Article

गजेन्द्रमोक्ष

Raju Nepal

स्वप्नदोषनाशक र संकटबाट मुक्ति दिलाउने

गजेन्द्रमोक्ष

श्रीमद्भागवत महापुराणको अष्टमस्कन्धको दोस्रो र तेस्रो अध्यायवाट ।
त्रिकुट नामक पर्वतको फेदीमा वरुण देवताको ऋतुमान् नाम गरेको बगैँचा थियो । त्यस वँगैचामा एउटा सुन्दर ताल थियो । एक दिन त्यही त्रिकूट पर्वतको जङ्गलमा बस्ने मदमत्त हात्तीहरूको राजा आफ्ना हत्तिनीहरूलाई साथ लिई घुम्दै त्यहाँ आइपुग्यो । ठूला हात्ती र हत्तिनीहरूको बथानद्वारा घेरिएको अनि पर्वतको वरिपरि डुल्दा पर्वतलाई नै हल्लाउँदै गरेको त्यस हात्तीलाई घामको रापले पोल्न थाल्यो । ऊ तिर्खाले व्याकुल भएको थियो । 
त्यस हात्तीले तालभित्र पसेर त्यहाँको पानीले नुहाई थकाइ मेटायो अनि सुनौला र राता थरीथरीका कमलका फूलका परागले सुगन्धित भएको सफा अमृतजस्तो जल तिर्खा मेटिने गरी पियो । मोहग्रस्त गृहस्थ पुरुष झैँ त्यो हात्ती आफ्नो सुँडद्वारा निकालिएका पानीका फोहोराद्वारा हत्तिनी र बच्चाहरूलाई पानी पिलाउँदै र नुहाइदिँदै थियो । परमात्माको मायाले मोहित भएकाले असाध्यै मात्तिरहेको विचरा त्यस हात्तीले आफ्नो नजिकै विपत्ति आइपुगेको थाहै पाएन । 
यसप्रकार तालमा रहेको त्यस हात्तीलाई प्रारब्धवश असाध्यै बलियो गोहीले खुट्टामा बेसरी समात्यो । अकस्मात् आफूमाथि आइपरेको यस आपत्तिलाई छुटाउन अत्यन्त बलवान् त्यस हात्तीले पनि सक्दो प्रयत्न ग¥यो । बलियो गोहीद्वारा बलपूर्वक घिसारिएकाले आत्तिएको त्यस गजेन्द्रलाई देखेर हात्तिनीहरू कराउन थाले, वरिपरिबाट तान्न सहयोग गर्ने अन्य हात्तीहरू पनि उसलाई तानेर त्यहाँबाट निकाल्न सकेनन् । 
लामो समयसम्म तालभित्र लगातार तानिएकाले थाकेको त्यस गजेन्द्रको मनमा रहेको उत्साह, शरीरमा रहेको बल र इन्द्रियमा रहेको शक्ति पनि क्षीण भइसकेका थिए । पानीमै रहने गोहीको चाहीँ उत्साह, बल र इन्द्रियशक्तिको झन्–झन् वृद्धि भयो । 
यसप्रकार अकस्मात् आइपरेको आपत्तिको अघि विवश बनेको एवं शरीरलाई आफू ठान्ने गजेन्द्र जब प्राणसङ्कटमा प¥यो त्यसबेला अरू उपायले यस प्राणसङ्कटबाट आफूलाई छुटाउन नसकेपछि उसले यस विषयमा धेरै बेरसम्म विचार ग¥यो र अन्त्यमा एउटा निश्चयमा पुग्यो । 
सङ्कटमा परेर आत्तिरहेको मलाई यस आपत्तिबाट छुटाउन मेरा आफन्त हात्तीहरूले पनि सकेनन् भने यी हत्तिनीहरूले कसरी सक्लान् र ? यो गोही विधाताले मलाई समात्न फ्याँकेको पासो नै रहेछ । अब म चाहिँ सबैका अन्तिम आश्रयस्थल उनै परमात्माको शरणमा जान्छु । असाध्यै बलियो र सर्पजस्तो झम्टेर प्राणीहरूको पछि लाग्ने कालबाट डराई आफ्नो शरणमा आउनेलाई जोगाउन परमात्मा मात्र समर्थ हुनुहुन्छ । परमात्माकै डरले गर्दा मृत्युसमेत आफ्नो काममा लागिरहन्छ । अब म उनै परमात्माको शरणमा जान्छु । 
बुद्धिले यसप्रकार निश्चय गरेर गजेन्द्रले आफ्नो मनलाई एकाग्र पारे र पूर्वजन्ममा सिकेका श्रेष्ठ स्तोत्रद्वारा भगवान्को स्तुति गर्न थाल्यो । 
श्रीमद्भागवतको अष्टमस्कन्धको अध्याय तीनका ३३ मध्ये २८ श्लोक मार्फत उनले गरेको स्तुति नै गजेन्द्र मोक्ष हो । यस्को पाठ गर्नाले वा व्रम्हमुहुर्तमा सुन्नाले दुःख नाश हुन्छ, दुस्वप्नको फल लाग्दैन र मानिसका सबै मनोकामना पुरा हुन्छन् । 


सुनौ गजेन्द्रमोक्ष । https://youtu.be/Oux6_25p8YU 


आफ्नो स्तुति सुनेपछि सर्वात्मक र सर्वदेवतामय भगवान् श्रीहरि नै गजेन्द्रको अघि प्रकट हुनुभयो । विश्वाधार परमात्माले गजेन्द्र असाध्यै पीडित भएको थाहा पाउनुभयो । उनको करुण पुकार पनि सुनिसकेपछि उहाँ चक्र हातमा लिई वेदमय गरुडमाथि चढेर स्तुति गरिरहेका देवताहरूसँगै जता गजेन्द्र थिए त्यतै झटपट त्यतैतिर जानुभयो । तालभित्र ज्यादै बलियो गोहीद्वारा समातिएकाले पीडित बनेको गजेन्द्रले आकाशबाट चक्रधारी भगवान् श्रीहरि गरुडमाथि चढी आफैँतिर आइरहनुभएको देखेर तत्काल सुँडले कमलको फूल उठाई अत्यन्त कष्टका साथ हे नारायण ! हे जगद्गुरु ! हे भगवान् ! हजूरलाई प्रणाम छ भनेर स्तुति गरे । 
अजन्मा परमात्माले गजेन्द्रलाई अत्यन्त दुःखी देख्नुभयो र अकस्मात् गरुडबाट ओर्लेर झटपट कृपापूर्वक गोहीसहित गजेन्द्रलाई पनि तालबाट बाहिर निकाल्नुभयो । श्रीहरिले आफ्नो चक्रद्वारा गोहीको मुख च्यातिदिनुभयो र सम्पूर्ण देवताहरूले हेर्दाहेर्दै गजेन्द्रलाई त्यो महान् विपत्तिबाट छुटाउनुभयो ।