Article

श्रीमद्भगवद्गीता अध्याय एकः अर्जुनबिषादयोग

Raju Nepal

श्रीमद्भगवद्गीता

अध्याय एकः अर्जुनबिषादयोग

श्रीमद्भगवद्गीताको पहिलो अध्याय ‘विषाद’ अध्याय हो । जब अर्जुनले आफ्ना र विपक्षी कौरव सेनाहरुमा आफन्त, नातागोता र भाइभारदार देख्छन्, उनीमा एक किसिमको संशय उत्पन्न हुन्छ । अर्जुनको त्यही दुबिधा, खिन्नता वा विषाद श्रीमद्भगवद्गीताको पहिलो अध्याय हो । श्रीमद्भगवद्गीताको यो पहिलो अध्यायमा भगवान् श्रीकृष्ण कतै पनि बोल्नुहुन्न, उहाँले अर्जुनमा देखिएको अलमललाई नियाल्नुमात्रै हुन्छ । पुरै श्रीमद्भगवद्गीताको एकमात्र र पहिलो श्लोकमा धृतराष्ट्र बोलेका छन् । सतचालीस श्लोकको यो अध्यायमा एक्काइस श्लोकको माध्यमबाट अर्जुन आफ्नो विषाद पोख्छन् । बाँकी पच्चीस श्लोक महाभारतको युद्ध हेरेर धृतराष्ट्रलाई बताउने जिम्मासहित दिव्यदृष्टि पाएका धृतराष्ट्रका सारथी सञ्जय बोल्छन् । 

धृतराष्ट्र भन्छन्– हे सञ्जय ! कुरुक्षेत्रमा मेरा र पाण्डवका छोराहरु के के गर्दैछन् ? श्रीमद्भगवद्गीताको पहिलो श्लोक ‘धर्म’ भन्ने शब्दबाट सुरू हुन्छ । यसबाट यो धर्मको क्षेत्रमा धर्मका लागि लड्न लागिएको धर्मको युद्ध हो भन्ने बुझिन्छ । यहाँ धृतराष्ट्रले मेरा र पाण्डवका छोरा भनेर सुरूमै तेरो मेरो भन्ने भावना अगाडि ल्याएको स्पष्ट छ । 
 
यो पहिलो अध्यायका सतचालीस श्लोकलाई चार भागमा बाँड्न सकिन्छ । पहिलो श्लोक देखि एघारौँ श्लोकसम्म आत्मकेन्द्रीत कुरा हुन्छन् । त्यहाँ कुन मेरो र कुन अरुको भन्ने भावना व्याप्त हुन्छ । आफूसँग भएका कुरामा असाध्यै घमण्ड देखिन्छ । शक्ति र ताकतको कुरा हुन्छन् । 

यो पहिलो अध्यायको दोस्रो भाग अर्थात बाह्रौँैंदेखि उन्नाइसौं श्लोकसम्म शंखध्वनी बज्छ । शंखध्वनी बज्नुको एउटै अर्थ हो, अब युद्धका लागि कुनै प्रकारको संशय रहेन, युद्ध जुन कुनै हालतमा पनि सुरु हुन्छ । शंखध्वनीले त्यो स्थान पवित्र पार्छ । आजको समाजमा पनि यस्ता शंखहरु बजिरहेका हुन्छन्, शंखको रुप परिवर्तन भयो होला तर बज्न भने छाडेको छैन । तर हामी ती संकेतलाई बेलैमा बुझ्दैनौ वा बुझ्न चाहाँदैनौं । हरेकका आफ्ना आफ्नै शंख हुनुको कारण विचारहरुको भिन्नता हो । हिजोका दिनमा पवित्र गर्ने र समय समयमा कुनै कुराको आभाष गराउने काम आजका दिनमा पत्र पत्रिका, रेडियो टिभी वा सामाजिक सञ्जालले गर्छन् तर हामी ती ध्वनीहरुको वास्ता गर्दैनौ वा बुझ्दैनौ । 

यो पहिलो अध्यायको तेस्रो भाग अर्थात् बीसौंदेखि सत्ताइसौं श्लोकसम्ममा युद्धका लागि शंख बजेपछि अर्जुनले श्रीकृष्णसँग आफू बसिरहेको रथ लगेर दुवै सेनाको बीचमा राख्न आग्रह गर्छन् । यो भागमा आफूले को–कोसँग युद्ध गर्नुपर्छ दुवै पक्षकालाई बराबरी देख्न सकुँ भन्ने अर्जुनको चाहना हुन्छ । किनकि आफ्नोतिरबाट त आफ्ना पक्षकालाई नजिक देखिन्छ भन्ने कुरामा युद्धमा पारङ्गगत अर्र्जुन यसअघि नै जानकार थिए । यसबाट जब युद्धको बेला हुन्छ वा जब वादविवादको बेला हुन्छ तब आफ्ना र अरुलाई समान दुरीबाट हेर्नुपर्ने शिक्षा अर्जुन दिन्छन् । आफ्ना र अरुलाई हेर्दा जहिले पनि एकतर्फी हुनु हुन्न र आफ्ना र अरुका बीचमा पनि कम्तिमा समभाव राख्न सकियो भने बिचारमा परिवर्तन आउने पक्का हुन्छ । समदुरीबाट हेर्दा आउने बिचारहरु धेरैजसो सकारात्मक हुन्छन् । सकारात्मक बिचारका साथै समदुरीबाट आफ्ना र अरुलाई हेर्दा जिज्ञाशा उत्पन्न हुन्छ । ज्ञानी मानिसमा आउने जिज्ञासाबाट बिचारको जन्म हुन्छ । बिचारबाट ज्ञान उत्पन्न हुन्छ र ज्ञानबाट मोक्ष । 

रणभूमिको बीचमा अवस्थित त्यो रथ र अर्जुनको समदुरीबाट आफन्तहरुलाई हेराइको माध्यमबाट श्रीमद्भगवद्गीताले आधुनिक समाजलाई दिन खोजेको अर्को सन्देश अबका दिनमा तिम्रो लडाईं आफन्तसँगै हुन्छ भन्ने हो । द्वापर युगको अन्त्य र कलि युग सुरु हुनै लागेको स्थितिमा हुन लागेको यो युद्धपछि अब कसैले आफ्नो परिवार वा आफू बाहेक अरु शत्रु बनाउने छैनन वा बन्ने छैनन भन्ने एउटा कटु र भयाभह सन्देश त्यसपछिका पुस्ताले यसै मार्फत पाएको छ । 

पौराणिक कथाहरुको उदाहरण दिंदै ज्ञानीहरु भन्छन्, सत्ययुगमा शत्रुहरु टाढा हुन्थे । भगवान् विष्णु वैकुण्ठलोकमा बस्नुहुन्थ्यो, भगवान्हरु स्वर्गमा बस्थे र उनीहरुका शत्रु वा राक्षसहरु पाताल लोकमा बस्थे । उनीहरुको दुरी अत्यन्त धेरै थियो । त्रेतायुगसम्म आइपुग्दा शत्रुहरु एउटै धरतीमा आइपुगे । भगवान् श्रीराम अयोध्यामा बस्नुहुन्थ्यो भने श्रीरामको शत्रु रावण लंकामा बस्थे । तर यो बेलासम्म पनि उनीहरुको बीचमा ठुलो समुद्र थियो, जुन सजिलै पार गर्न सकिन्नथ्यो । द्वापरयुगमा भने शत्रु परिवारमा आए । श्रीकृष्णका शत्रु आफ्नै मामा कंश थिए भने कौरव र पाण्डव दुई भाइका छोरा थिए । अब यो कलियुगमा शत्रु आफू भित्र मात्रै हुन्छ । आफ्नो सबैभन्दा ठुलो शत्रु पनि आफै र सबैभन्दा ठूलो मित्र पनि आफै नै हुन्छ । यो जीवनमा अब शत्रु खोज्न बाहिर जानै पर्दैन । 

यो पहिलो अध्यायको चांैथो भाग अर्थात् अठ्ठाईसौंदेखि सतचालीसौं श्लोकसम्ममा अर्जुनको मनमा एउटा अचम्मको भाव उत्पन्न हुन्छ । उनले केही समय अघिसम्म रणभूमिको अगाडि वा आफ्नो मोर्चाबाट हेर्दा देखिएका सबै शत्रु त त्यही रणभूमिको बीचमा गएर हेर्दा आफन्तमा बदलिसकिएका थिए । ती सबै शत्रु अब नातागोतामा बदलिएर काका, भतिजा, हजुरबुवा, साथीसंगती हुनपुग्छन् । त्यहाँ अर्जुनले आफूले हारे पनि आफ्नै मान्छेको मृत्यु हुने र आफूले हराए पनि आफन्तलाई नै मार्नुपर्ने बिडम्बना बुझ््छन् ! दुबैतिरबाट हेर्दा युद्धको कुनै अर्थ नहुने देखेपछि अर्जुनले सबै आफन्तलाई मारेर राज्य गर्ने युद्धको कुनै अर्थ नभएको भन्दै आफूले युद्ध नगर्ने उद्घोष गर्छन् । उनको त्यो उद्घोषको कारण उनी भित्र आएको विषाद हो । यहि हो मोह । मोहले मानिसलाई कर्तव्यबाट भगाउँछ । 

अर्जुन आफ्नो बुद्धिअनुसार धर्ममार्गको अर्थ लगाउँछन् । यज्ञ, अध्ययन, दान, तप, सत्यवचन, क्षमा, दया र लोभको त्याग गरी आठ प्रकारका धर्ममार्ग हुन्छन् । अर्जुनले यी धर्ममार्गहरुलाई बारम्बार सम्झिन्छन् र युद्ध गर्दा यी कुराबाट च्यूत हुन्छु भन्दै युद्ध नगर्ने उद्घोष गर्छन् । यतिबेलासम्म पनि भगवान् श्रीकृष्ण बोल्नुहुन्न, पुरै पहिलो अध्याय भरी उहाँ अर्जुनलाई हेर्नुहुन्छ र चुपचाप हुनुहुन्छ । भगवान्को चुपचापको अर्को अर्थ भयानक युद्ध हो । भगवान्को वाक्यको अर्थ ज्ञान हो भने भगवान्को मौनताको अर्थ युद्ध हो । समाजमा पनि यदि सम्मानित व्यक्ति बोल्यो भने त्यहाँबाट ज्ञान प्राप्त हुन्छ तर ऊ चुप छ भने बुझेहुन्छ, त्यो आँधी अघिको शान्ति हो । 

धृतराष्ट्र एउटा पात्र मात्र नभई प्रवृत्तिको बीज थिए, दुर्योधन त्यसको फल । शारीरिक रुपमा आँखा नदेख्दा त्यसले पु¥याउने घाटा भन्दा कैयौं गुणा बढी घाटा मनको आँखा नदेख्दा हुन्छ । आज हाम्रा अगाडि पनि हजारौं धृतराष्ट्रहरु छन् र तिनीहरुको फलको रुपमा करोडौं दुर्योधनहरु । धृतराष्ट्रहरुको मौन स्वीकृति र दुर्योधनको आदेशमा हजारौं दुश्साशनहरु देशरुपी द्रौपदीको चीरहरणमा व्यस्त छन् । तर उनीहरु बजिसकेको भगवान्को पाञ्जन्य शंखको आवाज सुनिरहेका छैनन् ।