Recent Update

सम्बन्ध

सत्य लघुकथा

सम्बन्ध

काठमाण्डौको उच्च घरानाका मानिसहरुको धेरै आवतजावत हुने कफि सपमा बसेर कफि खाँदै आफ्नो कम्पुटरमा काम गरिरहँदा ढोकाबाट छिरेका एक जोडि महिला र पुरुषले उस्को ध्यान ताने । खैरो रंगको जुत्ता देखि खैरै रंगको ज्याकेट लगाएको, अलि कालो बर्णको, करिब ४५ बर्षको, बाक्लो ज्यान भएको पुरुष र कालो कुर्ता सुरुवालमा रातो ज्याकेट लगाएकी, गोरी, निधारमा रातो टिका लगाएकी, पातली, करिब ३५ बर्षकी महिलाले उ नजिकैको टेवुल कब्जा गरे । कफि सपमा थोरै ग्राहक र उ एक्लै भएकोले उनीहरु बीच भएका कुराकानी उस्ले प्रष्ट सुन्दैथियो, नसुनु भन्दा भन्दैपनि । 

उनीहरुले अर्डर गरे बमोजिम एउटा केक र दुईकप कफि आयो । काँटाले केकको सानो टुक्रा काटेर पुरुषले महिलालाई खुवायो अनि त्यहि काँटाले महिलाले अर्को टुक्रा काटेर पुरुषलाई । 

केक मुखमा हालेर चपाउँदै पुरुषले भन्यो,

"कसैले अहिले हामीलाई देख्यो भने कि त यी बुढाबुढीको मायाँ कस्तो लोभलाग्दो भन्ला वा यो उमेरमा बिग्रेका रैछन् भन्ला हैन र ?"

महिलाले भनिन्, 

"हामी दुबै हौं नि ।" 

उस्ले कुरा बुझ्न चाहेन 

केकसँगै दुईवटा चम्चा भएपनि एउटाले नै उनीहरुले केक सके, कफि पिए र गए । 

उस्ले सोच्यो, तिनीहरुको नाता जे भएपनि सम्बन्ध भने प्रगाढ छ, अनि मनमनै प्रार्थना गर्यो, यिनीहरुको सम्बन्ध सधैं यस्तै रहोस् 

२०१६ जनवरी ५
भैंसेपाटी