । आखिर मणि हराएको नागझैं बनेको छु म । तर यस अर्थमा खुसी छु– उसले त्योभन्दा विशेष मणि पाएकी छे ।